• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुमिना
२०७९ असोज १५ शनिबार १०:२१:००
साहित्य

छोडिनेहरू

२०७९ असोज १५ शनिबार १०:२१:००
सुमिना

कुनै विछोड यस्तो पनि हुन्छ
मानौँ, शरीरबाट कोही मुटुलाई विच्छेद गरिरहेको छ 

 

कोही यसरी पनि अलग्गिन्छन्
मानौँ, बिस्तारै–बिस्तारै
शरीरबाट प्राण अलग्गिइरहेको छ

 

कोही यसरी पनि हराउँछन्
जस्तो कि
बिस्तारै–बिस्तारै हराइरहेको होस् 
सधैँका लागि आँखाबाट दृष्टि
र मडारिँदै गरेको होस्
चौतर्फी अन्धकार 

 

अझ कुनै वियोग त यसरी पनि खड्किन्छ
मानौँ, धर्ती कतै भासिएको होस्
या आकाश आफैँमाथि बजारिएको होस्
या पृथ्वी एकैपटक घुमिरहेको होस्
या ठूलै भू–स्खलनको कम्पनले 
मुटु बेजोडसँग काँपिरहेको होस्
तर, तिमी त यसरी छुट्यौ

 

जसरी छुट्छ
विनाकुनै हुरी बतास
विनाकुनै असिना पानी
विनाकुनै गर्जनको आवाज
थाहै नपाई जसरी झरिजान्छ
बोटबाट एउटा हरियो जवान पत्ता

 

तिमी त यसरी छोडियौ
जसरी छुट्छ
समुन्द्रसम्मको गन्तव्य तय गर्न 
सहयात्रामा ल्याप्चे लगाएको नदीबाट 
छाल हुँदै अचानक छुटिजान्छ 
उछिट्टिएर बगरमा एक थोपा पानी

 

तिमी त यसरी छुट्यौ
जसरी बिलाउँछ हेर्दाहेर्दै 
आकाशबाट एउटा प्रिय तारा

 

युद्धमैदानबाट अचानक बेपत्ता भएजस्तै 
एउटा सहयोद्वारा
थाहै नपाई कतै उडी गएजस्तै 
बथानबाट एउटा मालचरी

 

हिँड्दा–हिँड्दै बाटोमा 
तिमी त यसरी छुट्यौ
विनाआवाज, विनाआभास
विनादस्तक, विनाझंकार
विनासंकेत, विनाअनुमति

 

थाहा छैन तिमीसँगै छौ भन्ने भ्रममा 
म कति बाटो एक्लै हिँडेँ 
कति कुरा एक्लै बोलेँ 
कति हाँसो एक्लै हाँसेँ 
कति कहानी एक्लै सुनाएँ

 

जतिवेला तिम्रो अनुपस्थिति बिझायो 
जब म पछाडि फर्केर हेरेँ 
तिमी त यसरी अदृश्य भइसकेछौ 
थिएनन् तिम्रा पाइतालाका डोबहरू 
टाढा–टाढासम्म कतै

 

तिमी त यसरी विलुप्त भएछौ 
हुँदैनथ्यो तिम्रो उपस्थितिको आभास
टाढा–टाढसम्म 

 

बतास बहकिएको थिएन 
नदी सुसाइरहेको थिएन 
बिरुवा चलमलाइरहेका थिएनन् 
आकाश मडारिइरहेको थिएन 
बादल दगुरिरहेको थिएन 
जून उदाइरहेको थिएन 
ताराहरू चम्किरहेका थिएनन् 

 

तर, तिमी हराउँदै गर्दा 
म त्यहाँ पुगेकी रहेछु
जहाँबाट स्पष्ट देखिँदोरहेछ
मिलन र विछोडको तादात्म्य
यात्रा जीवन र विछोडको परस्परता
जहाँबाट बोध हुँदोरहेछ
यात्रा, गति र निरन्तरता
जीवनको अनिवार्य सर्त,
छुट्नु, हराउनु र रोकिनु
जीवनको अर्को महत्वपूर्ण घटना

 

तिमी त्यही स्वाभाविक घटना बनेर छोडियौ 
तर, छुट्दै गर्दा 
मसँगै छोडेर गयौ 
सधैँका लागि एउटा अस्वाभाविक अन्योल

 

जुन रहस्य आज पनि मलाई
बिझाइरहन्छ
झस्काइरहन्छ
र, प्रश्न सोधिरहन्छ 

 

तिमी कहाँ छोडियौ ?
कसरी हरायौ ? 
कुन मोडमा र कसरी बाटो मोड्यौ ?

 

सधैँका लागि एउटा सिकाइ छोडेर गयौ 
छोडिनेहरू यसरी पनि छोडिँदारहेछन् !!