• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
अनिल यादव
२०७९ भदौ ४ शनिबार ०८:४८:००
फिल्म

‘लुट’पछि नेपाली सिनेमाको एक दशक : अब नयाँ ‘रुट’ कि फेरि अर्को ‘लुट’ ?

२०७९ भदौ ४ शनिबार ०८:४८:००
अनिल यादव

एक दशकयता अभिनेता सौगात मल्लले दर्जनौँ फिल्ममा काम गरे । अनेक–अनेक चरित्रमा अभिनय गरे । तर, उनको पहिचान भने बदलिएन । एक दशक बित्दा पनि उनलाई दर्शकले ‘लुट’को ‘हाकु काले’ नै सम्झिरहे । आज पनि उनी जहाँ पुग्छन्, मान्छेहरू उनलाई उही ‘हाकु काले’ नै भनेर चिन्छन् । उनलाई देख्नेबित्तिकै ‘हाकु काले’को उही डायलग मानिसले सम्झिन्छन्, ‘बल होइन पासा, डिमाग लगा डिमाग ।’


त्यसपछि सौगातको फिल्म क्यालेन्डरमा त्यस्तो कुनै पात्र जन्मिएको छैन, जसले ‘हाकु काले’लाई बिर्साओस् । हरेक कलाकारको करिअरमा यस्ता एकाध फिल्म हुन्छन्, जसले उनीहरूको करिअरमै विशेष अर्थ राख्छ । तर, ‘लुट’ त्यस्तो फिल्म बन्यो, जसले सौगातको मात्रै होइन, नेपाली फिल्म करिअरमै एउटा महत्वपूर्ण स्थान राख्यो । ‘लुट’ यस्तो फिल्म बन्यो, जसले पुरानै ढर्रामा रुमल्लिरहेको नेपाली फिल्ममा एउटा उथलपुथल नै ल्याइदियो । थुप्रै स्थापित परम्परागत मान्यतालाई एकसाथ भत्काइदियो ।


‘लुट’ रिलिजअघि नेपाली बक्स अफिस संकटमा थियो । ०६२/०६३ को जनआन्दोलनअघिका पुस्ता, जो त्यतिवेला नेपाली फिल्ममा हाबी थिए, उनीहरूले बनाइरहेका फिल्महरू बक्स अफिसमा लगातार फ्लपका फ्लप भइरहेका थिए । यो संकटबाट तैरिन तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी चलचित्र क्षेत्रमा संकटकाल नै लगाउने तयारीमा थिए । तर, जब २०६८ पुस २७ मा ‘लुट’ रिलिज भयो, यसले बक्सअफिसमा यस्तो हुन्डरी ल्यायो कि दर्शक पुनः हलमा फर्किन बाध्य भए । कोमामा जान लागेको नेपाली फिल्म क्षेत्रलाई ‘लुट’ले पुनर्जीवन दियो । 


‘लामो समयदेखि नेपालमा मौलिक सिनेमा निर्माण हुनुपर्छ भनेर बहस भइरहेको थियो,’ फिल्म चिन्तक नवीन सुब्बा सम्झन्छन्, ‘जतिवेला कमर्सियल फिल्महरू चलिरहेका थिएनन्, त्यही वेला ‘लुट’ एकदमै अलग निर्माण शैली लिएर आउँदा व्यावसायिक हिसाबले सफल भयो । चाहे त्यो क्यामेरा चलाउने शैलीमा होस् या सिनेमाका विधाहरू परिचालन गर्ने कुरामा, सबैमा नयाँपन थियो । यसमा नेपाली चरित्रको उठान, शिल्प र शैलीको खोज थियो । त्यसैले त्यतिवेला जसको हातमा सिनेमाको शक्ति थियो, उनीहरूबाट खोसिएर यो नयाँ पुस्तामा आयो ।’

 

‘लुट’ रिलिज हुनुभन्दा तीन वर्षअघि मात्रै अस्ट्रेलियामा मजदुरी गरेर फर्किएका थिए, निश्चल बस्नेत । फिल्मप्रतिको हुटहुटीले जब उनी अस्कर कलेजमा फिल्म पढ्न गए, त्यसपछि हो– उनले ‘लुट’को कथा लेखेको । त्यतिवेला नेपाली फिल्म पुरानै बलिउड शैलीको निर्माणमा रमाइरहेको थियो । उही सुकिलामुकिला अनुहार, चार–पाँचवटा गीत, अनि फाइट । दर्शक पनि दिक्क भइसकेका थिए । त्यस्तो फिल्ममा युवा पुस्तालाई पटक्कै रुचि थिएन । 


त्यही वेला निश्चलले आँटे, ‘म जस्तो फिल्म हेर्न चाहन्छु, त्यस्तै बनाउँछु ।’ बुबासँग पैसा मागेर भए पनि फिल्म बनाउने अवस्थामा पुगिसकेका थिए उनी । फिल्मबाट जसोतसो १०–१२ लाख त उठाउँछु भन्ने लागेको थियो । तर, जब पुराना फिल्मकर्मीहरू माधव वाग्ले र नरेन्द्र महर्जन उनीमाथि रिस्क लिन तयार भए, तब फिल्म त बन्यो नै सँगै फिल्मले अनपेक्षित व्यापार पनि ग¥यो । ५६ लाखमा बनेको फिल्मले करिब साढे पाँच करोड व्यापार ग¥यो । 


‘लुट’को व्यावसायिक सफलतापछि नेपाली सिनेमामा यसलाई अनेक मानकका रूपमा चर्चा गर्न थालियो । कतिपयले यसलाई ‘ट्रेन्डसेटर’ सिनेमा भने, कतिपयले ‘ट्रान्जिट’ । कतिपयले नेपाली फिल्ममा ‘क्रान्ति’ ल्याउने सिनेमा नै भने । तर, चिन्तक सुब्बा बजारमा हल्ला भएजस्तो क्रान्ति नै ल्याएको भन्न रुचाउँदैनन् । ‘नेपाली युवाहरू, जो नेपाली सिनेमाको दर्शकको दायराभित्र थिएनन्, उनीहरूलाई तान्ने कामचाहिँ गरेकै हो । अनि, धेरै युवालाई सिनेमा बनाउन उत्प्रेरित पनि गरेको हो,’ उनको मत छ । 


किन चल्यो ‘लुट’ ? 
बैंक लुट्ने योजनाको सामान्य कथामाथि बनेको ‘लुट’ फरक कथ्यशैली र शिल्पसहित आएकै कारण दर्शकको मन लुट्न सकेको हो त ? पक्कै होइन । यो त एउटा कारण मात्रै हो । गहिरिएर बुझ्ने हो भने त्यतिवेलाको सामाजिक मनस्थिति पनि यसको सफलतासँग जोडिन्छ ।


चाहे ‘लुट’ होस् या त्यसपछि रिलिज भएको ‘कबड्डी’ सिरिज, यी सिनेमा चल्नुको कारण खोज्नलाई नेपालमा चलेका सामाजिक आन्दोलनलाई पनि बुझ्नुपर्ने देखिन्छ । जतिवेला यी सिनेमा रिलिज भए, त्यतिवेला देशमा संघीयताको आन्दोलन चलिरहेको थियो । पहिचानको आन्दोलन चलिरहेको थियो । समाजले काँचुली फेर्न बल गरिरहेको थियो । सिनेमा क्षेत्र पनि नयाँ बाटोको खोजीमा भौँतारिरहेको थियो । मान्छेहरू आ–आफ्नो अस्तित्व खोजिरहेको सामाजिक परिवेशमा दर्शकले ‘लुट’ रुचाएको अध्येताहरूको मत छ । निर्देशक सुब्बालाई तिनै आन्दोलनहरूको गठजोडका कारण पनि यो सिनेमा सफल भएको भन्ने लाग्छ । ‘समाजका विविध चरित्रलाई यो सिनेमाले ल्याएको थियो । त्यसकारण पनि यसले दर्शकलाई छुन सक्यो,’ उनी भन्छन् । 


‘लुट’ले त्यतिवेला पुरानो कथ्यशैली मात्रै भत्काएन, परम्परागत हिरोको मान्यता पनि भत्कायो । ‘लुट’अघिसम्म दयाहाङ राईले म एक्टर हुँ भन्दा र सुटिङको सेटअगाडि पुग्दा मान्छेहरू हाँस्थे । तर, उनी पनि सिनेमामा आफूजस्तै किनारामा पारिएका चरित्रलाई ल्याउन चाहन्थे । मान्छेहरू आफूलाई हेरेर हाँसेको देखेपछि उनलाई लाग्थ्यो, ‘म पनि त्यस्तो चरित्रहरूमा काम गरूँ, जसलाई हेरेर दर्शकले आफ्नै सिनेमा ठानून्, आफ्नै कथा ठानून् ।’


तर, ‘लुट’ यस्तो सिनेमा बनिदियो, जसले परम्परागत मान्यताले वर्जित गरेको अनुहारलाई फिल्मको प्रमुख पात्र बनायो । अब सिनेमाको हिरो बन्न अग्लो कद, मिलेको जिउडाल, चकलेटी लुक्स चाहिएन । रूपसम्बन्धी परम्परागत मान्यता तोड्दै दयाहाङ, सौगातहरू फिल्मको लिड रोलमा देखिए । निश्चलले यो सिनेमामा हिरो र खलनायकको पुरानो मान्यता पनि भत्काइदिए । प्रमुख पात्रहरूको प्रमुख उद्देश्य गलत हुँदाहुँदै पनि दर्शकले रुचाइदिए । कर्मअनुसार फल भोग्नुपर्छ भन्ने पौराणिक मान्यता पनि यो फिल्मले बोकेन । 


दयाहाङ स्वयंलाई लाग्छ, ‘लुट’ चल्नुमा त्यतिवेलाको सामाजिक मनस्थितिले पनि भूमिका खेलेको थियो । भन्छन्, ‘त्यसवेला आममानिसले सिनेमाको कथामा आफ्नो उपस्थिति खोजिरहेका थिए । ‘लुट’मा दर्शकले आफूलाई देख्न पाए । त्यसैले पनि फिल्म चलेको हो ।’


जतिवेला ‘लुट’ रिलिज भयो, त्यतिवेला ०६२–०६३ को जनआन्दोलन पार गरेको हाम्रो समाज पुरानो स्थापित आदर्शलाई भत्काउँदै अघि बढिरहेको थियो । एक प्रकारले अराजकतातिर पनि समाज अघि बढ्दै थियो । यही अराजकता ‘लुट’का पात्रहरूको उद्देश्यमा पनि झल्किएको बताउँछन्, फिल्म निर्देशक मनोज पण्डित । 


‘लुट’ रिलिज हुँदै गर्दा ‘लुटले लुट्छ’ भनेर समीक्षा लेखेका पण्डित भन्छन्, ‘त्यतिवेला माओवादी द्वन्द्व खपेको समाजले हिंसालाई आत्मसात् गरिरहेको अवस्था थियो । टोलटोलमा ग्याङहरू भेटिन्थे । जसरी जीवन ‘ग्रे जोन’मा थियो, त्यसरी नै ‘लुट’का पात्रहरू पनि ‘ग्रे जोन’मै थिए । उनीहरू रोचक पनि थिए, तर नियत खराब पनि । समाजमा जसरी नैतिकता, आदर्श हराउँदै गएको थियो, उनीहरूमा त्यसको स्वभाव झल्किन्थ्यो ।’ 


चिन्तक सुब्बा ‘लुट’पछि नेपाली सिनेमामा तालिम प्राप्त कलाकारले प्रवेश गरेको बताउँछन् । ‘दयाहाङ, सौगात, विपिन कार्कीलगायत थुप्रै कलाकार थिएटरबाट फिल्म क्षेत्रमा आएका छन् । जसले अभिनय सिकेका छन्, बुझेका छन् । नत्र पहिलेकाले अभिनय गर्न अभिनय सिक्नुपर्थेन,’ उनले भने । 


‘लुट’पछि
भनिन्छ, फिल्म एउटा समयका लागि हो, कालखण्डमा महत्वपूर्णचाहिँ सर्जक हुन्छन् । त्यसैले ‘लुट’पछि उठेको मूल प्रश्न हो– यसबाट स्थापित सर्जकले त्यसपछि नेपाली सिनेमाका लागि के योगदान दिए ? ‘उनीहरूले लुटको लाभलाई ‘क्यास’मात्रै गरे,’ निर्देशक पण्डित भन्छन्, ‘त्यसपछि आफ्नो सिर्जनात्मक विकास गर्न सकेनन् । नयाँ केही दिन सकेनन् । तर, एउटा सत्य के हो भने दयाहाङ र सौगातचाहिँ यो फिल्मबाट स्थापित भएका हुन् ।’ 


चिन्तक सुब्बाको मत पनि त्यस्तै छ । ‘लुट या कबड्डीका निर्माताले त्योबाहेक फरक के दिन सके त ?’ उनी प्रश्नसहित भन्छन्, ‘खासमा उनीहरूको क्षमता त्यतिमै सीमित देखियो । बरु त्यसपछि ‘कालोपोथी’, ‘सेतो सूर्य’जस्ता सिनेमा बने । अस्ति भर्खरै कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ पुरस्कृत भयो ।’


‘लुट’पछि यो एक दशकमा ६ सय बढी नेपाली सिनेमा रिलिज भए । करिब सात अर्ब रकम नेपाली सिनेमाको निर्माणमा खर्च भयो । तर, के ‘लुट’ले ल्याएको परिवर्तनपछि नेपाली सिनेमाको आफ्नै शिल्प निर्माण हुन सक्यो त ? संक्षिप्त समीक्षा गर्दा यो दशकमा त्यसपछि ह्युमरसहित आएका ‘कबड्डी’ र ‘छक्कापन्जा’का सिरिजकै राज चल्यो । नत्र धेरैजसो फिल्महरू सफल प्रयोगलाई नै पछ्याउने प्रयत्नमा देखिए । 


‘लुटपछि मेकरहरूमा कसरी दर्शक लुट्ने भन्ने मनोविज्ञानको विकास भयो,’ फिल्म निर्देशक पण्डितको विश्लेषण छ, ‘लुट–२ जस्तै धेरैजसो सिनेमाहरू सिरिजमा निर्माण हुन थाले । जीवनको सामान्य मूल्यबाट पनि टाढा रहेर सिनेमाहरू बने । सहरिया पुस्ता आउन थाले । त्यो पुस्ताले जीवनका यथार्थ र दुःखहरूलाई एकदमै कम अनुभूति गरेका हुनाले हाम्रो जीवनको वास्तविकता, पीडा र भावनाहरू कम प्रतिनिधित्व हुन थाल्यो । पहिले सिनेमाहरू आँसु बेच्नुपर्छ भन्ने मनोविज्ञानले पीडालाई प्राथमिकता दिन्थे । पछिल्लो पुस्ताले सायद आँसु नै कम देखेर होला, भावना सिर्जना गर्ने कुरामा कम सक्रिय देखिए । लुट पनि यस्तै थियो ।’


निर्देशक पण्डित ‘लुट’को मेकिङ स्टाइल हलिउडका प्रभावशाली निर्देशक क्वान्टिन तारान्टिनोबाट प्रभावित भएको ठान्छन् । ‘त्यसपछि क्वान्टिनको ‘पल्प फिक्सन’ र ‘रिजर्भायर डग्स’ हेर्ने पुस्ताको विकास भयो । यो नाम त फिल्म मेकिङ सोच्ने शैली भइदियो । हामीले आत्मासात् गर्न सकेका छैनौँ, तर हामी प्रभावित छौँ,’ उनले भने ।


यिनै क्वान्टिनले कुनैवेला ‘पल्प फिक्सन’को सिक्वेलबारे जिज्ञासा राख्दा भनेका थिए, ‘म पल्प फिक्सन–२ गर्दिनँ, तर यसकै पात्रलाई लिएर राम्रो नयाँ फिल्म बनाउन सक्छु ।’ तर, यो ‘लुट’पछि हामीकहाँ एकाधबाहेक अधिकांश आसलाग्दा अनुहारहरूले यस्तो सोच राखेनन् । आफ्नो एउटा फिल्म व्यावसायिक रूपमा सफल भएपछि त्यसकै ब्याज खान सिरिज निर्माणमै रमाइरहे । चाहे त्यो ‘लुट’बाट ‘कबड्डी’, ‘छक्कापन्जा’, ‘नाइँ नभन्नु ल’, ‘जात्रा’लगायतका सिरिज नै किन नहून् ।
‘लुट’ र ‘कबड्डी’ मान्छेहरूले किन मनपराए त्यसमाथि हामीकहाँ गम्भीर मन्थन नभएको भन्ने लाग्छ, दयाहाङलाई । ‘त्यही भएर हामी त्यस्तै फिल्म बनाउन कुदिरह्याैँ,’ उनी भन्छन्, ‘लुटका वेला त कतिले यो छाडा फिल्म भएर हिट भएको पनि भने । यस्तै हल्का बुझाइका कारण पनि हामी पछि पर्‍यौँ ।’


यो सिनेमाको सफलतापछि धेरैजसो फिल्ममेकरहरू कथाको विविधता खोज्ने कुरामा खुम्चिए । तर, केही यस्ता पनि आए, जसले अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाए । द्वन्द्वोत्तर समाजको कथामाथि फिल्म बनाएर दीपक रौनियार र मिन भामले अन्तर्राष्ट्रिय उपस्थिति जनाए । रौनियारको ‘हाइवे’ र ‘सेतो सूर्य’, भामको ‘कालोपोथी’को सफलतालाई यो दशककै महत्वपूर्ण उपलब्धिको रूपमा लिन सकिन्छ । 


‘कबड्डी’ सिरिजले त बक्सअफिसमा उधुम नै मच्चायो । ‘चपली हाइट’बाट ‘पशुुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’लगायत सिनेमा बनाइसक्दा निर्देशक दीपेन्द्र के खनालको छवि पनि प्रयोगवादी निर्देशकका रूपमा स्थापित भयो । पुराना पुस्ता विस्थापित भइरहेका वेला टेलिभिजनको हास्यशृंखलाबाट उदाएका दीपकराज गिरी र दीपाश्री निरौलाको समूह भने कमेडी विधाको सिनेमा निर्माणमा देखा परे । 


यहीबीचमा ‘डाइङ क्यान्डल’, ‘बुलबुल’, ‘बधशाला’लगायत फिल्म पनि बने, जसले बक्सअफिसमा आगो लगाउन सकेनन् होला, तर सिनेवृत्तमा बहस पक्कै गराए । हिजो चोभारको डाँडो र सहरका सीमित लोकेसनमा खुम्चिएको नेपाली सिनेमा यो दशक जुम्ला, मधेस, कर्णाली, मनाङ–मुस्ताङसम्म पुग्यो । दूरदराजको भूगोलको कथा समेट्न थाल्यो । यो पनि एउटा परिवर्तन नै हो । तर, यसलाई ‘लुट’, ‘कबड्डी’ले ल्याएको परिवर्तन भन्यो भनेचाहिँ त्यो अन्याय हुन्छ । 


तर, कोभिडयता फेरि नेपाली बक्सअफिस संकटको अवस्थामा छ । रिलिज भएका सिनेमाहरू पनि हलमा चलिरहेका छैनन् । भर्खरै चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त भएका अभिनेता भुवन केसीले कतै संकटकाल घोषणा गर्ने त होइनन्, यो खतरा त छँदै छ । 


यही वेला १० वर्षअघिको ‘लुट’लाई फर्केर हेर्दा लाग्छ, त्यतिवेला एउटा झिल्को आयो, दन्दनी आगो लगायो, परम्परागत संरचनाहरू जलायो तर फेरि अन्ततः ऊ आफैँ त्यो पुरानो संरचनामा रूपान्तरण भयो । त्यो फिल्ममा अभिनय गरेका दयाहाङ स्वयं स्विकार्छन्, ‘नर्मल्ली एउटा फर्मुला भत्कियो होला, तर फेरि अर्को फर्मुला स्थापित भयो ।’


‘अहिले जति पनि सिनेमा असफल भइरहेका छन्, त्यहाँ रूपान्तरणको पहलचाहिँ देखिन्छ,’ चिन्तक सुब्बा भन्छन्, ‘अब नेपाली सिनेमाको रूपान्तरणका लागि अर्को पुस्ताको आवश्यकता खड्किसकेको छ । तर, फेरि अर्को लुट बनाउँछु र सफलता कमाउँछु भन्ने चेतनाले चाहिँ हुँदैन । जो आउन चाहन्छ, त्योभन्दा माथिको चेतनासहित आउनुपर्छ ।’


अब सोचेर मात्रै फिल्म बनाउँछु
 

निश्चल बस्नेत,फिल्म निर्देशक

म रिसको झोंकमा फिल्म क्षेत्रमा आएको हुँ । त्यसवेला मभित्र फिल्म क्षेत्रमा केही गर्नुपर्छ भन्ने आगो थियो । इन्डस्ट्रीमा आउन खोजिरहेको थिएँ, तर कसैले चिन्दैनथे, गन्दैन पनि थिए ।‘लुट’को स्क्रिप्ट २०१० मै लेखिसकेको थिएँ । जसरी पनि फिल्म बनाउनु थियो । प्रमुख पात्र रोलमोडल नै हुनुपर्छ भन्ने मान्दिन थिएँ । हिरो–हिरोइनको होइन, पात्रको कथा भन्नुपर्छ भन्ने लागिरहन्थ्यो । फिल्म त बनाउँछु भनियो तर पैसा थिएन । फिल्म बनाएपछि कसरी चलाउने भन्ने पनि थाहा थिएन । सोहरू गरेर एक लाखजति पैसा त आउला, भिसिडीबाट पाँच लाख आउला भन्ने अनुमान गरेँ । अस्ट्रेलियामा चिनेका दाइहरू हुनुहुन्थ्यो, उहाँहरूलाई अनुरोध गरेर सो गराउँछु, त्यहाँबाट कम्तीमा पाँच लाख उठ्ला । यसरी १०–१२ लाख पैसा उठाएर बुबालाई फिर्ता दिन्छु । बाँकी डुब्यो भनेर बुबालाई भन्छु भन्ने तयारीमा थिएँ । 


जब निर्माता माधव वाग्लेलाई स्क्रिप्ट सुनाएँ, उहाँ उत्साहित हुनुभयो । त्यसपछि फिल्म वितरक नरेन्द्र महर्जन दाइ पनि जोडिनुभयो । त्यसपछि त सहज भइहाल्यो । ५६ लाखमा ‘लुट’ बन्यो । प्रदर्शनपछि धेरैले बधाई दिँदै भने, ‘हामीले बनाएको फिल्म चल्दैन भनेर आँट नै नगरी बसेका थियौँ । तिमीले पुष्टि गरेर देखायौ । अब हामी पनि आँट्छौँ ।’ फिल्मले बक्सअफिसमा साढे पाँच करोड कलेक्सन गर्‍यो । 


आज १० वर्षपछि ‘लुट’लाई फर्केर हेर्दा धेरै कमजोरी देख्छु । प्राविधिक पक्षमा धेरै चुकेको रहेछु । हाम्रो प्रार्थना थियो– दर्शकले ‘हाकु काले’लाई हेर्दा पछाडि कुदिरहेको लाइटम्यानलाई ख्याल नगरोस् । फिल्मलाई अलिकति छोट्याउन सकिन्छ कि भन्ने पनि लाग्छ ।

‘लुट’ बनेपछि त्यस्तै खालको फिल्म धेरैले बनाउन थाले । मनमनै लाग्थ्यो– अरूले अपनाइसकेको शैलीमै किन फिल्म बनाइरहेको होला ? आफ्नै दृष्टिकोणमा पो फिल्म बनाउने हो त ।


‘लुट’पछि लामो समय फिल्म बनाइनँ । मान्छेहरू मलाई महत्व दिन्थे । तर, मलाई धेरै कुरा आउँछ जस्तो नै लाग्दैनथ्यो । जब मैले ‘लुट–२’ बनाएँ, त्यसबाट ‘लुट’जस्तो रेस्पोन्स पाइनँ । म स्विकार्छु, मैले त्यतिवेला राम्रो फिल्म नै बनाइनछु । म निर्देशनमा चुकेको होइन, पटकथामै चुकेछु । अब धेरै सोचविचार गरेरै मात्रै फिल्म बनाउँछु ।


अहिले सम्झिँदा दयाहाङ राई, सौगात मल्लहरू सहभागी भएर मिहिनेत नगरेको भए त्यो फिल्म यति सफल हुन्नथ्यो । उनीहरूले निकै मिहिनेत गरे । थिएटरमा वर्षौंदेखि काम गरिरहेका एकसेएक कलाकार पनि स–सानो सिनका लागि जोडिएका थिए । विपिन कार्कीलाई दर्शकले याद पनि गरेनन् होला । कामेश्वर चौरसिया एक सिनका लागि तराईबाट नाइट बस चढी काठमाडौं आएका थिए । यसरी सबैको मिहिनेतले ‘लुट’ दर्शकको प्रिय फिल्म बन्यो । 


‘लुट’ हेर्दा यथार्थपरक देखिन्छ । तर, साधारण मान्छे भएर सोच्ने हो भने पूरै त्यस्तो छैन । त्यति हुँदाहुँदै पनि त्यो फिल्मले दर्शकलाई यथार्थ महसुस गरायो । दर्शकलाई ‘फिल्मको कलाकार पनि हामीजस्तै रहेछ, हामीजस्तै बोल्दो रहेछ’ भन्ने महसुस गरायो । ‘लुट’ बनेपछि त्यस्तै खालका फिल्म धेरैले बनाउन थाले । मनमनै लाग्थ्यो– अरुले अपनाइसकेको शैलीमै किन फिल्म बनाइरहेको होला ? आफ्नै दृष्टिकोणमा पो फिल्म बनाउने हो त ।
(कुराकानीमा आधारित)