• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पवन बराइली
२०७९ श्रावण २८ शनिबार ०८:४४:००
फिल्म

अब झुर फिल्म खेल्न नपरोस्

२०७९ श्रावण २८ शनिबार ०८:४४:००
पवन बराइली

डेब्यु फिल्म ‘कागबेनी’बाटै अभिनेता सौगात मल्लले दर्शकको राम्रो तारिफ पाए । ‘लुट’फिल्मको ‘हाकु काले’ चरित्रलाई दर्शकले निकै रुचाए । ‘लुट’ ‘वधशाला’, ‘छड्के’, ‘फिटकिरी’, ‘फन्को’, ‘कबड्डी सिरिज’लगायत सिनेमामा पनि उनले राम्रो अभिनय गरे । राजेश हमालहरूका पुस्ताले स्थापना गरेको परम्परागत बाटोबाट नेपाली सिनेमालाई फरक बाटोमा हिँडाउने श्रेय सौगातलाई पनि जान्छ । थिएटरबाट सिनेमामा व्यस्त सौगातसँग पवन बराइलीले सिने संवाद गरेका छन् :

 

आफ्नो सिनेमा करिअरलाई फर्केेर कसरी हेर्नुहुन्छ ? 
मलाई पर्दामा देखिने मन थियो । त्यसबाहेक मेरो दिमागमा अरू थिएन । त्यसैले अभिनयमा संघर्ष गर्नुको विकल्प थिएन । अहिले मलाई महसुस हुन्छ, आफूले सोचेको काममा निरन्तर लाग्यो भने एकदिन पक्कै पूरा हुने रहेछ । मलाई डर थियो, समयले अर्कैतिर ‘लाग’ भन्छ कि भन्ने । तर, त्यस्तो भएन । अहिले कतिपय साथीहरू फिल्म बनाउन हतार गरेको देख्छु ।

 

जति काम गरे पनि हिट भइनँ भन्दै गुनासो गरेको देख्छु । तर, राम्रो फिल्म बन्न, हिट हुन समय लाग्छ । जे काम गर्न लाग्नुभएको छ, त्यसैमा निरन्तरता दिनुपर्नेरहेछ । बीचैमा भाग्न नहुनेरहेछ । सोचेजस्तो हुँदैन । कुनै काम गर्ने हो भने अरू ‘अप्सन’ नै छैन भनेर लागिरहनुपर्नेरहेछ । जीवनमा अरू ‘अप्सन’ पनि भए भने दिमाग भाँडिन्छ । मेरो पनि अभिनयबाहेक जीवनमा अर्काे ‘अप्सन’ थिएन र छैन पनि । यहाँसम्म आइपुग्न निकै गाह्रो भयो । सोचेजस्तो नहुँदोरहेछ । राम्रो फिल्ममा मात्रै काम गर्छु भन्ने सोच्थेँ । मेरो सबै फिल्म राम्रै हुनुपर्छ भन्ने लाग्थ्यो । तर, अहिले फर्केर हेर्दा लाग्छ, जे सोचेको थिएँ, त्यो भएन ।


केही वर्षयता तपाईंका महिनामै आधा दर्जन सिनेमा रिलिज हुने गरेका छन् । ती फिल्म प्रायः दर्शकले रुचाएको देखिन्न । थोरै तर राम्रा फिल्ममा काम गर्नुपर्नेरहेछजस्तो लाग्दैन ? 


राम्रा फिल्म मात्रै गरौँ भन्ने नलाग्ने होइन । वर्षमा एक–दुईवटा फिल्म गर्छु भन्ने सोच्थेँ । ‘स्क्रिप्ट’ राम्रो आएन भनेर काम नगरी बस्ने अवस्था छैन । वर्षमा एक–दुईवटा फिल्म गरेर जीवन नचल्नेरहेछ । एक डेढ वर्षमा राम्रो ‘स्क्रिप्ट’ आउने हो । एक–डेढ वर्षमा एउटा राम्रो फिल्म गरेर कसरी बाँच्ने ? बाँच्न सकिन्न । अरू काम पनि गर्न आउँदैन । काठमाडौंमा टिक्नै प¥यो । आफँैलाई चित्त बुझ्ने काम एकदमै कम छन् । मेरोतर्फबाट कोसिसचाहिँ भएकै हो । 


हिजो संघर्षका वेला साथीहरूसँग कुनै दिन सँगै काम गर्नुपर्छ भन्ने गफ हुन्थ्यो । ती साथीहरूका लागि पनि फिल्म खेल्नैपर्‍यो । त्यहीबाट आर्जन भएको पैसाले मेरो जीवन चल्यो । कतिपय काम राम्रै सोचेर गरिन्छ, मिहिनेत पनि गरिन्छ, तर गतिलो ‘रिजल्ट’ आउँदैन । सोच्दा राम्रै होला भनिन्छ, नराम्रो हुन्छ । ‘लुट’ सफल होला भनेर कसैले सोचेकै थिएन । तर, सफल भइदियो । अपेक्षा गरेअनुसारको रिजल्ट नआउँदाचाहिँ आफैँ निर्देशन गरौँ कि जस्तो झोक पनि चल्छ । त्यसैले जबसम्म राम्रो स्क्रिप्ट आउँदैन तबसम्म आफूलाई प्रमाणित गर्न पनि विभिन्न भूमिकामा फिल्म खेलिरहनुपर्छ भन्ने मान्यता राख्छु, ताकि जुनसुकै चरित्रमा काम गर्न सकियोस् । अर्काे पक्ष कामसँगै जीवन पनि चलोस् ।


तपाईंका मूलधारका भनिएका फिल्महरू मल्टिप्लेक्समा नचल्नुको कारण के होला ?


हाम्रोमा स्क्रिप्ट मै समस्या छ । स्क्रिप्ट राम्रो नभएपछि फिल्म फितलो हुने नै भयो । हत्तपत्त राम्रो स्क्रिप्ट भेटिँदैन । तीन–चार महिनाभित्रै स्क्रिप्ट तयार पारी काम गर्ने निर्माता–निर्देशक पनि छन् । स्क्रिप्टलेखनमा ध्यान दिइँदैन, फिल्म बनाउँनै हतार हुन्छ । स्क्रिप्टमा समय नदिएर पनि फिल्म राम्रो नभएको हो । अर्काे, हाम्रोमा निर्माता भनेको पैसा हाल्ने मात्रै हो भन्ने बुझाइ छ । निर्माताको फिल्ममा जिम्मेवारी के हो ? भन्ने थाहै छैन । मेरो विचार नेपालमा फिल्म बुझेका निर्माताहरू धेरै कम छन् । निर्माताले पनि फिल्म अध्ययन गर्नुपर्छ ।

 

हाम्रा निर्माताहरू कुनै फिल्म ‘हिट’ भयो भने त्यस्तै खालका फिल्म बनाउन हौसिन्छन् । यही कारण फिल्ममा नयाँ काम भएन । नेपाली फिल्मले नयाँ जीवन पाएन । जोखिम लिन सक्ने निर्माता कम छन् ।


हाम्रा निर्माताहरू कुनै फिल्म ‘हिट’ भयो भने त्यस्तै खालका फिल्म बनाउन हौसिन्छन् । यहीकारण फिल्ममा नयाँ काम भएन । नेपाली फिल्मले नयाँ जीवन पाएन । जोखिम लिन सक्ने निर्माता कम छन् । समयअनुसार कस्तो फिल्म बनाउनुपर्छ भन्ने बुझाइ निर्मताहरूमा एकदमै कम छ ।


पछिल्ला केही फिल्ममा चकलेटी अनुहार कम देखिन थालेका छन् । एकपछि अर्काे चरित्रप्रधान फिल्म बनिरहेका छन् । नेपाली फिल्म निर्माता–निर्देशकहरू परिमार्जित हुन थालेका हुन् त ?


अहिले नयाँ स्क्रिप्ट राइटर, निर्देशक, निर्माताहरू आउन थालेका छन् । राम्रै होला भन्ने आशा छ । यो वर्ष पनि फरक धारका फिल्मको बहार आएको छ । ‘राधा’लगायत अन्य फिल्महरू पनि प्रदर्शनमा आउँदै छन् । यीमध्ये कुनैले राम्रो व्यापार गर्‍यो भने निर्माताहरूले लगानी गर्न सक्छन् । तर, यस्ता फिल्मले बजार पाउँन समय लाग्छ । ‘कागबेनी’ले नयाँ निर्देशकहरूलाई आशा जगाइदिएको थियो । यस्तो पनि फिल्म बन्नेरहेछ भन्ने महसुस गराइदियो । ‘कागबेनी’ बनेको चार–पाँच वर्षपछि ‘लुट’ आयो ।


दर्शकले तपाईंलाई अझै ‘हाकु काले’को रूपमा हेर्न खोज्छन् । दर्शकमा ‘हाकु काले’को ह्याङओभर अझै गएको देखिँदैन । तपाईंमा चाहिँ ‘हाकु काले’को ह्याङओभर कत्तिको छ ? 


‘लुट’को हाकु काले’ क्यारेक्टर सबैले मन पराइदिनुभयो । फिल्म हिट भएपछि चरित्रलाई दर्शकले मन पराउनु स्वाभाविक हो । तर, मलाई हरेक फिल्ममा नयाँ–नयाँ चरित्र निभाउन मन लाग्छ । त्यसैले पनि फरक–फरक क्यारेक्टरमा काम गरिरहेकै छु । मलाई त्यो ह्याङओभर छैन । 


तपाईंमाथि सिनेमा क्षेत्रको ठूलो आशा थियो । तर, आजसम्मै तपाईंले सबै झुर फिल्म खेल्नुभएको देखिन्छ । तपाईंले गतिलो फिल्म नै छान्न सक्नुभएन भन्ने आरोप छ नि ।


मलाई ‘लुट’पछि झुर फिल्ममा काम गर्‍यो भन्ने जुन आरोप छ, त्यो म स्विकार्छु । तर, मैले काम नगरे पनि ‘लुट’पछि आहा भन्ने फिल्म कुन आयो त खै ? यो फिल्ममा सौगात हुनुपथ्र्याे भन्ने कुन छ ? मैले छाडेका फिल्म पनि राम्रो हुनुपथ्र्यो, किन भएन त ? राम्रो फिल्म कुनै पनि आएको देख्दिनँ । मैले त आफ्नो ठाउँबाट इमान्दारपूर्वक काम गरिरहेकै छु ।


तपाईं ‘राधा’ फिल्मको निर्माता पनि बन्नुभयो । निर्माता बन्नतिर रुचि बढेको हो ?


‘राधा’मा म कलाकारको रूपमा मात्रै काम गर्ने योजना थियो । कोरोना महामारीले गर्दा फिल्म नबन्ने अवस्थामा पुग्यो । तर, ‘राधा’को विषयवस्तु बलियो लाग्यो । यस्तो राम्रो विषयमा किन फिल्म नबनाउने ? भन्ने लाग्यो । त्यसैले आफ्नै प्रोडक्सनबाट काम गरियो । अहिले बजारमा आइरहेका सिनेमाभन्दा फरक छ ‘राधा’ । झुर फिल्ममा काम गर्नबाट बच्न पनि आफ्नै ‘प्रडक्सन’ खोलेको हुँ । अब झुर फिल्ममा काम गर्न नपरोस् । आर्ट फिल्मलाई कर्मसियल बनाउने मेरो प्रयास हुनेछ ।

हत्तपत्त राम्रो स्क्रिप्ट भेटिँदैन । तीन–चार महिनाभित्रै स्क्रिप्ट तयार पारी काम गर्ने निर्माता–निर्देशक पनि छन् । स्क्रिप्ट लेखनमा ध्यान दिइँदैन, फिल्म बनाउनै हतार हुन्छ । स्क्रिप्टमा समय नदिएर पनि फिल्म राम्रो नभएको हो ।


सिनेमाका कलाकारहरू प्रायः म्युजिक भिडियोमा देखिन्छन् । तपाईंचाहिँ म्युजिक भिडियोमा खासै देखिनुहुन्न नि ?
मलाई म्युजिक भिडियोका लागि अफर नआउने होइन, थुप्रै आउँछन् । मलाई गीतको ‘कन्सेप्ट’ राम्रो लाग्यो भने गर्छु । कन्सेप्ट मात्रै राम्रो लागेर भएन पैसा पनि राम्रो हुनुपर्छ । कन्सेप्ट र पैसा दुवै भएको गीत आउँदैन । गीत विशेष लाग्यो भने मात्रै काम गर्छु । एउटै अनुहार फिल्ममा पनि म्युजिक भिडियोमा पनि देखाइरहन मन लाग्दैन ।


तपाईंले अहिलेसम्म ५० वटाभन्दा बढी फिल्ममा काम गरिसक्नुभयो । तर रंगमञ्चमा चाहिँ तपाईंको उपस्थिति देखिन्न । रंगमञ्चप्रति वितृष्णा हो कि फिल्मप्रति बढी मोह भएर हो ? 


म फिल्मको हिरो बन्न काठमाडौं आएको हुँ । थिएटरमा सुरुवाती दिनमा गरेँ । मलाई रमाइलो लाग्दै गयो । संसार बुझ्न पाइयो । महिनौँ दिनसम्म नाटक गर्न पाउनु आफैँमा रमाइलो हुन्छ । थिएटरमा नयाँ–नयाँ काम सिक्ने अवसर हुन्छ । मैले गुरुकुलमा आठ–नौ वर्ष बिताएँ । गुरुकुलमा हुँदा एकदिन सुनील सरले सोध्नुभयो, ‘अब तिमीहरू के गर्छाैं ?’ फिल्मप्रति रुचि छ, नाटक पनि रमाइलो लाग्दै छ, तर फिल्म पाएँ भने फिल्म खेल्न जान्छु सर भनेँ । ‘कागबेनी’ फिल्ममा काम गर्ने वेला उहाँलाई सोधेँ । उहाँले आफ्नो रुचिको काम गर, तर दुवैलाई सन्तुलनमा राख्नुपर्छ भन्नुभयो । मैले गुरुकुलमा हुँदा ६–७ वटा फिल्ममा काम गरेँ । गुरुकुलमै हुँदा मैले ‘लुट’मा काम गरेको हुँ । गुरुकुल बन्द भयो, त्यसपछि म फिल्ममा व्यस्त भएँ । रंगमञ्चको तीर्खा मेट्न साथीहरूले गरेको नाटक हेर्न जान्छु । मलाई नाटकमा काम गर्न मन लागेको छ, तर हिजो कै ढर्रामा होइन । 


दयाहाङ राई, विपिन कार्की, बुद्धि तामाङ, सरिता गिरी, सिर्जना सुब्बालगायत हिजोका सहकर्मी फिल्म र नाटक दुवैमा जमेका छन् । उनीहरूले गरिरहेका काम कस्तो लाग्छ ?


उनीहरूले गरेको काम देख्दा खुसी लाग्छ । कम्तीमा साथीहरूले रंगमञ्चमा काम त गरिहेका छन् । दया, विपिनले काम गरेको नाटक हेर्न मन छ । कुनै दिन सँगै नाटकमा काम गर्ने सोच पनि बनाएको छु ।