• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. माधव प्रसाद पोखरेल
२०७९ श्रावण २१ शनिबार ०६:२९:००
साहित्य

कथाले किन लट्ठ्याउँछ ?

मान्छेलाई भित्रैबाट बदल्न सक्ने कथाभन्दा शक्तिशाली गुरु पनि हुँदैन !

२०७९ श्रावण २१ शनिबार ०६:२९:००
डा. माधव प्रसाद पोखरेल

 

अचेल म बेलुका बेलुका हिन्दी धारावाहिक ‘मेरे साई’ र ‘अहिल्या बाई’ हेर्दै छु । ती दुइटै महाराष्ट्रका ऐतिहासिक पात्र हुन् । ‘मेरे साई’ मा चाहिँ सिर्डीका साईबाबाले कसरी लोकको साथ दिए र हित गरे भन्ने थुप्रै बेग्ला बेग्लै उपाख्यानहरूलाई मञ्चन गर्छ भने, मालवाको एउटा सुबिदारले आफ्ना छोरालाई रोजी दिएकी एउटा गाउँको सामान्य परिवारमा जन्मेकी केटी अहिल्याले दरबार भित्र र बाहिरका अनेक स्वार्थी षड्यन्त्रहरूलाई छिचोल्दै हेपिएका महिला, गरिब, गाउँले र जनतालाई साथ दिँदै वीरताका साथ मालवाकी रानी भएर दिग्विजय गरेको ऐतिहासिक कथानकलाई मञ्चन गरेको छ । 


मेरो समस्या के छ भने, टेलिभिजनको होस् कि, सिनेमाको होस् कि, किताबको होस् कि, कसैले भनेको होस्, जहाँको कथामा पनि, मुख्य पात्रले दुःख पाउँदा भक्कानिएर रुन्छु । आदर्श र निम्सरो पात्रको रिस गर्ने, उसलाई दुःख दिने, हेप्ने र उसका काममा भाँजो हालेर उसलाई असफल बनाउन खोज्ने, बदनाम गर्न खोज्ने र अप्ठ्यारामा पार्न खोज्नेहरूसँग म मुर्मुरिन्छु । मुख्य पात्रले उसैका त्यस्ता कप्टी आफन्त र साथीभाइले उसलाई अगाडि चाहिँ मिठो बोलेर चिल्लो घसेका कुरा पत्याएर तिनीहरूको भर गर्दै आफ्नै अनिष्ट निम्त्याउन खोज्दा मलाई आफु नै त्यो कथा भित्र पसेर त्यस नायकलाई पोल खोली दिन मन लाग्छ ।

 

एउटा सबैको भलो गर्ने आदर्श मन भएको पात्रले कुनै वेला आफ्ना शत्रुहरू माथि जाई लागेर बहादुरी देखायो भने मलाई आफैँले रन जिते जस्तो लागेर म गर्वले फुल्छु । वेला वेलामा म कथा भित्रै पस्न खोज्छु । कथा सकिए पछि दिउँसो कुनै कुनै वेलामा म एक्लै पनि कथाका पात्रसित मनमनै बोल्छु । कथाको बाँकी रहेको कुरो म आफैँ मनमनै अब यसो होला कि उसो होला भनेर बनाउने पनि गर्छु । मलाई मात्रै यस्तो भएको कि अरूलाई पनि हुन्छ !


कति कथा, उपन्यास, नाटक, सिनेमा र धारावाहिकमा पात्र, कथा र घटना सबै काल्पनिक हुन्, केही पनि साँचो होइन भन्ने पनि थाहा हुँदा हुँदै म किन मन थाम्न सक्तिन ! कथा हेर्दा म कहिले सन्किन्छु, कहिले रन्किन्छु, कहिले राँकिन्छु, कहिले डरले अतपन्त हुन्छु, कहिले तिनछक पर्छु, कहिले जोसिन्छु, कहिले रुन्छु, कहिले हाँस्छु, कहिले थुक्थुकी गर्छु ! मेरो एउटा भान्जो डरलाग्दो कार्टुन हेर्दा डराएर बसेका ठाउँबाट भाग्थ्यो, तर टिभी बन्द गरेर हेर्नै चाहिँ छोड्दैनथ्यो ।

रामानन्द सागरको धारावाहिक ‘रामायण’ हेर्दा होस् कि बिआर चोपडाको ‘महाभारत’ हेर्दा होस्, म त्यहाँका मुख्य कलाकारलाई चिन्ने भए पनि, म अगाडि देखिएको दारासिंहले होइन, सामुन्ने नै नपरेका हनुमानले लङ्कामा बहादुरी गरेको झल्झली देखेर छक्क परेर खुसी हुन्छु । केटाकेटीमा त सिनेमामा त्यस्तो दृश्य देख्ता म थप्पडी नै बजाउँथेँ ! अचेल अरूले देख्ने गरेर होइन, मनमनै चाहिँ थप्पडी बजाई रहेकै छु । वनमा एक्ली भेटेर दीपिकालाई अरविन्द त्रिवेदीले लगेको अभिनय गर्दा म चाहिँ रावणले सीताहरण गरेकै देखेर जतिसुकै पल्ट त्यही रामायण धारावाहिक हेरे पनि किन पटक पटक झुक्किन्छु ! आफुले देखेको अरविन्द त्रिवेदीसँग रिसाउँदिन, आफुले नदेखेको रावणसँग रिसाउँछु । 


‘महाभारत’ धारावाहिकमा पुनीत इस्सर र गुफी पेन्टलको अभिनय देखेर उनीहरूसित म रिसाउँदिन, त्यहाँ नभएका दुर्योधन र शकुनिसँग रिसाउँछु । म प्रेमचन्दको ‘गोदान’ पढ्दा पनि, शरद् चटर्जीको ‘देवदास’ पढ्दा पनि गुरु प्रसाद मैनालीका कथा पढ्दा पनि त्यो साँच्चैको घटना होइन, लेखकको कल्पना मात्र हो भन्ने जति बुझे पनि, घुँक्क घुँक्क हुने गरी रोएको छु । सिनेमा हेर्दा पनि, धारावाहिक हेर्दा पनि, कथा र उपन्यास पढ्दा पनि जति काल्पनिक हो भन्ने बुझे पनि मलाई कथाले रुवाउँछ । खालि नजिकै बसेको साथीले आफु रोएको चाल पाउला र लाज होला भन्ने मात्र डर लाग्छ ।

 
यस्तो बुढो मान्छे भएर पनि ख्यालख्यालका कथामा रोएको देखेर केटाकेटीले गिज्याउने डर भए पनि म करुण रसका कथा नायक र नायिकाले दुःख पाएको  देखे पछि रुन पनि छोड्दिनँ, अनि त्यस्ता कथा हेर्न पनि छोड्दिनँ । कथामा त्यस्तो के छ र मलाई कसैको काल्पनिक कथाले आफ्नै देशकाल र सँगै बसेको साथी मात्र होइन, आफुलाई समेत बिर्सने गरी किन बेठेगान हुने गरी मनै हरण गरेर बिपत्ता पार्छ ! मेरो त्यही समस्याको गाँठो फुकाउन मैले यो लेख लेखेको !


मेरो खुल्दुलीको गाँठो फुकाउन भर्खरै मैले दुइटा किताब पढेँ । एउटा हो संस्कृत काव्य शास्त्रमा रस सिद्धान्त बनाउने पाठहरूको सङ्कलन (‘अ रस रिडर : क्लासिकल इन्डियन एस्थेटिक्स’, सेल्डन पोलक, २०१६ इ.) अनि अर्को हो कथा वाचन भित्र लुकेको मनोविज्ञान (‘द सायन्स अफ स्टोरीटेलिङ’, विल स्टोर, २०१९ इ.)। यो लेख धेरै जसो त तिनै दुइटा किताबबाट पाएको ज्ञानमा आधारित छ । 


नाटकमा अभिनेताले अभिनयबाट नक्कल गरेर खेलेको कुनै ऐतिहासिक अथवा कल्पित कथा हेर्दा हामीलाई रस बस्छ र हामी लट्ठ हुन्छौँ भन्ने कुराको चिन्तन सबभन्दा पहिले संस्कृत ‘नाट्य शास्त्र’ (छैटौँ अध्याय) मा भरतमुनिले गरेका रहेछन् ! उनले त्यही कुरो आफ्नो ‘रस सूत्र’ (विभाव–अनुभाव–व्यभिचारिभाव–संयोगात्–रस–निष्पत्तिः) बनाएर व्यक्त गरेका रहेछन्, तर ‘नाट्य शास्त्र’ त आज भन्दा झन्डै दुई हजार वर्ष अगाडि रचिएको रहेछ, तर त्यसको पाण्डुलिपि नै कता कता छरिएछ । छरिएको किताब भेटिँदै गयो, प्रकाशित हुँदै गयो र पुरै प्रकाशित हुन झन्डै ६०० वर्ष लाग्यो (काणे, १९२९ इ., ‘हिस्ट्री अफ संस्कृत पोएटिक्स’)। त्यस अन्तरालमा भामह (काव्यालङ्कार), दण्डी (काव्यादर्श) आदिले ‘अलङ्कार शास्त्र’ को चाहिँ विकास गरे, नाटकको त चर्चै हरायो । 

कथाले आफन्त र इष्टमित्रहरूसँग बसिरहेको श्रोता, दर्शक र पाठकलाई साथी–संगीले पनि चाल नपाउने गरी उनीहरूले देख्तादेख्तै लट्याएर अन्यत्रै कथालोकमा लैजान्छ, उसको मनको पूरै शल्य चिकित्सा गर्छ अनि मनका केही र केही पुर्जा साटेर फर्काउँछ !


नवौँ शताब्दीदेखि काश्मीरमा मात्र भरतमुनिले त्यस ‘रस सूत्र’ मा के भनेका होलान् भन्ने व्याख्या सुरु भयो र त्यसको पुरै अर्थ लगाइयो । तिनीहरू मध्ये भट्ट नायक र अभिनव गुप्तका विचार पढे पछि कथाले हामीलाई किन र कसरी लट्याउने रहेछ भन्ने भेउ पाइन्छ । भट्ट नायकले पहिलो पल्ट के विचार राखे भने, हामी नाटक हेर्दा अभिनेताले रामचन्द्र र सीताको अभिनय गरेको देख्छौँ, तर तल्लीन भएर उनीहरूका अभिनयमा राम र सीताका कुरा देखेर आफ्नै मन भित्र पस्छौँ र आफ्नै मनमा गाढिएर बसेका स्थायी भावहरू जगाउँछौँ । त्यस क्षणमा हाम्रो मनमा राम हो कि, अभिनेता हो कि, मै हुँ कि, अर्को कुनै मान्छे हो भन्ने छुट्याउनै नसक्ने अवस्था हुन्छ । भट्ट नायकले आफुलाई पनि बिर्सिने त्यस अवस्थाको नाम ‘साधारणीकरण’ राखेका छन्, त्यसरी लट्ठ भएर आउने कथाको स्वादको नाम ‘रस’ भन्ने राखेका छन् । भट्ट नायकका चेला धनिक (दसौँ शताब्दी) र भट्ट तौटका चेला अभिनव गुप्तले (एघारौँ शताब्दी) भट्ट नायकको रस सिद्धान्तको व्याख्यालाई झन झन आधुनिक मनोविज्ञानको नजिक पु¥याए । 


सक्कली कथाले म जस्ता दर्शक र पाठकलाई किन रन्थन्याउँछ, लट्याउँछ अनि त्यसरी बेहोस भएका वेलामा वनझाँक्रीले हरण गरेर अन्तै लगे झैँ लैजान्छ, दिउँसै अलौकिक सपना देखाउँछ र पढाएर बेग्लै बनाएर कथा सकिँदा पहिले बसेकै आसनमा फर्काउँछ ? कथाले आफन्त र इष्टमित्रहरूसँग बसी रहेको श्रोता, दर्शक र पाठकलाई साथीसङ्गातीले पनि चाल नपाउने गरी उनीहरूले देख्ता देख्तै लट्याएर अन्यत्रै कथालोकमा लैजान्छ, उसको मनको पुरै शल्य चिकित्सा गर्छ अनि मनका केही र केही पुर्जा साटेर फर्काउँछ ! कथालोकमा पुगेर फर्केको मान्छे अरूले उस्तै देखे पनि केही न केही मन नफेरिई फर्किँदैन । अभिनव गुप्तले कथाको यही शक्तिलाई विचार गरेर काव्यबाट शिक्षा मिल्छ भनेका छन् भने ग्रिसेली आचार्य अरस्टोटलले यसै कुरालाई ‘विरेचन’ (क्याथार्सिस) भनेका छन् । रिचर्ड्सले पनि यसको समर्थन गरेका छन् । 


नायकका कथा हेरेर त्यसमा आफुलाई भेट्ने र त्यसबाट सिक्ने स्वाद हामीलाई कथाबाट मिल्छ ! आफ्नो मन भित्र हामी अरू कसैलाई चियाउन सम्म दिँदैनौँ, तर कथा पढ्दै जाँदा मात्र हामी आफ्ना कमजोरीको पनि खोदलखादल गर्छौँ ! कथाले समुदायलाई कर्तव्य अकर्तव्य सिकाउँछ, समुदायसँग मिल्ने आचरण, संस्कृति, शिक्षा र प्रेरणा दिन्छ । चालै नपाई हामीलाई हाम्रा कथाहरूले अनुशासित बनाउँछन् । कथाले हाम्रो अस्मिता बन्छ । कथाले हामीलाई दुःख परेकालाई सहानुभूति र सहयोग गर्ने बनाउँछ । कथाले हामीलाई जीवनमा आई पर्ने समस्याहरूमा कस्तो निर्णय लिने भन्ने सामुदायिक र पुर्खाहरूको जुक्ति सिकाउँछ । मान्छेलाई भित्रैबाट बदल्न सक्ने कथा भन्दा शक्तिशाली गुरु नै हुँदैन ! 


अनुसन्धानले के देखाएको छ भने, यसरी कथाले लम्पट र लट्ठ भएका वेलामा हाम्रो अस्मिता, हाम्रा विचारधारा, विश्वास, सिद्धान्त र लक्ष्य नै शिथिल, दुर्बल र परिवर्तनशील हुन्छन् अनि कथाका आदर्श र विचारहरू हामीसँग सधैँका लागि नमेटिने गरी टाँसिन्छन् । यसरी लट्याएरै कथा वाचकले पाठक र दर्शकको विचार आफु अनुसार बदल्छ । कथा यात्रा पुरा हुँदा कथाबाट गहिरोसँग प्रभावित भएको पाठक वा दर्शक आफ्नो धरातलमा फर्किँदा पुरै फेरिएर फर्किन्छ भन्ने कुरो १३२ ओटा अनुसन्धानहरूले देखाएका छन् । कथा यानमा चढेर यात्रा गरेर फर्के पछि दर्शक अथवा पाठक कथाबाट पुरै फकिएर मात्र फर्किन्छ ।


म अहिले जस्तो छु, त्यस्तो बनाउन मलाई मेरी आमाले सुनाएका कथाहरूले बलियो जगको काम गरेको म अनुभव गरी रहेको छु । आमाले सुनाएका जति कथा त कुनै मान्छेलाई पनि अर्काले सुनाउँदैन होला । मेरा पिताजीले, साथीभाइले र गुरुहरूले सुनाएका कथा, मैले पढेका कथा अनि सिनेमा र धारावाहिकमा देखेका कथा र अरु स्रोतका कथा गरी मैले जीवनमा असङ्ख्य कथा सुनेको रहेँछु । 


आमाले मलाई कुनै कुरो गर्न, कुनै कुरो नगर्न र कुनै कुरो बुझाउन कथा नै सुनाउनु हुन्थ्यो । आमा नै मेरी प्रथम गुरु भएकाले पिताजी र अरू गुरुहरूले सुनाएका हरेक कथा पछाडि मेरा जीवनमा काम लाग्ने शिक्षा नै धेरैजसो लुकेका रहेछन् । साथीभाइले सुनाएका कथाले मनोरञ्जन र मेरो कल्पना शक्ति बढाउन काम गरे जस्तो लाग्छ । कथाबाट पाएको शिक्षा अडिलो हुँदो रहेछ ! अहिले मलाई लाग्छ, कथा नसुनेको भए, म त निकम्मा पो हुने रहेँछु !


कथाको तल्तल र छुद्दे कस्तो हुन्छ भने, म त कथाका पात्रहरूसित एकान्तमा दिउँसै पनि बोल्दो रहेँछु ! सिनेमा र धारावाहिकमा नायकले ढङ्ग पु¥याउन नजानेका वेलामा आफु नै कथा भित्र पसेर नायकलाई सचेत गराई दिन पनि मन लाग्छ र खलनायकलाई गाला चड्काउन पनि मन लाग्छ ! जुनसुकै वेला फुर्सदमा म आफुले हेरी रहेको धारावाहिकमा र पढी रहेको कथामा अब यस पछि के हुन्छ होला भन्ने कुरामा घोरिएर आफुले हेर्न बाँकी रहेको कथा अलिकति आफैँ पुरा गरी हेर्दो रहेँछु ! हामी त सबै कथामय पो रहेछौँ !


‘सायन्स अफ स्टोरीटेलिङ’ का मनोवैज्ञानिकको भनाइ अनुसार कथाले उसकै पूर्ण खटनमा हामीलाई त्यसको उत्तेजक रोटेपिङमा चढाएर पठाएका वेलामा हाम्रो जिउले त्यसका घटनालाई आफ्नै ठानेर अनुभव गर्न थाल्छः मुटु सारो धड्किन थाल्छ, नसाहरू तन्किन्छन्, कोर्टिसोल र अक्सिटोसिन जस्ता स्नायु रसायनहरूको सक्रियतामा परिवर्तन हुनाले हाम्रा मानसिक अवस्थाहरूमा शक्तिशाली प्रभाव पर्छ । कथा वाचकको अनुकृत कृत्रिम लोकले हामीलाई कति पर पु¥याएको हुन्छ भने, हामी आफ्नो ओर्लिने बिसाउनी र निन्द्रा पनि बिर्सिन्छौँ ।


कथा हेर्दा पात्रहरूकै मनका तरङ्गहरूबाट बनेको आदर्श नमुनाबाट दर्शक अथवा पाठकले चाल्र्स डिकेन्सले झैँ आफैँलाई पात्र बनाउँछ । किताब बन्द गरे पछि पनि पात्रहरू बोलेको सुनिन्छ भनेर १९ प्रतिशत पाठकहरूले सुनाए अरे ! कथाका पात्रहरूसँग सहानुभूति गर्दा गर्दै पात्रका मनका भाव र विचारहरू नै सर्लक्क पाठकमा सर्छन् । कथा पढ्दा हामीलाई आफ्नो पनि योग्यता कति हो कति बढ्ता होला कि जस्तो लाग्न थाल्छ ।

कथाको पाठक र दर्शक नै कथा भित्रकै सदस्य र सहभागी हुन्छ । कुनै पनि कथाकारले पाठकको मनोलोकमा आफ्नो मनोलोक खर्लप्पै सार्न चाहिँ सक्तैन । पाठकका मनोलोकका च्याप च्यापमा कथाको मनोलोकमा लेखकै पसेर पाठक र कथाका मनोलोकहरू छ्यासमिस भएर एकाकार हुन्छन् । कथा भित्रै घुस्रेर मात्र पाठक चुर्लुम्म र झनन्न हुन्छ अनि त्यसै झङ्कारले मात्र उसलाई हल्लाउँछ र बदल्छ । कलामा मात्र ‘मोहनलाललाई लालमोहन’ बनाउने यस्तो तागत हुन्छ । नायकको र पाठकको लिङ्ग, उमेर, जाति, भूगोल, इतिहास, मानव र अमानव, लौकिक र अलौकिकको भेदमै अभेद अथवा साधारणीकरण ! कथा हेर्दा हाम्रो ध्यान शक्ति नै एकोहोरिन्छ । 


कुनै उपन्यासको पृष्ठ पढ्नु भनेको स्वाभाविक रूपले दृश्यबाट थालेर वाणी, वाणीबाट चिन्तन, अनि चिन्तनबाट पुरानो स्मृति सम्म पुग्नु अनि त्यहाँबाट फेरि दृश्य संवेदनामै फर्कनु र यही क्रम फेरि फेरि दोहोरिनु हो ! कथा पढ्दै (नाटक हेर्दै) जाँदा पाठक (दर्शक) नै भ्रान्ति लोकमा प्रवेश गर्छ र आफैँलाई कथा जगत्को केन्द्रमा बसेको अदृश्य नायक ठान्न थाल्छ । हामी आफैँलाई सम्पूर्ण ध्यानको केन्द्रमा पाउँछौँ, जहाँ सबै संवेदना र ज्ञान समेटिएर मिल्छन् । कथा हेरी रहेका वेलामा हामीलाई कथाका पात्रको चेतनाकै अनुभव हुन थाल्छ । त्यति वेला हाम्रो मन नै अरूका चेतनाको प्रतिकृति भएका वेलामा कथाले हामीलाई नै हाम्रै अतीत तिर अथवा पछिल्तिर ठेल्छ । त्यस चेतनाले हामीलाई पाठकको आफ्नो वास्तविक चेतनाबाट चाहिँ बाध्यतापूर्वक पछिल्तिर धकेल्छ । हामी कथा, नाटक, सिनेमा र धारावाहिकमा हराएका वेलाको दिमागको फोटामा हाम्रो अस्मिताको ज्ञान नै बन्द भएको अथवा छेकिएको पाइयो अरे ! 


कथा पढ्दा हामी आफ्नै सम्हाली नसकिने वृत्तिहरूसँग पनि जुध्दै हुन्छौँ । हामी कथाको नायक निःस्वार्थ होस्, स्वार्थी विरुद्ध निर्दोषहरूका लागि भिडोस्, र स्वार्थीलाई दण्ड देओस् भन्ने चाहन्छौँ । श्रोता र पाठकहरू पनि नायक नायिकाबाट त्यस्तै सहिद झैँ आफ्नो ज्यान हत्केलामा राखेर खतरा मोल्ने र समुदायका लागि लड्ने आशा राख्छन् । यसैले नै हामी आफुलाई बिर्सेर कथा पढेका वेलामा कथामा त्यस्तै न्याय खोज्छौँ, महान् लक्ष्य लिएका नायक नायिकाको पक्ष लिन्छौँ र सहानुभूति गर्छौँ ः उनीहरू सफल हुँदा खुसी हुन्छौँ, उनीहरूले दुःख पाउँदा रुन्छौँ अनि उनीहरूलाई बाधा गर्ने र दुःख दिनेसँग मुर्मुरिन्छौँ । अरूको हितमा लड्दा लड्दै दण्डित हुने नायकमा दर्शक सहानुभौतिक हुन्छ । नायकले अरूले गर्न नसक्ने काम एक्लै गर्न सक्ने चामत्कारिक र वीर पनि हुनु पर्छ । 


कथा हेर्दा साधारणीकरणले गर्दा जब हामी आफ्नै विषयमा सोच्न र चाल पाउन नसक्ने हुन्छौँ, मनमनै हामीमा नायकत्व पलाएको लाग्न थाल्छ (जोसेफ क्याम्बेल), त्यसैले कथामा एउटा परोपकारी निःस्वार्थ नायकलाई जब स्वार्थीहरू अड्को तेस्र्याउन र असफल बनाउन थाल्छन्, त्यति वेला त्यो नायकको कथा हामीलाई आफ्नै कथा जस्तो लाग्न थाल्छ !


कथा हेर्न मन लाग्ने खुल्दुलीको कारण के हो भने, कथाबाट हाम्रो आफ्नै मन र चरित्रको उद्घाटन हुन्छ । हामीले आफु भित्र देखेको आदर्श भ्रम पनि हुन सक्छ । कथामा हामी त्यो चाल पाउँछौँ, त्यसैले हामी कथा हेर्छौँ । हामीले मनमनै आफुलाई झल्झली देखेको आदर्श रूप हामी नायकमा पाउँछौँ । कथामा हामी आफ्नै आदिम लोकमा पसेर आफैँलाई हेर्न पाउँछौँ । कथामा हामी आफ्नै अतीतलाई पुनर्लेखन गर्छौँ । हाम्रा अचेतनका पाशविक वृत्तिहरूले पनि त्यहाँ तुष्टि पाउँछन् । आदिम भावनामा हामी आफ्नै आत्माको आवाज सुन्छौँ । 


हाम्रो दिमाग अथवा मन स्वभावैले कथोत्पादक र व्याख्यान्वेषी छ । दिमागले बनाएको हाम्रो जगत्मा आफ्नै मनले रचना गरेको यथार्थ हुन्छ । हाम्रो दिमागले जे जे कुरो साँच्छ, सम्झिन्छ, सोच्छ र बुझ्छ, त्यो सबै कथामय मात्र हुन्छ । हामीले पत्याउने र विश्वास गर्ने हरेक धारणा र विचार धारा स्नायविक इँट्टाका रूपमा हुन्छन् । कुनै सत्यको खोजी गर्दा, व्याख्या गर्दा, धर्मको उपदेशमा, राम्रो, नराम्रो, सबै उत्तरमा दिमागले कथा बनाउँछ । ती सबै उत्तरमा आरम्भ, मध्य र अन्त (पञ्चसन्धि) हुन्छ अनि सबैमा नाटकमा जस्तै पात्रहरू नायक र खल नायक सबै हुन्छन् । हाम्रो दिमाग सधैँ कथामय हुन्छ र कथामै मग्न हुन्छ । कथा भन्ने चलन आदिम हो । हामी कथाका बान्कीको सूचना मात्र सम्झिन सक्छौँ । दर्शन र विज्ञानका सिद्धान्त र व्याख्या पनि कथामय हुन्छन् । दिमागले सबै सूचना कथाकै रूपमा साँच्छ । संस्मरण पनि कथाकै रूपमा हुन्छ । 

कथामा हामी आफ्नै आदिम लोकमा पसेर आफैँलाई हेर्न पाउँछौँ । कथामा हामी आफ्नै अतीतलाई पुनर्लेखन गर्छौं । हाम्रा अचेतनका पाशविक वृत्तिहरूले पनि त्यहाँ तुष्टि पाउँछन् । आदिम भावनामा हामी आफ्नै आत्माको आवाज सुन्छौँ । 


हाम्रो दिमागले हामीलाई नै मूर्ख बनाएर बनाएको तरङ्गमय कथालाई नै साँचो ठानेर पत्याउने पार्छ । हाम्रो कथा बनाउन खप्पिस मस्तिष्कले हाम्रो दिमाग भित्र रचेको यथार्थको पुनर्निर्माण गर्छ । हाम्रो दिमागले आफुलाई न्यायमूर्ति ठान्ने बनाएको हुन्छ । कथा रच्न नजान्ने कोही पनि हुँदैन: हाम्रो दिमागले अरूको दिमागसित पनि अन्तरक्रिया गर्छ । हामी कसैले मनमनै अरूको मनमा के कुरो चली रहेको छ होला भनेर सधैँ कथा बनाउँछौँ र जसको मनको कथा बनायौँ उसैलाई त्यो कथा सुनाउँदा उसले मानेन भने पनि हामी आफैँले बनाएको उसको मनको कथाकै विश्वास गर्छौँ । इतिहासकारले पनि भेटिएका तथ्यहरूका करङमा कल्पनाको मासु भरेर कथाका रूपमा बनाएको इतिहासलाई मानिसहरू साँचो ठानेर पत्याउँछन् । बौलाहाले पनि आफुले सम्झेका कुरामा बिर्सेका ठाउँमा काल्पनिक कुरा जोडेर संस्मरण बनाउन सक्यो भने, उसको बहुलट्टी निको हुन्छ भनेर फ्रायडले लेखेका छन् । 


कथा सुन्न र खेल्न नपाएको मान्छे सामाजिक हुन सक्तैन । मेरै प्रेरणा स्रोत, आदर्श र कमजोरीका कारण÷मेरो मनको कहिल्यै नमेटिने निरर्थक डर)÷आमा र पिताजीले सुनाएका कथामा फरक÷म आमाको, छिमेकको, आफन्तको, साथीभाइको, गाउँको र समाजको प्रशंसा चाहन्थेँ । मलाई आमा र पिताजीले सुनाएका कथाले उकास्थे, तर आमाका कथा मनको गुदीमै पस्थे र मनको डिम्माको पहेँलो भागमा जम्थे भने, पिताजीले सुनाएका कथा मेरो मनको डिम्माको सेतो भागमा बोक्रा छेउमा मिल्थे ।

म जन्मिँदा मेरा हजुरबा–हजुरआमा हुनुहुन्नथ्यो, त्यसैले मैले हजुरआमाका कथा सुन्न पाइनँ । मलाई कथा सुनाउने गुरु मेरी बालसखी नर्बदा र अम्बिका दिदीका कथा मात्र म अहिले सम्झन्छु । पिताजी जन्मेको केही वर्षमै आमाबा बितेर टुहुरा भएकाले भाउजुले हुर्काएको हुँदा आफ्नो गोठमा सुनेका भूतप्रेतका कथा र दन्तकालीको पुजारी हुँदा कसैले दक्षिणा चोरेको आरोप लगाएका पिरले घरबाट भागेर हरिद्वार पुगेको र त्यहाँ आफ्ना हराएका साइँला दाजु अघिल्लै दिन जोगी भएको र हरिद्वार र काशीमा संस्कृत पढ्दाका कुरा सुनाउनुहुन्थ्यो । 


विधवा जेठी भाउजुले आफुलाई हुर्काउनु भएको कुरो मात्र मैले पिताजीबाट सुनेँ । दाजुभाउजुकी एउटी छोरी दन्तकालीका विष्णुप्रसाद पुजारीलाई दिएको, दश वर्षको उमेरमै विधवा हुनु भयो अरे ! छोरा चाहिँ दश वर्षकै उमेरमा पिण्डेश्वरको अष्टभुजा मन्दिरमा भोग लगाएको बटुकामा लात्ती लाग्दा डराएर देवीको मुख हेर्दा झस्केर मरेको कुरा मैले आमापिताजीका मुखबाट सुनेको ! 


पिताजीकी भाउजु आमाकी आफ्नै माइली सानिमा अरे !  धरान बजारका आदौरत्न पुरेतकी छोरी भएकाले आमाले आफ्नै माइतीका कथा र १२ वर्षको उमेरमा बिहे भएर विजयपुर आए पछि गोठबाट जङ्गलको बाटो एक्लै घिउ, दुध, मोही ओसारेका कुरा, छबोटेबाट दाउरा बोकेका कुरा र अरू थुप्रै कुरा मैले आमाका मुखबाट सुनेको ! 


मेरा ठुल्दाजु (स्वयंप्रकाश)लाई माइला दाजु जन्मे पछि हरिद्वारमा भएकी जेठी फुपुले पढाउन लैजानु भयो अरे । हरिद्वारमा राम औषधालयका संस्थापक रामप्रकाश स्वामीले धर्मपुत्रलाई झैँ पूर्ण राजसी सुख दिएर दाजुलाई पढाए अरे ! प्रथम श्रेणीमा मेट्रिक पास भए पछि आफ्नो सबै सम्पत्ति दाजुका नाम (बालमुकुन्द) मा लेखाई दिए अरे, तर स्वामीजीले त दाजुलाई त्यति गरेको जोगी बनाएर आफ्नो चेलो बनाउन पो रहेछ भन्ने थाहा पाएर दाजु राम औषधालयबाट भाग्नु भयो अरे । त्यस पछि आफ्नो नाम पनि बालमुकुन्दबाट स्वयंप्रकाश बनाउनु भयो अरे ! यस्ता अनेक कथाहरू मैले आमापिताजीका मुखबाट सुनेँ ।  कथाविना म बाँच्नै सक्तिनँ !