• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
इन्दु थारू
२०७९ असोज ८ शनिबार ०७:३७:००
समाज

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

कमलरी शब्दको गलत प्रयोग गरी भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन 

२०७९ असोज ८ शनिबार ०७:३७:००
इन्दु थारू

 

म 
तिम्रै यादको कमारो हुँ सायद
र 
तिमी 
मेरो सम्झनाकी कमलरी 
(कल्प–ग्रन्थ. ३०६) 


फेसबुकमा पोस्ट गरिएको यो कविता पढेर बेचैन भएँ । कमलरी शब्दलाई यसरी फेन्टासाइज गरी कवितामा प्रयोग गरेको देखेर मलाई विश्वास भइरहेको थिएन कि यसका लेखक मैले मनमनै उच्च सम्मान गर्ने व्यक्तिमध्येका एक हुन् । कमलरी शब्द थारू भाषाको कम्लहरियाबाट आएको हो । पहाडी समुदायका मानिसहरूले कम्लहरिया भन्न नजानेर हो या उच्चारण गर्न गाह्रो मानेर हो, कम्लहरियालाई कमलरी बनाइदिए । २०७० सालको कमलरी मुक्ति आन्दोलनपश्चात् कमलरी शब्द अझै आम बन्न गएको हो । 


कम्लहरिया भनेको जमिनदारको घरमा काम गर्न राखेको थारू समुदायको अति विपन्न परिवारकी केटी मान्छे हो । खान–लाउन अभाव हुने परिवारले आफ्ना साना छोरीहरूलाई जमिनदारको घरमा काम गर्नका लागि कमलरी बस्न पठाउँथे । कतिपयले त ६–७ वर्षका छोरीहरूलाई पनि काममा लगाउनुपर्ने बाध्यता हुन्थ्यो । जमिनदारले कमलरीलाई उनको घर जाने अनुमति नदिएसम्म घर जान पाउँदिनथिन् । धेरैजसो कमलरीहरू आफ्नो आमाबुबाभन्दा टाढा राखिन्थे । कैयाँै त गाउँबाट सहर पुर्‍याइन्थे । 


मलाई सम्झना छ, हाम्रो गोटियार घरको नातामा मेरी फुपू पर्नेलाई हाम्रै गाउँको एक पढेलेखेका जागिरे व्यक्तिले कमलरी लगाइदिने भनी सहर लगे । ती जागिरे व्यक्तिले गाउँका थुप्रै केटीलाई थुप्रै हाकिमहरूकहाँ कमलरी राखिदिने गरेका थिए । मेरी कमलरी फुपू धेरै वर्षसम्म घर आउन पाइनन् । गाउँ छाडेर जाँदा उनलाई नेपाली बोल्न आउँदैनथ्यो । गाउँ फर्किंदा उनले थारू बिर्सिसकेकी थिइन् ।


कमलरी बस्नेहरू प्रायः साना बच्चीहरू हुन्थे । ती बच्चीहरूका सबै आधारभूत अधिकार अस्वीकृत थिए । तिनले मालिक–मालिक्नीले अह्राएको सबै काम गर्नुपथ्र्यो । कलिला नानीहरूको ज्यानले धान्नै नसक्ने श्रममा लगाइन्थ्यो । काममा जोताएर पनि पेटभरि खान पाउँदैनथे । राम्रो लगाउन दिइँदैनथ्यो । घरको सबैभन्दा गन्दा भागको भुइँमा सुताइन्थ्यो । अह्राएको काम पूरा नगरे निर्दयी पारामा पिटिन्थ्यो । कमलरीहरूलाई मालिकहरूले आफ्नो सम्पत्ति ठान्दथे । 


एकपटक कमलरी भइसकेपछि अधिकांश कमलरीहरू मालिकको ट्र्यापबाट उम्किन असम्भवजस्तै थियो । बाध्यताले छोरीलाई कमलरी बनाएबापत तिनका आमाबुबाले थोरै अन्न पाउँथे । पछि पैसाको कारोबार बढ्न थालेपछि केही पैसा पाउन थाले । कमलरीहरूले गर्ने श्रमको तुलनामा तिनको आमाबुबालाई दिइने पारिश्रमिक अत्यन्तै न्यून हुने गथ्र्यो । कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधीमुलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई एवंरीतले पुस्तौँसम्म । 


यसरी कमलरी राख्नु एउटा प्रथाकै रूपमा अगाडि बढ्यो । तर हेक्का रहोस्, छोरीलाई कमलरी बनाउनु छोरीलाई बेच्नु कदापि होइन । पेट पाल्नका लागि विवश आमाबुबाले आफ्ना छोरीलाई जमिनदारको घरायसी काम गर्न लगाएको मात्रै हो । तर, बसिखानेहरूले मरिमरी काम गर्दासमेत खान नपुग्नेहरूका छोरीहरूलाई कमलरी राख्नु र ती कमलरीमाथि जस्तोसुकै अपराध गर्नुलाई आफ्नो अधिकारजस्तो सोच्न थाले ।

 

कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीहरू निरीह थिए । बोल्न सक्दैनथे । सम्भवतः कमलरीहरूलाई थाहा हुँदो हो कि न्यायका लागि जाने कुनै ठाउँ छैन । कमलरीहरूलाई थाहा थियो कि बर्बरता बर्साउनेहरू आफैँ न्यायकर्ताको कुर्सीमा रहन्छन् । या त थाहा थियो कि कमलरीहरूका अपराधीहरू न्याय दिनेहरूका नातेदार हुन् । 


२०७३ सालतिर हो, म बर्दियाको खैरीचन्दनपुर गाउँ गएको । त्यहाँ जानुको विशेष कारण थियो, माओवादी आन्दोलनमा सहिद भएकी जुग्गन चौधरी जुनाबारे अध्ययन गर्न । २०५७ जेठ ७ गते खैरीचन्दनपुरका जमिनदार युवराज उपाध्यायलाई जनकारबाही गर्न जाँदा जमिनदारकै गोली लागेर जुनाले सहादत प्राप्त गरिन् । जमिनदारका बारेमा मैले गाउँका थुप्रै मानिसहरूसँग कुरा गरेँ । तिनको कुरा सुनेर जमिनदारको क्रूरता हरर मुभीका डरलाग्दा पात्रभन्दा बढी डरलाग्दो भएको अनुमान जोकोहीले लगाउन सक्थ्यो । 

कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधिमूलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाँचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई, एवम् रीतले पुस्तौँसम्म । 


गाउँमा सबैभन्दा ठूलो घर अर्थात् ठूलो महल हुनु जमिनदारका लागि पहिलो सर्तजस्तै हो । हिलोमा कहिल्यै धान नरोपे पनि सयौँ बिघाका मालिक हुन्थे जमिनदार । युवराज उपाध्यायमा पनि त्यही सर्त लागू हुन्थ्यो । युवराजले सयौँ कमैया कमलरी राखेका थिए । खेतमा काम गर्ने छुट्टै, गाईभैंसी चराउने छुट्टै, गोठको गोबर उठाउने छुट्टै, भाँडा माझ्ने छुट्टै गरी सबै कामका लागि छुट्टाछुट्टै कामदार हुन्थे । मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ (मालिक धेरै बदमास थियो । त्यसैले मर्ने वेला किरा मरेर मर्‍यो ।) युवराजले आफ्नो घरनजिक एउटा गोलघर बनाएको थियो । त्यो गोलघर कमैयाहरूलाई पिट्नका लागि थियो । कमैयाहरूले केही गल्ती नगरे पनि जमिनदारको हात चिलायो भने पनि उसले पिट्ने गथ्र्यो । मनोरञ्जन लिनका लागि पनि उसले जोकोही कमैयालाई जुनसुकै समयमा पिट्न सक्थ्यो । 


गाउँको कुनै पनि महिलासँग ऊ सुत्न (बलात्कार गर्न) सक्थ्यो । कसैले उसको प्रतिरोध गर्दैनथ्यो । किनभने सबैलाई थाहा थियो कि कसैले उसको प्रतिरोध गरे उसले कुटाइ खानुपथ्र्यो, कि त मर्न पथ्र्यो । बिहेको पहिलो रात आफ्नी श्रीमती जमिनदारकोमा पठाउनुपथ्र्यो । त्यसो नगरे बेहुलामाथि निर्घात कुटपिट हुन्थ्यो र बेहुली बलात्कृत हुनुपथ्र्यो । युवराजको बलात्कारबाट कोही कमलरी गर्भवती भएउसले गर्भवती कमलरीको विवाह आफ्नो कमैयासँग गराइदिन्थ्यो । 


युवराजजस्ता अत्याचारी जमिनदारहरू थारू गाउँगाउँमा थिए । कैलालीको उज्लीसेम्रा गाउँको जमिनदार देशराज, लालपुर गाउँको जमिनदार गुरुंग युवराजभन्दा कुनै मानेमा कम थिएनन् । 


मेरी हजुरआमा भन्नुहुन्छ, उहाँ नौ–१० वर्षको उमेरमा लालपुरको गुरुंग मालिककोमा धान रोप्न जानुहुन्थ्यो । धान रोपेबापत मालिकले केही पैसा दिन्थ्यो । कसैको पनि पारिश्रमिक निर्धारण गरिएको थिएन । उसले केटी मान्छेको छाती कति ठूलो छ भन्ने हेरेर पारिश्रमिक दिने गथ्र्यो । मेरी हजुरआमाले थोरै पैसा पाउनुहुन्थ्यो । उहाँभन्दा अलि बढी उमेरका केटीहरूलाई मालिकले धेरै पैसा दिन्थ्यो । 


कति कमलरीलाई मालिकहरूले बलात्कार गरे, त्यसपश्चात् हत्या । यसको तथ्यांक पाउन असम्भव छ । किनभने हत्यालाई आत्महत्या गरेको भनी देखाउन कमलरीको लासलाई झुन्ड्याइन्छ । त्यसको वास्तविक छानबिनसमेत हुँदैन । यसको सबुत सरकारले दिँदैन । किनभने सरकारी अधिकारीले त आत्महत्या भनी लेखिसक्यो । यसबारे अध्ययन गर्न चाहनेहरूले पूर्वकमलरी र तिनका परिवारलाई भेटे काफी हुन्छ । 


बासगढी नगरपालिका–२ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी बर्दियाकै दुर्गा भण्डारीको घरमा २०७५ जेठ २९ गते झुन्डिएको अवस्थामा भेटिइन् । मुक्त कमलरीहरूले बलात्कारपश्चात् हत्या गरी झुन्ड्याएको आरोप लगाए । उक्त केसको चित्तबुझ्दो छानबिन नै भएन ।

कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ ।

 
कमलरी राख्नु दासत्व हो । दासत्वमा यौन आघात समावेश हुन्छ । र, त्यो संस्थागत हुन्छ । अर्थात् यौन दुराचार, बलात्कारजस्ता जघन्य अपराध कानुनी रूपमै संरक्षित हुन्छन् । खासगरी हाम्रो जस्तो देशमा, जहाँ पावर, पद, पैसा हुनेहरूलाई कानुनले छुँदैन । 


छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेपछि कैयौँ परिवारले आफ्ना छोरीहरूलाई पढाइदिन र बदलामा छोरीले घरको काम सघाइदिने भन्ने सर्तमा मालिककहाँ कमलरी राख्न थाले । म नौ–दश वर्षको हुँदो हुँ सायद, यस्तै सर्तमा मेरी आमाले मलाई उनको चिनजानको एक व्यक्तिको घरमा राख्नुभयो । स्कुल टाइमबाहेकको अन्य सबै समय साँझ र बिहान मैले उनको घरको सबै काम गर्नुपथ्र्यो । उनको घर सफा गर्ने, कपडा धुने, भाँडा धुने सबै सबै । मलाई होमवर्क गर्ने समय पनि मिल्दैनथ्यो । स्कुल पुग्न पनि मलाई सधैँजसो ढिलो हुन थालेको थियो । म कमलरी थिइनँ । मलाई त केवल आफ्नो पढाइ अगाडि बढाउन सजिलो होस् भनेर मेरी आमाले चिनजानको परिवारकोमा राख्नुभएको थियो । 


मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! १९५४ मा नेपालमा मलेरिया उन्मूलन कार्यक्रमको सुरुवात भएपछि सरकारी योजनामै पश्चिम तराईमा सरकारले पुनर्वासको योजना ल्यायो । त्यसपछि पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र भयो । सामन्ती प्रवृत्तिका पहाडियाहरूले थारूहरूको जग्गा कब्जा गरे । ती थारूहरूलाई तिनकै खेतमा कमैया बनाएर जोताए । तिनकै छोरीहरूलाई कमलरी बस्न बाध्य बनाए । 


जमिनदारहरूले जे चाह्यो त्यही गर्न पाउँथे । थारूहरूमाथि जस्तोसुकै अत्याचार गर्न पनि उनीहरूलाई छुट थियो । देशमा कुनै कानुन थिएन । जमिनदारको बोली नै सबैभन्दा बलियो कानुन थियो । जमिनदार थारू गाउँका राजा थिए । जमिनदार अर्थात् राजा अर्थात् कानुन, पर्यायवाची थिए । कानुनको कार्यान्वयन गराउने प्रहरी चौकी, अड्डा अदालत, प्रशासन सबै जमिनदारको पहुँचमा थिए । 


२०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । कमैया मुक्तिको संघर्षको लामो समयपश्चात् सरकारले २०५७ साउन २ गते कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो । तर, तिनको उचित व्यवस्थापनलाई बेवास्ता ग¥यो । सरकारी बेवास्ताका कारण कमैयाका छोरीहरू फेरि पनि कमलरी नै रहे । 


सधैँ थिचोमिचो र बर्बरता भोगेका कमलरीहरू आखिर मालिकको महलबाट निस्किए र सुरु गरे काठमाडौंको सडकमा नारा लगाउन । २०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । कन्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङबाट १२ हजार कमलरीको उद्धार गरियो । उद्धार गरिएका कमलरीहरूका शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिने भन्यो तर लिएन । कैयौँ थारू छोरीहरू फेरि कमलरी बस्न बाध्य पारिए । 


कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कुमार नगरकोटीले यस्तो आपत्तिजनक रूपमा गरिएको कमलरी शब्दको प्रयोगले मलाई चकित मात्र पारेन, अनैकौँ प्रश्नहरू पनि खडा गर्‍यो ।

यति लापरबाहीपूर्वक कमलरी शब्दको प्रयोग कसैले कसरी गर्न सक्छ ? चाहे ऊ नाम चलेको कवि नै किन नहोस् । कमलरी शब्दको गलत प्रयोग गर्ने छुट कसैलाई छैन । कमलरीलाई भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन । 


कमलरीहरूको यथार्थ अनुभवहरू साहित्यमा समेटिएकै छैनन् । तर, जहाँ समेटियो, त्यहाँ एक थारू महिलाको कमलरी जीवनको अनुभव र एक पहाडिया पुरुष लेखकका शब्द तनावले भरिपूर्ण छ । पुरुष लेखकको कोरा कल्पनामा कमलरीका कथालाई बेच्ने प्राथमिकता सस्तो रूपमा झल्किन्छ ।

 

थारू छोरीमाथिको अत्याचारलाई चुनौती दिन दासत्वलाई प्रयोग नगरी त्यसको संरक्षणका लागि प्रयोग गरिएजस्तो । हो, शारीरिक रूपमा कसैलाई कमलरी बनाउनु अवैधानिक छ । यद्यपि कुनै न कुनै रूपमा, कवितामै सही, भावनामै सही, कल्पनामै सही, पुरुष कवि महिलालाई कमलरी बनाउन लागिपरेको छ । हो, कसैको कल्पनालाई वर्जित गर्न सकिँदैन । कुनै पनि कविले कमलरी शब्दको आनन्द बडो रोमाञ्चक तबरले गर्न सक्ला । तर, यो पनि नभुलौँ कि उहिले जमिनका मालिकबाट मुक्ति पाउन प्रतिरोध गरिएको थियो । अब कलमका मालिकबाट मुक्ति पाउन प्रतिरोध गर्नबाट कसैले रोक्न सक्नेछैन । 


कमलरीहरूको पीडा र अतुलनीय अनुभव जिउँदै छन् । कमलरीको कथा कसरी व्यक्त गर्ने ? कमलरी जीवनको चित्रण कसरी गर्ने ? लिखित शब्दले कस्तो किसिमको भावनात्मक आक्रमण गर्छ ? विद्वान्हरूले यी प्रश्नहरूको अन्वेषण गर्न समय लिनैपर्छ । कवि र साहित्यकारले साहित्य लेख्ने नाममा विषयलाई रोमान्टिसाइज नगरौँ । कोही छोरी मान्छे कसैको सम्झनामा पनि कमलरी बन्न नपरोस् ।