• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवहरि घिमिरे
२०७९ मङ्सिर ३ शनिबार १०:०६:००
सम्झना

सत्यमोहनको चिना जलाउनैपर्थ्यो र ?

२०७९ मङ्सिर ३ शनिबार १०:०६:००
शिवहरि घिमिरे

संस्कृतिविद् सत्यमोहन जोशीको मृत्यु भएकै दिन उनका छोराहरूले जोशीको चिना जलाए । नेवारी परम्परामा मानिसको मृत्युपछि उसको चिना पनि सँगै जनाउनुपर्ने प्रचलन छ । सदियौँ कालदेखिको यो परम्परा जोशीमा पनि लागू भयो । धार्मिक तथा परम्परागत रूपमा हेर्दा जोशीको चिना जलाउनु सही नै लाग्न सक्छ ।

 

मृत्यु संस्कारका हिसाबले यो ठूलो विषय नबन्ला, तर मेडिकल शिक्षा अध्ययनका लागि आफ्नो भौतिक शरीरै दान गरेका जोशीको चिनाचाहिँँ जलाउनैपर्थ्यो र ? प्रगतिशील र आधुनिकतामा बाँचेका जोशीको वास्तविक चिना नजलाउँदा के नै हुन्थ्यो र ? उनको मृत्युपश्चात् वास्तविक चिनासमेत जलाएपछि यसबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

 

कतिपयले उनको परिवारकै गल्ती ठानेका छन् र वास्तविक चिना जलाउनुपर्ने नेवारी परम्परामाथि प्रश्न उठाएका छन् । ‘जब उहाँले आफ्नो शरीरै दान गरेर जानुभयो, त्यत्तिको प्रगतिशील सोच भएको व्यक्तिको चिना जलाउनु गलत भयो,’ पाटनका सुनील महर्जन भन्छन्, ‘शरीर पनि जलाउन नपाइने, चिना पनि जलाउन नपाएपछि मृत्यु भएको कसरी मान्ने भन्ने सोचले उहाँका छोराहरूले सक्कली चिना जलाउनुभएको हो, तर चिना नजलाएको भए के हुन्थ्यो होला र ?’

 

जोशीको चिना ज्योतिषशास्त्रका हिसाबले पनि महत्वपूर्ण मानिने तर्कहरू विभिन्न व्यक्तिहरूले गरेका छन् । जोशीको लामो आयु र सुखी जीवनबारे चिनामा के लेखिएको छ भन्ने कुरा महत्वपूर्ण हुने जानकारहरूको भनाइ छ । अधिकांशले सत्यमोहन लामो आयु बाँच्नुका कारण अनेक हुन सक्ने बताउँदै आएका छन् । त्यसको लागि उनको चिना पनि खोजी र अध्ययनको विषय हुन सक्ने पुस्तकालयविद् इन्दिरा दलीको भनाइ छ । ‘दीर्घजीवन खुब राम्ररी बिताउनुभएको उहाँको चिनामा केही रहस्य हुन सक्छ, त्यसको अध्ययनका लागि उहाँको चिना संरक्षण गर्नुपर्छ,’ उनले भनिन्, ‘अझ उहाँको वास्तविक चिना नै जलाउन हुन्थेन, त्यसको फोटोकपी जलाएको भए राम्रो हुन्थ्यो ।’ उनका अनुसार मानिस सुखी र सफल जीवन बाँच्नुमा चिनाको पनि भूमिका हुन्छ । त्यो चिना ज्योतिषशास्त्र अध्ययनरत विद्यार्थीको लागि अध्ययनको विषय पनि बन्न सक्छ ।

 

जोशीको वास्तविक चिना जलाए पनि त्यसको फोटो भने छ । त्यसमा उनी कुन साइतमा जन्मिए भन्ने विषय खोजीको विषय हुने दलीको धारणा छ । ‘उमेर बुढो हुँदा पनि उहाँको स्मरण शक्ति तेज थियो, राज्यबाट पनि राम्रो सुविधा पाउनुभयो, कर्ममा पनि सफल हुनुभयो,’ उनले भनिन्, ‘त्यसैले उहाँको चिनामा के थियो भन्ने कुरा धेरैलाई जान्न मन लाग्छ ।’ 

 

जोशीको मृत्यु भएकै दिन उनका छोराहरूले चिना जलाएका थिए । चिनाको फोटोलाई प्रिन्ट गरेर म्युजियममा राखिने जोशीका आफन्त अजरमान जोशीले बताए । ‘हाम्रो संस्कारअनुसार मानिसको मृत्युपछि चिना पनि जलाउनुपर्छ, यसबारेमा पुरोहितले पनि जलाउनुपर्ने सल्लाह दिनुभयो,’ उनले भने, ‘त्यसैअनुसार उहाँको चिना पनि जलाइएको हो ।’

 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ पनि वास्तविक चिना जलाउनै नहुने मत राख्छन् । राज्यका लागि योगदान दिएको मात्र नभई लामो र सफल जीवन बाँचेका व्यक्तिको सक्कली चिना संरक्षण नगरेकोमा उनले दुःख व्यक्त गरे । ‘उहाँ आफैँ शरीर दान गरेर जानुभयो, शताब्दी पार गरे पनि सोच आधुनिक थियो, त्यसैले पनि उहाँका परिवारले सक्कली चिना नजलाएको भए हुने,’ गुरुङले भने, ‘चिना जलाउने चलन भए पनि त्यसको टिप्पणी उठाएर जलाउनुपर्थ्यो । सक्कली कागज नै जलाउनु हुन्नथ्यो । कस्ता–कस्ता राजा महाराजाहरूको चिना त अभिलेखालयमा राखिएको छ, उहाँको पनि राख्नुपर्ने थियो ।’