• वि.सं २०७९ मङ्सिर ११ आइतबार
  • Sunday, 27 November, 2022
एसपी ढकाल
२०७९ मङ्सिर ३ शनिबार १०:१२:००
साहित्य

सहिद नभएको रात

२०७९ मङ्सिर ३ शनिबार १०:१२:००
एसपी ढकाल

कथा

देशमा द्वन्द्व उत्कर्षमा थियो । राज्य र विद्रोही आपसमा लडिरहेका थिए । श्याम, कृपा र खिम माओवादी मामुली कार्यकर्ता थिए । उनीहरू गाउँमा बसेर माओवादीलाई सघाउँथे । राज्य पक्षको निगरानीमा थिए उनीहरू । उनीहरूलाई पक्रन दिनहुँ प्रहरी तैनाथ हुन्थे । धेरै प्रयत्न गर्दा पनि प्रहरी सफल भएको थिएन । प्रहरीलाई झुक्याउन, छल्न र थकित बनाउन उनीहरू माहिर भइसकेका थिए ।

 

भाइटीकाको दिन थियो । गाउँमा नाचगान अबेरसम्म चल्यो । रातको १० बजेको थियो । नाचमा श्याम, कृपा र खिम पनि सहभागी थिए । प्रहरी गाउँ नपसेको हप्तादिन भएको थियो । पुलिसले निगरानी बढाएदेखि उनीहरू घरमा सुत्दैनथे । नाच सकिएपछि आ–आफ्नो सेल्टरतिर लाग्ने योजना बनाए । श्याम र खिमसँग टर्च थियो, कृपासँग थिएन । दुईजना आ–आफ्नो गन्तव्यतिर लागे । 

 

चकमन्न अँध्यारोमा हातमा राँको लिएर कृपा घर पुगे । घर पुग्नेबित्तिकै सेल्टरमा सुत्न जाने तयारीमा लागे । तर, सानो छोराले छोड्दै छोडेन । छोराको माया प्रगाढ भएर आयो । कृपाको मन पग्लियो । सानो छोरासँगै घरमा सुते । 

 

केही बेरपछि बाहिर कोही बोलेको जस्तो गुनगुन आवाज आयो । झल्याँल्स ब्युँझिए । ढोका खोल्न भनियो । एकछिन थाहा नपाएजस्तै गरे । ढोकामा हान्न थालेपछि अन्ततः खोल्न बाध्य भए । 

 

कृपालाई प्रहरीले समातिहाले । आँगनमा ओराले । ‘छिटो हतकडी निकाल’ प्रहरी राकेश कड्किएर बोल्यो । हतकडी निकालेर दुवै हात बाँधिदियो । कृपाको ओठमुख सुक्यो । आवाज बन्द भयो । मृत्युनजिकै आएको आभास भयो उनलाई । 

 

‘श्यामेको मतियार तैं होस् । बल्ल फेला परिस्,’ रिसले चुर हुँदै राकेशले भन्यो । गालामा झ्याम्म हान्यो । चारैतिर अन्धकार छायो । सबैजनाले बुटले बेसरी भकुर्न थाले । ऐया ! मरेँ । भन्दै कृपा गल्र्याम्म ढले । मुख र नाकबाट ह्वालह्वाल रगत बगिरह्यो । बाबा ! बाबा ! भन्दै छोराछोरी चिच्याउन थाले । श्रीमती रुँदै कराउन थालिन् । 

 

मृत्यु अब निश्चित भइसक्यो । ‘गोली खाने वा प्रतिकार गरेर मर्ने ?’ कृपाको मनमा द्वन्द्व चल्यो । एक मनले भन्यो ‘फन्दामा परिस् । अब उम्कन सम्भव छैन । आजको दिन नै अन्तिम रहेछ ।’ घरमा श्रीमती अनि छोराछोरी सम्झे । मन भक्कानियो । तप्प दुई थोपा आँसु झारे । मुटु बन्द होला जस्तै गरेर धड्कन बढ्यो । गोली खानुअघि ‘वीर सहिद – लाल सलाम ! जनयुद्ध – जिन्दावाद ! भनेर चर्को स्वरमा कराएर मर्छु । मर्नुअगाडि केही त गर्नुपर्‍यो नि ।’ मनमनै सोचे । ‘राइफल ताकेर मेरो शरीरमा प्रहार हुनेछ । तातो गोली मेरो छातीभित्र प्रवेश गर्नेछ । अनि सदाका लागि अस्ताउँछु । एकाबिहानै लास खोजी होला । अनि सहकर्मी कार्यकर्ताले पार्टीको झन्डा ओढाउलान् । मौनधारणपछि सहिदको सूचीमा नाम थपिएको घोषणा गर्लान् । वातावरण सुनसान र स्तब्ध हुनेछ ।’ आफ्नो मृत्युपछिको अवस्था कृपाले आँकलन गरे ।

 

‘जे गरियो परिवर्तनका लागि गरियो । समानता र न्यायका लागि गरियो । विभेद र उत्पीडनविरुद्ध आवाज उठाइयो । त्यही गरेबापतको पुरस्कार पाउँदै छु मृत्यु । ए कातर ! किन मर्ने मात्रै सोचिस् । साहस गर् न । जाबो दुई–चारजनालाई अमेटर फाल् । कातर न हो न यसरी । मर्नु नै छ भने प्रतिकार गरेर मर् न । त्यस्ता हतकडी चोइट्याएर फाल् । बक्सिङ दे एक–दुईजनालाई । थुतुनो कुच्याइदे । चिबु उडाइदे तेरा दुष्टहरूका ।’ अर्को मनले साहसका लागि उर्दी जारी गर्‍यो । 

 

प्रहरीको लामो प्रयासपछि कृपा पक्राउ परेका थिए । कृपालाई यही गोली हान्ने कि तल खोला किनारमा लगेर मार्ने भन्ने छलफल चल्यो । एकजना प्रहरीले भन्यो, ‘एउटा बल्ल फेला पर्‍यो । यसलाई जंगलीहरूको विशेष योजना थाहा हुन सक्छ । यसलाई अहिले नै गोली नहानौँ । थप केरकार गरौँ । गाउँमा आतंककारीहरूको घर देखाउन प्रयोग गरौँ ।’ प्रहरीले त्यसै गर्‍यो । 

 

कृपालाई अघि लगाएर प्रहरीहरू माओवादी कार्यकर्ताहरूको घर–घर पुग्न थाले । माओवादी कार्यकर्ता तिलकको घर खानतलासी भयो । तिलक बारीको भँैसी गोठमा सुतेकाले बच्यो । ‘खिमको घरमा लैजा ।’ प्रहरी राकेश कड्कियो । ‘खिम कतै घरमै पो सुते कि ! त्यहाँ लिएर गएँ भने बर्बाद हुन्छ ।’ मनमनै बोले कृपा । गाह्रो मानिमानी खिमको घर देखाइदिए । 

 

उता श्याम माइला काकाको गोठमा मस्तसँग सुतिरहेका थिए । दिनभरिको थकान । तिहारको समय । रात छिप्पिसकेकोले सेल्टरमा सुत्न जान सम्भव भएन । त्यो दिन खिम पनि गैरास्थित आफ्नै घरमा सुतेका थिए । राति रुखका पातहरू खसेर खस्य्राकखुस्रुक गर्‍यो कि खिम झस्केर उठिहाल्थे । मनमा विभिन्न कुरा खेलाउँदै राम्रोसँग निदाउन सकिरहेका थिएनन् ।  एक दर्जन प्रहरीसहित कृपा खिमको घरमा पुगे । राकेशले माथिल्लो तलाको ढोका ढकढक्यायो । 

 

‘ओ ! कमरेड ढोका खोल्नु न । हामी आएको क्या ! आफ्नै साथीलाई पनि कस्तो नचिनेको !’ राकेशले माओवादी कार्यकर्ता भएको नाटक गर्‍यो । खिमले झ्यालको पल्ला बिस्तारै अलिकति उघारेर तल हेरे । हतियारसहित प्रहरी देखे । हतपत कराँसापट्टि हामफाले । घरवरिपरि चारैतिर प्रहरीको घेरा थियो ।

 

‘भाग्यो.. भाग्यो.....समात् समात्,’ अत्तालिँदै राकेश करायो । हाम फालेकै ठाउँमा पुगेर खिमलाई दुई प्रहरीले कर्‍यापझ्याप पारे । लामो समयदेखिको योजना सफल भएपछि प्रहरीहरू खुसी भए । 

 

कृपा र खिमलाई बीचमा राखियो । आधा प्रहरी अगाडि र आधा पछाडि । राताघरी अंकलको घर हँुदै तलतिरको बाटो लागे । ‘श्याम कहाँ छ भन् ?’ राकेशले भन्यो । ‘थाहा छैन । कहाँ बस्छ के गर्छ हाम्रो सम्पर्कमा छैन,’ कृपाले भने ।  ‘थाहा छैन भन्छस् ।’ एक–एक मुक्का दुवैजनाले पाइहाले । 

 

रात छिप्पिएको थियो । गाउँ सुनसान थियो । केवल ऐराकेतिर जहारीखोला मात्रै सुसाइरहेको थियो, थकित, निरस र दुःखीजस्तै बनेर । दुवैजना मृत्युलाई पर्खेर बसेका थिए । मध्यरात भएकाले हिँड्न अप्ठ्यारो थियो । उनीहरू बिस्तारै ठूला झर्काको बाटो अगाडि बढे ।

 

अँध्यारोमा हिँड्दा अघिपछि भइरहेको थियो । प्रहरी सुशीलले हतकडी लगाएका कृपा र खिमलाई डोर्‍याएको थियो । चिसापानीआसपासको क्षेत्रमा पुर्‍याएर गोली हान्न सक्ने आन्तरिक तयारी थियो । ‘सामान्य कार्यकर्तालाई समेत गोली हानिहाल्नु राम्रो होइन । उनीहरूको सोचाइ परिवर्तन गर्न सकिन्छ । आखिर दोहोरो भिडन्त पनि त भएको छैन । सहजै नियन्त्रणमा आएका छन् । यस्तो अवस्थामा गोली हान्नु मानवअधिकारविरुद्धको कार्य हो । त्यसैले यिनीहरू भाग्न सके टन्टै साफ हुने थियो,’ सुशीलले मनमनै सोचिरहेको थियो । खोलामा बनाएको सिँढी उक्लिँदै गर्दा उसले मन थाम्न सकेन । खुसुक्क खिम र कृपालाई भन्यो, ‘सक्छौ भने भाग्ने आँट गर, नत्र मर्छौ ।’ ‘कहाँबाट कसरी भाग्ने ?’ दुवैजना यही सोचिरहेका थिए । प्रहरीले समेत यस्तो भनेपछि उनीहरूलाई झनै हिम्मत मिल्यो । 

 

माइला बाजेको घरनजिक पुग्दा अलिकति घुम्ती बाटो थियो । अगाडि लागेका प्रहरीहरू घुम्ती कटिसकेका थिए । अँध्यारो र खोल्सो भएकाले पछाडिका प्रहरी पछाडि नै थिए । त्यही समय उनीहरूले अनुकूल देखे । गाउँमा खिमलाई बोलाउने नाम माइला थियो । दुवैजनाले कानेखुसी गरे । ‘माइला ...भागौँ ।’ हतकडीसहित दुवैजना ठूलो कान्लोबाट हामफाले ।

 

प्रहरीले अन्धाधुन्द सयौँ राउन्ड गोली फायर गर्‍यो । अँध्यारोमा हानेको गोलीको कुनै पर्वाह भएन । अगाडि मौवाखोला थियो । मौवा खोला दिउँसै पार गर्न जोकोहीको हिम्मत पुग्दैन । प्रहरी अगाडि बढ्न सकेन । उनीहरू एकले अर्कालाई दोष लगाउँदै आपसमा झगडा गर्न थाले । 

 

कृपा र खिम मुटु फुट्ने गरी कुदे । मौवाखोलामा सीधै हामफाले । उनीहरूलाई ज्यानको कुनै वास्ता थिएन । हामफाल्दा कुकुर डइनाको लहरा मात्रै हात लाग्यो । छिनेको पिङको डोरीमा झुन्डिएझैँ लहरामा झुन्डिएर खोलाको सतह भेटाए । मौवाखोलाबाट उक्किए । रातामाटा डाँडा काटेर रेशमखोलाको किनार हुँदै उकालो लागे ।

 

झन्डै एक घन्टा दौडिएपछि घारीखोला जंगलमा गएर राम्रोसँग सास फेरे । एकले अर्काको हतकडी ढुंगाले चोइट्याएर फाले । केही समय सुस्ताएपछि आचार्यकोट पुगे । जीवन र राजनीतिक संघर्षका कुरा गर्दै त्यो रात दुवैजना निदाएनन् ।