• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर
२०७९ असोज ८ शनिबार ११:१७:००
यात्रा

ट्रेकिङ गाइडमा जम्दै युवा महिला

महिला ट्रेकिङ गाइड भन्छन्, ‘ट्रेनिङले मात्रै हुँदैन, बलियो आत्मविश्वास पनि चाहिन्छ 

२०७९ असोज ८ शनिबार ११:१७:००
मञ्जु टेलर

 

एडभेन्चर्स मानिने ट्रेकिङ अथवा माउन्टेन गाइड पेसामा पछिल्लो समय महिलाहरूको सहभागिता निकै बढ्दै गएको छ । भूगोल र वातावरणका कारण चुनौतीपूर्ण मानिने गाइड पेसामा महिलाको उपस्थिति बढेको त छ, तर आममानिसले सहजै स्विकार्न भने अझै सकेको पाइँदैन । पर्यटकलाई गन्तव्यमा पुर्‍याउने जिम्मा लिएर हिँड्ने महिला गाइडले महिला भएकै कारण पेसामा सहजै स्थापित हुन सक्दैनन् । यात्राका क्रममा जिस्काउने, समयमा काम नपाउने अथवा हेपाहा व्यवहार सामना गर्नुपरिरहेको स्थापित ट्रेकिङ गाइड नै बताउँछन् ।

 

‘बिहे गर्ने उमेरकी छोरी हिमालतिर कति दुःख गर्छ्यौ ? भो नजाऊ । बाहिर डुलेर हिँड्नुभन्दा त कुनै राम्रो जागिर गर्नु नि !’ ट्रेकिङ गाइड श्रद्धा केसीले आफन्तबाट बारम्बार सुन्ने वाक्य हुन् यी । उनी भन्छिन्, ‘महिला ट्रेकिङ गाइडहरूलाई काम गर्न त्यति सजिलो छैन । घरमै बस्दा पनि असुरक्षित महसुस हुने हाम्रो समाजमा हप्तौँसम्म हिमालतिर काममा निस्किन सजिलो हुँदैन ।’ २६ वर्षीया श्रद्धाले ट्रेकिङ गाइडको काम गर्न थालेको पाँच वर्ष भयो । उनले ‘इभेन्ट आउटडोर अर्गनाइजर’को पनि काम गरिरहेकी छिन् । कालापत्थरदेखि अन्नपूर्ण आधार शिविर र डोल्पा क्षेत्रसम्मका विभिन्न ट्रेकिङ रुटमा गाइडको काम गरिसकेकी उनी पर्यटन क्षेत्रमा काम गर्ने परिवारको पहिलो सदस्य हुन् ।

 

परिवारको सहयोगमा उनले गाइडको काम गरिन् । तर, आफन्तले हेर्ने दृष्टिकोणका कारण अभिभावकले अझैसम्म असुरक्षित महसुस गरिरहेका छन् । भन्छिन्, ‘हिमालतिर जाँदा कहिलेकाहीँ एक्कासी नेटवर्क वा अन्य समस्याका कारण सम्पर्क हुन सक्दैन । यस्ता सामान्य कुरा पनि कहिलेकाहीँ परिवारकै कारण तनाव हुन्छ । अझै पनि छोरी भएकै कारणले सुरक्षित महसुस गर्न नसकेका होलान् ।’

 

बाटो देखाउने मान्छे मात्रै होइन
ट्रेकिङ गाइड पेसालाई बाटो देखाउने मान्छेको रूपमा मात्रै हेरिँदा पेसा अझै पनि सम्मानजनक हुन नसकेको बताउँछिन् श्रद्धा । ‘ट्रेकिङको क्रममा के खाने, कहाँ बस्ने, कसरी हिँड्ने, बाटोमा आइपर्ने अन्य समस्याको समाधान कसरी गर्ने भन्ने विभिन्न जिम्मेवारी गाइडको हुन्छ । तर, गाइडलाई बाटो देखाउने मान्छेको रूपमा मात्रै हेरिन्छ । गाइडहरूले कामअनुसारको इज्जत पाएका छैनन् ।’ 

 

यात्राको क्रममा वातावरणमा घुलमिल हुन नसक्दा अधिकांशले स्वास्थ्य समस्या भोगिरहेका हुन्छन् । श्रद्धा भन्छिन्, ‘म ट्रेकिङ जाँदा कामभन्दा पनि रमाइलोको रूपमा लिन्छु । प्रकृतिसँग रमाउन सकिन्छ । हरेक दिन नयाँ मान्छेसँग भेट हुन्छ । कामको प्रकृति गाह्रो छ, तर ट्रेकिङ आफैँमा थेरापी पनि हो ।’सगरमाथा, आमादब्लम, चोलाक्छे, आइल्यान्ड पिकलगायतका ६ वटा हिमाल चढिसकेकी माउन्टेन क्लाइम्बर लक्मी स्याङ्तानसमेत पेसामा स्थापित हुन तुलनात्मक रूपमा महिलाले बढी खट्नुपर्ने बताउँछिन् । सन् २०१५ देखि नै हिमाल आरोहणका विभिन्न तालिम लिएर यो पेसामा आएकी लक्मी ट्रेकिङ गाइडको काम गर्न थालेको तीन वर्ष भयो । उनी भन्छिन्, ‘पुरुष कम सक्षम हुँदा पनि अधिकांशे अवसरमा पहिलो रोजाइमा पुरुष नै पर्छन् । महिला गाइडले म सक्षम छु भनेर प्रत्येकपटक प्रमाणित गरिरहनुपर्छ ।’

 

हिमाली क्षेत्रमा ट्रेकिङ गाइडको काम गर्न शारीरिक तथा मानसिक रूपमा बलियो हुन निकै आवश्यक हुन्छ । फरक तापक्रम, उचाइ, परिवेश र मौसममा पर्यटनको मुख्य आकर्षण हुने गर्छ । केही चुनौती पनि छन् । कहिले महिनावारीको समयमा, कहिले हप्तौँसम्म परिवारबाट सम्पर्कविहीन भएर काम गर्नुपर्छ । उनी भन्छिन्, ‘कुन ठाउँमा गइरहेको छु, कोसँग गइरहेको छु, कति दिनका लागि गइरहेको छु भन्ने कुराले प्रेसर गराइरहेको हुन्छ । स्वास्थ्यलाई मेन्टेन गरेर सामाजिक तवरले पनि सुरक्षित रहनु महिला ट्रेकिङ गाइडका लागि अर्को चुनौती हो ।’ 

 

चुनौतीसँग जुधेर काम गर्न सक्ने हरेकका लागि आम्दानीको पनि राम्रो स्रोत मानिन्छ, पर्यटन क्षेत्र । तर, ‘म यो काम गर्न सक्छु’ भन्ने बलियो आत्मविश्वास नहुँदासम्म ट्रेनिङले मात्रै काम गर्न नसकिने लक्मी बताउँछिन् । उनको अनुभवमा अपवादबाहेक हरेक महिलाले यो क्षेत्रमा स्थापित हुन अनेक बाधा र विभेद भोगैकै छन् । आफ्नो मान्छेलाई अवसर दिने प्रवृत्ति यो क्षेत्रमा पनि रहेको उनको अनुभव छ । 

 

काम छाड्ने धेरै 
पर्यटनको क्षेत्रमा काम गर्ने इच्छाले साहसिक काममा संर्घष गरेर स्थापित भएका महिला गाइड पारिवारिक र सामाजिक कारणले लामो समयसम्म टिक्न नसक्ने गरेको बताउँछिन्, गाइड मिङ्मा यान्जी शेर्पा । उनी भन्छिन्, ‘करिअरको सुरुवातमा यो क्षेत्रमा आउनेको संख्या एकदमै धेरै हुन्छ । जसमध्ये केही वर्षौँसम्म मिहिनेत गरेर स्थापित हुन्छन्, तर लामो समयसम्म यही क्षेत्रमा टिक्ने महिलाहरू एकदमै कम छन् । विशेष गरी आउटडोरमा काम गरिरहेका महिलाहरूले विवाहपछि पेसा नै छाड्छन् ।’ 

हिमाली क्षेत्रमा ट्रेकिङ गाइडको काम गर्न शारीरिक तथा मानसिक रूपमा बलियो हुन निकै आवश्यक हुन्छ । फरक तापक्रम, उचाइ, परिवेश र मौसममा पर्यटनको मुख्य आकर्षण हुने गर्छ । त्यही चुनौती पनि छ । कहिले महिनावारीको समयमा, कहिले हप्तौँसम्म परिवारबाट सम्पर्कविहीन भएर काम गर्नुपर्छ ।

 

सोलुखुम्बुमा जन्मिएकी मिङ्मा यान्जीका लागि हिमाल आरोहण र ट्रेकिङ नयाँ कुरा होइन । आमादब्लम हिमाल आरोहणको तयारी गरिरहेकी शेर्पाले यसअघि दुईवटा हिमाल चढिसकेकी छिन् । उनले गाइडको काम थालेको पाँच वर्ष भयो । नर्ससमेत रहेकी शेर्पाले नेपालमा प्रचलित अधिकांश लामा ट्रेकिङ रुटमा काम गरिसकेकी छिन् । प्रतिकूल मौसममा कारण ज्यान नै जोखिममा पर्ने अवस्था आउन सक्ने भएकाले सगरमाथा ट्रेकिङ रुटमा काम गर्न चुनौतीपूर्ण हुने उनी बताउँछिन् । भन्छिन्, ‘प्रत्येकपटकको यात्रा फरक हुन्छ । गाइड भएर हिँडिसकेपछि आफ्नोभन्दा पर्यटकहरूको यात्रा कसरी सुरक्षित बनाउने भन्नेमा बढी ध्यान जान्छ ।’ गाइडले गाइड मात्रै नभएर आवश्यकताअनुसार स्वास्थ्यकर्मी, टिचर, मोटिभेटर सबै भूमिकामा काम गर्नुपर्ने उनी बताउँछिन् । 

 

यात्राको क्रममा पर्यटकको स्वास्थ्य बढी महत्वपूर्ण हुने उनी बताउँछिन् । उनी सुनाउँछिन्, ‘कतिपय घटना कन्ट्रोलभन्दा बाहिर हुन्छन् । यस्तो अवस्थामा आफूसँगै पर्यटकलाई समेत मानसिक रूपमा बलियो राख्न उत्तिकै आवश्यक हुन्छ ।’ उनले अन्य अप्ठ्याराहरू पनि सुनाइन्, ‘ट्रेकिङ सिजनको समयमा होटेलहरूको अभावमा डाइनिङरुममै सुत्नुपर्ने हुन्छ । कतिपय पर्यटकको समूह राति रमाइलो गर्ने खालका हुन्छन् । उचाइ बढ्दै जाँदा निद्रा एकदमै आवश्यक हुन्छ । तर, पर्यटकसँगै व्यस्त हुँदा कति दिन सुत्नै पाइँदैन ।’