• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
प्रेम गौतम
२०७९ कार्तिक १९ शनिबार ०८:०१:००
इतिहास

महिन्द्र–राजेन्द्रबीच सधैँ वैमनस्य

२०७९ कार्तिक १९ शनिबार ०८:०१:००
प्रेम गौतम

पूर्वमन्त्रीद्वय महिन्द्र राय यादव र राजेन्द्र्र महतोे मधेसका प्रभावशाली नेतामा पर्छन् । पृष्ठभूमि फरक भएका दुवै नेताले एउटै पार्टीमा बसेर काम गरे । यादव वामपन्थी पृष्ठभूमिका हुन् भने महतोे व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । दुवै नेताको राजनीतिक केन्द्रबिन्दु मधेस नै हो । यादव पञ्चायतदेखि नै राजनीतिमा सक्रिय छन् भने महतोे ०४६ को राजनीतिक आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । दुवै नेता निरन्तर राजनीतिमा सक्रिय छन् । यद्यपि, उनीहरू दुवै दल अदलबदल गरिरहने नेताको सूचीमा पर्छन् । 


पञ्चायतकालमै वामपन्थी पार्टीबाट राजनीति थालनी गरेका यादव हाल नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष छन् । तर, उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न हँसिया–हथौडा लिएर चुनावी मैदानमा होमिएका छन् । ३३ वर्षे राजनीतिक जीवनमा महतोेले पनि धेरै दल फेरे । हाल उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा यादव र महतोे दुवै नेता गृहजिल्ला सर्लाही २ मा आमनेसामने भएका छन् । गृहजिल्ला एउटै र राजनीतिको केन्द्र मधेसलाई माने पनि दुवै नेताबीच घनिष्ठ सम्बन्ध कहिल्यै भएन । मधेस मामिलाका जानकार विश्लेषक चन्दकिशोर झा यादव र महतोेबीचको सम्बन्ध ‘न ठूलो अन्तर्विरोध न अन्तर्घुलन’को रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँहरू एउटै संगठनमा बसेर पनि काम गर्नुभयो । तर, उहाँहरूको स्कुलिङ नै फरक भएका कारण न अन्तर्विरोध न अन्तर्घुलनको स्थिति थियो ।’


दुई नेताबीच बेमेलको अवस्था अहिलेसम्म पनि कायमै छ । फरक पृष्ठभूमिकै प्रभावले हुन सक्छ एउटै पार्टीमा रहँदासमेत यादव र महतोेको सम्बन्ध तिक्ततापूर्ण नै रह्यो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का सहकर्मी मनीष सुमन दुवै नेताको सम्बन्ध तिक्ततापूर्ण रहेको स्मरण गर्छन् । राजपामा चक्रीय नेतृत्व थियो । यादव र महतोे दुवै संयोजक भएका थिए । एक संयोजक हुँदा अध्यक्षमण्डलका अन्य नेता सदस्य हुन्थे । सुमन स्मरण गर्छन्,‘राजपामा हुँदा उहाँहरूको सम्बन्ध तिक्ततापूर्ण नै थियो । ससाना विषयमा पनि झगडा गर्नुहुन्थ्यो । उहाँहरूकै झगडाका कारण पार्टीको विधान बन्नै नसक्ने स्थिति आएको थियो । सानो विषयलाई पनि ठूलो बनाइदिन खोज्ने प्रवृत्ति दुवै नेतामा थियो ।’


तर, महतोेनिकट लोसपा नेता केशव झा पार्टीमा हुँदा महतोे र यादवको सम्बन्ध सामान्य रहेको बताउँछन् । ‘विवाद पनि थिएन, सुमधुर सम्बन्ध पनि थिएन । दुवै सर्लाहीकै हुनुहुन्छ,’ झाले भने । मधेसका मुद्दामा भने दुवै नेताबीच खासै मतान्तर देखिँदैन । मधेस आन्दोलनका क्रममा दुवै नेता नेपाल–भारत सीमामा धर्नामा बसेका थिए ।


उनीहरूबीच व्यक्तिगत सम्बन्धसमेत राम्रो छैन । विश्लेषक रोशन जनकपुरी दुवै नेताले एकअर्कालाई प्रतिस्पर्धीकै रूपमा सधँै लिइरहेको बताउँछन् । मानवीय स्वभावका हिसाबले पनि दुई नेता दुई ध्रुवमा देखिन्छन् । दुवै नेतामा ‘मधेसको खास नेता मै हुँ’ भन्ने घमन्ड लुकेको छ । जनकपुरी भन्छन्,‘यादव गम्भीर र कम बोल्ने नेतामा पर्छन् । महतो धेरै बोलिरहने, शब्दले आकर्षित गर्न खोज्ने नेतामा पर्छन् । एउटै पार्टीमा हुँदा पनि दुई नेताबीच राम्रो सम्बन्ध देखिएन ।’ एकले अर्कालाई उपयोग गर्ने नीतिसमेत दुवैले लिए । नेतृत्वमा पुग्ने हुटहुटी दुवैमा थियो । त्यसैले नयाँ दल खोलेरै दुवै नेता अध्यक्ष भए । यादवले तराई मधेस सद्भावना पार्टीको नेतृत्व गरे भने महतोले सद्भावना पार्टी हाँके । एकले अर्कालाई उपयोग गर्ने क्रममा दुवै नेता राजपामा समाहित भए ।


एउटै मोर्चा, एउटै पार्टी : फरक कित्ता
०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधानमा मधेसको एजेन्डा समावेश नभएपछि मधेसमा आन्दोलन भयो । आन्दोलनका क्रममा कांग्रेस, एमालेसहितका दलबाट विद्रोह गरेर मधेसका नेताहरूले क्षेत्रीय पार्टी खोले । त्यसमध्येका एक हुन् यादव । यादवले एमाले त्यागेर मधेसकेन्द्रित पार्टी तराई मधेस सद्भावना पार्टी गठन गरेका थिए । मधेसमा धेरै पार्टी भएकाले नेताहरूलाई अस्तित्व जोगाउनै संकट परेको थियो । सद्भावनाको राजनीतिबाट अगाडि बढेका महतोलाई पनि साख जोगाउने चुनौती थियो ।

पार्टीको आन्तरिक विवादमा पनि दुई नेता फरक कित्तामा उभिए, महतो दलको नेता बन्न खोज्दा यादव महन्थ ठाकुर पक्षमा उभिए ।तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा यादव विरोधमा सडक संघर्षमा निस्किए भने महतो ओली नेतृत्वको सरकारमा सहभागी भए । 


उपेन्द्र यादवको दल तत्कालीन फोरमबाहेक अन्य मधेसका दल मिलेर नयाँ पार्टी बनाएका थिए । महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र राययादव, राजकिशोर यादव र अनिलकुमार झाले नेतृत्व गरेका ६ वटा दलबीच एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो । त्यसपछि दुवै नेताले एउटै संगठनमा रहेर काम गरे । आलोपालो नेतृत्वका कारण यादव र महतो दुवै संयोजक बनेर काम गरे । एक नेता संयोजक भएका वेला अर्को सदस्य भएर पार्टीमा भूमिका निभाए । त्यसअघि यादव र महतोले मधेसी मोर्चामा सहकार्य गरेका थिए । दुवैमा पार्टीको शीर्ष नेतृत्वमा पुग्ने हुटहुटी थियो । 


अघिल्लो निर्वाचनपछि महतोले संसदीय दलको नेता हुने चाहना राखेका थिए । त्यतिवेला यादव ठाकुरको पक्षमा उभिएका थिए । राजपा र फोरम एकतापछि बनेको जसपामा दुवै नेता कार्यकारिणी समितिमा थिए । पार्टीको आन्तरिक विवादमा पनि यादव र महतो फरक कित्तामा उभिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा यादव सडक संघर्षमा निस्केका थिए भने महतो ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका थिए । यद्यपि, सर्वोच्च अदालतको आदेशका कारण महतोले दुई साता पनि मन्त्री हुन पाएनन् । पार्टी विभाजनका वेला राजेन्द्रले महन्थ ठाकुर र महिन्द्रले उपेन्द्र यादव रोजे । महतोनिकट लोसपाका नेता केशव झा महतो र यादवको फरक पृष्ठभूमि रहेको स्मरण गर्छन् । ‘उहाँहरू कम्युनिस्ट र लोकतान्त्रिक पृष्ठभूमिकामा आउनुभयो । यादवमा कम्युनिस्ट आचरण र महतोमा लोकतान्त्रिक आचरण देखियो । जसपा विभाजनको मुख्य कारण नै यादव बन्नुभयो । पहिला उपेन्द्र यादवलाई उचाल्नुभयो, पछि आफैँ जसपा छाडेर हिँड्नुभयो ।’


नीति मित्रवत्, व्यवहार शत्रुता
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता सर्लाही २ बाट उम्मेदवार छन् । यादवलाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ भने महतो एक्लै चुनावी मैदानमा छन् । महतोले सत्तारूढ गठबन्धनले सर्लाही २ मा उम्मेदवार नतोकोस् भन्ने चाहेका थिए । तर, गठबन्धनका शीर्ष नेताहरूले यादव गठबन्धनको साझा उम्मेदवार भएको र महतोसँग मित्रवत् प्रतिस्पर्धा हुने भन्दै विज्ञप्ति नै जारी गरे । लोसपा अध्यक्ष महन्थ ठाकुरले जवाफी विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए । सत्तारूढ गठबन्धनले लोसपासँग प्रतिनिधिसभाका सात क्षेत्रमा तालमेल गरेको छ । राजेन्द्र महतोको क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धाको नीति लिएको छ ।

 

मित्रवत् प्रतिस्पर्धा भनिए पनि दुवै उम्मेदवारले चुनावी फन्डा चलाइरहेका छन् । अघिल्लोपटक सहयोग गरेको एमालेले पनि महतोविरुद्ध उम्मेदवार खडा गरेको छ । एमाले–जसपा गठबन्धनबाट एमालेका राजनारायण साह चुनावी मैदानमा छन् । महतो सत्तारूढ र एमाले–जसपा गठबन्धनको चेपुवामा छन् । हालसम्मका निर्वाचनमा अपराजित यादव सत्तारूढ गठबन्धनको साथ पाएपछि ढुक्क देखिन्छन् । महतो धनुषा ३ बाट सुरक्षित स्थान ठान्दै सर्लाही २ झरेका हुन् । धनुषा ३ मा लोसपाकै अनिल झा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेको समर्थनमा महतो निर्वाचित भएका थिए । एमालेले अहिले जुलीकुमारी महतोलाई अघि सारेको छ ।

 

सत्तारूढ गठबन्धन र जसपाले मित्रवत् प्रतिस्पर्धाको नीति लिए पनि चुनावी प्रतिस्पर्धा ‘शत्रुता’मा परिणत भएको छ । एकले अर्कालाई खुइल्याउने र आफूलाई राम्रो देखाउने अभ्यास सर्लाही २ मा देखिन्छ । जसपाले एमालेसँग गठबन्धन गरेपछि लोसपाले सत्तारूढ गठबन्धनसँग चुनावी तालमेल गरेको हो । तालमेलअघि नै सर्लाही २ माओवादीको भागमा परेको थियो । यादव जसपामा हुँदा पनि सत्तारूढ गठबन्धनकै नेता थिए । जसपा विभाजत हुँदा उनी डा. बाबुराम भट्टराईतिर लागेका थिए । भट्टराई र यादव दुवै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष छन् । माओवादीको चुनाव चिह्न लिएर नेसपा निर्वाचनमा होमिएको छ । यादव हँसिया–हथौडा र महतो आफ्नै दलको चुनाव चिह्न साइकल लिएर मैदानमा होमिएका छन् । यद्यपि, दुवै नेताले मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन् ।

मधेसमा अहिले अधिकांश पूर्वमन्त्री र अध्यक्ष असुरक्षित देखिन्छन् । मधेसकेन्द्रित दलका नेताहरू मधेसमुखी नभएर सत्तामुखी भएको आरोप उनीहरूमाथि छ । पटक–पटक मन्त्री भए पनि जनताको अवस्थामा कुनै सुधार हुन नसकेको मतदाताको गुनासो छ ।

 

‘पूर्वसहकर्मीको प्रतिस्पर्धा मित्रवत् नै हुन्छ । हामी स्वच्छ निर्वाचन लड्छौँ ।’ महतोले भने । गठबन्धनले पहिले नै क्षेत्र निर्धारण गरिसकेको अवस्थामा महतो आएको यादवको बुझाइ छ । गठबन्धनको साथमा निर्वाचन जित्ने उनी बताउँछन् । ‘हामी मित्रवत् प्रतिस्पर्धा गर्छौँ । गठबन्धनको तर्फबाट सुरुमै मेरो नाममा सहमति भइसकेको थियो । उहाँ पछि आउनुभयो । गठबन्धनको निर्णयअनुसार नै मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’


संसदीय निर्वाचनमा दोस्रो भेट
मधेसकै एजेन्डा अघि सारेर राजनीति गरेका यादव र महतोको चुनावी प्रतिस्पर्धा यो पहिलो होइन । नौ वर्षअघि पनि यी दुई नेता निर्वाचनमा आमनेसामने भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवसँग सद्भावना पार्टीका अध्यक्ष महतो पराजित भएका थिए । यादव ११ हजार पाँच सय ३४ मत ल्याएर विजयी हुँदा महतो दुई हजार सात सय ४४ मतान्तरले पराजित भएका थिए । चुनाव हारे पनि कटुबोलीका कारण महतो सधँै चर्चामा रहिरहेका थिए । एमालेका रामनारायण साह आठ हजार तीन सय ४८ मतसहित तेस्रो भएका थिए । यसपटकको निर्वाचनमा तीनैजना उम्मेदवार भिड्दै छन् । यादवलाई सत्तारूढ गठबन्धन र साहलाई जसपाको साथ छ । 


संसदीय इतिहास
यादव वामपन्थी पृष्ठभूमिका नेता हुन् । उनले पञ्चायतविरूद्ध भूमिगत राजनीति गरेका थिए । २०४८ देखि नै यादव संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०४८ मा नेपाल मानन्धर पार्टीबाट निर्वाचन लडेका यादव सर्लाही १ बाट पराजित भएका थिए । त्यसपछि सोही क्षेत्रबाट यादव २०५१ र २०५६ मा एमालेबाट निर्वाचित भए । २०६४ पछि उनले मधेसकेन्द्रित राजनीति सुरु गरेका हुन् । २०६४ मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उनी समानुपातिक सांसद थिए ।


महतोले २०४८ देखि राजनीति थालेका हुन् । नेपाल सद्भावना पार्टीबाट उनको राजनीति यात्रा अघि बढेको हो । राजनीतिअघि महतो व्यापार–व्यवसायमा थिए । राजनीतिक जीवनको सुरुवातदेखि नै महतोले निर्वाचन लड्दै आएका छन् । 


सर्लाही २ बाट २०४८ को संसदीय निर्वाचनमा महतो पराजित भएका थिए । २०५१ पनि उनले जित्न सकेनन् । तेस्रो प्रयासमा २०५६ मा भने उनी निर्वाचित भएका थिए । त्यतिवेला उनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई हराएका थिए । निर्वाचन जितेर मन्त्री बन्न सफल महतो २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । २०६४ मा नेपाल सद्भावना पार्टी फुटेर बनेको सद्भावना पार्टीबाट उनी संविधानसभामा तत्कालीन सर्लाही ४ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा यादवसँग पराजित भएका थिए ।


यादव र महतो दुवै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा फरक निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । यादवले सर्लाही २ बाट कांग्रेस उम्मेदवार जंगीलाल रायलाई पराजित गरेका थिए । महतोले धनुषा ३ बाट कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक महतो अनिल झालाई धनुषा ३ छोडेर सर्लाहीमै फर्किएका छन् ।


को कति बलियो ?
स्थानीय तह निर्वाचनमा सर्लाही २ का आठवटै पालिकामा प्रमुख पद कांग्रेसले जितेको छ । यो निर्वाचन क्षेत्रमा पर्ने ४९ वटा वडामा कांग्रेसका उमेदवारले २४ हजार ६२०, माओवादीले सात हजार सात सय ३७ र एकीकृत समाजवादीले दुई हजार दुई २१ मत ल्याएका थिए । अर्को गठबन्धनतर्फ जसपाका वडाका उम्मेदवारले १९ हजार ६४२ र एमालेका उम्मेदवारले सात हजार सात सय १५ मत ल्याएका थिए । लोसपाका वडाध्यक्षको मत भने जम्मा १२ हजार तीन सय ६६ मात्र छ । जब कि सत्तारूढ गठबन्धनको पक्षमा ३४ हजार पाँच सय ७८ र एमाले–जसपा गठबन्धनको पक्षमा २७ हजार तीन सय ५७ हजार मत छ । दुवै गठबन्धनको भन्दा महतो लोसपा धेरै पछाडि छ ।


विश्लेषक रोशन जनकपुरी भन्छन्, ‘दुवैले पार्टीमा प्रभाव बनाए । तर, स्थानीयस्तरमा प्रभावशाली देखिएनन् । यादवको चुनाव जितिहाल्ने रेकर्ड छ । अहिलेको चुनावमा यादव र महतोको टक्करको स्थिति छ । गठबन्धनको उम्मेदवार भएका कारण पनि कुनै आकस्मिक भएन भने यादवको स्थिति अलि बलियो देखिन्छ । महतोको धरातल कमजोर छ । जमिनसँग जोडिएका यादव नै हुन् । महतो अस्थिर पनि देखिए । सर्लाहीबाट चुनाव लडे र हारे । फेरि धनुषाबाट चुनाव लडे । फेरि सर्लाही फर्किएका छन् ।’


सरकारमा यादव र महतो
२०६२/०६३ को जनआन्दोलनपपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महतो उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा पहिलोपटक सरकारमा गए । त्यसपछि उनी पटक–पटक मन्त्री भए । प्रथम संविधानसभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा र माधवकुमार नेपालको सरकारमा समेत वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए । डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री थिए । पछिल्लोपटक ओली नेतृत्वको सरकारमा महतो उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री भएका थिए ।


यादव पनि पटक–पटक मन्त्री बन्ने नेताको सूचीमा पर्छन् । २०५४ मा राज्यमन्त्री भएर सरकारमा प्रवेश गरेका यादवले सिँचाइमन्त्री, उद्योग, सामान्य प्रशासन र कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । दुवै नेताले मन्त्री हुँदा प्रभावकारी काम गरेको दाबी गरेका छन् । तर, मधेस प्रदेशका पूर्वप्रमुख तथा राजनीतिक विश्लेषक राजेश अहिराज काम गरेरभन्दा भोजभतेरले जितहारको अवस्था रहँदै आएको बताउँछन् । दुवै नेता दलकेन्द्रित मात्र भएको अहिराजको तर्क छ ।

 

‘विकास गरेर चुनाव जित्नेभन्दा पनि भोजभतेर खुवाएर, जातीय, क्षेत्रीय नारा दिएर चुनाव जित्ने हुन् । यिनीहरू एकअर्कासँग जित्ने र हार्नेमा पर्छन् । फलानोभन्दा मैले राम्रो काम गरेँ भनेर जित्ने होइन । पूरा सर्लाहीभर यादव र महतोले केही विकास गरेका छैनन् । एउटा राम्रो सडक, एउटा राम्रो अस्पताल कतै भेटिँदैन । यिनीहरू दलका नेता भए, तर देश र जनताका नेता हुन सकेनन् । दल फेर्दै मन्त्री भए । तर, दुवैले देश र जनताका लागि के गरे भन्ने प्रश्न छ ।’ अन्य पार्टी र मधेसका लागि राजनीति गर्छु भन्ने पार्टीमा केही फरक नभएको उनको दाबी छ । भन्छन्,‘ठूला पार्टीले मधेसलाई इग्नोर गरेजस्तै यिनले पनि गर्ने हो भने मधेसले चिन्तन गर्ने वेला भयो । मधेसमा अहिले अधिकांश पूर्वमन्त्रीहरू, अध्यक्षहरू असुरक्षित छन् । मधेसकेन्द्रित दलका नेताहरू मधेसमुखी नभएर सत्तामुखी भएका कारण उनीहरूको सामाजिक स्वीकृति गुम्दै गयो । पटक–पटक मन्त्री भए पनि जनताको अवस्थामा कुनै सुधार हुन सकेन ।’ 


संसद् विघटनमा पक्ष–विपक्ष
तत्कालीन प्रधानमन्त्री केपी ओलीकै कारण मधेसकेन्द्रित दल एक भएर बनेको जसपा ओलीकै कारण विभाजित भयो । ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेपछि यादव सडक संघर्षमा उत्रिए । तर, महतो भने ओली सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री बने । जसपाको एउटा पक्ष सडकमा र अर्को पक्ष सरकारमा भयो । त्यही कारण जसपा विभाजित बन्यो । जसपामा विवाद उत्कर्षमा पुग्दा राजेन्द्रले अध्यक्ष महन्थ ठाकुर र महिन्द्रले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका थिए । देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न महिन्द्रले पनि हस्ताक्षर गरेका थिए । महतो पनि अहिले सत्तारूढ गठबन्धनकै कित्तामा आइपुगेका छन् । तर, पनि यादव र महतो चुनावी प्रतिस्पर्धामा छन् ।