• वि.सं २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022
मल्ल के. सुन्दर
२०७९ भदौ २५ शनिबार ०६:२५:००
समाज

कुमारी परम्परा मातृसत्तात्मक मान्यताको अनुमोदन

२०७९ भदौ २५ शनिबार ०६:२५:००
मल्ल के. सुन्दर

अध्येताहरूका मूल्यांकनमा काठमाडौं उपत्यका सांस्कृतिक सम्पदाहरूको एक खुला संग्रहालय हो, चाडपर्वका दृष्टिकोणबाट यो जात्राको केन्द्र हो । सदैव यहाँ ठूला–साना सांस्कृतिक गतिविधि कतै न कतै सञ्चालन भइरहेकै हुन्छन् । उपत्यकाका प्रमुख सहरमा मनाइने जात्रा–पर्व र चाडका आ–आफ्नै मौलिक पृष्ठभूमिहरू छन् । त्यसअतिरिक्त प्रत्येक सहरका उप–नगरीहरू पनि छन्, त्यतातिर पनि बेग्लाबेग्लै पर्व–जात्रा हुने गर्छन् । तिनका सूची तयार गरिँदा झन्डै बाहै्र महिना एकपछि अर्को निरन्तर क्रममा उपत्यकाभित्र मनाइने जात्रा–पर्वका तालिका तयार हुन्छ । तर, तीमध्ये कान्तिपुर सहरभित्र मनाइने इन्द्रजात्रा, त्यसअन्तर्गतको कुमारी रथयात्राको महत्व भने विशेष छन् ।


भाद्र शुक्ल द्वादशीबाट आरम्भ भई भाद्र कृष्ण चौथीसम्म रहने यो पर्व मूलतः काठमाडौं केन्द्रित हो । नेपालभाषामा यँयाः अर्थात् येँ (कान्तिपुर) याः – भन्नु जात्रा हो, तसर्थ यो कान्तिपुरको अस्तित्वबोध गराउने जात्रा हो भन्ने धेरैको बुझाइ छ । तर, कतिपय संस्कृतिविद्हरू इन्द्रसँग सम्बन्धित भएकाले यसलाई इन्द्रजात्रा वा यँयाः भन्ने गरिएको हो भन्ने पनि तर्क गर्छन् । 


हनुमानढोकापरिसरमा इन्द्रध्वजोत्थान–लिंगो उभ्याइने अनुष्ठानबाट प्रारम्भ हुने यस अवसरको क्रममा कान्तिपुरका चोकचोकमा आकाश भैरव, श्वेत भैरव, वाकाद्यः आदि भैरवका मुखाकृति सार्वजनिक स्थानमा सजाउने गरिन्छ । दिप्याखं (देवीनाच), महाकालीनाच, सवःभकु (आकाश भैरव)नाच, लाखेनाचहरू पनि यतिखेर नै आयोजना गरिन्छ । पुलुकिसी (सेतोहात्ती) दाँगी, बौमत, उपाखुजात्रा आदि पनि यसै सन्दर्भमा सम्पन्न गरिन्छ । इन्द्रजात्रा भन्ने गरिए तापनि यो अनेकन् जात्राहरूको समष्टिगत रूपमा एक विशेष पर्वोत्सव हो । तर, यी सबैमध्ये यस अवसरमा सम्पन्न गरिने कुमारीको रथजात्रा अनि नेपालमण्डलभित्र कुमारी प्रथा प्रचलनको सन्दर्भ भने निकै भिन्न तथा गहन खालका छन् । 


कुमारी रथयात्रा
कुमारीको रथायात्रा कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लले ने.सं ८७७ देखि प्रचलनमा ल्याए । ऐतिहासिक दस्ताबेजअनुसार दरबारभित्रको आन्तरिक षड्यन्त्रका कारण केही समय उनी राजच्यूत भए । कुमारीको आराधनाबाट शासनसत्तामा फर्कन सफल भएपछि उनले आफ्नो वाचा–कबुलको पालना गर्दै प्यागोडा शैलीमा तीनतले आकर्षक रथ बनाउन लगाए । पछि त्यसै रथमा राखेर कुमारीलाई नगर परिक्रमा गराउने प्रचलन चलाए । 


कान्तिपुर नगरलाई लिच्छिवि शासनकालमा माथिल्लो उत्तरतिरको भेगलाई थःने यम्बु प्रदेश र तल्लो दक्षिणी भेगलाई क्वःने यंगल प्रदेशको रूपमा प्रशासनिक विभाजन गरिएअनुसार राजा जयप्रकाशले कुमारी रथलाई पनि क्वःने (तल्लो भेग) भाद्र शुक्ल चतुर्दशी र थःने(माथिलो भेग) त्यसको भोलि भाद्र शुक्ल पूर्णिमाका दिन बाजागाजाका साथ परिक्रमा गराउने व्यवस्था गरे । कालान्तरमा स्वयं जयप्रकाशका एउटी नानी (बाहिरिया केटी) जो भेडासिं, किलागलतिर बस्थिन्, उनकै अनुरोधमा त्यतातिर पनि रथयात्रा चलाउने गरी पूरक व्यवस्था पनि गरे ।

 

भाद्र कृष्ण चौथीको दिनमा सम्पन्न गरिने उक्त पूरक जात्रालाई नानिचायाः (बाहिरिया केटीको जात्रा) भन्ने चलनचल्ती नै भए । राजा जयप्रकाशले कुमारीप्रतिको आफ्नो अगाध श्रद्धाभक्ति प्रकट गर्न राजदरबारको छेउमै आकर्षक तथा अत्यन्त कलात्मक राजकीर्ति मनोरम महाविहारको रूपमा कुमारीको आवासगृह निर्माण गरे । त्यसअतिरिक्त आफ्नो भक्ति र आस्था सार्वजनिक रूपमा प्रदर्शन गर्न कुमारीजात्रामा स्वयं रथमाथि बसेर नगर परिक्रमा पनि गर्थे । 


त्यसो त जयप्रकाशको राज्यकालभन्दा पहिले पनि इन्द्रजात्राको उत्सवमा कुमारीलाई नगर परिक्रमा गराइन्थ्यो । कान्तिपुरका राजा प्रताप मल्ल सत्तामा रहेका वेला ने.सं. ८७७ तिर नै कुमारी जात्रा प्रचलनमा आइसकेको थियो । अभिलेखअनुसार त्यतिखेर कुमारीलाई रथमा नभई खटमा बोकेर घुमाउने गरिन्थ्यो । स्मरणीय छ, ०६४ सालमा कुमारीजात्रा परम्पराको दुई सय पचास वर्ष पुगेको सम्झनास्वरूप जनस्तरबाट भव्य समारोह आयोजना गरिएको थियो । त्यस अवसरमा कुमारीको चित्र अंकित स्वर्ण तथा रजत मुद्रा पनि निष्कासन गरिएका थिए । सरकारको तर्फबाट कुमारीयात्रा प्रचलनको २५० वर्षगाँठ अंकित हुलाक टिकटसमेत प्रचलनमा ल्याइएको थियो । 


सामाजिक सम्बन्धमा कुमारी
इन्द्रजात्राका अवसरमा सम्पन्न गरिने रथयात्रा कुमारी परम्पराको एउटा उल्लेखनीय पाटो मात्र हो । तर, सामाजिक आयाममा नेपालमण्डलभित्र यस परम्पराको शृंखला भने निकै लामो छ । इतिहासकारका अनुसार बंगालका सुल्तान समसुद्दिनको आक्रमणबाट सुरक्षित हुंदै सिमरौनगढबाट नेपालमण्डल प्रवेश गरेकी राजा हरिसिंहदेवकी रानी देवलदेवीले आफ्ना इष्टदेवी तुलजा भवानी पनि साथै ल्याएका थिइन् । त्यो ने.सं ४४४ (इस्वी १३२४)को घटना थियो ।

 

तान्त्रिक मान्यताअनुरूप श्रीयन्त्राकारमा प्राण प्रतिष्ठा गरिएको तुलजा भवानीको कुनै मुखाकृति थिएन । आकर्षक मन्दिर निर्माण गरेर तलेजु भवानीलाई नेपालमण्डलका नगरीय बस्ती र अन्यत्र प्रतिस्थापन गरिँदा पनि गर्भगृहमा तीनको गुह्य स्वरूपलाई नै निरन्तरता दिइएको थियो । तर, मन्दिरका बाह्य भागमा विशेषतः तोरणहरूमा भने भगवतीको मूर्तिलाई तुलजा भवानीको प्रतीक रूपमा सजावट गरिन थालियो । संस्कृतिविज्ञहरू भन्छन्– देवीमहात्म्य, मार्कण्डेपुराण, दुर्गासप्तशति आदि ग्रन्थका आधारमा तुलजा भवानी अरू कोही नभई भगवतीकै स्वरूप हुन् । उनीहरूकै व्याख्याअनुसार भगवतीका विभिन्न रूप छन्, तीमध्ये कौमार्य वा कुमारी पनि एक हुन् । 


तर बौद्धमार्गीको मत अर्कै छ । तुलजा भवानीलाई नेपालमण्डल प्रवेश गराइनुभन्दा धेरै अगाडिबाटै यहाँ कुमारी पूजाको प्रचलन रहेको बज्रयानीहरू दाबी गर्छन् । देशभित्र कुनै उपद्रव वा अशान्तिको स्थिति भएमा कल्याण कामना गरी कन्या (कुमारी)को पूजा आराधना गर्नू भनी बुद्धद्वारा धर्मदेसना भएको कुरा उनीहरू सम्झिन्छन् । तारा पाराजिका नामक बौद्ध ग्रन्थलाई यसको प्रमाणको रूपमा बौद्धमार्गीहरू अगाडि सार्छन् । अझ बज्रयानीहरू त कुमारीलाई बौद्ध तान्त्रिक देवी बज्रवाराहीकै रूपमा ग्रहण गर्छन् । उनीहरूका मतअनुसार सत्ययुगमा बज्रवाराही, त्रेता युगमा वसुन्धरा, द्वापरमा महालक्ष्मी र कलिमा कौमारी एकै हुन् । 


यता बुंगमलोकेश्वर(रातो मच्छेन्द्रनाथ) कामारुकापाक्षबाट राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र रथंचक्र किसानको संयुक्त अभियानस्वरूप नेपाल ल्याइयो । लोककथन छ, क्वदुवाः (कटुवाल दह) पुग्दानपुग्दै स्वयं मच्छेन्द्रनाथले आफूलाई जहाँ पु¥याइने हो, त्यहाँ कुमारीको प्रतिस्थापना गरिनुपर्ने पूर्वसर्त राखे । सोही क्रममा बन्धुदत्त आचार्यले आजभन्दा लगभग पन्ध्र सय वर्षअगाडि नै आफ्नै छोरीलाई बुंगमति परिसरमा सद्य कुमारीको रूपमा स्थापना गरेका थिए भनिन्छ । तसर्थ, आजसम्म पनि बुंगमतिमा बन्धुदत्त आचार्यकै कुल वंशका कन्या केटी सद्य कुमारीका रूपमा छनोट गर्ने परम्परा कायम छ ।


शाक्त सम्प्रदाय र बौद्धहरूका आ–आफ्नै आस्था र मत छन्, कुमारीका सम्बन्धमा । प्रचलन र कालक्रमका सवालमा पनि एउटै धारणा देखिन्न । तर, महत्वपूर्ण कुरा यी कुनैमा पनि आपसी विवाद छैनन् । कतै द्वन्द्व र निषेधको व्यवहार भेटिन्न । कुमारी प्रथाको माध्यमबाट नेपालमण्डलभित्र विकसित धार्मिक सहिष्णुता, समन्वय र सामाजिक सद्भावको रूपमा यसलाई बुझ्न सकिन्छ । यस अर्थमा आफ्नै मौलिकतासहितको कुमारी परम्परालाई अन्तर्राष्ट्रिय जगत्कै एउटा अतुलनीय सम्पदाको रूपमा लिन सकिन्छ । 


कुमारीको व्यापकता
यद्यपि कुमारी रथजात्रा कान्तिपुर सहरमा मात्र प्रचलनमा छ, तर कुमारीको प्रथा भने उपत्यकाका विभिन्न नगरीय बस्तीमा आजपर्यन्त कायम छ । यस प्रथाअन्तर्गत कुनै कन्या केटीलाई शास्त्रीय मान्यताअनुसार विधिविधान पु¥याएर जीवित देवी कुमारीको रूपमा प्रतिस्थापना गर्दै श्रद्धापूर्वक पूजा गरिने तथा तिनलाई सम्बन्धित नगरीय बस्तीकी संरक्षकसरह सम्मान गर्ने गरिन्छ । 

कुमारीलाई नेपालमण्डलको प्रमुख आराध्यदेवी वा इष्टदेवीका रूपमा आजसम्म गरिँदै आएको स्तुति, सम्मान सार रूपमा अन्यथा नभई मातृसत्तात्मक मूल्य–मान्यताप्रति बृहत्तर स्तरमा गरिएको सामाजिक अनुमोदन हो ।


भक्तपुुरका राजाद्वारा ने.सं. ७३९ मा आफ्नै दरबारभित्र विशेष संरचनासहितका कुमारीचोक निर्माण गरियो । तलेजु भवानीको जीवित प्रतिनिधिका रूपमा शाक्य परिवारकी कन्यालाई कुमारीको रूपमा त्यहाँ आसन्न गराए । राजा र तुलजा भवानीकी प्रतिनिधि कुमारीसँग अन्तरंग सरसल्लाहका मनसायमा राजाबाट त्यस्तो व्यवस्था भएको हो भनिन्छ । त्यसैले दरबारभित्रको त्यस स्थान कुमारीचोकको नाउँमा चिनियो । अनि एकान्तमा राखिएकी त्यस देवीलाई याकः कुमारी (एकान्त कुमारी) भन्ने गरियो । पछि ती कुमारीलाई भक्तपुरको दीपंकर विहारभित्र बस्ने व्यवस्था गरियो । आजसम्म पनि यस कुमारीलाई नगरीय बस्तीका मूल कुमारीको मान्यता प्राप्त छ । भक्तपुरभित्र परम्परागत जात्रा, पर्व, पूजा, आदि एकान्त कुमारीको उपस्थितिविना सम्पन्न गरिन्न । 


भक्तपुरमै दत्तात्रय मन्दिर परिसरमा वनेलाय्कु कुमारी र टिबुक्छेँ टोलमा पनि अर्को कुमारी छिन् । विशेषतः बडादसैँमा यिनी दुवैको राजकीय सम्मानका साथ विशेष पूजा गर्ने गरिन्छ । यी कुमारी विशेषतः शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिने चलन छ । 


ललितपुर नगरभित्र आफ्नै बेग्लै परम्परा र मान्यताअनुसार कुमारी परम्परा छ । स्थानीयले अत्यन्त श्रद्धापूर्वक यिनको दैनिकी पूजा आराधना गर्छन् । दसैँ र अन्य चाडपर्वमा विशेष अनुष्ठान हुन्छ । ललितपुर नगरका यी कुमारी हःखाबहालभित्रको पूजाघरमा बस्छिन् । अन्यत्रभन्दा फरक यहाँकी कुमारी भने त्यसै विहार सब्र्व संघभित्रका बज्राचार्य खलकबाट मात्र छानिने गरिन्छ ।


ललितपुरकै अर्को प्राचीन ऐतिहासिक बस्ती महाबौद्ध वनिम टोलमा पनि जीवित कुमारी पूजा गरिन्छ । एकातिर यस कुमारी स्थानीय टोलका ज्यापू परिवारजनमध्येबाट मात्र छनोट गर्ने गरिन्छ भने तिनको पूजाअर्चना भने ललितपुर मिखाबहालका राजोपाध्याय पुरोहितले सम्पन्न गर्ने गर्छन् । 


ललितपुर, बुंगमति परिसरभित्रको सद्य कुमारी भने बन्धुदत्त आचार्य अर्थात् बज्राचार्य परिवारभित्रबाट चयन गरिन्छ । बुंगमतिवासी कसैको पनि घरमा कुनै विशेष पूजा वा पर्व आयोजना गरिँदा सद्य कुमारीलाई आ–आफ्नो निवासमा ससम्मान निमन्त्रणा गरिने प्रचलन छ । 


यता उपत्यकाका तीन सहरभन्दा बाहिर त्रिशूलीमा पनि जीवित कुमारीको परम्परा छ । कान्तिपुरका राजा जयप्रकाश मल्लले नुवाकोटमा दरबार निर्माण गरिएसँगसँगै त्यस दरबारभित्र कुमारीघरमा कुमारी स्थापना गरी पूजा गरिँदै आएको छ । बडादसैँको महाअष्टमीका दिनदेखि विजयादशमीसम्म यहाँ विशेष पूजा हुन्छ । तर, यहाँ भने डंगोल परिवारबाट कुनै एक कन्यालाई कुमारीको रूपमा छनोट गरिन्छ । 


कान्तिपुर नगरभित्र वसन्तपुरस्थित कुमारीघरमा रहेकी राजकीय सम्मान प्राप्त कुमारीको स्थान विशेष छ । जसको छनोट प्रक्रिया अत्यन्त जटिल र लामो हुन्छ । बौद्ध, शाक्त अनि शैव तान्त्रिक पद्धति र मान्यताअनुसार छनोटका अनेकन् विधि तथा चरण पार गरिन्छ । राजकीय कुमारी छनोटका लागि कान्तिपुरभित्रको परम्परागत बत्तीस टोलअन्तर्गतका अठार बौद्ध विहारसँग आबद्ध शाक्य परिवारका कन्या कुमारी मात्र यस छनोट प्रक्रियाका लागि योग्य मानिएका छन् ।


तर तिनका अतिरिक्त कान्तिपुरभित्र अन्यत्र विभिन्न स्थानमा पनि जीवित कुमारी छन् । तीमध्ये काठमाडौं मखन टोलस्थित तानाबहाः   (तारिणी बहाल) भित्रको कुमारी त्यतिकै विशेष खालकी छिन् । राजा प्रताप मल्लको शासनकालमा प्रख्याति कमाएका महाअमात्य झंगल थकुलद्वारा निर्मित तारणी बहाल परिसरभित्र एउटा छुट्टै कुमारीघर छ । राजा भाष्कर मल्लको शासनकाल अर्थात् ने.सं ८३३ बाट त्यहाँ तानाकुमारीको व्यवस्था गरिएको अभिलेख छ । यद्यपि ती कुमारी त्यस बहालको परिसरभन्दा पर कहीँ कतै प्रस्थान गर्न दिइन्न । मखन टोलभित्रका ज्यापु परिवारकी कन्या केटीहरूमध्येबाट तानाबहाः कुमारी चयन गरिन्छ । 


चाबहिलस्थित सुवर्णपूर्ण महाविहार (चारुमती विहार) भित्रको कुमारीको इतिहास बेग्लै छ । इतिहासकार भुवनलाल प्रधानको भनाइअनुसार यस विहारभित्रको कुमारी सम्भवतः नेपालमण्डलका अन्य कुमारीभन्दा पुरानो हुनुपर्छ । राजा रत्न मल्लभन्दा पूर्व काठमाडौंको शासनसत्ता बाह्रजना थकुल परिवारका सामन्तको नियन्त्रणमा थियो । आ–आफ्नो अधिनमा रहेका इलाकाभित्र यिनीहरूले कुमारी स्थापना गरेको हुनुपर्छ भन्ने अनुमान छ । ने.सं ८३४ मा काठमाडौंमा फैलिएको एउटा माहामारीका कारण तत्काल राजकीय कुमारीका लागि नयाँ छनोट गर्न सम्भव नहुँदा चाबहिलको कुमारीलाई हनुमानढोका दरबारभित्र ल्याएर राजकीय कुमारीको आसनमा राखी दुई महिनासम्म नित्यपूजा चलाइएको थियो । नयाँ कुमारी छनोट भइसकेपछि फेरि चाबहिलमै फिर्ता लगियो । 


काठमाडौंको किलागल टोल, छुवि ननिमा भने ज्यापु परिवारबाटै छानिने अर्कै कुमारी छ । त्यस कुमारीको विशेषतः इतुम्बहालका प्रधान खलकले आफ्नो इष्टदेवताको रूपमा लिन्छन् । त्यस्तै काठमाडौंको क्वाःबहाल र वटु, मूबहालभित्र पनि त्यहाँका बज्राचार्य परिवारहरूका सन्ततिमध्येबाट कुमारी छनोट गरी स्थापना गरिन्छ । यता काठमाडौं सहरभन्दा उत्तरमा रहेको प्राचीन बस्ती टोखामा पनि ज्यापु परिवारमध्येबाट कुमारी छनोट गरी पूजा गरिन्छ । त्यहाँको विशेषता भनेको कुमारीका साथसाथै गणेशको पनि चयन गरिन्छ, तर दुवै कन्याकेटीबाट छनोट गर्ने प्रचलन छ । विशेषतः वैशाखमा मनाइने बिस्केट जात्रा र दसैँको खड्गजात्रा कुमारी र गणेशको उपस्थितिविना सुरु गरिन्न । 

नेपालमण्डलभित्र कुमारी परम्परा यतिबिघ्न व्यापक हुनु र सामाजिकस्तरमा यसप्रति गहिरो आस्था देखिनुको कारण
के होला ?


महत्वपूर्ण कुरा यसरी स्थायी रूपमा विभिन्न नगरीय बस्तीमा छनोट गरिने कुमारी प्रथा एकातिर छन् भने अर्कोतिर अनेकन् पर्व विशेषमा कलिला बालिकालाई सामूहिक रूपमा कुमारी पूजा गरिने प्रचलन पनि छ । तीमध्ये बनेपामा प्रत्येक वर्ष भाद्र कृष्ण सप्तमीमा आयोजना गरिने कुमारी पूजा उल्लेखनीय छ, त्यसमा हजारौँका संख्यामा कन्याकेटीहरूलाई सामूहिकस्तरमा कुमारीको रूपमा नगरवासीले ठूलो सम्मान गर्छन् ।    

                 
जीवनदर्शन र सामाजिक मूल्य–मान्यता
नेपालमण्डलभित्र कुमारी परम्परा यतिबिघ्न व्यापक हुनु र सामाजिकस्तरमा यसप्रति गहिरो आस्था देखिनुको कारण के होला ? धर्म, सम्प्रदाय, आस्थाका साथसाथै पुराण, महात्म्य तेस्र्याएर कुमारीलाई दुर्गा, भगवती, तुलजा, चण्डी माताका प्रतिरूप हुन् भनेर आख्यानसँग जोडी व्याख्या गर्ने गरिन्छ । स्वाभाविक हो, धर्माधीश, पण्डितहरूले आ–आफ्नो सहजतामा र अनुकूलतामा दशथरी चर्चा गर्न खोज्छन् । त्यस्तै बौद्ध बज्रयानीहरूले गर्ने गरेको फरक दाबीहरूलाई पनि यिनै क्रममा बुझ्न सकिन्छ । ती आख्यान, पुराण, महात्म्य वा अवदानहरू कति तार्किक र वैज्ञानिक छन् भनेर मनग्य प्रश्न खडा गर्न सकिन्छ । यी भिन्न पाटा हुन् । 


तर, नेपालमण्डलका रैथानेमाझ प्रचलनमा रहेको कुमारी प्रथा अरूभन्दा बिलकुल पृथक् छ, साथै तिनका पछाडि आफ्नै विशिष्ट मौलिक जीवन दर्शन र फरक सामाजिक मूल्य–मान्यता छन्, जुन बुझ्न जरुरी छ । तीमध्ये हुन् :


मातृसत्ता – सामन्ती सामाजिक प्रणालीभन्दा पहिलेको आदिम समाज मूलतः मातृसत्तात्मक, नारीप्रधान थियो । भेदभावरहित मातृसत्तात्मक सामाजिक संरचनाको विशेषता भन्नु समतामूलक जीवनशैली थियो । प्रागैतिहासिक कालखण्डको सामाजिक व्यवस्थाका अध्येताहरूले पर्सिया, मेसोपोटामिया, सिरिया, इथोपिया, मिश्र आदि स्थानमा भेटाइएका मातृकाका विभिन्न मूर्तिका अवशेषलाई मातृकापूजन परम्पराका दसीका रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यस्तै सिन्धु घाटीमा भेटिएका अनेकन् पुरातात्विक वस्तुमध्ये मातृका विशेष छन् । नेपालमा भेट्टाइएका अति प्राचीन मूर्तिमा ललितपुर च्यासलको गजलक्ष्मी, हाँडीगाउँको श्रीलक्ष्मी तात्कालीन मातृसत्तात्मक समाजका प्रतीक हुन् । विशेषतः उपत्यकाभित्र रैथानेहरूका मूल अराध्यदेवीका रूपमा अद्यावधि पुजिने अजिमाहरू पनि मातृसत्तात्मक सामाजिक मान्यताको सांस्कृतिक रूपका अवशेषहरू हुन् ।

 
कुमारीलाई नेपालमण्डलको प्रमुख अराध्यदेवी वा इष्टदेवीका रूपमा आजसम्म गरिँदै आएको स्तूति, सम्मान सार रूपमा अन्यथा नभई मातृसत्तात्मक मूल्य–मान्यताप्रति बृहत्तरस्तरमा गरिएको सामाजिक अनुमोदन हो । लौकिकताप्रतिको आस्था – आध्यात्मिक चेतनालाई जीवनमा अनुसरण गर्ने क्रममा प्रायः व्यक्तिहरू देवत्वको खोजी गर्दै परलोक वा देवलोक पुग्छन् । अनि दैवीशक्तिलाई मानवीय जीवनभन्दा पर अलौकिक सत्तामा रहेको हुनुपर्छ भन्ने कल्पना गर्छन्, यिनै आस्थामा मानवीय जीवन र देवत्वमा सामिप्य होइन, पृथक्ताको रेखांकन खडा हुन्छ । स्वर्ग, नरकदेखि मत्र्यलोक र देवलोकको कल्पनातीत संसारको कुरा पनि यसै क्रममा अगाडि आउँछ । 


नेपालमण्डलभित्रका रैथानेहरू भने व्यावहारिक जीवनमा सदुपयोग गरिने कुटो, कोदालोजस्ता खेतीका ज्याभल, कल–कारखानाका औजार, घरायसी प्रयोगमा आउने नाङ्लो, कुचो, मानापाथी, जाँतो, चुलो, आगो, धारा, पानी, कुवा, इनार, पोखरीमा पनि ईश्वरीय गुण देख्छन् र तिनको पूजा गर्छन् । मन्दिर, चैत्य, गुम्बा मात्र होइन, घरको मूलढोका, छानो, गजुर आदि उनीहरूले पूजा गर्ने सूचीभित्र पर्छन् । गाई, हात्ती, कुकुर, काग, नाग–नागिनी, भ्यागुता मात्र होइन, यक्ष(ख्याक), गन्धर्व, लाखे(राक्षस) आदि उनीहरूका लागि पूजनीय छन् । ती सबैमा ईश्वरी गुण र देवत्व खोज्छन् ।


तिहारको म्हपूजाका दिन परिवारजनका सबै मण्डलाको अगाडि बसेर आफैँले आफूलाई पूजा गर्दै आफूभित्र दैविक गुण खोजीमा आत्मचिन्तन गर्छन् । नश्वर जीवनमा पनि एउटा बिन्दुमा पुगेपछि उनले निर्वाह गरेका कर्म र आत्मिक शुद्धीकरणबीच स्वतः दैविक गुण विकास हुन्छ र त्यस अवस्थामा प्रत्येक मानिस देवतासरह हुने गर्छ भन्ने आस्था राख्छन् । त्यसै आस्थामा उनीहरू मानिसलाई देवताको स्थानमा राखेर बूढो पास्नी वा भीमरथारोहण गर्छन् । 


अनेकन् चाडपर्वमा देव–देवीको मुकुण्डोसहित निकालिने नाचका परम्पराले पनि दैवीशक्ति अन्यत्र होइन, एक जीवित मानिसभित्र नै उत्पत्ति हुन्छ भन्ने आस्थाको बोध गराउँछ ।अदृश्य तथा अलौकिक जगत्मा होइन, लौकिक तथा बोधगम्य जीवनमै साध्य, साधनाबाट दैविक गुण वा स्वरूपको उपस्थिति हुन सक्छ भन्ने नेपालमण्डलका रैथानेहरूको सामाजिक आस्था र जीवन दर्शन हो । तिनै आस्था र दर्शनको एउटा मूर्त व्यवहार हो– जीवित कुमारी परम्परा ।


देशप्रेमको आख्यान – लोककथनअनुसार कुमारी श्वेतकालीकी छोरी हुन् । यौवनावस्थामा पुगेकी कुमारीको ज्ञात–अज्ञात परिस्थितिमा असुर नायक चन्दासुरसँग गहिरो प्रेम बस्छ । तर, अर्कोतिर नेपालमण्डलभित्र उपद्रो मचाउने र आक्रमक गतिविधिमा चन्दासुर नै लागेको हुन्छ । नेपाल देशको अस्तित्व रक्षा र नागरिकहरूको जीवनरक्षा सबैतिरबाट असफल हुँदै थियो ।

 

श्वेतकालीको संरक्षकत्वमा रहेका मातृकाहरूको सल्लाहमा चन्दासुरबाट रक्षार्थ कुमारीलाई नै अगाडि सार्ने रणनीति बनाइन्छ । एकातिर आफ्नो प्रियसी चन्दासुर अर्कोतिर सिंगो नेपाल देशको अस्तित्वको रक्षा गरिनुपर्ने दायित्व । कुमारीका लागि त्यो द्विविधापूर्ण जिम्मेवारी थियो । तर, अन्ततः उनले राष्ट्रहितलाई शिरोपर गरिन्, देशका आमनागरिक तथा मातृभूमिको रक्षार्थ आफ्नै हातबाट आफ्नो पे्रमिकाको हत्या गरिन् । उनको त्यो त्याग र बलिदान तथा देशपे्रमका लागि सर्वत्र जयजयकार भयो । त्यसै क्रममा देश र जनताको रक्षार्थ अविभावकत्व ग्रहण गर्दै उनले आजीवन अविवाहित कुमारी अवस्थामै बस्ने प्रणसमेत गरिन् । 


हुन त यो लोककथन मात्र हो, तर यस लोककथनको अन्तर्यको मर्ममा रहेको देशपे्रमको गहन सन्देश र आफ्नो जीवन बलिदानको भावना आजपर्यन्त पे्ररणादायी र अनुकरणीय छ । त्यसैले कुमारी प्रथा जनमानसमा सम्मानित छ, अद्यापि जीवित छ । 
थकुछेँ, पासिकोत, बुढानीलकण्ठ, काठमाडौं