• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
ज्वालामुखी लामिछाने
२०७९ असार २५ शनिबार ०८:००:००
फिल्म

आक्रोश उमार्ने ‘आक्रोश’

२०७९ असार २५ शनिबार ०८:००:००
ज्वालामुखी लामिछाने

 

तपाईं स्थापित व्यवस्था र अवस्थाप्रति आक्रोशित हुनुहुन्न भने यो फिल्म तपाईंलाई खल्लो लाग्न सक्छ

 

सन् ८० को दशकवरिपरि भारतीय समाज त्यसमा पनि मुम्बईनजिकका आदिवासी बस्तीहरूमा राज्यशक्तिको बैसाखी टेकेर कैयन् हत्या भए । ती हत्या चिरफार गर्ने एक सचेत प्रयत्न हो सन् १९८० मा बनेको फिल्म ‘आक्रोश ।’ विजय तेन्डुलकरद्वारा लिखित पटकथालाई गोविन्द लिहलानीले उत्कृष्ट निर्देशन गरेका छन् । निर्देशनको स्तर हेर्दा यो पत्याउन मुस्किल पर्छ कि गोविन्द निहलानीले पहिलोपटक निर्देशन गरेको फिल्म यही हो ।

 

सन् १९७८ को डिसेम्बर १९ को साँझ नागी लहानिया नामकी एक आदिवासी युवतीको रहस्यमय हत्या हुन्छ । उक्त हत्याको आरोपमा उनका श्रीमान् लहानिया भिकुलाई गिरफ्तार गरी मुद्दा चलाइन्छ । हत्या गरिएकी आदिवासी युवती नागी लहान्याको भूमिकामा स्मिता पाटिल छिन् । हत्याको गलत आरोपमा फसाइएका उनका श्रीमान् लहान्या भिकुको भूमिकामा ओम पुरी छन् । भिकुको पक्षमा अदालतमा बहस पैरवी गर्ने वकिल भास्कर कुलकुर्णीको भूमिकामा नसीरुद्दिन शाह छन् । भिकुको विरुद्धमा वकालत गर्ने वकिल देशानेको भूमिकामा अम्रिश पुरी छन् । लहान्या भिकुको बुबाको भूमिकामा नाना पालसिकर छन् र भिकुकी बहिनीको भूमिकामा भाग्यश्री कोट्निस छिन् । 

 

आ–आफ्नो भूमिकामा यी सबै कलाकारहरू यति काबिल लाग्छन् कि उनीहरूको अभिनयमा त्योभन्दा बढी जीवन्तताको खोजी गर्नु मूर्खता हो । मोहन अघासेदेखि अरविन्द देशपाण्डेसम्म अनि महेश एलकुन्च्वदेखि अच्युत पोत्दरसम्मको अभिनय यति वास्तविक छन् कि तपाईं फिल्म हेरुन्जेलसम्म आफूलाई उनीहरूसँगसँगै पाउनुहुनेछ ।

 

जंगलको बीचमा घर भन्न नमिल्ने छाप्राहरू हुन्छन् । ती आदिवासी छाप्राहरूको नाकै अगाडि सरकारी हाकिमको अजंगको आलिशान काठेमहल हुन्छ । ती छाप्रामा हाडछालाको एकसरो थुप्रोजस्ता लाग्ने आदिवासी युवकहरू हुन्छन् । यस्तो लाग्छ, उनीहरूको शरीरबाट मासुजति गायब छ । उनीहरू हाकिम तथा ठेकेदारहरूको कठोर नियन्त्रणमा श्रम गर्न बाध्य छन् । ज्याला असाध्यै कम पाउँछन् । लहान्याको दुधे छोरा (जसको आमाको हत्या भइसकेको छ)लाई फिल्मभरि नै नांगो देखाइएको छ । चरम अभावको कारण बच्चा कपडाविहीन छ । जंगलको बीचमा भोकको कारण बच्चाले निकालेको चित्कारले जो कसैको आँखा रसाउँछ । 

 

गरिबीको कारण न्याय किन र कसरी मारिन्छ भन्ने सत्य बुझ्न यो फिल्म हेर्नु सबैभन्दा गतिलो उपाय हो । फिल्मले राज्यसत्ता, जातसत्ता या वर्गसत्ताविरुद्ध दर्शकलाई आक्रोशित बनाउन खोजेको छ ।

 

पूरै फिल्मभरि आरोपी लहान्या भिकु एक शब्द बोल्दैन । भाष्करले सोधेका कैयन प्रश्नहरूमा लहान्या यसरी मौन रहन्छ कि मानौ लहान्या बहिरो हो । दर्शकहरूलाई समेत अधैर्य बनाउने लहान्या भिकुको मौनताको रहस्य नजानेर सुरुमा त भास्कर हैरान हुन्छ । तर, पछि उसले बुझ्दै जान्छ कि तल्लो जात हुनु (बनाइनु), गरिब हुनु (बनाइनु), आदिवासी हुनु आदि कारणले लहान्याको मुखमा ताल्चा लागेको छ । ठूलाबडाले आफूमाथि अन्याय गरिररहनु र त्यसका लागि आफू सधैँ तयार रहनुलाई उसले शाश्वत सत्यको रूपमा बुझेको छ ।

 

वकिल भास्कर आफ्नै सहयोगका लागि मनैदेखि दत्तचित्त छ भन्ने विश्वास पलाउन थालेपछि पनि आफ्नो श्रीमतीको हत्या आपूmले नगरेको बताउन सक्दैन लहान्या । सत्य बोल्दा श्रीमतीकै हालतमा बहिनीको पनि आँखैअगाडि बलात्कार र हत्या हुन सक्ने त्रास ऊभित्र हुन्छ । सत्य नबोल्दा आफू फाँसी चढ्नुपर्ने र बूढोबाबुले बहिनीको रक्षा गर्न नसक्ने यथार्थ उसले देख्छ । यस्तै, दोहोरो त्रासले लहान्या रातभरि निदाउन सक्दैन । कारागारको चिसो छिडीमा रातभर उसलाई ऐँठन परिरहन्छ ।

 

वकिल भास्करले आफ्नै सिनियर (गुरु ?) देशाने लहान्याविरुद्धमा वकालत गरिरहेको हुन्छ । यो अवस्थाले भास्करलाई वेलावेलामा केस छोड्न मन लाग्छ । लहान्या नै श्रीमतीको हत्यारा हो भनेर प्रारम्भिक धारणा बनाएको भास्करले हार्ने केस लडेर वकालतको खराब सुरुवात गर्ने जोखिम नलिन खोज्छ । तर, देशानेकै प्रेरणामा ऊ केस लड्न तयार हुन्छ । तर पछि ऊ यति दत्तचित्त भएर लाग्छ कि ऊमाथि पटक–पटक आक्रमण हुँदा, धम्की दिइँदा, प्रलोभन देखाइँदा पनि उसले केस छाड्दैन । बहिनी र बुबाले मुख खोल्ने आशामा ऊ पटक–पटक लहान्याको घरसम्म पुग्छ । तर, प्रत्येकपटक ऊ निराश भएर फर्किन्छ । 

 

मार्क्सवादी कार्यकर्ता छ एकजना जो आदिवासीलाई संगठित गरी विद्रोहका लागि तयार गर्दै छ, उसैले ठूलो जोखिम मोलेर भास्करलाई बताइदिन्छ कि नागी लहान्याको हत्यारा भिकु होइन, बरु फरेस्ट कन्ट्र्याक्टर, डाक्टर पाटिललगायतका सहरकै ‘हाई प्रोफाइल’ वालाहरू हुन् । यो सूचनापछि भिकुप्रति उसको सहानुभूति उच्च हुन्छ । अनि केसलाई निर्णायक बिन्दुमा पुर्‍याएरै छाड्न प्रतिबद्ध हुन्छ । 

 

वास्तविक हत्यारा दिनहुँ वकिल देशाने र डिएसपीसँग तास खेल्ने हैसियतका छन् । देशाने प्रतिष्ठित वकिल हुँदाहुँदै पनि तल्लो जातको आदिवासी हुनाले तास खेल्दा पार्टनरबाट पटक–पटक अपमानित हुन्छ । जातप्रथाको कुरूप अनुहार उदांगो पार्न यी दृश्य काफी छन् । 

 

फिल्ममा दृश्य यति चुस्तदुरुस्त छन् कि दश सेकेन्डको मात्र कुनै दृश्य निकाल्यो भने फिल्म अधुरो लाग्छ । सिलसिला यसरी मिलाइएको छ कि दुई मिनेट फिल्मबाट ध्यान अन्यत्र मोड्दा पनि आफैँ अलमलमा परिन्छ । जीवन्तता यति सघन छ कि मुटुको धड्कन फिल्मको दृश्यसँगसँगै बढ्दै जान्छ । फिल्मको उत्कर्ष दर्शकको अनुमानलाई लत्याउँदै सकिन्छ । 

 

यसरी पिँधको वर्गको एउटा कथा सकिन्छ । समग्रमा ती वर्गका सबै परिवारको कथा–व्यथा त्यस्तै हुन् भन्ने कुरा फिल्मले घुमाउरो तरिकाले बताएकै छ । मार्क्सवादी कार्यकर्ताको गिरफ्तारी, सत्य लेख्ने पत्रकारमाथिको पटके आक्रमण आदि दृश्यमार्फत फिल्मले दर्शकलाई यो निचोडमा पुर्‍याउन प्रयत्न गरेको छ कि न्यायको लडाइँ सोचेभन्दा गाह्रो छ । तर, असम्भव छैन । 

 

आदिवासी जीवनको दुःख, पीडा, संघर्ष थाहा पाउन र दक्षिण एसियामा जरो गाडेर बसेको जात–व्यवस्थाको हिंस्रक र घिनलाग्दो अनुहार हेर्न यो फिल्म एक सबल विकल्प हो । गरिबीको कारण न्याय किन र कसरी मारिन्छ भन्ने सत्य बुझ्न यो फिल्म हेर्नु सबैभन्दा गतिलो उपाय हो । फिल्मले राज्यसत्ता, जातसत्ता या वर्गसत्ताविरुद्ध दर्शकलाई आक्रोशित बनाउन खोजेको छ । तपाईं स्थापित व्यवस्था र अवस्थाप्रति आक्रोशित हुनुहुन्न भने यो फिल्म तपाईंलाई खल्लो लाग्न सक्छ ।