• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विवेक पोखरेल
२०७९ असोज १ शनिबार ०७:२८:००
इतिहास

महारानी एलिजाबेथ सिकार खेल्न जब चितवन पुगिन्

२०७९ असोज १ शनिबार ०७:२८:००
विवेक पोखरेल

बेलायतकी महारानी एलिजाबेथ द्वितीया राजा वीरेन्द्रको पालामा ६ फागुन ०४२ मा दोस्रोपटक नेपाल भ्रमणमा आएकी थिइन् । त्यसको २५ वर्षअघि ०१८ मा पनि उनी राजा महेन्द्रको निमन्त्रणामा नेपाल आएकी थिइन् । उनी पहिलोपटक नेपाल आउँदा सिकार गर्नेदेखि विभिन्न मन्दिर तथा पर्यटकीय क्षेत्रमा भ्रमण गरेकी थिइन् । नेपालका राजपरिवारले उनको सम्मानमा राजकीय भोजको आयोजना गरेको थियो । त्यसवेला महारानी एलिजाबेथ द्वितीया र युवराज फ्लिपले काठमाडौं, पोखरालगायतका विभिन्न ठाउँसँगै चितवन पनि घुमेका थिए । चितवन आउँदा उनले मेघौलीमा करिब एक हप्ता बिताएकी थिइन् । 


०००
महारानीको भ्रमणको तयारी गर्न मेघौलीमा नेपाली सेनालगायत काम गर्ने मान्छेहरू १ महिनाअघि देखि नै खटिएका थिए । उनीहरूले चौर सफा गरे, २५ वटा घर र छाप्राहरू चिटिक्क पारेर बनाए । ‘उनीहरूले छाप्रा बनाएको ठाउँमा पहिला ठूलो खर र कुसको झाडी थियो,’ ७२ वर्षीय मायाराम चौधरी त्यो दिन सम्झिन्छन्,‘झाडी सफा गरेर उनीहरूले चौर बनाए । त्यसपछि झन्डै एक महिनापछि चिलगाडी (जहाज) आयो ।’

मायारामहरू आफ्नै धुनमा खेतीपातीको काम गरिरहे । उता त्यो चौरमा एक हप्ताको बीचमा पटक–पटक चिलगाडी आइरह्यो, गइरह्यो । सुरुसुरुमा उनले को आउँदैछ भन्ने नै भेउ पाएनन् । धेरै दिनपछि मात्रै बेलायतको महारानी आएको थाहा पाए । त्यही चौरमा मेघौली विमानस्थल बनाइयो ।


संरक्षणकर्मीको परिचय बनाएका मायाराम अहिले मेघौली मध्यवर्ती उपभोक्ता समिति र मेघौली पर्यटन विकास समितिका अध्यक्ष हुन् । मायारामका हजुरबुबा मदारी चौधरी मेघौली गाउँका जिम्दार थिए । जिम्दार खलक भएकाले मात्रै महारानी आएको थाहा पाएका थिए उनले । 

बिहान ११ बजेतिर महारानी चढेको चिलगाडी आइपुगेको मायारामलाई याद छ । केहि दिनदेखि ५–६ पटक जहाज आउने–जाने गरेपछि मात्रै महारानी चढेको जहाज चौरमा बसेको थियो । महारानी मेघौली आएकै कारणले त्यहाँका गाउँलेले पहिलोपटक जहाज देख्न पाए ।


त्यसवेला मायाराम मात्र १० बर्षका थिए । बिहान ११ बजेतिर महारानी चढेको चिलगाडी आइपुगेको उनलाई याद छ । बिहानैदेखि ५–६ पटक जहाज आउने–जाने गरेपछि मात्रै महारानी चढेको जहाज चौरमा बसेको थियो । महारानी मेघौली आएकै कारणले त्यहाँका गाउँलेहरूले पहिलोपटक जहाज देख्न पाए । महारानी आएको थाहा पाएपछि उनका साथीहरू, शिक्षक र गाउँलेहरू हेर्न गएका थिए ।


स्थानीयहरू महारानी हेर्न झुम्मिए । तर, नजिकबाट महारानीलाई हेर्न र स्वागत गर्न पाएनन् । ‘अहिले मेघौली आउने जोकोही पाहुनालाई थारू समुदायले झाँकीसहित स्वागत गर्छन् । तर, पहिले यो संस्कार थिएन’ मायाराम भन्छन्,‘निकै टाढाबाट महारानी सवारी भएको हामीले हेर्‍यौँ । सेना पुलिसहरू टन्नै थिए ।’


जहाजबाट ओर्लनैबित्तिकै महारानीलाई उनकै आगमनका लागि बनाइएको अस्थायी आवासमा लगियो । एक महिनाअघिदेखि खटिएकाहरूले त्यहाँ २५ वटा छाप्रासहित दर्जनौँ पाल टाँगेर अस्थायी घर बनाएका थिए । राप्ती नदीको किनारनजिक पर्ने गरी वासस्थानको व्यवस्था मिलाइएको थियो ।


‘महारानी आउँदा २३ बिघा जमिनमा त्यस्तो अस्थायी घरहरू बनाइएको रहेछ । हामीले अहिले त्यो क्षेत्रमा वृक्षरोपण गरेका छौँ,’ उनी भन्छन्, ‘हाम्रोमा बिजुली थिएन । टुकीकै भर थियो । तर, महारानी बसेको क्षेत्र झिलिमिली देखिन्थ्यो । रातमा पनि दिनजस्तै छर्लंग हुने गरी बत्ती बल्थ्यो । हामी इनारबाट पानी निकालेर पिउँथ्याैँ । महारानीका लागि धाराको व्यवस्था गरिएको थियो । ती सबै देख्दा अचम्म लाग्थ्यो ।’ 


उनका अनुसार महारानीलाई सर्प र किराले नटोकोस् भनेर झाडी फाँडेर सफाचट बनाइएको थियो । माटो उठाएर अग्लो बनाएको ठाउँमा उनको विशेष वासस्थान थियो । उनका लागि खाने ठाउँ मात्रै होइन, चर्पीको पनि विशेष व्यवस्था गरिएको थियो ।

 

मायाराम चौधरी भन्छन् ‘त्यसवेला म केटाकेटी नै थिएँ । हामी आर्मीबाट लुक्दै–भाग्दै रूखमा चढेर महारानीको गतिविधि चिहाउँथ्यौँ । नौ हात लामो बाघ मारेको भन्ने सुन्यौँ, कम्पाउन्डमा जनावरहरू मारेर सेतो कपडाले छोपेर राखेका थिए । सिकार गरिएको बाघको छाला निकालेको देख्थ्यौँ ।’ 


महारानी फर्किएपछि अस्थायी घरसहितका संरचना त्यसै छाडिए । पछि कतिपय बिग्रियो, भत्कियो, कतिपय स्थानीयले लगे । ‘बत्तीचाहिँ कसरी बालिएको थियो, हामीलाई थाहा भएन,’ उनी भन्छन् । करिब दुई वर्षसम्म खरको छाना भएका चिटिक्क परेका घरहरू त्यही देखिन्थे । जंगल जाँदा धाराको पानी उनीहरूले पिए । उनी भन्छन्, ‘हाम्रा लागि त्यहाँ भएका हरेक गतिविधि अनौठो थियो । भित्रको गतिविधि हामीलाई थाहा हुँदैनथ्यो । तर, भित्र बस्नेहरूका लागि गाउँलेहरूले दूध, दही, घ्यू, तरकारी गेटसम्म पुर्‍याइदिन्थे । त्यसबापत पैसा पनि दिन्थे ।’ 


महारानी एलिजाबेथलाई चितवन ल्याउनुको मुख्य उद्देश्य उनलाई बाघको सिकार गराएर मनोरञ्जन दिलाउनु थियो । मायारामका अनुसार बाघको सिकारका लागि सहज र सुरक्षित होस् भनेर तीन सय २७ वटा हात्तीको व्यवस्था गरिएको थियो । उनीहरूले बाघ, गैँडा, भालुलगायतको सिकार गरेका थिए । मायाराम भन्छन्, ‘नौ हात लामो बाघ मारेको भन्ने सुन्यौँ ।’ महारानीको टेन्टबाट करिब सात किमि टाढा सिकार गर्न क्याम्प बनाएको थियो । मायाराम र उनका साथीहरू आर्मीबाट लुक्दै–भाग्दै रूखमा चढेर महारानीको गतिविधि चिहाउँथे । उनीहरूले कम्पाउन्डमा जनावरहरू मारेर सेतो कपडाले छोपेर राखेको देखे । सेनाले घेरेर सहज ठाउँमा ल्याएको जनावरमाथि गोली चलाएर उनीहरू आनन्द लिन्थे । ‘सिकार गरिएको बाघको छाला निकालेको हामीले देख्थ्यौँ, उनी भन्छन्,‘महारानी बसेर सिकार खेलेको हौदा अहिले पनि भीमफेदीको संग्रहालयमा छ ।’ 


बेलायती महारानीको आगमनपछि मेघौलीको कायापलट हुने धेरैको अनुमान थियो । तर, मेघौलीको स्वरूप फेरिएन । मेघौली विमानस्थलमा अहिले जहाज उड्दैन । बाख्रा, गाई भैँसी चरिरहेका हुन्छन् । स्थानीयहरू घाँस काटिरहेका हुन्छन् । विमानस्थलभरि झाडी नै झाडी छ । बालबालिकाहरू फुटबल खेलिरहेका हुन्छन् । झट्ट हेर्दा विमानस्थल होइन, गौचरनजस्तो देखिन्छ । 


समय गुज्रेसँगै त्यहाँ टाइगर टप्स जंगल लज खुल्यो । त्यसपछि टाइगर टप्सले नै पाहुना ल्याउन २०२२ देखि उडान भर्दै आयो । कुनै समय मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने–उत्रने गर्थे । जहाजमा टाइगरटप्स जंगल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुन्थे । तर, नेपाल सरकारले निकुञ्जभित्र होटेल सञ्चालन गर्न नपाउने भनेपछि २०६६ सालदेखि नियमित उडान ठप्प भएको छ । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौंबाट उडेको लगभग आधा घन्टामा विमान मेघौली पुग्छ ।