• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दीपेन्द्र ढुंगाना
२०७९ श्रावण २८ शनिबार ०६:५२:००
सम्झना

कृत्रिम अंगले दिएको खुसी (फोटोकथा)

२०७९ श्रावण २८ शनिबार ०६:५२:००
दीपेन्द्र ढुंगाना

काठमाडौंमा कलेज पढिरहेका २३ वर्षीय नरेन्द्रबहादुर श्रेष्ठको जीवनमा कल्पनै नगरेको घटना भयो । सुन्दर सपनाहरू सजाउँदै काठमाडौंका चोक गल्लीहरू घुमिहिँड्ने नरेन्द्र त्यस्तो घटनामा परे, जुन घटनाबाट उनको जीवनै मोडियो । कसैको सहाराविनै हिमाल, पहाड उक्लिने उनलाई कृत्रिम अंगको सहारा चाहिने भयो । तर, उनले हरेस खाएनन् । शरीरको कुनै अंग कृत्रिम नै सही, उनको हौसला उस्तै छ, जाँगर उस्तै छ । कृत्रिम अंगको साथ पाएपछि उनको हिम्मत फेरि जुर्मुराएको छ ।

 

त्यस दिनको घटना सम्झिँदा नरेन्द्रलाई आज पनि पीडा हुन्छ । उनी ३  वर्षअघि दसैँ–तिहारको छुट्टीमा घर पुगेका थिए । सिराहा मिर्चैया हो उनको घर । कात्तिक २ गते बिहानै घरनजिकै दुर्घटनामा परे । बडेमानको १० चक्के लरीको ठक्करबाट उनी सक्त घाइते भए ।

 

दुर्घटनास्थलमा के–के भयो उनलाई सबै याद छैन । उनलाई धमिलो गरी यति मात्रै याद छ, करिब आठ मिटर परसम्म उनको गोडा लरीको टायरले घिसारेर लगेको थियो । वरपरका मानिसहरू कहालिँदै घटनास्थल आएका थिए । उनी बेहोस भए ।

 

नरेन्द्र होसमा आउँदा उनी काठमाडौंको बी एन्ड बी अस्पतालमा थिए । उनलाई हेलिकोप्टरमा ल्याइएको थियो । उनको एउटा गोडा काट्नुपर्ने भयो । रिपोर्टसहित उनलाई मेडिसिटी अस्पताल लगियो । त्यहाँ पनि गोडा काट्नैपर्ने डाक्टरहरूले सुनाए । हेल्थ असिस्टेन्ट पढ्दै गरेका नरेन्द्रलाई आफ्नो गोडाको अवस्थाबारे राम्रो जानकारी भइसकेको थियो । अन्ततः उनको गोडा काटियो । नरेन्द्र भन्छन्, ‘गोडा नकाट्दा पछि गाह्रो हुनेवाला थियो । त्यसैले काटियो ।’ 

कृत्रिम खुट्टाकै सहारामा अहिले नरेन्द्र सामान्य दिनचर्यामा फर्किएका छन् । भन्छन्, ‘अस्पतालमा आठ घन्टासम्म काम गर्छु । स्कुटर चलाएरै डेरामा आउने–जाने गर्छु ।’ उनी धेरै गह्रुंगो काम गर्न सक्दैनन् । सामान्य घरायसी काम सहजै गर्छन् । नरेन्द्र अनुभव सुनाउँछन्, ‘चार घन्टासम्म हिँड्न सकिन्छ ।’


मध्यमवर्गीय परिवारको जेठो छोरो नरेन्द्रले घरपरिवारलाई सम्झाए । हरेस खाएर होइन, हिम्मतले काम गर्ने अठोट लिए । आफूमा भएको हिम्मत परिवारलाई सुनाए । त्यसपछि उनी कृत्रिम खुट्टा लगाएर हिँड्ने योजनामा पुगे । करिब एक लाख रुपैयाँ खर्च गरेर कृत्रिम खुट्टाको जोहो गरे । उनले कृत्रिम खुट्टा लगाएरै मनमोहन मेमोरियल अस्पतालमा काम गर्न थाले । अस्पतालमा आउने धेरै बिरामी र बिरामीका आफन्तको प्रेरणाको स्रोत बने ।

 

कृत्रिम खुट्टाकै सहारामा अहिले नरेन्द्र सामान्य दिनचर्यामा फर्किएका छन् । भन्छन्, ‘अस्पतालमा आठ घन्टासम्म काम गर्छु । स्कुटर चलाएरै डेरामा आउने–जाने गर्छु ।’ उनी धेरै गह्रुंगो काम गर्न सक्दैनन् । सामान्य घरायसी काम सहजै गर्छन् । नरेन्द्र अनुभव सुनाउँछन्, ‘चार घन्टासम्म हिँड्न सकिन्छ । सामान्य व्यक्तिजसरी पलेटी कसेर बस्न सकिन्छ । तर, पानीबाट चाहिँ जोगिनुपर्छ ।’

 

०००
नरेन्द्रका लागि कृत्रिम खुट्टा बनाएका डाक्टर अमितरत्न बज्राचार्यले २० वर्षदेखि कृत्रिम हातगोडा बनाउँदै आएका छन् । पछिल्लो समय कृत्रिम अंग प्रयोग गर्न आर्थिक रूपमा सम्पन्न मानिस मात्रै धेरै आउने गरेको उनको अनुभव छ । विपन्न परिवारमा यस्तो सुविधाको पहुँच पुर्‍याउन नसक्दा दुःख लागेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारलाई अहिलेसम्म कति व्यक्तिलाई कृत्रिम अंग चाहिन्छ भन्ने थाहै छैन । यसको तथ्यांक सरकारसँग हुनुपर्छ ।’ बज्राचार्यका अनुसार समस्या भएका व्यक्तिले कृत्रिम अंग प्रयोग गर्न पाउनु उसको मौलिक अधिकार हो । स्वास्थ्य मन्त्रालयले कृत्रिम अंगसम्बन्धी निर्देशिका बनाउनुपर्ने उनको माग छ ।

 

दुर्घटनाका कारण धेरैले आफ्ना हातखुट्टा गुमाएका हुन्छन् । नरेन्द्र केवल एकजना प्रतिनिधि पात्र मात्रै हुन्, जसले खर्च गरेरै कृत्रिम अंग प्रयोग गरी आफ्नो दैनिकी सहज बनाएका छन् । तर, कृत्रिम अंग किन्न नसकेका वा कृत्रिम अंगबारे जानकारी नपाएका कति धेरै व्यक्तिहरू होलान्, उनीहरूको जीवन सहज बनाउन राज्य जिम्मेवार हुनुपर्ने देखिन्छ ।

तस्बिरमा कृत्रिम खुट्टा बनाउने र जडान गर्ने प्रकृया :