• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गुरुङ सुशान्त
२०७९ श्रावण २८ शनिबार ०६:३१:००
संगीत

संगीतको सीमाहीन साइनो

२०७९ श्रावण २८ शनिबार ०६:३१:००
गुरुङ सुशान्त

दार्जिलिङ पहाडका पहिरोपीडितको सहयोगार्थ सन् १९६८ को उत्तरार्धमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा सांगीतिक कार्यक्रम भएछ । स्थापित कलाकारहरूको प्रस्तुति रहेको उक्त कार्यक्रममा बच्चुकैलाशले पनि गाएछन् । उनी आफ्नै शैलीमा मग्न भई गाइरहेका वेला पछिल्लो लहरका केही श्रोताले अभद्र तरिकाले सिट्ठी मारिदिएछन् । आफ्नो प्रस्तुति सकाएपछि बच्चुकैलाशले फुस्फुसाउँदै भनेछन्, ‘यस्ता मान्छेहरूका लागि अब गीत गाए त के ?’ त्यसयता बच्चुकैलाश सार्वजनिक कार्यक्रमबाटै टाढै रहे । मिडियामा पनि उनका बारेमा नयाँ जानकारी कमै पढ्न पाइन्छ । महेन्द्र पुलिस क्लबको त्यही घटना नै यति अब्बल गायकलाई गायनबाट अलग्याउने कारक थियो–थिएन, यकिन भन्न सकिँदैन ।

 

तर, जे भयो, नेपाली संगीतका लागि चाहिँ क्षति भयो । लेखक पिटर जे कार्थकले भने आफ्नो पुस्तक ‘नेपाली संगीतस्रष्टा’मा बच्चुकैलाशको ‘पलायन’को कारण त्यही घटना र तिनै सिट्ठीवाला दर्शक मानेका छन् । यस्तो निष्कर्ष निकाल्ने पिटरको देहावसान भइसक्यो भने बच्चुकैलाश यसबारे मुख खोल्न इच्छुक देखिँदैनन् । पिटर जे कार्थकको पुस्तक ‘नेपाली संगीतस्रष्टा’मा दार्जिलिङ र नेपालमा प्रचलित नेपाली संगीत र संगीतकर्मीका बारेमा यस्तै–यस्तै रोचक प्रसंगहरू समेटिएका छन् । पिटरको अंग्रेजी पुस्तक ‘नेपाली म्युजिकमेकर्स’लाई अनुवादकहरूले भिन्न–भिन्न स्वाद र शैलीमा पस्केका छन्, जसलाई वसन्त थापाको कुशल सम्पादनले रसिलो बनाएको छ । 


दार्जिलिङको संगीत संसारमा कुनै समय यस्तो थियो, जहाँ अम्बर गुरुङलाई नै खास मियो बनाएर युवा पुस्ता साधना गर्थे । नेपालमा राजकीय सम्मान पाएका तिनै गुरुङका ‘चेला’ पिटर जे कार्थकले दार्जिलिङ र काठमाडौँको संगीत–साइनोलाई अनावृत्त गरेका छन्– ‘नेपाली संगीतस्रष्टा’मा । संगीतमा लामो अध्ययन र अभ्यास गरेका पिटर आख्यानकारका रूपमा स्थापित लेखक हुन् । नेपाली र अंग्रेजी दुवै भाषाका आख्यान–गैरआख्यानमा सिद्धहस्त पिटरको यस पुस्तकले उनको संगीतसँगको सानिध्यतालाई त उजागर गरेको छ नै, नेपाली सुगम संगीतको संक्षिप्त रेखाचित्रसमेत कोरेको छ ।


शेक्सपियर भन्छन्, ‘संगीतमा यस्तो मोहकता रहन्छ, जसले एउटा खराब वस्तुलाई पनि असल रूपमा ढाल्न सक्छ र असललाई हानिकारक रूपमा ।’ अगमसिंह गिरीको शब्द ‘नौलाख तारा उदाए’ अम्बर गुरुङको स्वर–संगीतमा घन्किन थालेपछि नै दार्जिलिङ र नेपालको सांगीतिक सम्बन्ध गाँसिएको मानिन्छ । दार्जिलिङको पहाड र चिया बगानलाई गुन्जायमान गरेपछि यो गीत तुरुन्तै राजनीतिको पेन्डोरा बक्समा परिणत भएको दाबी गर्छन्, पिटर ।

 

उनका अनुसार प्रवासी समुदायको विरोध–गानलाई भारत सरकारले ‘एन्टी–न्यासनल’को रूपमा व्याख्या ग¥योे । भनिन्छ, ‘नौलाख तारा’कै कारण संगीतगुरु मानिने अम्बर गुरुङले हुँदाखाँदाको सरकारी जागिर छोड्नुपरेको थियो, दार्जिलिङमा । हुन त प्रत्यक्ष सरकारी निलम्बनमा परेका थिएनन्, गुरुङ । यस्तै असहजताबीच ससाना सांगीतिक कार्यक्रममा खुम्चिएर बसेका गुरुङ राजा महेन्द्रको बोलावटबाट नेपाल आए । ‘नौलाख तारा’लाई उठानबिन्दु मानेर दार्जिलिङ र नेपालबीच एक प्रकारको सांगीतिक जुहारी चलेको थियो । ‘फर्क है फर्क’, ‘नजाऊ फर्की नेपाल’ र ‘अल्झेछ क्यारे पछ्यौरी’जस्ता गीतहरूलाई नेपाली जातिको प्रवास यात्रा र पुख्र्यौली भूमिमोहको अभिव्यक्ति मान्न सकिएला । लामो उठबस गरेका भित्री चेला पिटरलाई अम्बरका सारा बहिखाता थाहा हुनु आठौँ आश्चर्य भएन । त्यसैले संगीतसम्बद्ध आफ्ना लेखमा बारम्बार अम्बरको नाम लिन्छन्, पिटर । 


हुन त, संगीतलाई शुद्ध मनोरञ्जनात्मक कलाका रूपमा मात्रै स्वीकार गर्ने कि समाज रूपान्तरणको सशक्त सांस्कृतिक माध्यम मान्ने भन्नेबारे संसारभर अनेकानेक बहस भएका छन् र भइरहनेछन् । संगीत र सर्वहारा वर्गलाई जोडेर गरिने विमर्शमा पिटरको खासै चिन्ता नभएको कुरा यस पुस्तकले पनि पुष्टि गर्छ । भारतीय नेपाली समाजमा रहेको ‘नेपाली जाति’प्रतिको प्रेम र उक्त प्रेमबाट प्रेरित भएर जन्मिएका कवितात्मक संगीतमा नै उनको चासो बढी रहेको देखिन्छ । त्यसमा पनि उनको मन–मस्तिष्कमा दार्जिलिङ नै दार्जिलिङ खेलिरहेको÷झुलिरहेको थियो भन्ने अनुमान पाठकले सहजै गर्न सक्छन् । हुन पनि, आधुनिक नेपाली संगीतमा दार्जिलिङको अध्यायलाई झिकिदिँदा त्यो इतिहास नै अर्धमृत हुने ठहर मर्मज्ञहरूको छ । संगीतका सामान्य श्रोताको पनि समर्थन हुन सक्छ, यस टिप्पणीमा ।

दार्जिलिङको संगीत संसारमा कुनै समय यस्तो थियो, जहाँ अम्बर गुरुङलाई नै खास मियो बनाएर युवा पुस्ता साधना गर्थे । नेपालमा राजकीय सम्मान पाएका तिनै गुरुङका ‘चेला’ पिटर जे कार्थकले दार्जिलिङ र काठमाडौंको संगीत–साइनोलाई अनावृत्त गरेका छन्– ‘नेपाली संगीतस्रष्टा’मा ।


दार्जिलिङ बसाइमा संगत गरेका संगीतकर्मीहरू सम्झिँदा पिटर नोस्ताल्जियाले निथ्रुक्क भिजेका छन्, नेपाली संगीतस्रष्टाः दार्जीलिङ र काठमाडौंको संगीत संसारमा । गोपाल योञ्जन, अरुणा लामा, पुष्प नेपाली, अगमसिंह गिरी, रन्जित गजमेर, कर्म योञ्जन, तारादेवी, दिव्य खालिङ, बच्चु कैलाशजस्ता संगीतकर्मीसँगका भेट रोचक घटनावलीका कारण पनि पुस्तक आकर्षक लाग्छ । नेपाली संगीतमा अरुणा लामालाई ‘नाइटिंगेल’को उपाधि दिइन्छ । संगम क्लब आउजाउका क्रममा यिनै लामासँग पिटरको सघन सानिध्य देखेर धेरैले बिहेसम्मको अफवाह फैलाएछन् । तर, अग्रज अरुणा लामा र आफूबीचको सम्बन्धबारे पिटरले स्पष्टीकरण दिएका छन्, ‘तर, त्यस्तो सोच्नेहरूले अरुणा वा मलाई राम्ररी चिनेकै थिएनन् । हाम्रो सम्बन्ध विशुद्ध आदर्शवादी थियो । अरुणासँग प्रेम गर्ने कुरो म सोच्न पनि सक्दिनँ थिएँ र मसँग प्रेम सम्बन्ध राख्ने कुरा अरुणाले पनि सोचेकी थिइनन् जस्तो लाग्छ ।’ त्यसवेला लामा नेपाली संगीतकी बुलबुल बनिसकेकी थिइन् भने पिटर एक गिटारवाधक थिए ।


लेखक वसन्त थापाको अनुरोधमा पिटरले ‘दार्जिलिङ पहाडको संगीत संसार’ र ‘काठमाडौंको खाल्डो संसार’ लेखेका छन्, जसमा शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बालगायतको पोट्रेट मात्रै गरेका छैनन्, उनी स्वयंमाथि पनि शब्द खर्चेका छन् । यसमा ध्रुव केसी, माणिकरत्न, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, झलकमान गन्धर्वमाथि पिटरले खर्चेका शब्दमा अति नै कन्जुस्याइँ देखिन्छ । यी गायकहरू नेपाली संगीतका बलिया–बलिया अनुच्छेद हुन् । पिटरले यी संगीतकर्मीमाथि बरु अर्को पुस्तक लेख्न सक्थे । लाग्छ– एकाध अनुच्छेदमा यी संगीतकर्मीलाई खुम्च्याउनु एक खालको अपमान नै हो । एउटै पुस्तकमा खँदिलो खुराक खोज्ने पाठकका लागि त यो संक्षिप्तीकरणले निराश तुल्याउँछ । तर, कुनै वेला दार्जिलिङको पहिलो स्थानीय रक ब्यान्ड ‘हिलियन्स’का बेस गिटारिस्ट पिटरले यस पुस्तकको माध्यमबाट नेपाली संगीतसँग सटिक संलाप गरेको अनुभूति भने पाठकले गर्छन् ।


इन्द्रबहादुर राई, ईश्वरबल्लभ, अम्बर गुरुङका औपचारिक–अनौपचारिक चेला पिटरले विभिन्न ठाउँमा संगीत पढाए । संगीतकै सान्निध्यले हुनुपर्छ– उनका अन्य गद्यमा पनि एक किसिमको रिदम भेटिन्छ । संगीतबारे निरन्तर कलम चलाएका पिटरलाई पढ्दा यस्तो लाग्छ, उनको नसा–नसामा सुर–ताल दौडिरहन्थ्यो । 


दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटरहरू ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लैले थामेजस्तो थियो । संगीतको सबैभन्दा महŒवपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको वेला थियो, त्यो । वाद्यवादकलाई ‘अछुत’ देख्ने वर्णवादी दृष्टि व्याप्त थियो । उदार समाजमा हुर्केका पिटरलाई छुवाछुतग्रस्त समाज साँघुरो लाग्नु स्वाभाविकै थियो । अर्काे समस्या थियो– यताका हस्तीहरूलाई दार्जिलिङे संगीतकर्मीहरूले आफ्नो भाग खोसिदिन्छन् भन्ने शंका र भय । यस्तो परिवेशमा काठमाडौंमा टिक्नु लेउ लागेको ढुंगामा उभिनुजस्तै मुस्किल थियो । तापनि, अम्बर गुरुङलाई आदर्श मान्ने पिटरले काठमाडौंमै आफ्ना अभ्यास र ज्ञानलाई घोटिरहे । उनले सांस्कृतिक रूपमा समृद्ध त्यसवेलाको काठमाडौंलाई संगीतको कोणबाट मध्ययुगको ‘वेस्टल्यान्ड’ पनि भनेका छन् ।


पिटरको लेखन चोटिलो हुँदाहुँदै कहीँ–कहीँ अनावश्यक गालीगलोजमा उत्रिएको भान हुन्छ । अम्बर गुरुङको चर्चा गर्ने क्रममा उनले लेखेका छन्, ‘राजा र रानीका लागि अम्बर सरको क्यान्टेटा प्रस्तुत गरिने भएपछि त्यसमा अर्को झमेला आइलाग्यो । नामचाहिँ पुण्यात्माजस्तो भएको भक्तराज आचार्य नाम गरेको नैतिकहीन अहंकारी र व्यर्थको फुलेल गायकले अम्बर सरका लाइनहरूलाई सही तरिकाले नगाइदिएर मजाक उडाइदियो । निजले गाउनुपर्ने आफ्नो छोटो अंशको शब्द र धुनलाई अभ्यासमा जानाजान बिर्सिदिएर हैरान खेलायो ।’ थाहा भएकै यथार्थ हो– कोही पनि पूर्ण हुँदैन र दिग्गज भनिएकाहरूबाट पनि गल्ती हुन्छन् । अर्को सत्य– सबैलाई सबै मान्छे मन पर्नैपर्छ भन्ने पनि हुँदैन । भक्तराज आचार्य मन नपर्नुका व्यक्तिगत कारण थिए होलान्, पिटरसँग । तर, मन नपर्दैमा स्थापित एक गायकलाई यस हदसम्मको टिप्पणी गर्नुलाई कुनै पनि कोणबाट जायज मान्न सकिँदैन । यसलाई पिटरभित्र लुकेको डरलाग्दो अहंकारका रूपमा चित्रण गर्न सकिन्छ । यस टिप्पणीको नेपाली अनुवादमा अलि नरम शब्दचयन गर्न पनि सकिन्थ्यो होला । विडम्बना ! यो पुस्तक प्रकाशनपूर्व नै पिटरको देहावसान भएकाले अनुवादमाथि उनले आफ्नो सन्तुष्टि–असन्तुष्टि राख्न पाएनन् । 


कुनै जातिको सांस्कृतिक इतिहासलाई मूल्यांकन गर्ने एउटा उत्तम कसी संगीत पनि हो । मानव जातिको विश्वभाषा मानिने संगीतमा नेपाली इतिहास चिहाउने सानो आँखीझ्यालको काम यस पुस्तकले गर्‍यो भने पिटर जे कार्थकको सफलता माने हुन्छ । पढ्दा–पढ्दै बीचमा अपुग लाग्नु यस किताबको सीमा हो, किनकि अधिकांश लेख अखबारको शब्दसीमालाई ध्यानमा राखेर लेखिएका हुन् । पिटरको स्वीकारोक्ति छ, ‘यो पुस्तक मेरो व्यक्तिगत संस्मरणको संग्रह हो र यो कुनै पनि अर्थमा ऐतिहासिक अभिलेख होइन ।’ तर, यस पुस्तकलाई समाजशास्त्रीय अध्ययनको सन्दर्भ–सामग्री बनाउन सकिन्छ ।