• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव
२०७९ असोज १५ शनिबार ०८:३६:००
सम्झना

मधेसको आकाशमा अचेल चंगा उड्दैन

चंगाबाजहरू अचेल मोबाइल गेममा व्यस्त हुन थाले

२०७९ असोज १५ शनिबार ०८:३६:००
तिवारी यादव

 

दसैँ भन्नेबित्तिकै चंगा उडाउने चलनको सम्झना आउँछ । खासगरी बालबालिका तथा किशोर–किशोरीहरू दसैँ सुरु भएसँगै चंगा उडाउँदै रमाउँछन् । चंगा उडाउने प्रतिस्पर्धा अनि छिनेको चंगा लिन बालबालिकाहरू दौडिएको दृश्यले दसैँलाई साँच्चै रोमाञ्चक बनाउँँछ । तर, अचेल वीरगन्जसहित तराई मधेसमा चंगा उडाउने चलन करिब हराइसकेको छ । दसैँको नजिक तराई मधेसका आकाशमा अचेल चंगा उडेको देखिन्न ।


चंगा उडाउने चलन घट्नुलाई कतिपयले आधुनिकीकरणको दोष देख्छन् । कतिपयले चंगा उडाउने क्रम घट्दै जानुलाई मधेसमा दसैँको महत्व घट्दै गएको रूपमा पनि अथ्र्याउँछन् । विगतमा बालबालिका, किशोर–किशोरी तथा युवाहरूका लागि मनोरञ्जनका लागि सीमित साधन थिए । त्यसैले चंगा विशेष रह्यो । अहिले प्रविधिको विकासका कारण मनोरञ्जनका विकल्पहरू धेरै भएकाले चंगा उडाउने चलन घटेको बताइन्छ । अर्को पक्ष सहरी क्षेत्रमा खुला स्थानको अभाव हुन थालेपछि पनि चंगा उडाउने चलन घटेको संस्कृतिविद्हरू बताउँछन् ।


दसैँमा चंगा उडाउने चलनलाई धर्मको रूपमा भन्दा पनि मौसमले भित्र्याएको परम्पराका रूपमा बुझ्नुपर्ने संस्कृतिविद्हरूको मत छ । वीरगन्ज निवासी संस्कृतिविद् डा. उमाशंकर द्विवेदी दसैँ सुरु हुने वेलामा वर्षा पनि रोकिने भएकाले चंगा उडाउने चलन बसेको बताउँछन् । चंगा आकाशमा देखिन थाल्नु भनेको अब वर्षायाम सकियो भन्ने अर्थमा पनि बुझ्नुपर्ने उनको भनाइ छ ।


संस्कृतिविद् डा. द्विवेदी भन्छन्, ‘पहिले वीरगन्जसहित मधेसका जिल्लामा नेवारहरूको पनि बसोवास बाक्लै थियो । अहिले कम हुँदै गएको छ । नेवारी समुदायको उपस्थिति घटेकाले पनि दसैँमा चंगा उडाउने चलन हराउँदै गएको हो ।’वीरगन्ज गहवा निवासी पंकज श्रेष्ठ बाल्यकालमा दसैँमा निकै चंगा उडाउने गरेको सम्झन्छन् । उनी भन्छन्, ‘म केटाकेटी हुँदा दसैँ सुरु हुनेबित्तिकै चंगा किनेर उडाउने होडबाजी हुन्थ्यो । आकाशमा उडिरहेको चंगा काट्ने प्रतिस्पर्धा पनि हुन्थ्यो ।’ लोकपरम्पराअनुसार नै चंगा उडाउने गरिए पनि अहिले यसको चलन हराउँदै गएको उनको भनाइ छ ।

अग्रजहरूको भनाइलाई उद्धृत गर्दै उनी भन्छन्, ‘आकाशमा चंगा उड्न थाल्दा दसैँ आउन लागेको संकेत हुन्थ्यो । बिहे गरेर गएका दिदीबहिनीहरू अब माइतीघर आउने वेला भयो भन्ने संकेत पनि थियो ।’


नेपाल भाषामा चंगालाई ‘भुटीमाली’ भनिन्छ । चंगाका लागि कागज, धागो र लट्टाई प्रयोग हुन्छ । आकाशमा उडिरहेको अर्को चंगासँग आफ्नो चंगा जुधाउने र त्यसलाई काटिदिने चलन पनि थियो । त्यसलाई चंगा चेट भनिन्छ । पहिले वीरगन्जमा टोलटोलका चंगाबाजबीच चंगा चेट पार्ने प्रतिस्पर्धा नै हुन्थ्यो । अचेल त्यस्तो दृश्य देख्न कतै पाइन्न । चोकहरूमा चंगा बेचेको पनि कतै देखिन्न । 


वीरगन्ज निवासी सन्दीप बस्नेत भन्छन्, ‘दसैँको वेला आकाशमा चंगा उडेको नदेखेको त पाँच वर्ष नाघिसक्यो । बदलिँदो जीवनस्तर र आधुनिकीकरण यसको कारण हुन सक्छ ।’ प्रविधिले फड्को मारेसँगै दसँै, तिहारजस्ता पर्वहरूको रहनसहन र स्वरूप पनि फेरिँदै गएको उनको भनाइ छ । कतिपय वीरगन्जवासी त दसैँको वेला आकाशमा चंगा देखिन छाडेको १० वर्षजति नै बितिसकेको बताउँछन् । चंगाबाजहरू मोबाइलका गेमहरूमा व्यस्त हुन थालेको उनीहरूको भनाइ छ । 


समय परिवर्तन भयो । प्रविधिको विकास भयो । सिमेन्टीका घरैघर बने । खुला पार्क र चौरहरू हराए । यसको परिणामस्वरूप पिङ र चंगा देखिन छाडे । अहिलेको नयाँ पुस्ताले चंगा नै नचिन्ने हुन थालिसक्यो । वीरगन्जवासी चिन्ता व्यक्त गर्छन्, ‘नयाँ पुस्तालाई पिङ पनि थाहा छैन, चंगा पनि थाहा छैन । उनीहरूलाई थाहा छ त सिर्फ मोबाइलभित्रको गेम ।’