• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे
२०७९ भदौ २५ शनिबार ०६:१८:००
साहित्य

न्यायाधीशले भुलेको पाटो

२०७९ भदौ २५ शनिबार ०६:१८:००
शिवहरि घिमिरे

धेरैलाई लाग्छ, न्यायाधीशको काम मिसिलका आधारमा न्यायिक उपचार दिनु मात्रै हो । आफ्नो इजलासमा आइपुगेका मिसिल पेसीअनुसार फैसला गर्नु हो । तर पछिल्लो समय धेरै न्यायाधीशहरूले बिर्सिएको न्यायको अर्को पाटो हो– ‘न्यायिक मेलमिलाप’ । अचेलका न्यायाधीश कसैलाई सम्झाउनतिर लाग्दैनन् ।

 

दुवै पक्षलाई सहज हुने गरी सम्झाइबुुझाइ गर्दैनन् । बोलेर सल्ट्याउन सकिने मिसिल छ भने पनि उनीहरू कानुनअनुसार नै अघि बढाइदिन्छन् । सामान्य गल्ती वा कानुन नबुझेर न्यायिक उपचार खोज्न आएकाहरूलाई न्यायाधीशले बित्थामा कानुनी झमेलाभित्र पुर्‍याइदिन्छन् । तर, कुलबहादुर श्रेष्ठले न्याय क्षेत्रमा कार्यरत रहँदा आफूकहाँ आएका कतिपय मुद्दालाई कानुनी झमेलामा नलगी मेलमिलाप गराइदिन्थे ।


आफ्नो पुस्तक ‘जीवन र न्याय’मा पूर्वन्यायाधीश श्रेष्ठले लेखेका छन्, ‘एक दिनको कुरा हो, सम्बन्धविच्छेदको एउटा सिसिल पेसीमा आयो । दुवै दम्पती हाई स्कुलका टिचर रहेछन् । उनीहरू सम्बन्धविच्छेद गर्न आएको देखेर मलाई नरमाइलो लाग्यो । अनि म इजलासबाट ओर्लेर झगडिया बस्ने ठाउँमा उनीहरूको साथमा बसेँ । चिया मगाएर सँगै खाएँ । यति पढेलेखेका मानिसबीच पनि आपसी समझदारी भएन भने अरूसँग कसरी होला भन्ने प्रश्नले मलाई सताइरहेको थियो ।’

 
यो पर्सा जिल्ला अदालत वीरजन्जमा भएको घटना थियो । न्यायाधीश श्रेष्ठले त्यतिवेला ती सम्बन्धविच्छेद गर्न आएका दम्पतीको मुद्दा मेलमिलापमा परिणत गराइदिए । पारिवारिक झगडाकै कारण अलग हुन खोजेका दम्पतीलाई मेलमिलाप गराई अलग हुन दिएनन् ।


न्यायाधीशले रचनात्मक र निस्वार्थ भावनाले काम गर्‍यो भने पीडितले सहजै न्याय पाउने रहेछन्, जटिल लाग्ने मुद्दा मामिला पनि सामान्य हुनेरहेछ भन्ने अनुभूति पुस्तक पढ्दा हुन्छ । पुस्तकमा श्रेष्ठले जागिरे जिन्दगीका तीतामीठा र अविस्मरणीय अनुभूतिलाई समेटेका छन् । 

अचेलका न्यायाधीश कसैलाई सम्झाउनतिर लाग्दैनन् । दुवै पक्षलाई सहज हुने गरी सम्झाइबुुझाई गर्दैनन् । बोलेर सल्टाउन सकिने मिसिल छ भने पनि उनीहरू कानुनअनुसार नै अघि बढाइदिन्छन् ।


उनको समयमा प्रशासनिक प्रणाली निकै पछौटे थियो । न्याय र सरकारी सेवा लिन आउने सेवाग्राहीले निकै सास्ती पाउँथे । न्यायालय ठूलाबडाको छत्रछायाँमा दबिएको हुन्थ्यो । तल्लो वर्गले न्याय पाउने अवस्था निकै कम रहन्थ्यो । अन्यायमा परेर न्याय माग्न आएका विपन्नका लागि आफू साथी बनेको श्रेष्ठले पुस्तकमा लेखेका छन् ।श्रेष्ठले खासगरी सर्वसाधारणका समस्यालाई चासो दिन्थे । उनी सरकारी तथा न्यायिक सेवा प्रदान गर्नका लागि राजधानीमै सीमित रहेनन् । उनी दूरदराजमा पुगेर पीडितलाई न्याय दिन्थे । सरकारी सेवा दिन विकट जिल्लामा पुग्दा कैयौँ रात भोकभोकै बिताएको प्रसंग पनि पुस्तकमा पाइन्छ । 

११ रुपैयाँ तलब
श्रेष्ठले लेखनदासबाट सरकारी जागिर सुरु गरेका थिए । करिब ७६ वर्षअघि उनी सरकारी जागिरे भएका थिए । त्यतिवेला उनका बुबाको जागिर अदालतमा थियो । उनले पनि बुबाले काम गर्ने अदालतमा लेखनदासको काम पाए । त्यो उनको जीवनको पहिलो जागिर थियो । त्यतिवेला उनको तलब जम्मा ११ रुपैयाँ थियो । तर, त्यतिले एक महिनाको गुजारा सहजै चल्थ्यो ।एक रुपैयाँमा एक पाथीचामल र एक माना घ्यू पाइनेजमाना थियो ।


उनी न्यायाधीश भएको वेला टाठाबाठाहरूले न्याय आफ्नो पक्षमा पार्न खोज्थे । तर, श्रेष्ठले न्यायलाई सत्यको तराजुमा तौलिन हरसम्भव प्रयास गरे । करिब १५ वर्षको तयारीपछि यो किताब प्रकाशित भएको बताइएको छ । किताबमा ७६ वर्षका अनूभूतिहरू समेटिएका छन् । पुस्तकको बीचबीचमा रोचक किस्साहरू पनि छन् । पुस्तक पढिरहँदा ६० वर्षअघिको नेपाल घुमिरहेजस्तो लाग्छ । 


यो पुस्तक सरल र सुन्दर लाग्यो । तर, जागिरे प्रसंगसँगै मिति पनि समावेश गरेको भए पुस्तक अझै सम्प्रेषणीय हुने थियो । पुस्तक पढिसक्दा लाग्यो, ‘न्यायाधीशले चाह्यो भने न्याय सजिलै पाउन सकिनेरहेछ ।’