ओठमा हल्का जंगबहादुर जुँगा
मानसमा ठडिइरहेको पृथ्वीनारायण औँला
आङमा महेन्द्र–छाप लबेदा सुरुवाल
र शिरमा
अन्तिम श्रीपेचको झरिसकेको एउटा कल्की
यी सब पहिरिएर
जो उभिरहेछ
ठिंग – गणतान्त्रिक सडकमा
सम्झ, यो हुलिया
नया तानाशाहको हो
नयाँ तानाशाह बिलकुल इतिहासजीवी छ
छ बिलकुल अतितप्रेमी
जोसंग उसैले फेरिरहेको सास
र उसैको पछिल्लो जन्मदिनबाहेक
नयाँ केही छैन
उसँग सोँच्नलाई आफ्नै गिदी छैन
त्यसैले, अलिकति गिदी मागेर मध्ययुगसँग
भर्छ आफ्नो खोपडीमा
र, सोध्छ
सारा देशवासी
उसकै पैतलाका पैदावारहरू हुन्
भिर्नलाई आफ्नै पहिरन छैन
झिकेर निकट अतीतको सन्दुकबाट राष्ट्रिय पोसाक
पहिरिन्छ शरीरमा
र उभिँदै मध्ययुगीन ऐनाअगाडि
बर्बराउँछ
यो देश– उसैले आर्जेको सकल भूमि हो
टेक्नलाई आफ्नै जुत्ता छैन
पैँचो लिएर एकजोर पुराताŒिवक खराउ
निस्किन्छ टुँडिखेलमा घोडेजात्रा मनाउन
र, भन्छ
मेरो एक आदेशमा झुक्नुपर्छ हरेक झन्डाले
फर्किनुपर्छ अब यस सडकले
सुदूर इतिहासको गर्भतिर
हरेक तानाशाह
यसरी जन्मिन्छ नयाँ अनुहारमा
हुर्किन्छ नया युगमा
तर, बाँच्छ हमेसा पुरानो अक्युरियमको पानीमा
उसलाई मन पर्दैन नयाँ मानिस
नयाँ भाषा
नयाँ खोपडी
सबभन्दा बढी त
मन पर्दैन उसलाई नयाँ गिदी
यसकारण कि
उसलाई सबभन्दा बढी मन पर्छ
पुरानो तानाशाहको सालिक
नयाँ तानाशाह
त्यसैले हरेक दिन
पुग्छ पुरानो तानाशाहको सालिकछेउ
बडो भक्तिपूर्वक गर्छ परिक्रमा
र, फर्किन्छ
भित्रभित्रै अर्को नयाँ सालिकको कामना गरेर
मानिस भ्रममा पर्न सक्छन्
कि दिनदहाडै त्यसरी
बिच सडकमा
जो उभिरहेछ त्यस्तो हुलिया लिएर
र, जसले गरिरहेछ मृत इतिहासको भद्दा नक्कल
कतै त्यो ज्युँदो मानिस नै त हैन ?
तर, यता कविहरू भनिरहेछन्
यो अन्तिम कविता हुनेछ अब त्यसको नाममा
भिडले फलाकिरहेछ
अन्तिम गाली हुनेछ त्यसलाई सराप्न
जुलुस गुन्जिरहेछ
अन्तिम नारा हुनेछ त्यसलाई सुनाउन
र, नागरिकहरू भनिरहेछन्
यो अन्तिम थुक हुनेछ त्यसको अनुहारमा थुक्न
किनभने
कविता
गाली
नारा
थुक
सब मानिसका भाषा हुन्
जुन मानिसबाहेक
सुहाउँदैन तानाशाहलाई
भिडभित्र यतिखेर
कोही एकजनाले ठोसिरहेछ एक काँटी सलाई
अर्कोले झोसिरहेछ मसाल
र, तेस्रोले भनिरहेछ
बस्, यही हो
त्यसलाई सुहाउने भाषा ।