• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टोपलाल अर्याल गुल्मी
२०७९ असार २५ शनिबार ०७:३२:००
रिपाेर्ट

खुट्टाले भविष्य कोर्दै ऋषिराम

२०७९ असार २५ शनिबार ०७:३२:००
टोपलाल अर्याल गुल्मी

 

ऋषिराम भन्छन्, ‘पछुतो मानेर होइन, भविष्य हेरेर मिहिनेत गरिरहेको छु ।’

 

गुल्मीको छत्रकोट गाउँपालिका–४ का १८ वर्षीय ऋषिराम कँडेल जन्मजात फरक शारीरिक क्षमताका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औंलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । उनका हातखुट्टा कमजोर छन् । तर, उनको बौद्धिक क्षमता अब्बल छ । उनी श्रृङ्गा जनता माविका उत्कृष्ट विद्यार्थी हुन् । बर्सेनि कक्षामा प्रथम र विद्यालयमै द्वितीय हुन्छन् । कक्षा ४ सम्म घरनजिकैको शारदा माविमा पढेका ऋषिराम अहिले कक्षा ९ मा पढिरहेका छन् । 

 

ऋषिराम ‘क’ वर्गका फरक शारीरिक क्षमता भएका हुन् । उनी अरूको सहाराविना केही गर्न सक्दैनन् । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पुर्‍याउँछन् । गेटमै आएका साथीहरूले उचालेर कक्षाकोठामा पुर्‍याउँछन् । उनलाई कक्षाकोठा र शौचालयको सहज व्यवस्थापन गरिएको छ । उनलाई लिन अपराह्न ४ बजे बुबा स्कुलको गेटमा पुग्छन् । सबैको माया, सदभाव र सहयोग पाएकाले कहिल्यै कमजोर महसुस नगरेको ऋषिराम बताउँछन् । ‘पछुतो मानेर होइन, भविष्य हेरेर मिहिनेत गरिरहेको छु,’ उनी भन्छन्, ‘सबै ठाउँबाट सहयोग पाएपछि पढाइमा राम्रो गरिरहेको छु ।’ खुट्टाले कहिलेबाट कलम समाउन थाल्यो, ऋषिरामलाई सम्झना छैन । उनले थाहा पाउँदा हात उठ्दैनथे । खुट्टाका औँलाले केही समाउन खोजेपछि परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि ऋषिरामले सबै काम खुट्टाले गर्न थाले ।

 

 

ऋषिराम परिवारका एक्ला सन्तान हुन् । पहिलो सन्तान नै फरक शारीरिक क्षमताको जन्मिएपछि कँडेल दम्पती पाँच वर्षसम्म छोराको उपचारमै दौडधुप गरे । तर, अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहार–सुसार र अध्ययनमै परिवारको ध्यान गयो । छोराको अवस्थासँग परिवारलाई कुनै पछुतो छैन । ऋषिरामले पनि अहिलेसम्म कुनै कुरामा ग्लानि महसुस गर्नुपरेको छैन । 

 

परिवारले शिक्षादीक्षासँगै छोरालाई १८ वर्षको बनाउन कम चुनौती झेलेको छैन । तर, कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम नगरेको लक्ष्मण कँडेल बताउँछन् । उनले आफ्नो लक्ष्य र सपना नै छोरालाई पढाउने बनाएका छन् । ‘मैले न अरू सन्तान सोचेँ, न फरक दृष्टिकोण राखेँ । श्रीमान्–श्रीमती नै छोराको सेवामा रातदिन लागेका छौँ,’ लक्ष्मण भन्छन्, ‘यो बाबु मेरो कोखमा नजन्मिएको भए बन्द कोठाभित्रै हुन्थ्यो ।’

 

लक्ष्मण दम्पतीले गाउँमा कृषिकर्म गर्दै आएका छन् । अहिलेसम्म राज्यका सबै निकायबाट सहयोग पाएकाले कुनै गुनासो र आशा नभएको उनी बताउँछन् । 

 

सबै विधामा उत्कृष्ट
ऋषिराम सबै विधामा विद्यालयकै सबैभन्दा उत्कृष्ट प्रतिभा भएको श्रृङ्गा जनता माविका प्रधानाध्यापक विकासचन्द्र खरेल बताउँछन् । पढाइ, लेखाइ, चित्रकला, गीत, अभिनयलगायत विधामा ऋषिरामले सबैलाई उछिन्दै आएको खरेलको भनाइ छ । कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएकाले सबैले उनीहरूबाट सिक्नुपर्ने उनी बताउँछन् ।

 

‘चेतना र घरपरिवारको सहयोगविना यस्तो अवस्थाका बालबालिकाको आत्मविश्वास राम्रो हुँदैन, खरेल भन्छन्, ‘ऋषिराम उदाहरणीय विद्यार्थी हो । घर, परिवार र समुदायबाट उनलाई राम्रो सहयोग भएको छ ।’ विद्यालयमा फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि आवासको सुविधा छ । तर, ऋषिरामलाई सहयोगी चाहिने भएकाले घरमै जान्छन् । विद्यालयमा बहिरा विद्यार्थीले पनि अध्ययन गर्छन् । जसका लागि विषय शिक्षक र सामग्री उपलब्ध छन् । 

 

[email protected]