• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ज्वालामुखी लामिछाने
२०७९ भदौ १८ शनिबार ०६:२४:००
समाज

विकास भर्सेज बाँदर

२०७९ भदौ १८ शनिबार ०६:२४:००
ज्वालामुखी लामिछाने

यो एउटा गाउँको कथा हो । एउटा गाउँको पीडित किसानकोे कथा हो । नुवाकोट, बेलकोटगढी नगरपालिकामा पर्ने झिल्टुङको कहानी यो हो । अन्य गाउँसँग मिल्न गएमा केही अनौठो हुनेछैन । यसमा समस्याको उठान मात्र छ, समाधानको उपाय छैन । समाधानबारे सम्बन्धित निकायले सोचून् ।


स्थानीय ज्ञानको चरम बेवास्ता गर्दै गाउँ परिवर्तन गर्ने र गाउँलेलाई सुखभोग गराउने भन्दै गाउँको पर्यावरण र आर्थिक–सामाजिक जीवनशैलीलाई ‘विकास’को नाममा राज्यले गिजोलिरह्यो । अहिले पनि त्यो क्रम चलिनैरहेको छ । लगभग ४० वर्षअघि विकासको नाममा गाउँका नांगा डाँडामा स्कटल्यान्डको रैथाने प्रजातिको सल्ला भित्र्याइयो । त्यतिखेर न स्थानीय आवश्यकताको पहिचान गर्नु राज्यले जरुरी ठान्यो न त पर्यावरणीय संवेदनशीलतालाई ख्याल गर्नु आफ्नो दायित्व ठान्यो ।

 

त्यसयता विकासको नाममा जसरी गाउँका हरेक अवयव गिजोलिएका छन् त्यसको कहालीलाग्दो फेहरिस्त तयार गर्न सकिन्छ । यसरी गिजोलिनुको अनेक दुःखद परिणाम गाउँमा बल्ल देखापर्न थालेका छन् । अब यी अनेक दुःखद परिस्थितिको सामना गाउँले किसानले गर्नैपर्छ, गरिरहेकै छन् । ती अनेक दुखमध्येको एउटा मूल दुःख बनेको छ, बाँदर सिर्जित समस्या ।


०००
सल्लाको रूख रोपियो डाँडामा । बडो दुःखले हुर्काए यिनै गाउँले किसानले । हरियो डाँडा अहिले गाउँको सिरानमा मुस्कुराएको छ । गाउँको ‘सौन्दर्य’ नै बढाएको छ यसले भन्ने मान्यता अधिकांश गाउँलेमा छ । तर, सल्लाले अन्य रूखका पोथ्रा र बुट्यानको अंकुरण र वृद्धिको सम्भावनालाई निषेध गरेको, टुसामुनावाला साना झाडीलाई पनि निमिट्यान्न पारेको यथार्थप्रति गाउँले  अनभिज्ञ छन् । बाँदरको खाद्यान्न सल्लाको जंगलले रित्याइदियो । यो तथ्य अरूका लागि ‘नचाहिने बकबास’ मात्र हो । ४० वर्षपछि विकासको त्यो मोडलले बाँदर आतंक निम्त्याएकोप्रति न स्थानीय सचेत छन् न त सरकारका तिनै तह । बरु उल्टो अन्य नांगा डाँडा (पूरै नांगो त छैन पोथ्रा घाँस र बुट्यान झाडी छन्)मा समेत सल्लो प्रजातिकै वृक्षरोपण गर्नुलाई गौरवकै विषय ठान्दै छन् ।


जंगलको सामुदायिकीकरण ५० को दशकको अन्त्यसम्म सुचारु भयो । देशभरिका अधिकांश जंगल समुदायमातहत लगियो । झिल्टुङ अपवाद रहेन । हालको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५, ६ र ७ मा मात्र झन्डै आधा दर्जनभन्दा बढी बन समुदायको मातहत ल्याइयो । समुदायको हितलाई ध्यानमा राखेर गरिएको यो विकासले पनि कालान्तरमा नकारात्मक परिस्थितिकै सिर्जना ग¥यो मूलतः पर्यावरणीय पाटोमा ।


सामुदायिक वनको देशभरि लागू हुने केन्द्रीय नीति हुन्छ । निर्देशन दिइन्छ । त्यो नीति निर्देशनको पालना गर्दा र गाउँलेको मस्तिष्कमा लामो समयदेखि रोपिएको हाइब्रिड चेतनाको प्रयोग गर्दा कालान्तरमा सामुदायिक जंगलको प्राकृतिक सन्तुलन खलबलिन थालेको छ । पारिस्थितिक पद्धतिमा अवरोध सिर्जना भइसकेको छ । सामुदायिक जंगल अब पूर्ण प्राकृतिक जंगल नभएर ‘रूखको समूह’मा परिणत हुन थालेका छन् । त्यो पनि बलिया काठ हुने साल, सिसौ र खयरजस्ता रूखको समूह ।

अन्धाधुन्ध पश्चिमा नक्कलसहित ल्याइएको रेडिमेड विकासबाट बिग्रिएको परिस्थितिको जिम्मेवार केवल राज्य हो । अब यसको समाधान पनि केवल राज्यले नै गर्न सक्छ । स्थानीय ज्ञान, पर्यावरणीय अध्ययन राज्यका लागि आधारभूत बैसाखी हुनेछन् ।


सामुदायिक वनमा घाँस–दाउराका लागि कुकाठको प्रयोग गर्न पाइने, तर बलिया काठवाला रूख प्रयोग गर्न नपाइने नियम लामो समयदेखि कायम छ । राणाकालमा बृटिसको रेलको पटरी बनाउने प्रयोजनार्थ राणाले तराई भेगमा चलाएको ‘सुकाठ जोगाऊ र बृटिसलाई बेच’ अभियान बदलेर पहाड पनि पस्यो, सामुदायिक वनको आवरणमा । जंगलमा बलिया काठ हुने जातका रूखको हाँगाबिँगा काट्न पाउने (जंगल खुलेको वेलामा), घाँस–दाउराको नाममा टुसामुना हुने र बाँदरको खाद्यान्न उत्पादन गर्ने जातका रूख (क्यामुना, जामुनोलगायत) काट्न सहज हुने कारण जंगलमा केवल बलिया काठ हुने रूख मात्र रहन थाले ।

 

सीधा, अग्ला अनि हाँगाबिँगारहित कडा काठवाला रूख मात्र भएको ‘बगैँचा’लाई नै जंगल मान्न थालियो । अहिले आएर भुइँ निकै सफा (झाडी, पोथ्राविहीन) अनि अग्ला रूख रूप भएको सालघारी सामुदायिक वनको रूपमा उपस्थित छ झिल्टुङ । सल्लाघारीजस्तै अब यो अर्को जंगल पनि बाँदरको खाद्यान्नको हिसाबले बगर बनिसकेको छ ।

 

जंगलको प्राकृतिक स्वरूप इतिहास बनिसकेको अवस्थामा वृक्षरोपण गर्दै जंगलको क्षेत्रफल बढेको तथ्यांक संकलनमा मस्त छन् स्वदेशी–विदेशी गैरसरकारी परियोजना । सरकार त्यही तथ्यांक सापटी लिएर सार्वजनिक गर्दै सगौरव जंगल जोगाउने अभियान सफल भएको घोषणा बर्सेनि गर्छ । अहिले वृक्षरोपणको नाममा जस्तो अभ्यास गरिँदै छ त्यसले झिल्टुङमा रूखको संख्या बढाएको छ, तर प्राकृतिक जंगलको सातो लिइएको छ । पूर्ण पारिस्थितिक पद्धतिसहितको बाँदर र जंगलको सम्बन्धमा पूरै फेरबदल आएको छ । बाँदरका लागि जंगल बिस्तारै गाँसवास खोसिएको मरुभूमि साबित हुँदै छन् । 


रेडिमेड विकासमा स्थानीय पर्यावरणीय सन्तुलनलाई ख्याल गर्ने लेठो कसले गरोस् ! जंगलको मुटुमा भीमकाय एक्साभेटर बाटो खनिरहेका छन् । जंगलको बीचैबीच फराकिला सडक हुँदै ठुल्ठूला ट्रक कुद्न थालेका छन् । जंगलको केन्द्रीय भागमा मानव अतिक्रमणलाई सडकले सहज तुल्याइदिएको छ । मानवबस्तीबाट र मानवको दैनिक प्रभावको क्षेत्रबाट टाढै रहन खोज्ने बाँदर अब कता जाऊन् ? 


बाँदरले जंगलमा दुःख गरी यात्रा गर्नुपर्ने परिस्थितिको पनि अन्त्य भइसकेको छ । धुलेसडक उनीहरूका लागि हाइवे बनेका छन्, जहाँबाट सीधै मानवबस्तीमा आइपुग्छन्, खेतबारीमा आइपुग्छन् । जंगलमा आगलागी नभएको कुनै वर्ष हुँदैन । आगोले नखाएको एक टुक्रो जंगल फेला पर्दैन, शिशिर र वसन्त ऋतुमा । झाडी, पोथ्रा र बुट्यान मान्छेले आगो लगाएर सिध्याउँछ । बाँदरको खाद्यान्न र आश्रयको मूल स्रोत त्यही झाडी, पोथ्रा बुट्यान नै हुन् । जंगल रित्तो भएपछि बाँदर कहाँ जाने ? 

 

खेती प्रणाली र बाँदरको फेरिएको आदत
सामुदायिक जंगल फँडानी गरेर पनि खेती गरियो पहिला । आफ्नो जग्गाजमिन कम हुनु र परिवारका सदस्य बढी हुनुको कारणले सिर्जित समस्याको सजिलो समाधान जंगल फँडानी गरी खेती गर्नु थियो । त्यसै गरियो पनि । जंगलको क्षेत्रफल ह्वात्तै घट्यो । यही समयमा बाँदरको खाद्यान्नसम्बन्धी शैली फेरियो । जंगलका कुना–कन्दरा भिर–पहरा चहार्दै भोक मेट्ने बाँदरको कठिन जीवनशैली अब बदलियो ।

 

जंगलकै क्षेत्रमा खेतीपाती हुन लागेपछि तुलनात्मक रूपमा बढी स्वादिलो खाद्यान्न कम मिहिनेतमै उपलब्ध हुन थाल्यो, उनीहरूलाई । एक–दुई वर्ष गर्दै बाँदर यसमै अभ्यस्त हुन थाले । असाध्यै मिहिनेती जीव अब अल्छी जीवमा परिणत हुन थाल्यो । ठूलो क्षेत्रमा खेती हुने हुनाले किसानलाई त्यतिखेरको बाँदरको उपद्रो टाउको दुखाइको विषय बनेको थिएन । ६० को दशक लगभग यस्तै रह्यो झिल्टुङमा ।


वैदेशिक रोजगारीको लहर चलेपछि परिस्थिति धेरै बदलिन थाल्यो । खेती गर्ने मान्छे खाडी मुलुक पुग्न थाले । युवाशक्तिको पलायनको प्रभावबाट खेती प्रणाली अछुतो रहेन । वैदेशिक रोजगारबाट हुने कमाइले घरपरिवारका सदस्य प्रत्यक्ष लाभ लिने नै भए । खेती गर्नुभन्दा आवश्यक खाद्यान्न खरिद गर्न बजार जानु नै सजिलो विकल्प बन्यो । भन्नैपरेन कि ६० को दशकमा जंगल फँडानी गरी खेती सुरु गरिएको जमिन फेरि बाँझियो । तर, त्यो बाँझो जमिनमा व्यावहारिक र सामाजिक कानुनअनुरूप व्यक्तिको हक लाग्यो । सार्वजनिक रहेन त्यो जमिनको टुक्रा । ६० को दशकको अन्त्यतिरबाट सुरु भएको जमिन बाँझिने शृंखलाको अन्त्य नजिकै देखिँदैन ।


पछि अनधिकृत आवाद गरिएका जमिन मात्र बाँझा भएनन् नम्बरी खेत र बारी पनि बाँझा भए । तर, बाँझा भएका ती जग्गाजमिन जंगल बन्न पाएनन् र पाउँदैनन् पनि । ती जग्गामा जग्गाधनीले रूख रोप्न थालेका छन् कडा काठ हुने रूख । व्यावसायिक हिसाबले फाइदा हुने रूख लगाएर मोनोकल्चरल (एक प्रजातीय) जंगलकै स्वरूपमा ती जमिनको विकास हुँदै छन् । प्राकृतिक सन्तुलन गडबड हुनुको साथै बाँदरलाई चाहिने प्रकृति फेरि यसरी लुटिँदै छ ।


६० को दशकभरि नै कम मिहिनेतमा टन्न स्वादिलो खाद्यान्न उपभोग गरेका बाँदर अल्छी मात्र भएनन्, अन्नबालीको स्वाद थाहा पाउने पनि भए । जब खेती लगाइने जमिन खुम्चन थाल्यो अनि आफ्नो अल्छी तिघ्रो र स्वाद फेरिएको जिब्रो बोकेर बाँदर बस्ती छिर्न थाले । बस्तीनजिकका जमिनमै बस्न थाले । मानवबस्ती र बाँदरको आश्रय जोड्ने धुलेसडक बाँदरका लागि सहायक उपक्रम बने ।

बाँदर र जंगलको सम्बन्धमा पूरै फेरबदल आएको छ । बाँदरका लागि जंगल बिस्तारै गाँसवास खोसिएको मरुभूमि साबित हुँदै छन् । 


यसरी सल्लाको जंगलको वृद्धि, सामुदायिक वनको लामो समयदेखिको मोनोकल्चरल (एक प्रजातीय) स्वरूपमा मन्द गतिमा भइरहेको विकास, वैदेशिक रोजगार, सडक विस्तारलगायतका अवयवको समग्र परिणाम ७० को दशकको बाँदर आतंक हो झिल्टुङ ।

 

अन्त्यमा
आफ्नै जीवनलाई सहज बनाउन गरिएका काम तथा जीवन सहज बनाउन भन्दै राज्यले सञ्चालन गरेका विकास नामका डोजरे परियोजना तथा पर्यावरणद्वेषी अन्य परियोजनाको परिणामको दलदलमा गाउँले यसरी फस्दै छन् कि बाहिरिन बल गरे छिटो डुबिन्छ र बाहिरिन बल नगरे ढिलो डुबिन्छ । उत्रने मौका गुमिसकेको स्थिति छ । अब गाउँलेले आफ्नो बर्कतबाट बाँदर आतंक (यस गाउँका किसानको शब्द हो) समाधान गर्न सक्ने सम्भावना त्यत्तिकै क्षीण छ जति क्षीण गरिब मानवले क्यान्सरबाट मुक्ति पाउनुहुन्छ ।


अन्धाधुन्ध पश्चिमा नक्कलसहित ल्याइएको रेडिमेड विकासबाट बिग्रिएको परिस्थितिको जिम्मेवार केवल राज्य हो । अब यसको समाधान पनि केवल राज्यले नै गर्न सक्छ । स्थानीय ज्ञान, पर्यावरणीय अध्ययन राज्यका लागि आधारभूत बैसाखी हुनेछन् । पर्याप्त अध्ययन नगरेको र स्थानीय ज्ञानलाई नजरअन्दाज गरेको राज्य एउटा खुट्टा गुमेको, बैसाखी पनि नभएको व्यक्तिजस्तो हुन्छ । यस्तोवेला बैसाखी उसको अनिवार्य आवश्यकता हुन्छ । झिल्टुङ अहिले यति चाहन्छ कि राज्यले फेरि विदेशी बैसाखी नटेकोस् !