• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राकेश क्रान्तिकारी
२०७९ श्रावण १४ शनिबार ०८:५१:००
साहित्य

जोड्नुस्

२०७९ श्रावण १४ शनिबार ०८:५१:००
राकेश क्रान्तिकारी

आउनुहोस् केहीबेर 
जोड्ने जोड्ने खेलौँ

 

हरेक जाँचमा जिरो आएको इतिहास 
नखोल्नुस् एकैछिन्,
दुईमा जोड दुई 
चारजत्तिकै सजिलो छ 
आउनुहोस् जोडौँ ।

 

आफ्नो खिइएको पाखुरा जोड्नुहोस् 
स्खलित पसिनाका कण जोड्नुहोस्
सपनाको चुँडिएको इँजार जोड्नुहोस्
भुइँमा पोखिएको पसिना 
छानामा बर्सिएको असिना 
सबै–सबै जोड्नुहोस्

 

बाकसमा अर्धचेत लडेको सर्टिफिकेट 
सर्टिफिकेटमा जमेको
बाउआमाको रगतका टाटा 
हरेक अन्तर्वार्ताले जन्माएको खुइड्ढय 
सबै–सबै जोड्नुहोस्

 

अनि 
हरेक मिटिङमा चिच्याउने स्पिकर 
हरेक मिटिङमा जडान बडेमानको टिभी 
ल्याङफ्याङ लडेको प्लास्टिकको कुर्सी 
गाडीको भाडा 
मासु र भात 
रक्सी र जाँड 
सबै–सबै जोड्नुहोस्

 

आफ्नो सपना र उसको विपना 
आफ्नो झुप्रो र उसको महल 
आफ्नो खुइड्ढय र उसको मुस्कान
आफ्नो रगत र उसको विस्की
आफ्नो ढिँडो र उसको बासमती 
आफ्नो स्तन र उसको आँखा 
सबै–सबै जोडिहेर्नुस् त 

 

तपाईं बाँचेको र मरेकोमा
एक सुता फरक हुनेछैन ।