• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शुष्मा बराली
२०७९ भदौ २५ शनिबार ०७:४९:००
समाज

पाठ्यक्रममा ‘दलित ज्ञान’ खै ?

२०७९ भदौ २५ शनिबार ०७:४९:००
शुष्मा बराली

०७९, जेठ २ र ३ गते काठमाडौंको एक कलेजमा दुईदिने कक्षा लिने अवसर पाएकी थिएँ । ‘इम्बर्सिङ डाइभर्सिटी एन्ड रिड्युसिङ प्रिजुडिसेस’,शीर्षकमा साइकोलोजी डिपार्टमेन्टका बिए प्रथम वर्षका विद्यार्थीहरूलाई कक्षा दिइएको थियो । केही आफ्ना अनुभव, केही समाजमा भइरहेका घटना र किन विविधता आवश्यक छ भन्ने विषयमा छलफल भैरहँदा प्रायः
विद्यार्थी अचम्म थिए । विद्यार्थीका आँखामा जातको कारण यत्रो घटना भएको छ ? भन्ने जिज्ञासा देखिन्थ्यो ।


‘पहिलाको जमानामा पो जातको कारणले भेदभाव हुन्थ्यो अहिले कहाँ त्यस्तो छ ?, पुर्खाहरूले छुवाछुत गरे होलान् त्यसको सजाय हामीलाई किन ? हामीले त त्यस्तो गर्‍या छैन्, हामीलाई फोकटमा गाली किन ?’ यस्ता प्रश्नका उत्तर कक्षामा उपस्थित अधिकांश सुन्न चाहन्थे । व्यक्तिगत रूपमा यी प्रश्नहरू कुनै नयाँ थिएन, तर यस्ता प्रश्न आउनुमा फेरि पनि हाम्रो ज्ञान उत्पादन कारखानामा गएर ठोकिन्छ । कसरी हाम्रो सामाजिक संरचना जातका आधारमा बाँडिएको छ ? मानिसलाई कुन दर्जामा राख्ने भनेर कसरी जातले नै फैसला गर्छ ? कसरी राज्य संरचना मिलेर एउटा समुदायलाई हजारौँ वर्षदेखि असक्षम र कुपात्रका रूपमा प्रस्तुत गरेको छ ? कसरी जातकै आधारमा कोही ज्ञानी अनि कोही अज्ञानी भनी रटाएको छ ? यी सबै प्रश्नका उत्तर सम्भवतः यो कक्षासम्म आइपुग्दा केही न केही जान्नैपर्ने हो, तर यहाँका कुनै पाठ्यपुस्तकमा दलित ज्ञान, जात–व्यवस्थाका बारेमा केही राखिएको छैन ।


त्यस्तै, ०६९ जेठ २५ मा दर्नाल अवार्डद्वारा त्रिभुवन विश्वविद्यालय आयोजित एक छलफलमा डा. युवराज लुइँटेलले समाजशास्त्र विभागबारे बोले । ‘एमएमा आउने नौ हजार आवेदकमध्ये तीन हजार आवेदक समाजशास्त्र विभागमा भर्ना हुन आउँछन्’, उनी भन्छन्, ‘दलित ज्ञानको विषयमा त्रिभुवन विश्वविद्यालयले केही पनि गरेको छैन, जेजति गर्न सक्थ्यो, त्यो गरिरहेको छैन, त्यो गर्नुपर्छ भन्ने महसुस पनि भएको छैन ।’ उनका यी शब्दले कुनै नयाँ खोज या तथ्य बोलेका थिएनन्, यी वाक्यले दलित सवालका विषयमा हाम्रा विश्वविद्यालयको संवेदनशीलता प्रस्ट पारेका थिए । त्रिभुवन विश्वविद्यालयजस्तो गरिमामय मानिएको ज्ञान उत्पादन केन्द्रले समाजको एउटा समुदायलाई हेर्ने नजर, देखाउने चरित्रको यथार्थता थियो । 

नेपालमा साक्षरता दर बढ्यो भनेर जसरी गर्व गर्छौँ त्यसरी नै खस्किँदो चेतनास्तरबारे किन चिन्ता गर्दैनाैँ ?


००७ पछि लोकतन्त्र बहालीको ७२ वर्ष भइसक्दासम्म दलित समुदाय मान्छे हुनुको प्रमाण खोज्दै न्यायालय धाउनुपर्ने बाध्यताको पछाडि हाम्रा विद्यालय, विश्वविद्यालयजस्ता ज्ञान उत्पादन केन्द्र जिम्मेवार छन् । नेपालमा साक्षरता दर बढ्यो भनेर जसरी गर्व गर्छौँं त्यसरी नै खस्किँदो चेतनास्तरका बारेमा किन चिन्ता गर्दैनौँ ? सामाजिक संरचनाको हरेक क्षेत्रमा सधैँ एउटा मात्र समुदायको वर्चस्व उच्च हुँदा सोही समाजको दलित समुदाय सधैँ पीँधमा राख्ने व्यवस्था कसरी सही भन्न सक्छौँ ? विविधतालाई कसरी स्विकार्ने भन्ने पाठ्यक्रम किन नबनाउने ? विविधता स्विकार्दा, सबैले अधिकार पाउँदा खाइपाइ आएकाहरूको अधिकार खोसिँदैन, कम हुँदैन भन्ने मुद्दालाई किन स्थापित नगर्ने ?


‘सभी मनुष्य समान रूप हैँ तो, अकेले ब्राह्मणको उच्च और बाँकीको नीच कैसे ठहराया जा सक्ता है ?,’ – पेरियार 
भारतीय अभियन्ता पेरियारले भनेजस्तै, ‘सबै मानव समान छन्, त्यसैले ब्राह्मण एक्लैलाई कसरी उच्च र बाँकीलाई निम्न राख्न सकिन्छ ?’

 

पाठ्यक्रम परिमार्जनको आवश्यकता 
करिब २२० वर्षअघि भारतको केरेला राज्यको एक दुर्गम गाउँ ‘छेरथलामा’ नागंलीले ‘मुलाक्रम’ दलित महिलाले आफ्नो स्तन छोपेबापत कर तिर्नुपर्ने नियम कथित ठूला जातका गाउँ पञ्च तथा राजाहरूले बनाएका थिए । उक्त कानुन कथित उच्च जातका महिलामा लागू नहुने, तर सोही ठाउँका कथित तल्लो जात भनिएका महिलाले भने ‘मुलाक्रम’ तिर्नुपर्ने क्रुर प्रथाविरुद्ध एक कथित तल्लो जातकी महिला नांगेलीले निर्मम विभेदविरुद्ध विद्रोह गरिन् । स्तन देखाउनुपर्ने दमनको विरोधमा उनले आफ्ना स्तन नै काटेर गाउँका पञ्चको हातमा थमाइदिइन् । र, त्यो विद्रोहपछि उनको मृत्यु भयो । सो विद्रोह हाम्रो कुन विश्वविद्यालयको, कुन विषयको कति नम्बर पाठमा उल्लेख छ ?


नांगेलीले गरेको विद्रोह एउटा उदाहरण मात्र हो । यस्ता कैयौँ दलित पात्र छन्, जसले समाज परिवर्तनका लागि योगदान दिएका छन् । तर, उनीहरूका नाम कतै उल्लेख गरिएनन् । राजा–महाराजाका महिमा रटाउँदैगर्दा नेपालको भौगोलिक एकीकरणको क्रममा योगदान गर्ने बिसे नगर्ची, मणिराम गाइने, बांगे सार्कीका बारेमा कहीँकतै उल्लेख गर्न जरुरी ठानेन । दलितको संघर्ष, त्याग र बलिदानलाई ब्राह्मणवादी ज्ञानको अवधारणाले ज्ञानको रूपमा स्विकारेन । दलित समुदायको ऐतिहासिक स्थिति, संघर्ष, श्रम र सीपको अवस्थाबारे खोज, अनुसन्धान गरेर लिखित रूप दिन ब्राह्मणवादी ज्ञानको दम्भले दिएन । 

दलित भोगाइ, दलित बुझाइ, सीपलाई ज्ञानको रूपमा स्विकार्नैपर्छ । पाठ्यक्रम निर्माणमा हुने एकल वर्चस्व अब परिमार्जित हुनैपर्छ । कुन समुदाय ज्ञानी, कुन समुदाय अज्ञानी भनी छुट्याउने नजरमा विविधता आउन जरुरी छ ।


दलित भनेको के हो ? कसरी बुझ्ने ? दलित उत्पीडन, संघर्ष अनि योगदान पाठ्यक्रममा समावेश गरिनु आवश्यक छ । दलित भोगाइ, दलित बुझाइ, सीपलाई ज्ञानको रूपमा स्विकार्नैपर्छ । पाठ्यक्रम निर्माणमा हुने एकल वर्चस्व अब परिमार्जित हुनैपर्छ । कुन समुदाय ज्ञानी, कुन समुदाय अज्ञानी भनी छुट्याउने नजरमा विविधता आउन जरुरी छ । प्रश्न आउन सक्ला, ज्ञान पनि दलित, ब्राह्मण हुन्छ र ? ज्ञान त ज्ञानै हो भन्ने, तर खासमा यही चेतना हो ब्राह्मणवादी ज्ञान जसले अरू असत्य मान्छ, आपूm मात्र सर्वशक्तिमान । तसर्थ, जात व्यवस्थाले निर्माण गरेको ब्राह्मणवादी ज्ञान र जात व्यवस्थाविरोधी ज्ञान नै दलित ज्ञान हो । दलित ज्ञान बुझ्नका लागि दलित समुदायको पृष्ठभूमि बुझ्न आवश्यक छ । दलितले बाँच्न बाध्य जीवनशैली, दलितले भोगेको अनुभव र परिस्थिति, अवस्था सबै दलित ज्ञान हो जुन कुनै पाठ्यक्रममा राखिएको छैन । 

दलित ज्ञान किन ?
विश्वविद्यालयहरू विभेदी, अत्याचारी मानसिकता उत्पादन गर्ने कारखाना भएका छन् । कुन समुदाय वर्गका भनाइ, अनुभव, योगदानलाई ज्ञानको रूपमा प्रचारप्रसार गर्ने भन्ने पनि जात–व्यवस्थामा आधारित ब्राह्मणवादी ज्ञानले दायरा निर्माण गरिदिएको छ ।‘एनाइलेसन अफ कास्ट’ मा अरुनधती रायले मलाला र सुरेखाबीचको फरक उल्लेख गरेकी छिन् । कसरी मलाला युसुफजईको संघर्ष र विद्रोह सारा विश्वले पढ्न पाउँछ, तर भारतकी दलित समुदायकी सुरेखा जसले आत्मसम्मानका साथ बाँच्न पाऊँभन्दा सारा गाउँले मिलेर सुरेखा र उनको परिवारको हत्या ग¥यो । मान्छे भएर बाँच्नका लागि उनले गरेको विद्रोहबारे कसैलाई थाहा छैन, न कुनै चासो नै छ । 


तसर्थ, कुन समुदायको भोगाइलाई ज्ञान मान्ने अनि कसको बलिदान र उत्पीडनलाई बेवास्ता गर्ने भनी एउटा विभेदी मानसिकता तयार गर्न ब्राहमणवादी ज्ञानले मद्दत गरेको छ, मलजल गरेको छ । दलित ज्ञानले दलित समुदायको जीवनशैली, दलित समुदायको सौन्दर्यशास्त्र, दलित साहित्य, दलित दर्शन आदिबारे जानकारी दिन्छ र सोच्न बाध्य बनाउँछ । ३५ सय वर्षदेखि दलित समुदायलाई २३ सय वर्षअघिको मनुस्मृति र विसं १९१० को जंगबहादुरको मुलुकी ऐनले उपेक्षा ग¥यो । जसले गर्दा आजसम्म दलित ज्ञानको महत्व अनदेखा गरिएको छ ।


दलित समुदायको योग्यतामाथि प्रश्न गर्ने ब्राह्मणवादी ज्ञानको अवधारणामाथि नै प्रश्न गर्ने समय आएको छ । दलित समुदाय, जसले सीप र ज्ञानको प्रयोग गरेर फलामलाई हतियारको स्वरूप दिन्छ, सोही फलामलाई औजारको रूप दिन सक्छ, एउटा सादा कपडालाई पोसाक बनाउन सक्छ, खुट्टालाई सुरक्षित गर्न जुत्ता तयार गर्न सक्छ, सोही दलित समुदायमाथि योग्यताको प्रश्न उठाउने ज्ञानको अवधारणामा परिमार्जन हुन आवश्यक छ । ज्ञानको भाष्य जसरी निर्माण गरिएको छ अब फरक तरिकाले सोच्न आवश्यक छ । ब्राह्मणवादी ज्ञानलाई जसरी जबर्जस्त अनिवार्य बनाइयो, त्यसरी नै जात–व्यवस्थाविरोधी दलित ज्ञानलाई पनि पाठ्यक्रममा समावेश गरिनुपर्छ ।


दलित ज्ञानको माध्यमबाट विभेदकारी सामाजिक संरचनाबारेमा बुझाउन आवश्यक छ । जात–व्यवस्थाले मानिस–मानिसबीच उच र निच, राम्रो र नराम्रो, उत्तम र खत्तम भनी विभेदी संरचना कसरी बनायो भन्नेबारे पाठ्यक्रमबाटै पढाउन सुरु गर्नुपर्छ । विद्यालय–विश्वविद्यालयले सोच्न ढिला भइसक्यो, पुनर्विचार गरी प्राथमिक तह होस् या विश्वविद्यालयस्तरका पाठ्यक्रम नै परिमार्जन गरी जात–व्यवस्थाविरोधी विषयवस्तु समावेश गरिनुपर्छ । महिला, महिलामा पनि दलित, जनजाति, मुस्लिम, अल्पसंख्यक, पछाडि पारिएका वर्ग समुदायका विषयहरू समेटेर महिलाभित्रका विविधता अनिवार्य गरिनुपर्छ ।