• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हरिवंश आचार्य
२०७९ असोज ८ शनिबार ११:०७:००
सम्झना

मेरा लागि भैरव दाइ महाहास्यव्यंग्यकार

२०७९ असोज ८ शनिबार ११:०७:००
हरिवंश आचार्य

मैले भैरव अर्याल दाइका कृतिहरू पढेको २०३०–३१ सालतिर हो । ‘जयभुँडी’लगायत भैरव दाइका सबै कृति पढेको छु । त्यो पनि एकपटक होइन, दोहोर्‍याएर, तेहर्‍याएरसमेत पढेको छु । तर, विडम्बना ! भैरव दाइसँग मेरो प्रत्यक्ष भेटचाहिँ हुन सकेन । म लोकभाका, लोकबोलीमा हुर्केको मान्छे, भैरव दाइका लेख पनि त्यस्तै लयमा भएकाले म उहाँको कृतिहरूतर्फ सानैदेखि निकै आकर्षित भएको हुँ ।

 

बाल्यकालदेखि नै राजधानीमा बसेको हुनाले म काँठे, झरुवाखालको भाषा बोल्थेँ । भैरव दाइका कृतिहरूमा पनि त्यस्तै भाषा हुन्थ्यो, जसबाट म प्रभावित मात्र हुन्न थिएँ, एकदमै हाँसो पनि उठ्थ्यो । मेरो विचारमा हरेक हास्यव्यंग्यमा केही रहस्य (सस्पेन्स) हुनैपर्छ । पछाडि आसै नगरिएका कुराहरू बोलिदियो भने सबैजना हाँस्छन् । पछाडिको कुरा अगाडि नै थाहा पाए भने पाठक–दर्शक हाँस्दैनन्, त्यसैले अप्रत्याशित शब्दहरू आएमा मात्र पाठकलाई हँसाउन सकिन्छ । 


त्यो वेलामा भैरव दाइले पक्कै व्यावसायिक हिसाबले लेख्नुभएको त होइन, तैपनि मैले माथि भनेकाजस्ता सबै विशिष्ट गुण दाइको लेखमा छ । त्यसैले पनि भैरव दाइ मेरा लागि महाहास्यव्यंग्यकार हुनुहुन्छ । लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेझैँ भैरव दाइ महाहास्यव्यंग्यकार हो । हुन त अरू पनि प्रभावशाली हास्यव्यंग्यकार हुनुुहुन्छ, तर मैले चाहिँ शीरमा राख्नुपर्दा भैरव दाइलाई नै राख्छु । भैरव दाइबाटै प्रेरित भएर मैले लेख्न थालेको हुँ । अहिले पनि मैले आफ्नो कार्यकक्षमा उच्च सम्मानसहित आदरणीय भैरव दाइको तस्बिर राखेको छु । 


धेरै साहित्यकारहरू जनबोलीमा प्रयोग भएका शब्दहरू समेटेर तयार पारिएको आलेखलाई साहित्य मान्दैनन् । साहित्य भनेकै एकदमै गम्भीर हुनुपर्छ भन्ने मान्यता धेरैको पाइन्छ । शब्दहरूसमेत शब्दकोश नै पल्टाएर हेनुपर्ने, सितिमिती मान्छेले नबुझ्ने कुरा लेख्यो भने मात्र त्यो साहित्य हुन्छ भन्ने मान्यता धेरै प्रतिष्ठित साहित्यकारको हुन्छ । सरल लेखनीलाई साहित्य नै होइन भन्ने जमात यहाँ ठूलो छ । तर, आम मान्छेले जति सरल लेखमा आनन्द पाउँछ, अन्यमा बिलकुल पाउँदैन ।

अब कांग्रेसकोकार्यक्रम भए पो बिपीलाई सम्झने, त्यस्तै कम्युनिस्टको कार्यक्रम भए पो पुष्पलाललाई सम्झने । हामी त राजनीतिमा आबद्ध होइनौँ, त्यसैले आदरणीय भैरव दाइलाई अग्रज मानेर उहाँको तस्बिरमा माल्यार्पण गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली पनि हुने भएकाले हामीले त्यस्तो परिपाटी थालेका हौँ ।

साहित्य भनेको बोलीचालीको भाषामा हुनुपर्छ भन्ने मेरो भनाइ हो । यी सबै कुरा भैरव दाइको साहित्यमा म पाउँछु । जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कति सरल भाषामा लेखिएको छ, त्यसैले ७–८ कक्षामा पढ्नेले पनि सजिलै यो कृति पढ्न सक्छन् । मदनमणि दीक्षितको कृति ‘माधवी’ अत्यन्त राम्रो पुस्तक हो, तर मान्छेलाई बुझ्न अत्यन्त कठिन छ । पढ्नैपर्छ ‘माधवी’ भनेर जब पढ्न थाल्छु, बीचमा पुगेपछि अल्छी लाग्छ । यस्ता कृति पढ्दा दिमागको धेरै कसरत हुन्छ । राष्ट्रकवि माधव घिमिरेका गीतहरू निकै सरल शब्दमा लेखिएका हुनाले चर्चित छन् ।

 

कविशिरोमणि लेखनाथ पौड्यालका कविताहरू पनि सरल भएकाले औधी मन पराइएका हुन् । तर नाट्यसम्राट् बालकृष्ण समका नाटक बुझ्न जटिल छ । उहाँका नाटकहरूमा मैले पनि अभियन गरेको छु । तर, संवाद घोक्न अति नै गाह्रो हुन्थ्यो । समज्यूले ‘जे लेखिएको छ, त्यही बोल है’ भन्नुहुन्थ्यो । अलिकति ट्विस्ट गर्न खोज्यो भने उहाँलाई चित्त बुझ्दैनथ्यो । त्यसैले समज्यूका नाटकका संवाद जस्ताको त्यस्तै घोक्न हामीलाई महाभारत नै पथ्र्यो । सरल शब्दहरू भयो भने आफैँले पनि यताउता पारेर मिलाउन सकिन्छ । जस्तो कि विजयबहादुर मल्लका नाटकमा अभिनय गर्न सजिलो थियो ।


सरल साहित्यिक कृतिको कुरा गर्दा गुरुप्रसाद मैनालीको ‘नासो’लाई पनि सम्झन सकिन्छ । जस्तै मेरै कृति ‘चिना हराएको मान्छे’ पनि सरल भाषामा लेखिएको छ । यो कृति एक लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ । यहाँ एउटा रोचक प्रसंग पनि छ । एकजनाले मेरो कृति किनेर घर लैजानुभएको रहेछ, किताब हराएछ । खोज्दै जाँदा त भर्‍याङमुनि बसेर घरमा काम गर्ने नानीले पो पढ्दै गरेको पाइयो । सानी नानीले किन मेरो कृति पढिन् त, सरल भएर पढिन् । तर, विडम्बना ! केहीले यसलाई साहित्य नै मान्दैनन् । मेरो विचारमा गहन साहित्यले अहिलेका युवालाई किन छोएन भने त्यस्तो साहित्य पढ्न मान्छेलाई गाह्रो लाग्छ । सरल शब्दमा आकर्षक शैलीले निकै पेचिलो व्यंग्य गर्ने भएकाले पनि भैरव दाइ मेरो पहिलो रोजाइमा पर्नुभएको हो । 


प्रजातन्त्र पुनस्र्थापनापछि भैरव दाइको तस्बिरमा माल्यार्पण गरेर मात्र हामी (म र मदनकृष्ण दाइ) ले मह गाईजात्रा सुरु गथ्र्यौं । यो बिलकुल हाम्रो सोच थियो । कसैबाट हामी प्रेरित भएका थिएनौँ । विशुद्ध हास्यव्यंग्य हाम्रो कार्यक्रम । गीति कार्यक्रम पनि होइन, नृत्यको कार्यक्रम पनि होइन, तर गीत पनि हुन्थ्यो, नृत्य पनि, सबै हास्यव्यंग्यमा आधारित । अब सबै हास्यव्यंग्य भएपछि कार्यक्रमको उद्घाटन कसरी गर्ने त भनेर सोच्यौँ । अब कांग्रेसको कार्यक्रम भए पो बिपीलाई सम्झने, त्यस्तै कम्युनिस्टको कार्यक्रम भए पो पुष्पलाललाई सम्झने । हामी त राजनीतिमा आबद्ध होइनौँ, त्यसैले आदरणीय भैरव दाइलाई अग्रज मानेर उहाँको तस्बिरमा माल्यार्पण गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली पनि हुने भएकाले हामीले त्यस्तो परिपाटी थालेका हौँ ।

 

भैरव दाइका कृति पढ्नेहरूले हामीलाई भन्थे, ‘वास्तवमै तपाईंहरूले साँचो अर्थमा भैरव दाइलाई दिलदेखि उच्च सम्मान दिनुभयो । अग्रजलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेर तपाईंहरूले उदाहरणीय कार्य गर्नुभयो । अब भविष्यमा तपाईंहरूलाई पनि सम्मान गरिनेछ ।’ तर, उहाँका कृतिहरू नपढ्ने, उहाँलाई नचिन्नेहरूले भने को हो भैरव अर्याल भनेर पनि सोधे । जवाफमा हामी उहाँ प्रखर व्यंग्यकार हो भन्थ्यौँ । अहिले भएको भए आदरणीय भैरव दाइले नाटक पनि लेख्नुहुन्थ्यो होला, हामी उहाँले लेखेको नाटक मञ्चन गथ्र्यौं होला, सिनेमा पनि लेख्नुहुन्थ्यो होला, तर त्यो त्यतिवेलाको फेसन थिएन । त्यसैले ती विधामा हामीले उहाँलाई पाउन सकेनौँ । हास्यव्यंग्य निबन्धको हकमा उहाँलाई जति सम्मान अरूलाई गर्न हाम्रो मनले मान्दै मानेन । 


भैरव दाइको निधन (२०३३ असोज १९) को खबर सुनेर मेरो मन निकै खिन्न भएको थियो । आफ्नो मन परेको मान्छे, अब उहाँ हुनुहुन्न, उहाँका नवीनतम कृतिहरू अब फेरि पढ्न पाइँदैन भनेर म स्तब्ध भएको थिएँ । त्यति वेलासम्म मैले खासै लेख्ने काम गरेको थिइनँ । तर जब लेख्न थालेँ, तब भैरव दाइको महत्व अझ बुझ्न थालेँ । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गर्न थालेपछि मेरो सम्पर्क भैरव दाइका आदरणीय पिता (होमनाथ उपाध्याय) सँग पनि भयो ।

हिसाबकिताब अत्यन्त दुरुस्तै राख्ने उहाँ ‘सुब्बाबाजे’को नामले पनि प्रख्यात हुनुहुन्थ्यो । भैरव दाइका बुबा भन्ने थाहा पाएपछि उहाँप्रति मेरो सम्मान अझ बढेको थियो । उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो, किनकि २०३४–३५ सालबाट त म गाईजात्रा कार्यक्रममार्फत स्थापित कलाकार भइसकेको थिएँ । भैरव दाइको विषयमा म बुबासँग कुरा पनि गर्थें । ‘राम्रो मानिस थियो, कमलो मन थियो, खै के गर्‍यो, गर्‍यो’ बुबा संक्षिप्तमा भन्नुहुन्थ्यो । 


कोमल हृदयका भैरव दाइ कार्यालय
(गोरखापत्र संस्थान) मा सहकर्मी तथा वरिष्ठ भनाउँदाहरूको पेलानमा परेको भन्ने मैले पनि सुनेको थिएँ । २०३७ सालबाट हाम्रो (महजोडी) लोकप्रियता निकै चुलिएको थियो । तर, हामी स्थापित भएको निकै पछि मात्र २०६१/६२ मा हामीले भैरव पुरस्कार पायैँ । हामीले देशविदेशमा अनगिन्ती पुरस्कार तथा सम्मान पाइसकेका थियौँ । तर, हाम्रै ‘रोलमोडल’ भैरव दाइको नामसँग जोडिएको पुरस्कार पाउन भने हामीले वर्षौं कुर्नुपर्‍यो । हामीलाई किन त्यति लामो समयसम्म कुराएको होला जस्तो लाग्थ्यो मन–मनमा । जे होस्, भैरव दाइकै थातथलो जोरपाटीमा उहाँको सालिक अनावरण गरिएको दिन पुरस्कृत हुन पाउँदा म र मदन दाइ निकै खुसी भयौँ । मदन दाइले पनि भैरव दाइलाई निकै सम्मान गर्नुहुन्छ । 


अभिनय गरेर हँसाउन पनि पहिला त लेख्नैपर्‍यो नि, त्यसैले लेख्न गाह्रो । म के भन्छु भने कतिपय मान्छेले हामी साहित्यकार होइनौँ भन्छन्, उनीहरू साहित्यकार होइनन्, कलाकार हुन् पनि भन्छन्, । उनीहरूलाई हाम्रो प्रश्न छ, ‘यमलोक’, ‘अंशबन्डा’, ‘शत्रु गते’, ‘लक्ष्मी’, ‘चिरञ्जीवी’ कसले लेख्यो त ? पहिला त हामीले लेख्यौँ नि । हामीसँग त्यसको सबै पाण्डुलिपि छ, अब हामी किताबै निकाल्दै छौँ । मेरो विचारमा लेख्नु नै सृष्टिको सबैभन्दा पहिलो खुड्किलो हो । 

प्रस्तुति : निर्मल अर्याल