• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उषा थपलिया
२०७९ असोज ८ शनिबार ०७:५२:००
समाज

अल्जाइमर : बुढ्यौलीको सास्ती

२०७९ असोज ८ शनिबार ०७:५२:००
उषा थपलिया

अल्जाइमरलाई बुढ्यौली बढ्दै गएपछि सुरु हुने बिर्सिने रोगका रूपमा लिइन्छ । मस्तिष्कका कोशिका कमजोर भएर साँघुरिँदै जाँदा अल्जाइमर रोगबाट मानिस प्रभावित हुने बताइन्छ । दिमागको विभिन्न कोषमा कपालको गुजुल्टोजस्तै एक प्रकारको खराब प्रोटिन जम्मा भएर दिमागका तन्तुहरूलाई पूर्ववत् काम गर्न नदिएपछि अल्जाइमरका असरहरू मान्छेमा देखा पर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।


रोग लाग्नुको प्रमुख कारण बुढ्यौली हो भनिन्छ, तर खास के कारणले दिमागमा ती प्रोटिन जम्छन् र रोग उत्पन्न हुन्छ भन्नेबारे वैज्ञानिकहरूले अझै पत्ता लगाउन सकेका छैनन् । एलोइस अल्जाइमर नामक व्यक्तिले सन् १९०६ को जुलाई १५ मा बिर्सने रोगले ग्रस्त एक महिलामाथि परीक्षण गरेर यो रोगबारेको जानकारी बाहिर ल्याएका थिए । त्यसैले उनैको नामबाट यस रोगको नाम अल्जाइमर राखिएको तथ्य भेटिन्छ । एलोइसले एक सय १६ वर्षअघि रोगबारेको जानकारी बाहिर ल्याए पनि आजसम्म यो रोग निको हुने औषधी बनेको छैन । 


विश्वमा अहिले पाँच करोड मान्छेहरू अल्जाइमरबाट पीडित भएको तथ्यांक पाइन्छ । सन् २०५० सम्म तीन गुना बढ्ने अनुमान गरिएको छ । ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’ र ‘विश्व स्वास्थ्य संगठन’का अनुसार विश्वमा प्रत्येक तीन सेकेन्डभित्र एक नयाँ अल्जाइमरका रोगी थपिन्छन् । कम विकसित देशहरू यसको मारमा बढी पर्ने बताइएको छ । नेपालमा पनि यस रोगबाट प्रभावित हुनेहरू प्रशस्तै देखिएका छन् । तर, अध्ययन, अनुसन्धानको अभावमा प्रभावितहरूको संख्या कति छ भन्ने आधिकारिक तथ्यांक छैन । तर, अहिले नेपालमा मात्रै करिब डेढ लाख मानिस यो रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ ।


यस रोगबारे सचेतना बढाउन र यसप्रति सरकारलाई जिम्मेवार बनाउन २१ सेप्टेम्बरलाई ‘विश्व अल्जाइमर दिवस’का रूपमा मनाउन थालियो । यो दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । सन् २०१२ देखि भने पूरै सेप्टेम्बर महिनालाई ‘अल्जाइमर मन्थ’ का रूपमा मनाइँदै आएको छ । तर, संसारभर रोगीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । रोगको असरले बिरामीसँगसँगै परिवारका सदस्यहरूमाथि पनि ठूलो असर निम्तिरहेको छ ।


आउँदो फागुनमा ८७ वर्ष पूरा हुन लाग्नुभएका बुबा विगत आठ–नौ वर्षदेखि अल्जाइमर रोगबाट पीडित हुनुहुन्छ । अरू कुनै रोगले धाबा बोल्न नसकेको उहाँको शरीरमाथि अल्जाइमरले भने हदैसम्मको निर्मम शासन जमाइरहेको छ । सुरुमा एउटै कुरा दोहो¥याइरहने र तत्काल भएका कुरा बिर्सिने समस्या उहाँमा देखियो । चेकजाँचपछि अल्जाइमर भएको थाहा भयो । 


सामान्यतया बिर्सने रोगको रूपमा चिनिने भए पनि अल्जाइमरले पार्ने दुष्प्रभाव त्यतिमा मात्रै सीमित हुँदैन । रोगले पार्ने असरका आधारमा अल्जाइमरलाई विभिन्न सात चरणमा वर्गीकरण गरिएको छ । हरेक चरणमा यो रोगको प्रभाव र असर क्रमशः बढ्दै गइरहेको हुन्छ । लक्षणको आधारमा छैटौँ चरणको अल्जाइमरले मेरो बुबालाई गलाइरहेको छ । 


सुरुमा सामान्य कुराहरू बिर्सिने चरणबाट रोग सुरु भयो । त्यसपछि आफूले राखेका सामानहरूको भेउ पाउन छोड्नुभयो । नजिकैका नातेदारहरूलाई चिन्ने क्षमतासमेत कायम रहेन । बिहान–बेलुका हिँड्डुलमा निस्किने गर्नुहुन्थ्यो, तर एक दिन घर फर्किने बाटो पहिल्याउन नसक्दा दुई दिनसम्म हराउनुभयो । त्यसपछि बाहिरी हिँड्डुलको क्रम पूर्णतया बन्द गरियो । घर कम्पाउन्डभित्र ओहोर­दोहोर गरेर दिन बिताउनुपर्ने उपक्रम सुरु भयो ।

यस रोगबारे सचेतना बढाउन र यसप्रति सरकारलाई जिम्मेवार बनाउन २१ सेप्टेम्बरलाई ‘विश्व अल्जाइमर दिवस’का रूपमा मनाउन थालियो । यो दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । सन् २०१२ देखि भने पूरै सेप्टेम्बर महिनालाई ‘अल्जाइमर मन्थ’ को रूपमा मनाइँदै आएको छ ।

 

ऐनामा देखिने आफ्नै आकृतिलाई अरू नै ठान्दै आफैँसँग वादविवाद गरेर तनावग्रस्त हुन थालेपछि उहाँको कोठा ऐनाविहीन बनाइयो । तैपनि झ्यालको सिसामा देखिने आफ्नै आकृतिसँग रस्साकस्सी जारी रहिरह्यो । बुबाले अन्ततः आफ्नै सन्तान ठम्याउन छोड्नुभयो । आफू बसेको घर उहाँको आभासमा आफ्नो रहेन । परिवारका सदस्य आफ्ना हुन् भन्ने चेतसमेत गुमाउँदै जानुभयो । ‘मलाई मेरै घरमा लगिदेऊ’ भन्ने आग्रह र हरक्षण घर छाडेर बाहिर निस्किने उहाँको तयारीका कारण परिवारका सदस्य हरपल अत्यन्तै चनाखो हुनुपर्ने अवस्था सिर्जना भयो ।


तत्कालका कुरा बिर्सिए पनि धेरै अघिका कुरा भने स्मरणमा रहिरहने अनौठो लक्षण हुन्छ यो रोगमा । एकछिन अघिको कुरा बिर्सिने बुबा आफ्नो विगतका घटना भने भावभंगी मिलाउँदै हुबहु सुनाउनुहुन्थ्यो र त्यही एउटा कुरा पटक–पटक दोहो¥याइरहनुहुन्थ्यो ।  


तर, अहिले बुबाको अवस्था ती सबै कुराबाट विमुख भइसकेको छ । रोगको पेलानले अहिले उहाँको दैनिकी केवल एउटा कोठाभित्रको चारभित्ते परिवेशभित्र खुम्चिएको छ । हिँड्डुल गर्न सक्नुहुन्न, न त कुनै कुरा व्यक्त नै गर्न सक्नुहुन्छ ।टुलुटुलु हेर्नु र घरिघरी बालसुलभ मुस्कान ओठमा ल्याउनुभन्दा अरू केही गर्न नसक्ने अवस्था छ अहिले उहाँको । दिसा–पिसाबमा नियन्त्रण हुन नसकेको धेरै भइसकेको छ ।

 

न भोकप्यासको चेत, न सजिलो– असजिलोको अनुभूति । उठाउने–सुताउने काममा समेत अरूकै सहारा चाहिन्छ । अरूको मद्दतले बल्लबल्ल डाइनिङ टेबलमा पुर्‍याएपछि आफैँ खान सक्ने अवस्था जुन अहिलेसम्म कायम छ, त्यही ठूलो कुरा भएको छ । जब अल्जाइमरका रोगीहरू खानेकुरा चपाउन र निल्न नै बिर्सिने अवस्थामा पुग्छन्, जिन्दगीको सबैभन्दा कारुणिक क्षण त्यही बन्न पुग्छ । 


अल्जाइमरको चोटिलो प्रहार खेप्दाखेप्दै पनि बुबा त्यो भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ, जसको देखभालमा छोराबुहारीले बिसको उन्नाइस हुन दिएका छैनन् । यसमा विशेषतः भाउजूको भूमिका अवर्णनीय छ । बिहान–बेलुका दाजुभाइको साथ भए पनि दिनभरिको सारा अभिभारा भाउजूको एकल दायित्व बनिरहेको छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेर पनि सन्तान र सासू–ससुराको देखभालका लागि उहाँ बाहिरी काममा लाग्नुभएन । अल्जाइमरपीडित ८७ वर्षीय ससुरा र ८४ वर्षीया सासूको दिनहुँको हेरचाह, स्याहार–सुसार, सन्तान र संयुक्त परिवारको व्यवस्थापन सजिलो कुरा होइन, तर जसरी उहाँले ती सारा अभिभारालाई आफ्नो कर्तव्य ठानेर निप्टारा गर्नुभएको छ, त्यो शब्दमा वर्णन हुनै सक्दैन ।


कान सुन्ने र बोल्ने स्थिति हुँदासम्म बुबा भाउजूको व्यवहारबाट निकै आल्हादित हुने गर्नुहुन्थ्यो । सबैभन्दा बढी कुरा मिल्ने र बातचित पनि भाउजूसँगै हुने गर्दथ्यो । अहिले आफ्नो भावना व्यक्त गर्न नसक्ने हुँदा पनि भाउजू अगाडि परेपछि बुबाको चेहरामा जुन प्रशन्नता उर्लन्छ, त्यो कर्तव्य निर्वाहको झारा टराइ मात्र होइन, भाउजूले पोख्ने गरेको अथाह ममत्वको पनि प्रतिबिम्ब हो । भाउजूको त्यो लगाव र समर्पणका बाबजुद पनि बुबाको जिन्दगी कष्टकर मोडमा गुज्रिरहेको छ ।


आफ्नो समयमा परिश्रमी, निर्भीक, रबाफिलो र हट्टाकट्टाको पहिचान बनाउनुभएका बुबालाई आज यति कारुणिक अवस्थामा ल्याइपुर्‍याउने अल्जाइमरले धेरै बुबाआमालाई निसाना बनाइसकेको छ । प्रा.डा. डिपी भण्डारी, साहित्यकार आनन्ददेव भट्ट, राजनीतिज्ञ तथा महिला आन्दोलनकी अगुवा सरस्वती राई, साहित्यकार बानिरा गिरीजस्ता ठूला लेखक, साहित्यकार, प्राध्यापकहरूको पनि अल्जाइमरकै कारण मृत्यु हुन पुग्यो ।


अल्जाइमरले सम्झना शक्ति खोस्नुअघि बुबाको अनुहारमा झल्कने प्रशन्नताले हामी सबैलाई रोमाञ्चक बनाउँथ्यो । तर, आज बुबालाई ती कुनै कुराको आभास छैन । न सुन्ने क्षमता छ, न प्रतिक्रिया जनाउने अवस्था । न त छ, यी मेरा सन्तान हुन् भन्ने सामान्य चेतना नै । सबै सन्तानलाई परिश्रम र मिहिनेतको पाठ पढाएर जीवनयात्रामा दह्रो पाइला चाल्न सक्षम बनाउने बुबाप्रति असीम सम्मान छ ।