• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सञ्जु साम्पाङ
२०७९ श्रावण २८ शनिबार ०७:२४:००
साहित्य

अनुप्रास नमिलेको जीवन

२०७९ श्रावण २८ शनिबार ०७:२४:००
सञ्जु साम्पाङ

कुनै चल्ताफिर्ता देशको
एउटा बबुरो मजदुर
पचासौँ तलामाथि काम गर्दागर्दै
अचानक झर्छ

 

तीसौँ तलाको सीधा भरिन्छ उसको आँखा
मन्द मुस्कान फ्याँकेर उसैलाई हेरिरहेकी
प्यारी जहानको अनुहारको सम्झनाले

त्यो मुस्कानभन्दा प्यारो अर्को प्राण
तत्कालै समेटिन्छ नयनमा
भुक्कभुक्क गालामा टुपुक्क खोपिल्टा भएको
पुकुले छोराको मुग्ध पार्ने मुहार

सायद पाँचौँ तलाछेउ हुनुपर्छ
गुन्जिन्छ उसका कानहरूमा
एउटा सुमधुर तोतेबोली–
‘पापा, भले छित्तै आउनू है’

 

अर्को गरिब मुलुकको
एक मजदुर साथी निल्छ सधैँ
अन्याय, आवेग, तनाव, कुण्ठा र रिस
अनि विरक्तिन्छ अझै
‘अहँ, यहाँ मजदुर हुन सजिलो छैन’ 

 

यता, सँगैका साथीहरू
तन्किन नसकेको तनखाको
बुच्चे कुना च्यातेर
चियाबिस्कुट बुक्याइरहँदा
पढिरहन्छ एउटा मजदुरचाहिँ
युरोप छिर्ने सपनामा
भूमध्यसागरभित्र
नब्युँझिने गरी निदाएकाहरूलाई,

 

कल्पना गर्छ कि ऊ आफैँ हो
डुंगाबाट खसेको
त्योभन्दा अगाडि
कैयौँ रात भोकै बसेको
अभावको च्यादर ओढेको
त्यो च्यादर जो बाँडिएको थियो
टुक्रा–टुक्रामा...
ओढायो उसले एक टुक्रा
पक्षघातपूर्ण बुढेसकाल
घिसारिरहेका बाबु–आमालाई
अर्को टुक्राले छेक्न खोज्यो
दुधेबालकका अबोध लाजहरू
तर, च्यातिएको च्यादर
अनि दुःखमाथि दुःखैको प्रहार
सायद त्यहीँनेर
मिलेन अनुप्रास जीवनको
र नै खोज्यो लेख्न
कथा नयाँ अठोटको,

 

तर... अठोट पूरा नहुँदै
डुबिगयो ऊ महासागरमा
डुब्दै गर्दा...
स्पर्श महसुस भयो उसलाई 
एउटा सानो छायाँ
र एकजोडी कलिला हातहरूको !

 

अझै पढिराख्छ ऊ
रियो ग्रान्डमा अन्तिम सास फेर्नेहरूको कथा
सजिलोसँग खानकै लागि
संघर्ष गर्नेहरूको फेहरिस्त
पल्टाइरहन्छ मास्लोको
‘आवश्यकताको शृंखला सिद्धान्त’
छामिबस्छ सिद्धान्तले नछोएको
कमसल जिन्दगीको
असरल्ल दैनिकी,
तौलन खोज्छ बगेर गएको पसिना
र रगतको मात्रा
नाप्न खोज्छ त्यस्तै रगतपसिनाले
ठडिएको वैभवशाली कम्पनीको 
इन्च–इन्च अनि कित्ता–कित्ता

कत्ति पनि मिल्दैन हिसाब
ऊ मजदुर हो, यो त जान्दछ
थुन्नुपर्ने रहेछ मुख उसले
त्योचाहिँ जान्दिन्छ

 

अब मात्र छ ऊसँग
गुनासो लुकाउने दिल
हातमा लाचार पल्टिरहेको
चार महिनादेखि नभरेको नानीको स्कुलको बिल
अनि चलिरहेको छ दिमागमा
कुनै पत्रिकामा छपाउन चाहिरहेको लेखको खेस्रा !