• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भारतको पश्चिम बंगालस्थित नक्सलबाडी बजार/पुरानो नक्सलबाडी बजार
सञ्जु साम्पाङ
२०७९ असोज १५ शनिबार ०९:१९:००
समाज

त्यो सस्तो बजार

आर्थिक अवस्था कमजोर भएका, गाउँले अनि चियाबगान मजदुरहरूको त्यो बजार अब को जाने ?

२०७९ असोज १५ शनिबार ०९:१९:००
सञ्जु साम्पाङ

 

कथाको थालनी एउटी गाउँले महिलाको पुरानो भनाइबाट गर्छु । आफ्ना छोराछोरी सानो हुँदा छिनछिनमा बिरामी भइराख्ने, सिकिस्तै भइजाने रे । त्यस्तो वेलामा उहिले स्वास्थ्य चौकी या अस्पताल लैजानुभन्दा पहिला के नै गरिन्थ्यो र, सुरुमा गाउँका धामीझाँक्री बोलाइन्थ्यो, जोखाना हेराएर ‘हेनेमेने’ गराइन्थ्यो । अनि उनलाई लाग्थ्यो रे ‘कान्छा पर्धान नहुँदो हो त मेरा नानीहरू बाँच्दैनथे ।’ उतिवेलाका चर्चित अनि जान्ने धामी कान्छा प्रधान, जसको झारफुकले मात्र आफ्ना केटाकेटी निको हुने विश्वास राख्ने निर्दोष महिला थिइन् उनी ।


अब कथाको फेरो यसरी टिप्छु ।


हामी सानै छँदा, गाउँभरिकै ठूलो अनि संयुक्त परिवारमा हुर्किरहँदा मलाई के लाग्थ्यो भने,‘मेची पारी भारतको नक्सलबाडी बजार नहुँदो हो त हामी नांगाभुतुंगा हुन्छौँ होला, भोकैतिर्खै हुन्छौँ होला !’


०००
नक्सलबाडी फगत एउटा बजार मात्र थिएन, त्यो त सीमाछेउ बसोवास गर्नेहरूको संस्कृति पनि थियो । एउटा अभिन्न अंग, अटुट बन्धन, अजम्बरी नाता अनि अपरिहार्य आवश्यकता पनि । काँकडभिट्टादेखि सिलिगुडी जानेबाटोमै पर्ने सानो बजार हो नक्सल, जसले हरेक मंगलबार र शनिबार आफ्नो आङभरि हाट फिँजाएर ग्राहक पर्खिबस्थ्यो । यसको इतिहास के हो, कहिलेदेखि यो हाट लाग्न सुरु भयो, अथवा कसले बजार विस्तार गरे त्यो छुट्टै पाटो भइहाल्यो । तर, सीमावर्ती गाउँका बासिन्दाका लागि कहिलेदेखि नक्सल बजार अत्यन्तै नजिकको साथी रह्यो यो निकै महŒवपूर्ण छ ।


हाम्रो गाउँको कुरा उप्काउनुपर्दा उहिले बाजेबोजुहरूको पालादेखि नै त्यो बजार भर्न जाने चलन चलिआएको रहेछ । वारिपट्टि भर्खर–भर्खर बाक्लिँदै गरेको बस्ती अनि पारिपट्टि पट्टेर जंगल, त्यसको किनारमा तारजालीले बाँधिएको बान(बाँध) । त्यो बाँध नाघेर मात्र नक्सल जाने बाटो पहिल्याइन्थ्यो । तर, बाँध निकै डरलाग्दो, असुरक्षित ! दिनदहाडै डकैती लाग्ने खतरनाक इलाका, जसको कारण हाट भर्ने अघिल्लो दिनतिरै सारा गाउँले योजना बनाएर ठूलो टोली भएर मात्र शनिबार बजार जान्थे रे ।


एकपल्ट त्यसरी नै जाँदै गर्दा लगाइराखेको गरगहना लुट्न खोजेपछि प्रतिवाद गरेर भाग्दै गर्दा डाकाले हानेको तीरको निसाना बन्न पुगिछिन् छिमेकी गाउँकी अधिकारी बज्यै जुन घटनाको बारेमा केही सालअघिसम्म प्रत्यक्षदर्शी छिमेकी फुपाजुको मुखबाट आङ सिरिङ पार्दै सुनिरहन्थेँ म । सयौँको संख्यामा बाँध ढुक्ने डाँकाहरू, जो घरेलु हतियार तीरधनु खेलाउनमा खप्पिस अनि पातलो गाउँबाट अलिअलि गर्दै जम्मा भएर जाने हटेरुहरू । कहाँ पारा मिल्नु ? तर, पनि गाउँलेहरूले हार खाएनन् क्यारे । र त पछि निर्बाध रूपमा नक्सल जाने–आउने वातावरण बन्यो । 


त्यसको एउटा कारण दुवैतिर थपिएको जनसंख्या अनि सुरक्षा संयन्त्र पनि होला । साथै तीव्र रूपमा बढेको वारिपारिबीचको व्यापार, मित्रता, बिहेवारीलगायतका घनिष्ठ सम्बन्ध पनि बाँध खतरामुक्त हुने भरपर्दो कारण होला । 

 

त्यो बजार
बाजेपछि आपाहरूको पालो आएपछि हामी केटाकेटीलाई पनि नक्सल जान पाउने वातावरण मिल्न थाल्यो । तर, त्यो वातावरण त्यत्तिकै मिलेको कहाँ थियो र ? ढुंगेगाह्रोको घरपछाडि झुरूपपै जम्मा भएर भोलिपल्ट बजार जाने सल्लाह गरिरहेका आमा, दिदी, फुपूहरूको कुरा सुनेर खुट्टा बजार्दै, रुँदै, पछ्याउँथेँ म, तर जान पाए पो ! अलि बुझ्ने भएपछि, भिडमा ठूलाको हातबाट खुस्किएर नहराउने उमेर भएपछि हामीलाई पनि बजार लैजान थालियो । कौतुहलताले भरिपूर्ण, जिज्ञासाले कुस्तै !


आखिर के पाइँदैनथ्यो नक्सलबाडीमा ? नुनभुटुन, मरमसला, तरकारी, फलफूल, बीउबिजन, माछामासु, सिद्रा, हातहतियार, हाँडाभाँडा, लुगाफाटा, साइकल, बाइकलगायत सम्पूर्ण पाइन्थे, एकदम सुपथ मूल्यमा । एकपल्ट बेलडाँगी शरणार्थी शिविरकी एकजना साथीले सामानहरू किन्दा पूरा होलो, पर्छ अरे हो नक्सलमा भनेर सोध्दा म छक्कै परेको थिएँ । बिलकुल हाम्रो मात्रै बजार होजस्तो लाग्ने । जिल्लाको पल्लोछेउको वासिन्दाले त्यसरी सोधेपछि पहिलोपल्ट मलाई नक्सलको नाम कति चलेको रहेछ भनेर अवगत भयो । मेरै अनुभव छ, सबैभन्दा सस्तो अर्थात् त्यति दाममा कतै पनि त्यो समयमा लुगा किन्न सकिँदैनथ्यो सायद । 


एकपल्ट बालसखी शान्ति र म चहारिरहेथ्यौँ बजारको चप्पाचप्पा । मेरो आँखा पर्‍यो सेतो सर्टमा । हत्तपत्त मूल्य सोध्दा थाहा लाग्यो रु. पाँच भारु । यति सस्तो लुगा किन नकिन्नु त ? दह्रो न दह्रो, कहिल्यै नफाट्ने, जसलाई धेरै पछिसम्म ‘नर्स सर्ट’ भनेर नाम राखिदिए आफन्तले । अझै अचम्म त त्यहाँ पो परियो जब नानीहरूको कपडा दोकानमा पुग्यौँ । मेरो काकाकी छोरी सानी थिई घरमा । उसलाई ठिक्क हुने टिसर्ट दुई रुपैयाँ भारुमा किन्दा हामी आफैँ पनि हाँस्याहाँस्यै भयौँ । निकै समय बितिसक्यो । अहिले पनि त्यो दिन सम्झिदा हाँसो लाग्छ ।

लगातार कुहिन थालेपछि गाउँमा अदुवा रोप्नै छाडियो । अरू पनि अन्न उता जान धेरै कम भयो । त्यसपछि गाउँलेलाई अचेल भदौरे मेची तार्ने तनाव छैन । मोलमोलाइ गरिराख्ने झन्झट पनि छैन । खेतबारीमा उर्वरता छैन । किसानहरूमा जाँगर पनि छैन । हिजोआज त रेमिट्यान्स पकाएर खाने पो आदत भएको छ ।
 


सोच्दैहुनुहुन्छ होला, आखिर कपडा त्यति सस्तो किन ? नक्सलभित्रबाट तेर्सिएको हाइवेछेउछाउ असंख्य ठूलासाना कपडा दोकान फिँजाइएका हुन्थे, जसलाई हाम्रो गाउँतिर ‘बाटोमुनिको सिकिनाइन’ भनेर ब्रान्ड बनाइन्थ्यो । त्यो भन्नेबित्तिकै बुझ्नुपथ्र्याे कि त्यहाँ किनेका लुगा पहिले कसैले लगाइसकेको मतलब सेकेन्डह्यान्ड हो । उसवेला हामी सुन्थ्यौँ, ‘अरबतिर पानी पाइँदैन रे । पानी किनेर लुगा धुनुभन्दा बरु नयाँ लुगा किन्न फाइदा रे । त्यसैले त्यस्ता लुगा धेरै मात्रामा यता पठाइन्छ रे !’ कतिले त चिहानबाट निकालिएको या मरेको मान्छेको होला भन्ने शंकाले त्यस्ता कपडा लगाउन घिन मान्थे । तर, मेसिनमा अनेक पाउडरले धोएर होला सायद लुगा मगमग बास्ना आउनेहुन्थे । अनि एकदमै ब्रान्डेड र नाम चलेका देशमा उत्पादन भएका हुन्थे । 


त्यो भयो बाटोमुनिको कपडाको कुरा । जयबंगलाचाहिँ बंगलादेशका फ्याक्ट्रीमा उत्पादित, तर कम्पनीबाट ‘रिजेक्ट’ गरिएका लुगा रहेछन् अहिले बुझ्दा । त्यस्ता कपडा पनि बडो सस्तोमा पाइन्थे । कानमा गुन्जिरहने ‘खालि तिरिस (तीस) खालि तिरिस’वाला लुगा अचेल ‘खालि सौ’ भएछन् । अस्ति भर्खरै जाँदा चाल पाएँ । हरदम ग्राहक बोलाइरहेका दोकानेहरू, भुइँभरि फिँजाइएका थाकबाट कपडा छान्दै बार्गेनिङ गरिरहेका मानिस, त्यसवेलाको नक्सले रौनक थियो । हामीजस्ता गरिबका लागि त्यो बजार निकै उपयोगी थियो । बर्खा लाग्दा बर्खे लुगा किन्न त्यहीँ पुग्थ्यौँ, दसैँतिहारजस्ता चाडपर्व आउँदा त्यहीँ पुग्थ्यौँ । हिउँदको चिसो छल्ने लुगा किन्न पनि त्यही पुग्थ्यौँ । नक्सलबाडी बजारमा साँच्चै सस्तोमा सामान पाइन्थे । 


मात्रै दुई रुपैयाँमा अरू बजारमा खाजा के आउँथ्यो होला ? त्यहाँ ‘घुघुनी चिउरा’पाइन्थ्यो । दनदन बलिरहेको दाउराको चुलो, जसको राप छेक्न लगाइएको टिनको सानो टुक्रा, तर्तर पसिना चुहाउँदै बडेमानको डेक्चीबाट लामो डाडुले घ्वापघ्वापी मटरछोला उघाउँदै गरेका घुघुनीवाला । उनीहरू वरिपरि ग्राहकहरूबाट घेरिएका हुन्थे । अझै १० रुपैयाँमा पाइने पुरीसब्जी, उस्तै कम दाममा आउने माछाभात पनि नक्सल सम्झिरहने कारण बन्छ । गोरुको मासुसँग चिउरा खान थुप्रै नेपाली गोरुहट्टी गोसखानभित्रका सस्ता हुटेल छिर्थे । त्यहीवेला थाहा पाएँ ‘लाङस्या’ किन्न झापाको झन्डै पल्लोछेउ खुदुनाबारीबाट समेत नेपालीहरूधाउँदारहेछन् ।

 

आदानप्रदान
उसो त नक्सलबाट ल्याउने मात्र नगरेर यताका उत्पादन पनि उता बिक्रीका लागि लैजाने चलन पुरानो नै थियो । मेचीको भंगालो कटाएर तारिएका अदुवाका बोरा जब नक्सल पु¥याइन्थे उताका व्यापारीहरू झुत्तिन्थे । रस्साकस्सी गर्थे । ठीक यही सिजनमा अदुवाको भाउ निकालेर बेच्ने चलन थियो । भाउ कसौँ त व्यापारीले अनेक बहाना पारेर राम्रोसँग नपखालेको भनेर दामै नदिने, नकसौँ त आफ्नो मिहिनेत छ त्यत्रो, किसान चेपारोमा पर्थे । तर, चाडबाडको मुख अनि जहान परिवारको अनुहार सम्झेर अलिअलि घाटै सहेर आफ्नो उत्पादन व्यापारीलाई बुझाउँथे । कुचो पनि उता खुब बिक्री हुने । अझ वर्षैभरि केरा व्यापार गरेर जीविकोपार्जन गर्नेहरू पनि थिए उसवेला । शनिबारको लागि अघिल्लो हप्तादेखि नै गाउँगाउँ घुम्दै गाउँलेका घुर्‍यानबारीतिर फसल हेर्दै हिँड्नु, दामकाम बैनासैना मिलाएर शुक्रबार काटेर ल्याउनु अनि केराको दाम्चा प्रयोग गरेर कतै नफुस्किने, नबिग्रिने गरी भारी मिलाउनु, अनि शनिबार भालेको डाकमा बजारतिर हानिनु केरा व्यापारीको जीवनशैली थियो ।


अझै याद छ, गाउँबाट नाना(दिदी)हरू केराको चोपबाट जोगिन पुराना कपडा लगाएर भारी बोकेर गाडी आउने ठाउँसम्म पुग्थे अनि गाडीभित्र भारी लोड गरिसकेपछि छेउछाउका झाडीतिर पसेर लुगामुनि कम्मरमा बेरिराखेको नयाँ कपडा लगाएर, ठ्याक्कै हाट भर्नेजस्ता भएर जान्थे ।अर्को मुख्य नगदेबाली भनेको सुपारी थियो गाउँको । नक्सलका व्यापारीहरू घरघरै आएर बगानै बैना हान्थे । पछि पाकेपछि लेबर खटाएर बोटबाट झार्थे । भेला पार्ने अनि भारी कस्ने गर्थे । कुनै गाउँलेचाहिँ आफैँ बोकेर पनि लैजान्थे । धेरैपछिसम्म गाउँमा आइरहने व्यापारी सुशील अझै पनि सुपारीकै व्यापार गर्दै होलान् कि छैनन् ? सोच्छु कहिलेकाहीँ । अचेल अरू चिज त अलिअलि जाँदै होला, तर दुःखद कुरा अदुवाको व्यापार शून्यमा झ¥यो । लगातार कुहिन थालेपछि गाउँमा अदुवा रोप्नै छाडियो । अरू पनि अन्न उता जान धेरै कम भयो । त्यसपछि गाउँलेलाई अचेल भदौरे मेची तार्ने तनाव छैन । मोलमोलाइ गरिराख्ने झन्झट पनि छैन । खेतबारीमा उर्वरता छैन । किसानहरूमा जाँगर पनि छैन । हिजोआज त रेमिट्यान्स पकाएर खाने आदत पो विकास भएको छ ।

त्यो भिड, त्यो डर
नक्सलमा अरू वेला हुने चहलपहल पनि यताको हाम्रो बाहुनडाँगी बजारको तुलनामा धेरै गुणा ठूलो त पक्कै हुन्थ्यो । अझ चाडपर्वमा मान्छेले जमिन टेक्नै नपरी मान्छेको भिडले एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउँथ्यो । एउटा भिड मेची खोलाबाटै सुरु हुन्थ्यो । उसवेला ढुंगा बोकेर गुड्ने ‘ढुंगे ट्रक’को डालामा ढुंगामाथि अटिनअटी बजारेहरू बसेर जान्थे । अर्को भिड बजारमा पुगिसकेको हुन्थ्यो । कहाँबाट आउँथे होलान् त्यति धेरै हटारु ? जता हेर्‍यो उतै मान्छे । यस्तो वेला विशेष सजगता नअपनाउने हो भने पाकेटमारले अघि नै ब्याग चिरा पारिहाल्ने, गोजी थुत्दिहाल्ने । चोरीका लागि पनि बदनाम थियो त्यो बजार । नक्सल मात्र नभएर अन्य भारतीय बजार पनि यस्तो केसमा खतरनाक साबित हुन्थे । विशेष गरी, बजार जानुपर्ने अघिल्लो रात हामीलाई बहुतै डर देखाएर खबरदारी गर्थिन् आमा, ‘आपाको हात कसै गरी नछोड्नू । नचिनेको मान्छेले दिएको केही पनि नखानू, एक्लै जान्ने भएर नहिँड्नू ।’


अब कथाको बिट मार्छु !
धेरै कुरा बदलिएको थियो । आनीबानी, ठाउँठेगाना । तर, पनि म आफ्नो बिहेको किनमेल गर्न उही हाम्रो प्यारो बजार नक्सल नै गएँ । चिरपरिचित अनि अरू वेला उधारो कारोबार पनि भइराख्ने दोकानेहरू हुनु, सौदाका झोलाझाम्टा ढुक्कसँग राख्न पाइने सुर्तीवाला अंकल, छेउमै मसला दोकाने पप्पु भैयाको दोकान हुनु, अघाउन्जेल हाट भर्न पाउनु मेरा लागि ‘नस्कल’(मेरो ठूलोभाइको उच्चारण) प्रिय हुनुका कारण थिए । चाडबाडको छेक पारेर लगाइने सर्कस अर्को आकर्षण त्यसवेलाको । रेल देखाउने पथ प्रदर्शक पनि भइयो पहाडबाट झर्ने पाहुनाका लागि कुनै वेला ।

तर, अब नक्सल बजार हाम्रो नोस्टाल्जियामा मात्र 

सुरक्षित छ ।


अब, न छ त्यो ‘सिकिनाइन’ लुगा लाउने पुस्ता । न छन् मरिन्जेल केराको भारी बोक्ने तरुनीहरू । न छन् १० रुपैयाँको टिकट काटेर सिनेमा हेर्ने दर्शक । यतै छँदै छ अचेल घरैपिच्छे मार्ट, फ्रेन्चाइज डिपार्टमेन्ट स्टोरहरू, अनलाइन सपिङ सेन्टर, तेस्तै चुजी कस्टमरहरू । त्यो बिलकुल गरिब गाउँले, अनि चियाबगान मजदुरहरूको बजार जाने को ? भारी बोक्न चाहने युवा खै कहाँ ? 


कुनै वेला स्वादसँगले लाङ्स्या खानेहरू यतिवेला कुनै अरबी मार्केटको पाकेटभित्र सजिएको बासी मासु खाँदै होलान् । अब त को जाने गोरुहट्टी, कसले किन्ने सिद्रा ? कुन तरुनी केटी सौदाबाजी गरिरहेको देखिने केराहट्टीमा ? कुन किशोरी पाँच रुपैयाँ पर्ने कपडा छान्दै गरेको देख्ने बाटोमुनि ? एउटा ठूलो कालखण्ड छोडियो ।


ए साँच्ची, लकडाउनमा त खोलाको बाटो भएर नि मान्छेहरू गए नि । चिनी, दाल, प्याज, खानेतेल, मोबाइल, मोटर पार्टस्लगायत दैनन्दिनका अत्यावश्यक सरसामान किन्न । अझै पनि नक्सल बजारले ‘सस्तो बजार’को आफ्नो विशेषताचाहिँ कायमै राखेको रहेछ । तर महँगो रुचाउने ग्राहकले एकाध समयमा मात्र सम्झिँदारहेछन् । अनि यता चाडपर्व आउँदै गर्दा उही मेरो बाल्यकाल र किशोरकालीन झझल्कोले झस्काइरहन्छ ! अनि अहिलेको पुस्तालाई कहाँ लाग्दो हो र ‘नक्सल बजार नहुँदो हो त हामी नांगै हुन्छौँ होला नि ?’