• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मदन केशरी
२०७९ असोज ८ शनिबार ०८:२३:००
सम्झना

सामान्य देखिने असामान्य मान्छे

२०७९ असोज ८ शनिबार ०८:२३:००
मदन केशरी

प्रदीप गिरिको कोठामा दैनिक बसेरै मेरो संसार विस्तृत भएको थियो । मैले पुस्तकमा पढेका विषयको अर्थ खुल्दै गयो । मलाई याद छैन, उनी कुन विषयमा शोध गरिरहेका थिए । तर, उनको अध्ययनको विस्तृत परिधि समाजवाददेखि साहित्यसम्म तथा क्रान्तिदेखि कवितासम्म फैलिएको थियो । कुरैकुराका क्रममा उनी लर्ड वायरको प्रेम प्रसंगबाट निस्केर चे ग्वेभाराको हत्यासम्म पुग्थे, अलेन जिन्सवर्गको प्रतिरोध कविता हुँदै बिपी कोइरालाको राजनीतिसम्म पुग्थे ।


काशी हिन्दू विश्वविद्यालयको राजा राममोहन राय छात्रावासको दोस्रो तल्लामा उनको र तेस्रोमा मेरो कोठा थियो । म बिए दोस्रो वर्षको छात्र थिएँ र उनी शोधार्थी थिए । उनी तलबाट मेरो कोठातर्फ हेर्दै बोलाउँथे । म उनको कोठामा चिया पिउन वा गफ गर्न जान्थेँ । कहिलेकाहीँ हामी सँगै खाना वा नास्ता लिन्थ्यौँ । छात्रावासमा उनीसँग मेरो पहिलो भेट कहिले भयो र कसले गरायो, ठ्याक्कै सम्झना छैन । उनको मित्रवत् र न्यानो व्यक्तित्वले नै सायद मलाई खिचेर उनीसम्म पुर्‍याएको थियो । वा सायद कुनै दिन समूहमा चियाको तातो चुस्कीबीच उनले गरेका दमदार कुराले मलाई उनीसँग खिच्यो । तर, सामान्यजस्तो देखिने ती असामान्य मान्छेभित्र कुनै प्रबल चुम्बकको तत्व थियो, जसको गुरुत्वलाई मैले त्यसपछिका दिनहरूमा निरन्तर महसुस गरिरहेँ । 


आफ्नो राजनीतिक लक्ष्यप्रतिको अटुट प्रतिबद्धताका बाबजुद प्रदीप हरेक तरिकाका वैचारिक कट्टरवादको विरुद्धमा थिए । वैचारिक खुलापनको सन्दर्भमा उनले लर्ड वायरनको एक प्रसंग सुनाएका थिए ।नेपोलियन बोनापार्ट बेलायतसँगको युद्धमा निरन्तर संलग्न रहे, तर प्रजातन्त्रको अग्रदूतका रूपमा आफ्नो छवि बनाएका कारण उनी बेलायती जनतामाझ अत्यन्त लोकप्रिय थिए । अनेक बेलायती लेखक र बुद्धिजीवी पनि नेपोलियनका प्रशंसक थिए । जसमध्ये लर्ड वायरन एक थिए ।

उनले नेपोलियनको चरित्रको गुणगानमा दुईवटा महत्वपूर्ण कविता पनि लेखे : ‘ओड टु नेपोलियन बोनापार्ट’ र ‘चाइल्ड हेराल्डस् पिल्ग्रिमेज ।’ यसपछि बेलायती दरबारनजिकका मानिसहरूले उनलाई


सोधे : तपाई त लर्ड र राजतन्त्र समर्थक कुलीन परिवारबाट हुनुहुन्छ । फेरि प्रजातन्त्रको विस्तार गर्ने बोनापार्टको प्रशंसा गर्नुको अर्थ के हो ?’ यसबारे वायरनको उत्तर थियो, ‘कसैले पनि आफ्ना बाबुको चयन गर्न सक्दैन ।’ 


प्रदीप गिरि वैचारिक रूपमा राम मनोहरलोहियाको समाजवादी सिद्धान्तनजिक थिए । र, उनको पहिलो गिरफ्तारी पनि यसैकारण भएको थियो । किनकि, ती समाजवादी नेतासँग भएको उनको पत्राचार प्रहरीले फेला पारेको थियो । तर, आफ्नो विचारका सन्दर्भमा उनलाई रोमाञ्चकता थिएन, न त मूर्खता नै थियो । कार्ल माक्र्स, लेनिन र फिडेल क्यास्त्रोको दर्शनले उनको सोचको आयामलाई विस्तृत गरेको थियो । माओ त्से तुङ र चे ग्वेभाराका संघर्षशील रणनीति र छापामार युद्ध पद्धति यस उपमहाद्वीपमा उपयुक्त नहुने उनको मान्यता थियो, तर पनि यी नेताहरू उनका राजनीति दिशानिर्देशक थिए । वैचारिक रूपमा कुनै प्रकारको अतिवाद नभए पनि उनको विचारको स्पष्टताले चकित गराउँथ्यो ।

 
एकपटक जब उनी इलाहाबाद गए, तब उनले त्यहाँ हिन्दी साहित्यका मूर्धन्य हस्ताक्षर दुधनाथ सिंहसँग भेटे, सायद कफी हाउसमा यो भेट जुरेको थियो । फर्किएपछि प्रदीप गिरिले मसँग भने, ‘दुधनाथ सिंह यति ठूला लेखक हुन् । तर, भर्खरै इलाहाबादमा जब मैले भेटेँ, तब उनले सोधे ‘नेपालमा क्रान्ति भएको हो ?’ म हेरेको हेर्‍यै भएँ । के क्रान्ति यति सजिलो कुरा हो, जो तुरुन्तै हुन्छ । यो त एउटा लामो प्रक्रिया हो ।’

 

एकपटक मेरो कोठाको दराजमा राखिएका पुस्तक नियाल्दै गर्दा प्रदीप गिरिको दृष्टि चे ग्वेभाराको ‘रेमिनिसन्सेज अफ द क्युबन रिभोलुसनरी वार’मा पर्‍यो । पुस्तकलाई उठाएर उनलेभने, ‘यसलाई तपाईं कहिल्यै पढ्नुहुन्न । केवल सो पिसजसरी राख्नुहुन्छ । अब यो किताब मेरो हो । किताब त्यसैको हुन्छ, जसले पढ्छ ।’


त्यो बिहान ११–१२ बजेतिरको समय थियो, र छात्रावासको दोस्रो तलास्थित उनको कोठामा सुनौलो घाम झ्यालबाट भित्र पसिरहेको थियो । प्रदीप गिरिको अनुहार त्यस घाममा चम्किरहेको थियो ।


उनको दृष्टिको स्पष्टताका पछाडि एक निन्तान्त मौलिक वैचारिकी थियो, जो परम्परागत सोचबाट पूर्णतः अलग थियो । यही मौलिकताले अन्य मानिससँग उनलाई भिन्न बनाएको थियो । चाहे नैतिकताका स्थापित मानक हुन् । सुख र सफलताका परिभाषाहरू हुन् अथवा स्त्री–पुरुष सम्बन्ध । उनको वैचारिक धरातल यति फरक थियो कि रुढीवादी मानिसका लागि उनका सबै कुरा आश्चर्यजनक र निराश मात्रै होइन, अनैतिक र गलत पनि लाग्थे ।


प्रेम र स्त्री–पुरुष सम्बन्धका सन्दर्भमा उनले एकपटक कृष्णको एक वृत्तान्त सुनाएका थिए । आफ्नी बहिनी सुभद्रा र अनन्य मित्र अर्जुन दुवैसँग कृष्णको प्रगाढ प्रेम थियो । अर्जुन सुभद्रासँग विवाह गर्न चाहन्थे, तर वर्णको भिन्नताका कारण त्यो सम्भव थिएन । सुभद्रा यादव कुलकी कुमारी र अर्जुन कुरुवंशी क्षेत्रीय थिए । उनले कृष्णसँग आफ्नो हृदयमा दबिएको इच्छा जताए । तर, कृष्णले दुवैको अन्तर्मनको कुरा जानिसकेका थिए । उनले केवल गन्धर्व विवाहद्वारा मात्रै दुवैको योग सम्भव रहेको बताए । 


र, यसका लागि अर्जुनले सुभद्रालाई अपहरण गर्नुपर्ने हुन्छ । प्रदीप गिरिले भनेका थिए, कृष्ण हामीभन्दा हजारौँ वर्षअघि पनि कति स्वतन्त्र र स्पष्ट विचारका थिए । हामी आज पनि यस्तो सोच्न सक्दैनौँ । 

काशी हिन्दू विश्वविद्यालयको राजा राममोहन राय छात्रावासको दोस्रो तल्लामा प्रदीपको र तेस्रोमा मेरो कोठा थियो


प्रायः म नै प्रदीप गिरिको कोठामा जान्थेँ । कहिलेकाहीँ मलाई बोलाउन वा अन्य कामले उनी पनि मेरो कोठामा आउँथे । एकपटक मेरो कोठाको दराजमा राखिएका पुस्तक नियाल्दै गर्दा उनको दृष्टि चे ग्वेभाराको ‘रेमिनिसन्सेज अफ द क्युबन रिभोलुसनरी वार’मा प¥यो । पेन्गुइनद्वारा प्रकाशित, नीलो रङको आवरणसहितको त्यो संस्करणको पुस्तक मैले त्यतिवेला खरिद गरेको थिएँ, जब म १२ कक्षाको नतिजा आएपछि मार्कसिट लिनका लागि पहिलोपटक पटना गएको थिएँ । १७ वर्षको उमेरमा त्यस गम्भीर पुस्तकका कुनै पनि विषय मैले बुझेको थिइनँ, तर त्यसलाई कुनै धर्मग्रन्थजसरी जतन गरेर राखेको थिएँ ।


त्यस पुस्तकलाई उठाएर प्रदीप गिरिले भने, ‘यसलाई तपाईं कहिल्यै पढ्नुहुन्न । केवल सो पिसजसरी राख्नुहुन्छ, मैले बुझेको छु । अब यो किताब मेरो हो । किताब त्यसैको हुन्छ, जसले पढ्छ ।’राजतन्त्रविरुद्ध नेपालमा चलेको क्रान्तिका मुख्य सञ्चालकमध्ये एक हुनुका बाबजुद उनी गाम्भीर्यताको खोल ओड्दैनथे । मेरा अग्रज हुनुको बाबजुद पनि उनी निकै मित्रवत् थिए । निकै सहज थिए । 


रिक्सामा बसेर हामी दुवै अस्सी, गोदौलिया, दशाश्वमेध र सहरका अनेक अड्डामा गइरह्यौँ । एकपटक केही नेपाली विद्यार्थीसँगै उनी र म फिल्म हेर्न गयौँ । जितेन्द्र र रेखाको फिल्म ‘एक बेचारा’मा जितेन्द्र एक ग्रामीण युवकको भूमिकामा थिए । आफ्नो गाउँले पृष्ठभूमिमा गर्व गर्ने जितेन्द्र रेखाको सहरीपनलाई तुच्छ सम्झन्थे । मध्यान्तरको समयमा प्रदीप गिरिले हाँस्दै भने, ‘हेर्नुस्, उसलाई गाउँले बन्न कुनै कठिनाइ छैन । कति स्वाभाविक देखिएको छ ऊ । तपाईंजस्तो होइन कि सहरिया बन्ने कोसिस गर्नुपरोस् ।’


एक साँझ विश्वविद्यालय भवनमा शास्त्रीय वादनको कार्यक्रम थियो । हामी दुवै उपस्थित थियौँ । बाहिर निस्किएपछि प्रदीपले शैलजा आचार्यसँग मेरो परिचय केही अलग शैलीमा गराए । ‘यी मदन हुन् । युवतीहरूसँग निकै लजाउँछन्,’ उनले भने । 


जीवनको दौडधुपमा प्रदीपसँग मेरो सम्पर्क टुट्यो । विश्वविद्यालय छाडिसकेपछि उनीसँग बिताएका अतीतका याद मात्रै मसँग बचेका थिए । र, उनले नै दिएको एक तस्बिर । पुस्तक पढ्दा, कसैसँग समान विश्वको सपनाको कुरा गर्दा अथवा कहिलेकाहीँ एक्लो हुँदा प्रदीप गिरिको अनुहार मेरो स्मृतिमा आइरह्यो । 


धेरै दिनदेखि मैले उनको ठेगाना र फोन नम्बर खोजिरहेको थिएँ । विश्वविद्यालय छाडिसकेपछि उनका विषयमा केही जानकारी भएको कोही मानिस पनि भेटिएको थिएन । केही दिनअघि उनको विषयमा एउटै समाचार प्राप्त भयो : त्यो उनको मृत्युको समाचार थियो । उनी त दुनियाँबाट बिदा भए, तर मेरो स्मृतिमा सधैँ सजीव रहनेछन् ।


०००

(पश्चिम बिहारको डुमरावमा मार्च १९६० मा जन्मिएका मदनले काशी हिन्दू विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको शिक्षा लिए । त्यहीँ पढ्दा उनी र प्रदीप गिरिबीचको मित्रता झाँगिएको थियो । मार्क्सवादबाट प्रभावित मदनका थुप्रै कविता, टिप्पणी र आलेख प्रकाशित छन् । उनले थुप्रै कविता तथा कथा पनि हिन्दीमा अनुवाद गरेका छन् । हिन्दी भाषामा प्राप्त यस लेखलाई अन्वेषण अधिकारीले अनुवाद गरेका हुन् ।)