• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विनोदविक्रम केसी 
२०७९ मङ्सिर ३ शनिबार ०८:४७:००
साहित्य

कविता : चुनावमा 

२०७९ मङ्सिर ३ शनिबार ०८:४७:००
विनोदविक्रम केसी 

चुनावमा
    पैसा, असत्य र बान्ताको खोलो बग्छ 
चुनावमा 
    मखुन्डोहरूले रगत–मासु धारण गर्छन् 
चुनावमा 
    झुटहरूले नाङ्गै नाच्ने आदिम तिर्खा मेट्छन् 
चुनावमा 
    घोषणापत्र र ट्वाइलेट पेपर 
    एकअर्कालाई हेरेर मुस्कुराउँछन् 
चुनावमा 
    सिकारी मृगलाई मुसार्छ प्रेमले 
चुनावमा 
    आततायीहरूलाई बाँसुरी फुक्न मन लाग्छ 
चुनावमा 
    लोकतन्त्रलाई सबैले डार्लिङ भन्छन्, 
    जङ्गबहादुरहरूले समेत
चुनावमा
    हातहातमा चन्द्रमा थमाइन्छ 
चुनावमा 
    अस्थिपञ्जरहरूकोे पनि भोटर लिस्टमा नाम हुन्छ 
चुनावमा 
    हत्याराहरू चक्कुमा अत्तर छर्किंदै प्रेमको भाषा बोल्छन् 
चुनावमा 
    बूढाबूढीका खोकी र दम राष्ट्रिय एजेन्डामा घुस्छन् 
चुनावमा 
    नृशंसहरूलाई प्रेमपत्र लेख्ने जाँगर चल्छ     
चुनावमा 
    उम्मेदवारको बगलीमा बच्चाबच्चीको लिटो पाक्छ 
चुनावमा 
    सपनाको होम डेलिभरी हुन्छ, बिलकुल निःशुल्क 
चुनावमा 
    जीवनका झिनामसिना कुरा सोच्नेलाई देशनिकाला हुन्छ 
चुनावमा 
    हाडमासुको जिउँदो मान्छे फगत एक भोटमा पसाङ्ग्रिन्छ 
चुनावमा 
    चुनाव आफ्नो विकल्प नभएको दाबी पेस गर्छ 
चुनावमा 
    नाराको ऐनामा टुटेफुटेका अनुहारहरू देखिन्छन् 
चुनावमा 
    ठेकेदारले किनिदिएको ब्लसर पोतेपछि 
    लोकतन्त्रको मेकअप सम्पन्न हुन्छ 
चुनावमा 
    संसद्का कुर्सी ठान्छन्, 
    डिमोक्रेसी पुट्ठाहरूको होहल्लामय सम्मेलन हो
चुनावमा 
    ठीक–बेठीकको भेद समाप्त हुन्छ 
चुनावमा 
    दुईचार खसी र असंख्य कुकुर 
    वधशालामा खुकुरीको प्रतीक्षारत हुन्छन् 
चुनावमा 
    विचारको कत्लेआम र दर्शनको हत्याकाण्डलाई 
    गठबन्धन भनिन्छ 
चुनावमा 
    डोजरहरू दाह्रा अर्जापेर गाउँ पस्छन् 
चुनावमा 
    सबैकी डार्लिङ लोकतन्त्र भोक र प्यासले तड्पिरहन्छे 
चुनावमा 
    किन मेरो माइग्रेन चर्किन्छ ?