• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
खेम बतास
२०७९ असोज १ शनिबार ०८:४६:००
साहित्य

शिवराजको कुलो

२०७९ असोज १ शनिबार ०८:४६:००
खेम बतास

सेतीमा द्वाली बुझेर
खानकोटको खेत रोपेजस्तो
सजिलो छैन शिवराजको रोपाइँ ।

 

उपाडी बिउकी रोपाइँ गरी, भकारी राखी
एकैदिनमा काँधमा फुरुडी सिउरिएजस्तो
सजिलो त झन् छँदै छैन शिवराजको रोपाइँ ।

 

सयौँ बिघाको रोपाइँ गर्न
कहाँ सकिन्छ र केही दिन हप्ताहरूमा ?

 

इतिहासका पानाहरूमा
शिवराजको कुलो निरन्तर बगिरहेको छ ।
शिवराजको कुलो र
शिवराजको रोपाइँ केवल भन्नु मात्र हो
शिवराजले सुरु गरेको रोपाइँको आयतन
शिवराजले सुरु गरेको विचारको क्षेत्रफल
कैयौँ गुणा दुखेको छ
छुक्ना थारूको निधारमा !

 

देशमा प्रजातन्त्र आएकै दिन
खन्न सुरु भयो, शिवराजको कुलो
सात, पन्ध्र, उन्नाइस, छत्तीस र छयालिसमा
खुब खन्यो छुक्नाले
शिवराजको कुलो, 
खुब बगायो पसिना र रगत
खुब बग्यो कुलोमा पानी र 
खुब गर्‍यो शिवराजले रोपाइँ ।

 

छुक्नाकै मिहिनेतले बग्यो कुलामा पानी,
छुक्नाकै मौजहानले गरे खेतमा रोपाइँ !
भकारी पनि छुक्नाकै खाली रह्यो
भोका पनि छुक्नाकै छावाछावी रहे ।

 

मिहिनेतअनुसारको मूल्य
कसले पाएको छ र यो देशमा ?

 

माओवादी एरिया कमान्डरले 
भनेजस्तो सजिलो छैन 
आन्दोलन र परिवर्तन 
प्रजातन्त्र आएकै साल छुक्नाले गुमायो जन्नी
जारी बुझेको पनि काम आएन 
गणतन्त्र आएकै साल मर्‍यो छुक्नाको छावा
थारू पहाडी आन्दोलन गरेको काम आएन
शिवराजको कुलोसँगै बगे
छुक्नाका हजार सपना र खुसीहरू 

 

खोलानाला, नदी र कुलेसाहरू
वर्षा नहुँदा मात्र रहेछन् सुन्दर 
कुलो पनालोको सदैव सुल्टो अर्थ नलाग्दो रहेछ 
कसले बनाइरहेछ कुलोलाई 
सौम्य, शान्त र जीवनको बिम्ब ?

 

कहिले खन्छौ विचारको कुलो र
कहिले गर्छौ स्वतन्त्रताको रोपाइँ
छुक्ना डाडु कैसिन बा टुहार जिन्दगी ?

 

शिवराज पन्त २०१५ सालको आमनिर्वाचनमा डोटीबाट निर्वाचित सांसद थिए । बिपी कोइरालाको मन्त्रीमण्डलमा उनी मन्त्रीसमेत भएका थिए । हालको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका विभिन्न वडामा उनको सयौँ बिघा जमिन थियो । खेतमा काम गर्न उनले कमैयाको रूपमा थारू समुदायका मानिसहरू राखेका थिए । चुरे पर्वतको कछाड कालाखोलाबाट उनले आफ्नो खेतका लागि निजी कुलोको समेत व्यवस्था मिलाउन मान्छे खटाएका थिए ।

केही स्थानीय भाषाका शब्दावली
फुरुडी : रोपाइँको मैझारो भएको दिन खुसी हुँदै बिउको फूल बनाएर कानमा सिउरिने काम । 
छावाछावी : थारू भाषामा छोराछोरी 
जन्नी : श्रीमती 
डाडु : दाजु
खानकोट : सेती नदीकिनारको एक सुन्दर गाउँ