• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ७ शनिबार ०८:२०:००
सम्झना

बिपी भन्नुहुन्थ्यो– डा’साप कति दिन बाँच्छु भन्नुहोस्, धेरै काम गर्नु छ

२०७९ श्रावण ७ शनिबार ०८:२०:००

बिपीसँग पहिलो भेट 


०१५ सालको चुनावमा म १५ वर्षको थिएँ । चुनावका वेला किशोरावस्थामै कांग्रेसको झन्डा लिएर साथीहरूसँगै दौडन्थेँ । ०१७ सालमा म जनकपुरको सरस्वती हाईस्कुलमा ८ कक्षामा पढ्थेँ । त्यतिवेला जनकपुरमा रामनारायण मिश्र, बोधप्रसाद उपाध्याय, रुद्र गिरी, महेन्द्रनारायण निधिलगायत ठूला नेता हुनुहुन्थ्यो । एक किसिमले जनकपुर कांग्रेसमय थियो । जनकपुर मात्रै होइन, विराटनगर र वीरगन्ज पनि कांग्रेसमय थियो ।


स्कुल पढ्दा नै बिपी कोइराला, पुष्पलाल श्रेष्ठलगायत नेता चिनिसकेको थिएँ । बिपी प्रधानमन्त्री भइसक्नुभएकाले उहाँ स्थापित नेता हुनुहुन्थ्यो । ०१७ सालको घटनाले सारा देश नै स्तब्ध बनायो । बिपी जेल पर्नुभयो । ०२५ सालमा सुन्दरीजल जेलबाट छुटेपछि उहाँ कलकत्ता पुग्नुभयो । म त्यसवेला कलकत्तामा डाक्टरी पढिरहेको थिएँ । पहिलोपटक उहाँसँग त्यहीँ भेट भयो । त्यसवेला उहाँले भन्नुभएको थियो, ‘तपाईंहरूले प्रजातन्त्रका लागि काम गर्नुपर्छ । म त अब फुलिसकेँ,हामीहरू फुलिसक्यौँ । लोकतन्त्रको यात्रालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी तपाईंहरूमा छ ।’ उहाँले जोड दिएर भन्नुभएको थियो, ‘सबथोक छाडेर क्रान्तिमा आउनुस् भन्न खोजेको होइन, हामीलाई एजुकेटेड मान्छे चाहिएको छ । भारतमा मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चरलगायत विभिन्न विषयमा तपाईंहरू पढिरहनुभएको छ । राम्रो ज्ञान लिनुस् र देश फर्किनुहोला । हाम्रो देशमा प्रजातन्त्रको ठूलो भविष्य छ । राजा महेन्द्रले राष्ट्रघात गरे । उनको कदमले देशलाई भलो गर्दैन ।’


०३३ सालमा उहाँ उपचारका लागि अमेरिका जानुभयो । म त्यतिवेला पनि कलकत्तामै थिएँ । उहाँ अमेरिकाबाट फर्किएपछि कलकत्ता आउनुभयो । त्यसवेला मलाई साथीहरूले उहाँलाई स्वागत गर्ने समितिको अध्यक्ष बनाइदिए । उहाँलाई हामीले कलकत्ताको पार्क होटलमा स्वागत गरेका थियौँ । 

 बिपीलाई जेलमा राख्नु नेपालका लागि बर्बादी थियो । दूरदृष्टि भएको एक प्रतिभाशाली नेताको ऊर्जावान् समय जेलमा बित्यो ।राजा महेन्द्रले बिपीलाई जेल नहालेको भए अहिले नेपालको प्रजातन्त्र निकै बलियो हुन्थ्यो । हाम्रो आर्थिक अवस्था निकै राम्रो हुन्थ्यो ।


जनमतसंग्रहपछि ०३७ सालमा नेविसंघको चुनाव भयो । यसवेला लीला कोइरालाको जनकपुरको घरमा बिपी सात दिन बस्नुभयो । त्यतिवेला म दिनको दुईपटक उहाँको ब्लड प्रेसर चेक गर्थें । त्यहीवेला उहाँसँग कुरा गर्ने मौका पाएँ । त्यसैवेलादेखि उहाँसँग मेरो सानिध्य निकै बढ्यो । 

 

बिपी र परिवार 
कोइराला परिवारमा सबैले उहाँलाई सान्दाजु भन्नुहुन्थ्यो । हामी सबैले सान्दाजु नै भन्थ्यौँ तर, म बढीजसो उहाँलाई बिपीबाबु नै भन्थेँ । उहाँले मलाई डाक्टर साप भन्नुहुन्थ्यो ।जनकपुर महाधिवेशनबाट मातृकाजी अलग्गिनुभयो । तर, पारिवारिक सम्बन्ध उस्तै थियो । राजनीतिक रूपमा सम्पूर्ण कोइराला परिवार बिपीको पक्षमा थियो । राजनीतिक जीवनमा केही तलमाथि भयो होला । बिपीको अन्तिम अवस्थामा सुवर्णजी त बितिसक्नुभएको थियो । तर, मैले देखेअनुसार गणेशमानजी र किसुनजीलगायत नेताहरूसँग उहाँको अन्तिम अवस्थासम्म पनि निकै आत्मीय र सौहार्दपूर्ण सम्बन्ध थियो ।


त्यसवेला प्रजातन्त्रको पक्षमा लाग्ने नेताहरू कि त काठमाडौंमा थिए, कि त सीमापारि । वनारस र कलकत्ता सेन्टर थियो । उत्तर भारतमा बस्ने नेताबीच कम्युनिकेसन भइरहन्थ्यो । बिपी वेलावेला वनारसबाट कोलकत्ता आइरहनुहुन्थ्यो । हामी कोलकत्तामै ७ फागुन (प्रजातन्त्र दिवस) मनाउँथ्यौँ । हाम्रो त्यहाँ ठूलै जमात थियो । भारतको पिथौरागढ, देहरादुन, हिमाञ्चलदेखि आसामसम्मका विद्यार्थी बस्थे । त्यहाँ पनि मन्डले विद्यार्थी एकातिर हुन्थे, डेमोक्र्याट र कम्युनिस्ट अर्कोतिर हुन्थे । तर, बाहुल्य भएकाले डेमोक्र्याटले नै चुनाव जित्थ्यो ।

 

सरल जीवनशैलीका नेता


उहाँ ०३९ सालमा बिरामी पर्नुभयो । दिल्लीबाट क्यान्सरको इलाज गराएर फर्कनुभयो । त्यसपछि चाबहिल मित्रपार्कमा ज्योति कोइरालाको घरमा बस्न थाल्नुभयो । त्यसवेला मृगेन्द्रराज पाण्डे र सुन्दरमणि दीक्षित कन्सल्टेन्टका रूपमा हुनुहुन्थ्यो । तर, उहाँलाई इन्जेक्सन दिनुपर्ने, ब्लड प्रेसर, श्वासप्रश्वास, पल्स हेर्नुपर्ने, ब्लड जाँच गर्नुपर्ने र एक्स रे पनि गर्नुपथ्र्यो । त्यसका लागि एउटा जुनियर टिमको आवश्यकता प¥यो । त्यो टिम काठमाडौंमा भेटिएन । सरकारी नोकरीमा भएकाहरू २४ घन्टै बिपीको उपचारका लागि नजाने भन्ने कुरा थियो । त्यसपछि मलाई बोलाइयो । त्यसवेला म जनकपुरमा डाक्टरी अभ्यास गरिरहेको थिएँ । म कांग्रेसी डाक्टरका रूपमा चिनिइसकेको थिएँ । मलाई लीला कोइरालाले सम्पर्क गरेर बिपीका लागि काठमाडौं जान भन्नुभयो । त्यतिवेला म डा. राघवेन्द्र सिंह र हीरा श्रेष्ठको टिममा थिएँ । त्यतिवेला बिपीसँग अझ धेरै कुरा गर्ने मौका मिल्यो ।


बिपी बिरामी भएपछि उहाँसँग झनै नजिक हुने अवसर पाएँ । त्यसवेला उहाँले खानेकुरा बार्नुपथ्र्यो । उहाँ रेगुलर स्मोकर हुनुहुन्थेन । तर, उहाँ टेन्सन भएका वेला सिगार खानुहुन्थ्यो भन्ने सुनेको थिएँ । मैले बुझेअनुसार उहाँ ‘अकेजनल स्मोकर’ हुनुहुन्थ्यो । बिरामी भएको वेलामा उहाँले केही खानुभएन ।


खानामा उहाँलाई दाल, भात, तरकारी नै मन पथ्र्यो । माछामासु पनि खानुहुन्थ्यो, तर एकदमै कम । घिउ खानुहुन्थ्यो । दही उहाँको फेवरेट थियो । उहाँ घरमा बस्दा कुर्तापाइजामा लगाउनुहुन्थ्यो । घरबाहिर जाँदा दौरा–सुरुवाल लगाउनुहुन्थ्यो । मैले उहाँलाई कोट–पाइन्टमा कहिल्यै देखिनँ ।


बिपी हामीसँग देश र प्रजातन्त्रका बारेमा चिन्ता गर्नुहुन्थ्यो । कांग्रेसको भविष्यबारे चिन्ता गर्नुहुन्थ्यो । उहाँ कहिलेकाहीँ भन्नुहुन्थ्यो, ‘डाक्टर साब म अब कति दिन बाँच्छु भन्नुहोस् त ? मलाई धेरै काम गर्नु छ, कांग्रेसको इतिहास लेख्नु छ, लेखाउनु छ ।’


तीनजनाको अर्को टिम थियो, गणेशराज शर्मा, पुरुषोत्तम बस्नेत र शैलजा आचार्य । बिहानको समयमा उहाँ विभिन्न विषयमा बोल्नुहुन्थ्यो र उहाँको आवाज टेप रेकर्डरमा रेकर्ड गरिन्थ्यो । बिपी बेस्ट पेसेन्ट हुनुहुन्थ्यो । डाक्टरले जे भन्यो, त्यो मान्नुहुन्थ्यो । त्यसवेला उहाँलाई भेट्न गणेशमानजी, मनमोहनजी, कृष्णप्रसाद भट्टराईजी, पत्रकारहरू र अन्य जनरल मानिस पनि आउनुहुन्थ्यो । उहाँलाई भेट्ने वेला दूरी कायम गरेर बस्नुपर्ने हुन्थ्यो । त्यो स्वास्थ्यको कारणले थियो । त्यो सबै म एरेन्ज गर्थें । 

 

ऊर्जाशील समय जेलमा 


उहाँ ६८ वर्षको जीवनमा १८ वर्ष जेल बस्नुभयो । तर पनि उहाँ विचलित देखिनुहुन्थेन । निराशा उहाँमा थिएन । ‘मलाई क्यान्सर भयो, मैले केही गर्न सकिनँ’ भन्ने भावना उहाँमा कहिल्यै पाइनँ । अब जति समय छ, त्यसलाई कसरी उपयोग गर्ने भन्ने नै थियो । उहाँले आफूलाई क्यान्सर भएको आत्मसात् गर्नुभएको थियो । क्यान्सरबाट मैले पार पाउँदिनँ भन्ने उहाँले बुझिसक्नुभएको थियो । 


सन् १९४६ मा नै उहाँको भारतमा थ्रोटको इलाज गरिएको थियो । त्यतिवेला डाक्टरले उहाँलाई अब दुई वर्ष मात्र बाँच्नुहुन्छ भनेको थियो । तर, उहाँ त धेरै बाँच्नुभयो । त्यसैले पनि उहाँको मनोबल उच्च थियो । देशमा प्रजातन्त्रको भविष्य छ, प्रजातन्त्रका लागि लड्नैपर्छ । राजाले राष्ट्रघाती काम गरेका छन् । प्रजातन्त्रविना देश बँच्दैन भन्नेमा अडिग हुनुहुन्थ्यो । 

 

बिपी र राष्ट्रियता 


राष्ट्रियताबारे उहाँको बृहत् सोच थियो । हाम्रो भूगोल र समाजको विविधता उहाँले निकै गहिराइमा बुझ्नुभएको थियो । त्यसैले उहाँले राष्ट्रियतालाई निकै फराकिलो दृष्टिबाट हेर्नुभयो । छुवाछुत, जातभात, पहाडे, मधिसे यावत् किसिमका सामाजिक विभेद उहाँमा तिलको दानाबराबर पनि थिएन ।

बिपी एकदमै अध्ययनशील नेता हुनुहुन्थ्यो । उहाँलाई फ्रेन्च रिभोलुसन, रसियन रिभोलुसन, बेलायतको औद्योगिक क्रान्ति, चाइनाको क्रान्तिसहित सबै देशका क्रान्तिबारे राम्रो जानकारी थियो । विभिन्न घटनालाई विश्लेषण र चिन्तन गर्नुहुन्थ्यो । उहाँ ‘नन एलाइन्ड मुभमेन्ट’को पनि नेता हुनुहुन्थ्यो । उहाँले चाइनालाई संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्नुभएको थियो । इजरायललाई पनि संयुक्त राष्ट्र संघको सदस्यता दिनुपर्छ भन्ने उहाँ नै हुनुहुन्थ्यो । चाइनाको त्यत्रो जनसंख्यालाई विश्वबाट बाहिर राखेर हुँदैन भन्ने उहाँको सोचाइ थियो ।


सबै नेपालीको राजनीतिक, आर्थिक, सांस्कृतिक, न्यायमा पहुँच हुनुपर्छ भन्नुहुन्थ्यो । सबैमा राज्यले समान अवसर सिर्जना गर्नुपर्छ भन्ने उहाँको धारणा थियो । माटो र ढुंगा राष्ट्र होइन, यहाँ बस्ने मानिस राष्ट्र हो भन्ने उहाँको परिभाषा थियो । यो राष्ट्रका सबै नेपाली जनता बराबर हुन् भन्ने उहाँको सोचाइ थियो । उहाँले ०१५ सालमा ‘जसले जोत्छ, त्यसकै जमिन हुनुपर्छ’ भन्नुभएको थियो । बिर्ता उन्मूलन, जंगललाई राष्ट्रियकरण गर्नुपर्नेलगायत विषयमा उहाँ प्रस्ट हुनुहुन्थ्यो । वीरगन्ज महाधिवेशनबाट त समाजवादी अर्थनीति ल्याउने बताउनुभएको थियो । भूमि सुधार गर्नुपर्छ, छुवाछुत प्रथालगायत सामाजिक विभेद त्यतिवेलै पार्टीको एजेन्डा बनाएर अन्त्य गर्ने भन्ने उहाँको सोच थियो । तनहुँदेखि लमजुङलगायत क्षेत्रमा भएको हलो क्रान्ति उहाँकै प्रेरणाले भएको थियो । ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने बुझाइ गलत हो भन्नुहुन्थ्यो ।

कांग्रेसको राजनीति गर्नेहरूको आचरण लोकतान्त्रिक छैन । पार्टीमा आन्तरिक लोकतन्त्र पनि छैन । सुझबुझका साथ राज्य सञ्चालन पनि भएको छैन । कांग्रेसले लोकतन्त्र खत्तम त गर्दैन, तर उसको काम गराइले व्यवस्थालाई घात गरिरहेको छ । यो कुरा कांग्रेसमा मात्र होइन, सबै पार्टीमा लागू हुन्छ ।
 


उहाँलाई ‘बिपीले धर्म मान्दैन’ भन्ने चार्ज पनि थियो । उहाँमा धर्म समाजको हुन्छ, तर राष्ट्रको हुँदैन भन्ने विश्वास थियो । समाजमा भएका असमानता हटाएर बराबरीको अवस्था कसरी ल्याउने भन्नेमा उहाँ चिन्तनशील हुनुहुन्थ्यो । दलित, मधेसी, जनजाति, मुस्लिम, हिन्दू सबैका बारेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो । उहाँको व्यवहारले पनि त्यो देखाउँछ । उहाँको बहिनीले मुस्लिम समुदायको केटासँग विवाह गर्नुभएको छ । गिरिजाप्रसादजीले एकल महिलासँग विवाह गर्नुभएको हो । मुक्ता कोइरालाको घर्तीसँग विवाह भयो । उहाँको परिवारमा सबै किसिमका सामाजिक विभेद छँदै थिएन । 


उहाँलाई राष्ट्रको अवस्था अब के हुन्छ, प्रजातन्त्रको पुनस्र्थापना कसरी हुन्छ भन्ने मात्र चिन्ता थियो । सिक्किम र अफगानिस्तानको घटनालाई वेला–वेला स्मरण गरिरहनुहुन्थ्यो । राजासँग कसरी सम्झौता कायम गरेर देशको अखण्डतालाई जोगाउने भन्नेबारे चिन्तन गर्नुहुन्थ्यो । जनतामा कसरी जाने र जनताको मन कसरी जित्ने भन्नेबारे नै उहाँ सोचिरहनुहुन्थ्यो ।

 

कार्यकर्ताका प्रिय बिपी
भेट्न आउने कार्यकर्तालाई सबैभन्दा पहिला घरपरिवारको आर्थिक अवस्था सोध्नुहुन्थ्यो । घरपरिवार कसरी चलिरहेको छ भन्नेमा उहाँको विशेष चासो हुन्थ्यो । त्यसपछि बल्ल राजनीतिक कुरा गर्नुहुन्थ्यो । कार्यकर्ता कोही बिरामी भए भने उसको इलाज कसरी गराउने, दिल्ली जानुपर्ने अवस्थामा पनि कुन साथीलाई भनेर हुन्छ अस्पतालको बन्दोबस्त गराइदिनुहुन्थ्यो । आर्थिक जोहो पनि गरिदिनुहुन्थ्यो । यस्तो बानी गिरिजाप्रसाद कोइरालामा पनि थियो ।


बिपी एकदमै मितव्ययी हुनुहुन्थ्यो । वनारसबाट कोही साथीलाई रक्सोल, जोगबनी पठाउनुपर्‍यो भने त्यसका लागि कति खर्च लाग्छ, उहाँले हिसाब गर्नुहुन्थ्यो । बाटो हेरेर कहाँ–कहाँ खाना खाने र कति भाडा लाग्छ, एक–एक हिसाब गरेर पैसा दिनुहुन्थ्यो । कसैसँग मागेर भए पनि दिनुहुन्थ्यो । पैसा विनाकाममा खर्च गर्नुहुँदैन भन्नुहुन्थ्यो ।


नेविसंघको महाधिवेशनका वेला जनकपुर बस्दा उहाँसँग भेट्नेहरूको भिड थियो । त्यसवेला उहाँसँग भेट्न कुनै समस्या हुन्थेन । एक्लाएक्लै भेट्ने होइन, सबैलाई सामूहिक रूपमा भेट्नुहुन्थ्यो । अलिक लिडरहरूसँग कुनै विषयमा कुरा गर्नुपर्दा भने सिंगल–सिंगल नै भेट्नुहुन्थ्यो । बिरामी भएर घरमा बस्दा उहाँको कम मानिससँग भेटघाट हुन्थ्यो । उहाँलाई भेट्न आउनेमध्ये व्यापारी कोही थिएनन् ।

 

एकदमै कमै मात्र व्यापारी भेट्न आउँथे । पत्रकार, युवक, विद्यार्थीहरू, बौद्धिक व्यक्तिहरू भेट्न आउँथे । उहाँसँग भेट्न आउने व्यापारी पृष्ठभूमिका मानिस योगेन्द्रमान शेरचनका दाजु अनेङमान शेरचन हुनुहुन्थ्यो । व्यापारी भए पनि उहाँहरू डेमोक्य्राटिक हुनुहुन्थ्यो । कम्युनिस्ट कुरा गर्दा उहाँ भन्नुहुन्थ्यो, ‘अरूले त कसैले रसियन त कसैले चाइनिज मुकुन्डो लगाएका छन्, तर मनमोहन अधिकारीचाहिँ सच्चा कम्युनिस्ट हुन् ।’

बिपी र कांग्रेस 


अहिलेको कांग्रेसमा बिपीको सोच देखिँदैन । बिपीको सोच व्यवहारमा अहिले लागू भएको भए सामाजिक असमानता कम हुन्थ्यो । कांग्रेसको राजनीति गर्नेहरूको आचरण लोकतान्त्रिक छैन । पार्टीमा आन्तरिक लोकतन्त्र पनि छैन । सुझबुझका साथ राज्य सञ्चालन पनि भएको छैन । कांग्रेसले लोकतन्त्र खत्तम त गर्दैन, तर उसको काम गराइले व्यवस्थालाई घात गरिरहेको छ । यो कुरा कांग्रेसमा मात्र होइन, सबै पार्टीमा लागू हुन्छ । 

०३९ ताका बिपी र डा. यादव

नेपालमा धार्मिक अतिवादी छन् । क्षेत्रीय तथा जातीय अतिवाद पनि छ । नेपालका राजनीतिक दलमा केही यस्ता प्रवृत्ति छन्, जसले धार्मिक अतिवादबारे कुरा गर्छ, जसले लोकतान्त्रिक शासन व्यवस्था बुझ्दैन, जसले संवैधानिक निकाय र जनप्रतिनिधित्वलाई निष्क्रिय पार्ने प्रयत्न गर्छ, यस्ता तत्वबाट व्यवस्था खतरामा छ । यस्ता तत्व सबै पार्टीभित्र छन् ।

 

बिपी प्रधानमन्त्री हुँदा 

धेरै ठूलो उद्योग खोल्ने उहाँको सोचाइ थिएन । कल्चरलाई कसरी बचाएर विकास गर्ने भन्ने उहाँको सोच थियो । प्लानिङ कमिसनको कार्यालयमा किसानले हलो काँधमा राखेको फोटो राख्नू भन्नुभएको थियो । हाउस चल्दा पूरै समयबस्नुहुन्थ्यो । कुनै महत्वपूर्ण काम भयो भने मात्र उहाँ हाउस छाडेर निस्किनुहुन्थ्यो । काम सकेर फेरि हाउसमा बस्नुहुन्थ्यो । कुनै महत्वपूर्ण छलफल हुँदै छ भने कुनै पनि हालतमा हाउसमै बस्नुहुन्थ्यो । कुनै मन्त्रीले जवाफ दिएको चित्त बुझेन भने आफैँले जवाफ दिनुहुन्थ्यो । यो उहाँको हाउसप्रतिको इमानदारिता थियो । अहिलेका नेताले सिके हुने नि उहाँबाट ।


अहिलेको संविधान सबैभन्दा प्रगतिशील संविधान हो । आठ दशकमा यसका लागि देशले धेरै दुःख भोगिसकेको छ । अब यसलाई बचाउनुपर्छ । राजनीतिमा आउने नयाँ पुस्ताको जिम्मेवारी पनि त्यो हुन आउँछ । बिपीबाट सिक्नका लागि उहाँलाई पढ्नुपर्छ । कांग्रेसीलाई मात्र होइन, सबै राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई बिपीका रचना पढ्नुहोस् भन्न चाहन्छु । ताकि अहिलेको नयाँ पुस्ताले उहाँको संघर्षबारे बुझोस्, उहाँको विचार बुझोस् । उहाँको व्यक्तित्वबाट केही सिक्न सकोस् । किनकि बिपीलाई हाम्रो समाज कस्तो बनाउने भन्ने थाहा थियो ।

 

समाजवादी अर्थतन्त्रको सोच उहाँमा थियो । देशको राजनीति उहाँकै वरिपरि घुम्ने गथ्र्यो । उहाँ राजनेता र चिन्तक हुनुहुन्थ्यो । उहाँमा देश बनाउने दूरदृष्टि थियो । उहाँले नेपालको भूराजनीति, विश्वको राजनीति राम्रोसँग बुझ्नुभएको थियो । उहाँ एक प्रतिभाशाली नेता हुनुहुन्थ्यो । उहाँलाई जेलमा राखिनु नेपालका लागि बर्बादी थियो । दूरदृष्टि भएको एक प्रतिभाशाली नेताको ऊर्जावान् समय जेलमा बित्यो । महेन्द्रले बिपीलाई जेल नहालेको भए अहिले नेपालको प्रजातन्त्र निकै बलियो हुन्थ्यो । हाम्रो आर्थिक अवस्था निकै राम्रो हुन्थ्यो ।

 

(बिपी स्मृति दिवसको सन्दर्भमा पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग हिमाल पौडेल र केशवप्रसाद पाण्डेले गरेको कुराकानीको सम्पादित अंश)