• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ३ शनिबार ०९:१६:००
खेल

कतारका नेपाली श्रमिक भन्छन्– स्टेडियममै विश्वकप हेर्ने हो

२०७९ मङ्सिर ३ शनिबार ०९:१६:००

चितवनका भूमिराज कार्की कतार बसेको २५ वर्ष पुग्यो । ६ महिना अगाडि उनलाई हृदयाघात भएको थियो । त्यसपछि उनको अप्रेसन गरियो । उनको मुटुमा पेसमेकर राखिएको छ । उनी ६ महिनादेखि नै आराम गरिरहेका छन् । तर, विश्वकपका खेलाडी दोहा उत्रिएको थाहा पाएपछि उनी बेडबाट उठेका छन् । ‘खेलाडी आएपछि मलाई त बेडमा सुतिरहन मन लागेन,’ उनले भने । 

स्वास्थ्य अवस्थाका कारण उनी नेपाल फर्किने योजनामा थिए, तर विश्वकपको कारण उनी बिरामी अवस्थामा पनि कतारमै बसेका छन् । ‘विश्वकप सकिएलगत्तै नेपाल फर्किँदै छु, विश्वकपका लागि मात्रै म यहाँ रोकिएको हुँ,’ उनले भने । 

फिफाले विश्वकपका लागि टिकट खोल्दा कार्की हस्पिटलको बेडमै थिए । उनले अनलाइनमार्फत नै टिकट लिएँ र ‘हाया कार्ड’ लिन स्टेडियम पुगेँ । उनी बिरामी हुन् भनेपछि उनलाई स्वयंसेवकले ह्विलचियरमा राखेर स्टेडियममा हाया कार्ड लिन पुर्‍याएका थिए । 

कार्की ब्राजिल टिमका समर्थक हुन् । उनी सानैदेखि ब्राजिलको समर्थन गर्थे । ‘नेपालमा हुँदा पनि ब्राजिलका लागि धेरै बाजी खेलेको छु,’ उनले भने, ‘अहिले पनि हामीले एक–एक लाखको बाजी राखेका छौँ । कि आउँछ कि जान्छ । उनी नेयमारका प्रशंसक हुन् । ‘अस्ति दुई–तीन दिन त म पनि नेयमारको फोटो छातीमा झुन्ड्याएर कतारको सडक घुमेँ,’ उनले भने । 

चितवन नारायघाटका प्रताप ढुंगाना १८ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । लामो समय कतारमा बिताएपछि नेपाल फर्किने योजनामा रहेका ढुंगाना विश्वकपको मोहले कतारमा नै रोकिएका छन् ।

ढुंगाना पनि ब्राजिल कै समर्थक हुन् । उनलाई सानैदेखि ब्राजिल टिम मन पथ्र्यो । रोनाल्डो उनका प्रिय खेलाडी हुन् । अहिले उनी नेयमारको प्रशंसक हुन् । उनले ब्राजिलको खेल हेर्न आगामी २४ नोभेम्बरको टिकट लिएका छन् । त्यो दिन ब्राजिल र सर्भियाबीच खेल हुँदै छ । 

ढुगांना कतारले विश्वकप आयोजना गर्ने भनेदेखि नै उत्साहित छन् । विश्वकपकै कारण उनले कतारको बसाइ लम्ब्याएको बताउँछन् । ‘लामो पर्खाइपछि कतारमा विश्वकप हुने भएको छ । म धेरै उत्साहित छु । ब्राजिलको खेल हुने दिनको तीव्र पर्खाइमा छु,’ उनले भने । 

ढुगांना बस्ने फ्ल्याटबाटै विश्वकप आयोजना हुने स्टेडियम देखिन्छ । ढुंगानाले आफ्नै कोठालाई ब्राजिलमय बनाउँदै छन् । ‘किनमेल गर्न जाँदै छु, ब्राजिलको झन्डा किनेर ल्याउँछु । मेरो कोठालाई ब्राजिलमय बनाउनु छ,’ उनले फोनमार्फत भने । ढुंगानाले विश्वकपको सातवटा टिकट खरिद गरेका थिए । उनले केही आफन्तका लागि र केही आफ्नै लागि राखेका छन् । 

म्याग्दीका तिलु पौडेल पनि रोजगारीका लागि कतार बस्न थालेको करिब १९ वर्ष भयो । उनी फुटबलका ठूलै समर्थक हुन् । जहिलेदेखि विश्वकप बुझ्ने भए त्यतिवेलादेखि नै उनी ब्राजिल टिमका समर्थक छन् । उनलाई ब्राजिल टिमप्रति अति नै श्रद्धा छ । उनी पनि नेयमारका प्रशंसक हुन् । नेयमारको खेल उनलाई अति नै मन पर्छ । ‘नेयमार सरल छन् । चलाख र इमानदार तरिकाले खेल्छन्,’ उनले भने । 

पौडेलले पनि २४ डिसेम्बरको टिकट लिएका छन् । त्यो दिन ब्राजिल र सर्भियाबीच प्रतिस्पर्धा हँुदै छ । त्यस्तै, उनलाई काम गर्ने कम्पनीले नै ‘हस्पिटालिटी टिकट’ पनि दिएको छ । हस्पिटालिटी टिकट लिएका दर्शकलाई स्टेडियमभित्रै नै आफ्नो सवारीसाधन पार्किङ गर्ने, खाना खाने, वाइनलगायत सबै खालको सुविधा भएको उनले बताए । 

तिलुले जीवनको लामो समय कतारमा बिताए । विश्वकप आयोजना कतारले नै गरोस् भन्ने चाहन्थे उनी । ‘कतारले विश्वकप आयोजना गर्ने मौका पायो भने धेरै नेपालीले अवसर पाउँछन् भनेर पनि मैले विश्वकप कतारले नै पाओस् भन्ने कामना गर्थें,’ उनले भने । बीचमा धेरै अवरोध सिर्जना पनि भए, तर आफूले सधैँ कतारको समर्थन गरेको उनले बताए । लामो समयको पर्खाइपछि कतारमा नै बसेर विश्वकप हेर्ने अवसर पाउँदा उनी अत्यन्तै खुसी छन् । ‘सायदै जीवनमा अर्कोपटक मैले विश्वकप हेर्ने अवसर पाउँछु होला । यदि कतारमा आयोजना नभएको भए पनि अमेरिका र युरोप लगायतका मुलुकमा गएर विश्वकप हेर्ने ल्याकत हामी नेपालीमा छैन,’ उनले भने । त्यसैले पनि कतारमा आयोजना हुनु नेपालीका लागि ठूलो अवसर भएको उनले बताए । जीवनकै पहिलो र अन्तिम अवसर भएको उनले बताए । तिलु स्पेनका डेभिड भिल्लाका ठूला समर्थक हुन् । 

आगामी मंसिर ४ गतदेखि कतारमा आयोजन हुन गइरहेको विश्वकपले कतार तातेको छ । कतारका पार्क, चोक र सडकमा फुटबलप्रेमी समर्थकहरूको घुइँचो लागेको छ । फुटवलप्रेमीहरू आफूलाई मन पर्ने टिमको झन्डा र टिसर्ट लिएर सडकमा निस्किएको भूमिराज बताउँछन् । 

कतारमा रहेको अधिकांश नेपाली कामदारले विश्वकपको टिकट लिएको तिलु बताउँछन् । टिकटको मूल्य भने फरक–फरक छ । कतारले सुरुवातमा टिकट खुलाउँदा सस्तो मूल्य राखेको थियो । तर, अहिले मूल्य बढेको उनले बताए । विशेष गरी ब्राजिल र अर्जेन्टिनाको खेल हुने दिनको टिकट पाउन मुश्किल छ । यो दिनको टिकटको मूल्य नेपाली तीन लाख रुपैयाँसम्म पर्ने उनले बताए । तर, उनले भने यसअघि नै नेपाली ३० हजार रुपैयाँमा टिकट लिएका छन् । 

विश्वकपका लागि कतारले यतिवेला सबै नियम खुकुलो बनाएको भूमिराज बताउँछन् । उनका अनुसार यतिवेला कुनै पनि धर्म, जात वा मुलुकका फुटबल समर्थकले कुनै पनि स्थानमा गएर आफ्ना समर्थकको नाममा हुटिङ गर्न पाउँछन् । नेपालको तर्फबाट गैरआवासीय नेपाली संघ कतारको नेतृत्वमा विभिन्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।  कतार यतिवेला ब्राजिल र अर्जेन्टिनाका समर्थकले भरिएको तिलुले सुनाए । कतारका सडकमा ब्राजिल र अर्जेन्टिनाको झन्डा जताततै टाँसिएका छन् । 

कतारले गरेका सुधार

विश्वका शक्तिशाली मुलुकलाई पछि पार्दै कतारले विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । तर, विश्वका धेरै मुलुकले भने यसमा शंका देखाएका थिए । विश्वका साना मुलुकमध्ये कतार पनि एक हो । यसको पूर्वाधार क्षमता, धर्म र नीति–नियमकै कारण कतारले विश्वकप आयोजना गर्न नसक्ने ठूला मुलुकहरूको दाबी थियो । यसैबीच कतारमा साउदी अरबलगायतका मुलुकले नाकाबन्दी गरेपछि कतारप्रतिको विश्वास झनै खस्कँदै थियो ।

तर, यी सबै चुनौतीसँग सामाना गर्दै कतारले विश्वसामु आफूलाई सक्षम साबित गरेको छ । विश्वकप आयोजनाका लागि कतारले ठूलो रकम लगानीसमेत गरेको छ । त्यति मात्रै नभएर कतारले आप्रवासी कामदारको हकमा पनि धेरै नीति–नियम परिमार्जन गरेको छ । भूमिराज भन्छन्, ‘सन् २०१५ को कतार र अहिलेको कतारमा आकाश–जमिनको फरक छ । कतारले धेरै सुधार गरिसक्यो ।’ कतारले सन् २०१५ मा सबैभन्दा पहिला कामदारको तलबको सुरक्षा गर्ने कानुन ल्यायो । जसअनुसार २०१५ नोभेम्बरमा प्रत्येक महिनाको पहिलो हप्ताभित्र रोजगारदाता कम्पनीले बैंकबाट नै कामदारको खातामा तलब राखिदिनुपर्ने भयो । 

कामदारको हकहितको सुनिश्चितताका लागि ३० अप्रिल २०१८ मा दोहामा आइएलओको कार्यालय खोलियो । श्रममैत्री र बाध्यकारी श्रम हटाउने गरी कतारले नयाँ–नयाँ कानुन जारी गर्‍यो । त्यस्तै, मार्च २०१८ मा तलब नपाएका पीडित कामदारलाई तीन हप्ताभित्रै न्याय दिलाउन श्रम विवाद समाधान समिति गठन गर्‍यो । 

आप्रवासीको कतार प्रवेश, फिर्ती र आवाससम्बन्धी ऐन २०१५ लाई २०१८ मा थप परिमार्जन गर्‍यो । यसले कामदारलाई सम्झौतापत्र समाप्त भएपछि रोजगारदाता परिवर्तन गर्न सजिलो भयो । कामदारले चाहेका वेला रोजगारदाता परिवर्तन गर्न पाउने भए ।