• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विवेक पोख्रेल
२०७९ असोज १५ शनिबार ०८:२९:००
समाज

हजार नोटका जुम्ल्याहा हात्ती

२०७९ असोज १५ शनिबार ०८:२९:००
विवेक पोख्रेल

मुद्राको आविष्कार हुनुअघि वस्तुहरू साटासाट गरी कारोबार हुन्थ्यो । बिस्तारै सिक्का हुँदै कागजको पैसाको विकास भयो । सन् १९४५ मा राजा त्रिभुवनको तस्बिरसहितको नोट प्रकाशन भएपछि नेपालमा कागजी मुद्राको प्रचलन सुरु भएको हो । सुरुका दिनमा नोटमा राजाका तस्बिर हुन्थे । तर, देशमा राजतन्त्रको अन्त्य भएपछि देशको पहिचान झल्काउने हिमाल, जनावर तथा पक्षीहरूका तस्बिर बाक्लै राख्न थालियो । 

 

वि.सं.२०२६ सालदेखि प्रचलनमा आएको एक हजारको नोटमा पहिले एउटा मात्रै हात्तीको तस्बिर थियो । त्यो हात्तीको तस्बिर कहाँको हो र कसले खिचेको हो भन्ने कसैलाई जानकारी छैन । नेपाली नोटमा विदेशी हात्तीको तस्बिर राखिएको भनेर पनि आलोचना भयो । त्यसपछि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि नेपालकै दुईवटा हात्तीको तस्बिर हजारको नोटमा राख्ने भयो । अन्ततः हजारको नोटमा छापियो चितवनको दुईवटा हात्ती । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा भाले हात्ती अहिले हामीले प्रयोग गर्ने हजारको नोटमा छन् । 

 

देवीकली नाम गरेको हात्तीले जुम्ल्याहा राम र लक्ष्मणलाई जन्म दिएको थियो । जुम्ल्याहा भएर पनि बाँचेको यो पहिलो घटना हो । हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ मानिन्छ । जन्मिए पनि बाँच्ने सम्भावना झन् कम हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन्, ‘सरकारी तथ्यांकमा भएअनुसार जन्मिएर बाँचेका यिनै जुम्ल्याहा पहिला हात्ती हुन् ।’ २०६५ कात्तिक २१ गते जन्मिएका राम–लक्ष्मण जुम्ल्याहा छावा अहिले तन्नेरी भइसकेका छन् । राम जन्मिएको तीन घन्टापछि लक्ष्मण जन्मिएको थियो । 

भाले भईकन पनि यी दुवै हात्ती रिसाउने र फन्किने गर्दैनन् । रामको स्वास्थ्यमा ठूलो समस्या नदेखिए पनि लक्ष्मण भने ०७३ सालतिर बेस्सरी बिरामी भएको थियो । अचानक लडेको लक्ष्मण करिब १६ दिन बिरामी भएर थलियो । उपचारपछि उठेको लक्ष्मण अहिले ठिक छ । लक्ष्मणले ठेट नेपाली भाषा पनि बुझ्छ । राम भने पूर्वेली नेपाली भाषासँग परिचित छ ।

 

देवीकलीको जंगली हात्ती रोमियोसँगको समागमपछि हात्ती प्रजनन केन्द्र खोरसोरमा ती जुम्ल्याह हात्ती जन्मिएका थिए । रोमियोको मृत्यु भइसकेको छ । देवीकली भने अब पाँचौँपटक गर्भवती बन्दै छिन् । राम र लक्ष्मण देवीकली तेस्रो गर्व हुन् । पोथी हात्तीले (ढोई) गर्भवती भएको २२ देखि २४ महिनामा छावा जन्माउने गर्छ ।

 

हजारको नोटमा राम–लक्ष्मण पृष्ठभागमा सँगै छन् । यद्यपि वास्तविक जीवनमा भने उनीहरू सँगै बस्न पाएका छैनन् । लक्ष्मण चितवनकै खगेन्द्रमल्ली पोस्टमा छ भने राम सौराहा पोस्टमा । चितवन र नवलपुरमा दर्जनौँ पोस्ट छन् । निकुञ्जको कामको हिसाबले आवश्यकताअनुसार पोस्ट परिवर्तन गर्ने गरेको सूचना अधिकारी तिवारी बताउँछन् । 

 

यी दुई भाले हात्तीहरू कहिले चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा प्रयोग भइरहेका छन्, कहिले गाउँमा जंगली जनावर पसे सोको नियन्त्रणमा प्रयोग भइरहेका छन् भने कहिले निकुञ्जभित्र रहेका सेनाहरूलाई राप्ती बढेको समयमा खाद्यन्न पुराइदिनेलगायतको काममा पनि उपयोग भइरहेका छन् । हात्ती प्रजनन् तथा तालिम केन्द्रमा पाँच वर्ष बिताएपछि राम–लक्ष्मण दुवै जंगलको गस्तीलगायत काममा प्रयोग भइरहेका हुन् । 

 

लजालु राम, क्षमतावान् लक्ष्मण
भाले भईकन पनि यी दुवै हात्ती रिसाउने र फन्किने गर्दैनन् । रामको स्वास्थ्यमा ठूलो समस्या नदेखिए पनि लक्ष्मण भने २०७३ सालतिर बेस्सरी बिरामी भएको थियो । अचानक लडेको लक्ष्मण करिब १६ दिन बिरामी भएर थलियो । उपचारपछि उठेको लक्ष्मण अहिले ठिक छ । लक्ष्मणले ठेट नेपाली भाषा पनि बुझ्छ । राम भने पूर्वेली नेपाली भाषासँग परिचित छ । लक्ष्मणले ढोग गर्ने, मानिसलाई माला लगाइदिने, दुई खुट्टाले टेक्नेलगायतको क्षमता देखाउन सक्छ । राम स्वभावले लजालु छ । उसले अपरिचित मानिसलाई पनि आक्रमण गर्दैन । 


गैँडा गणना गर्दा यी दुई हात्तीलाई पनि प्रयोग गरिएको थियो । राम–लक्ष्मण हात्तीहरूबीच गरिने फुटबललगायतका विभिन्न प्रतियोगितामा पनि सहभागी भइसकेका छन् । उनीहरूको हेरचाह महुते विनोद चौधरीले गरिरहेका छन् । यी दुई हात्तीको हेरचाह गरिरहेका महुते हजारको नोटमा भएको हात्ती देशकै धरोहर भएकाले विशेष हेरचाह होस् भन्ने ठान्छन् । 
बिहान उठेपछि हात्ती बस्ने ठाउँ सरसफाइ गरिन्छ । हात्तीलाई भेली, धान, गेडागुडीसहितको मिश्रणबाट बनाइएको कुची खुवाइन्छ । त्यसपछि दिउँसो ११ बजेदेखि तीन बजेसम्म हात्तीहरू चर्छन् । बेलुकी दाना र घाँस खाएर बस्छन् ।


यो नोटको डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् । अहिले प्रविधिको विकासका कारण हामी यो नोटविनै डिजिटल माध्यमबाट कारोबार गर्न सक्छौँ । डिजिटल युगसँगै कुनै दिन नोटको अस्तित्व नै समाप्त पनि हुन सक्ला । त्यस्तो वेलामा हामीले प्रयोग गर्दै आएको मुद्रा एकादेशको कथा पनि होला । तर, त्यो नोटसँगै नेपालको पर्यापर्यटन पनि जोडिएको छ । त्यसैले पनि ती जुमल्याह हात्तीलाई विशेष संरक्षण आवश्यक छ ।