• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विराट अनुपम
२०७९ मङ्सिर ३ शनिबार १०:२३:००
यात्रा

दुईहप्ते मुन्धुमी सफर विराट अनुपम

२०७९ मङ्सिर ३ शनिबार १०:२३:००
विराट अनुपम

यात्रा

 

खोटाङ र भोजपुरमा रहेको मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि प्रदेश १ सरकार र स्विस सरकारले लगानी गरेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका मुन्धुमी गन्तव्यहरूको प्रवर्द्धनको काममा अहिले तेह्रथुमको लालीगुराँस नगरपालिका सक्रिय छ । नेतृत्व गरेका छन्, मेयर अर्जुनबाबु माबुहाङले । 

सभापोखरी किनार

पदमार्गको खाका तयार गर्न, पर्यटन म्याप बनाउन, जैविक विविधताको लेखाजोखा गर्न र स्थानीयहरूको भावना बुझ्न भदौ १२ गतेबाट मुन्धुमी सफर सुरु भयो । चोःलुङ पार्क, मेन्छ्यायेम, असाङलुङ, सेमसेमलुङ, फत्ताङ्लुङदेखि केलाङ सित्लाङसम्मको रुट तय भयो । तेह्रथुमको वसन्तपुरको चोःलुङ पार्कदेखि ताप्लेजुङको फत्ताङलुङ (कुम्भकर्ण) हुँदै कंचनजंघा आधार शिविर (केलाङ सित्लाङ)सम्मको यात्रामा २१ सदस्य टोली तयार थियो । 

 

वसन्तपुरमा बिहानको चियाको चुस्की लगाएर यात्रा सुरु भयो । यात्रामा वनस्पतिविज्ञ कमल मादेन, चीनमा वातावरण विज्ञानमा विद्यावारिधि गर्दै गरेका दीपक खड्कालगायतका अनुहार सहभागी थिए । गाइडको काम वसन्तपुरकै जनशक्तिबाट भएको थियो । कासाङ शेर्पाले यात्राको व्यवस्थापन गरेका थिए । खान्तेपिन्तेदेखि भारी बोक्ने साथीहरूको नेतृत्व लुम्बा माइला नामले चिनिने रामबहादुर तामाङले गरेका थिए । मकालुदेखि कंचनजंघा आधार शिविर हुँदै तमोरको दोभानमा विदेशी राफ्टिङ यात्रीहरूलाई व्यवस्थापन गरिसकेको लुम्बा माइला सबैभन्दा अनुभवी थिए । उत्तिकै रसिक पनि । २१ जनाको टोली व्यवस्थापन उनलाई कुनै सकस नभएको उनको तर्क थियो । 

 

‘वरक’ सर्किटमा वरपर
लिम्बू भाषामा पोखरीलाई वरक भनिन्छ । हाम्रो यात्रा वरक सर्किटजस्तै भयो । यात्राको सुरुदेखि लगभग अन्तिमसम्म वरकैवरक आए । चोःलुङ पार्कमा निर्माण गरिएको कृत्रिम पोखरी दर्शनबाट सुरु भएको यात्रा गुफा बजारमा आउँदा गुफा पोखरी भेटियो । गुफा पोखरी आउनुअगाडि लामपोखरी आयो । गुफाबाट पैदल यात्रा सुरु हुँदा पनि थुप्रै पोखरीहरू आए । 

संखुवासभाको गुफा पोखरी

खोपिङ पोखरी, जलजले पोखरी, सभापोखरी, बन्दुके पोखरी, काला पोखरी, जम्ले पोखरी, गोसा पोखरी, शिवशरी पोखरी, राते पोखरी, ढाँडे पोखरी, साझु पोखरी, रुपाडाँडा पोखरी, भूत पोखरी र सोदु पोखरी दुईहप्ते यात्राको दौरानमा भेटिइरहे । 

 

पोखरीमाझ सबैभन्दा धेरै लोकप्रिय पोखरी सभापोखरी हो । ४१५० मिटर उचाइमा रहेको पोखरीमा हरेक वर्ष हजारौँ तीर्थालुहरू पुग्छन् । लिम्बू भाषामा सया वरक भनिने यो पोखरीमा वर्षमा दश हजारभन्दा बढी आगन्तुक पुग्ने अनुमान गरे गिद्दे (३६६१ मिटर)मा गोठ सञ्चालन गर्ने फुर्वा शेर्पाले । चारैतिर पानी र बीचमा आइल्यान्ड रहेको पोखरीमा पूजास्थल त्यही आइल्र्यान्डमा छ । हाम्रो ३६ घन्टे सभापोखरी किनारको बसाइँको दौरानमा बैठकसमेत भयो । लालीगुराँस नगरपालिकाको बैठकमा मुन्धुमीमार्गको महŒव र प्रवर्द्धनका कुराहरू उठे ।

 

गुराँसको राजधानी भनिने टिएमजे क्षेत्रमा विज्ञहरूसँगको यात्रामा केही कुरा विनिर्माण भए । लालीगुराँसको राजधानी पुग्ने गेटवे वसन्तपुर बजारमा ठड्याइएको लालीगुराँसस्तम्भमै प्रश्न उठे । वनस्पतिविज्ञ कमल मादेन भन्दै थिए, ‘लालीगुराँस भनेर राखिएको स्तम्भ लालीगुराँसकै होइन । गुराँसको चाहिँ हो । यो रोडोडेन्ड्रन हर्सोनाइस प्रजातिको गुराँस हो । लालीगुराँसको हैन । फूल र बोटको आकार हेरेर थाहा पाइहालिन्छ ।’ मादेनले पशुपक्षीको विष्टादेखि बोटविरुवाको पात हेरेर प्रजातिहरू पत्ता लाउँथे । तीनजुरेमा हाब्रे पाउने कुरा बिस्टाबाटै थाहा भएको सुनाए । यात्रामा मादेनले टिएमजे क्षेत्रमा थप दुई गुराँस पत्ता लगाए । गुराँसको पात हेरेर उनी भन्दै थिए, ‘देशका ३२ गुराँसका प्रजातिमा २८ टिएमजेमा पाइएको थियो । अब ढुक्कले ३० प्रजातिको भन्न सकिन्छ ।’ 

 

असाङलुङको यात्रुलाई धोका 

 

भदौ १२ देखि २५ गतेसम्म भएको यात्राले चोःलुङ पार्कदेखि कञ्चननजंघा आधार शिविर (केलाङ सित्लाङ) छिचोल्नुपर्ने थियो । २१ जनाको हिँडाइको लय र निरन्तरको झरिको लयले यात्राको लय नमिल्ने छाँटकाँट आयो । पहिलो दोस्रो दिनको १२ घन्टे हिँडाइले पनि धेरै दूरी तय नभएपछि सहभागीको तर्क आयो, आधार शिविर पुग्न सकिन्न । ओलाङचुङगोलाबाटै फर्किनुपर्छ । एक हप्ता हिँडेपछि यसमा सम्पादन भयो– ओलाङचुङ होइन तोक्पेगोलाबाटै फुङफुङे (फङफङदेन) झरना हुँदै गाडीबाट फिर्नुपर्छ । भयो पनि त्यस्तै । भारी बोक्ने केहि साथीको खुट्टा सुन्निनु, शिवशरी (४३५४ मिटर)मा राति २ बजेपछि तम्बुमा पानी पसेर हैरान हुनु, विज्ञको अध्ययन र हिँडाइ दुवैको लय ढिलो हुनु आदि कारणले हाम्रो यात्राले पूरा सर्किट पार गर्न सकेन । 

ताप्लेजुङको तीनपोखरी

ओलाङचुङगोला र आधार शिविरको

 

सट्टामा झरना प्याकेज नयाँ गन्तव्य बन्यो । हाम्रो यात्रा सोचेजस्तो नभएपछि हामीले भन्यौँ, ‘असाङलुङले हामीलाई धोका दियो । हामीले फत्ताङलुङ र केलाङ सित्लाङलाई ।’ लिम्बूहरूको धामी देउतासँग जोडिने अग्लो आकर्षक ढुंगेपत्थर हो असाङलुङ । मन्धुममा वर्णन गरिएको यो मुन्धुमी ल्यान्डमार्कको एक झल्को दर्शक र एक क्लिक लिन हामीले खम्बुलेमा एक दिन एक रात बितायौँ । आकाश खुलेन । हामी अगाडि लाग्यौँ र पुग्यौँ सभापोखरी । 

 

अर्जुनबाबु माबुहाङले मुन्धुमी कनेक्सन सुनाउँदै गए । यस्तो लाग्थ्यो, माबुहाङलाई एक–एक पहाडको मुन्धुमी जानकारी छ । र, त्यही जानकारी दिने विषय शिक्षकको रूपमा उनले २१ जनाको टोली हाँकिरहेका थिए । उनी मिल्के डाँडामा पुग्दा भन्दैथिए, ‘किपटमा यसको नाम मिल्कु छ । यहाँ ताप्लेजुङ र संखुवासभाको लिम्बुहरूको ठूलो मुद्धा थियो । अहिलेसम्म टुंगो लागेको छैन ।’ सभा पोखरी पुगेपछि उनी भन्दै थिए, ‘यो त साँवा लिम्बुहरूको किपट क्षेत्र हो ।’ आफ्नो क्षेत्रको कथामा कमल मादेन उत्तिकै पोख्त देखिए । उनी भन्दै थिए, ‘सन् १९६२ सेप्टेम्बरतिर जापानीहरूले यही रुट भएर धेरै बनस्पतिको नमुनाहरू जापान लगेका थिए । उनीहरू बस्तपुर हुँदै यात्रा गरेका थिए ।’ उनले जोसेफ डाल्टन हुकरको पूर्वी नेपाल यात्राको दुई शताब्दी अगाडिको कहानी उत्तिकै मज्जाले सुनाए । 

 

चालकको भावुक तर्क 

 

पैदल यात्रा सकिन एक दिन बाँकी थियो । टोली तोक्पेगोलाबाट पापुङ गाउँतर्फ ओर्लिँदै थियो । पापुङ आउन नसकेपछि हाम्रो टोली शेर्पाहरूले भन्ने ब्याङफुक्पा ओडारमा बस्ने भयो । अरू वेला भारी बोक्ने साथीहरू धेरै अगाडि आउँथे । खान्तेपिन्ते तयारी, तम्बु टाँग्ने अनि आगो बाल्ने काममा सक्रिय हुन्थे । भदौ २१ गतेको रुटिन अदलबदल भयो । साथीहरू कोही छिटो आए । कोही आएनन् । तोक्पेगोलाबाट आएका स्थानीय शेर्पाहरूलाई सोधियो, ‘हाम्रा भारी बोक्ने साथीहरू देख्नुभयो ?’
‘माथि देखेको थियो ।’
‘कतिजना थिए ?’
‘चार जना मन्छे थियो । तीनटाले लट्ले घच्दा नि बोलेन । मरेको हो कि बाँचेको थाहा भएन । एउटाचाहिँ बोल्यो ।’

 

शेर्पा भाइले ल्याएको खबर टिममा फैलियो । हिलिमा झरना र मेवा खोलाको पृष्ठभमिमा बसेको ओडारमा आएको यो खबरले कमल मादेन सुर्ताए । भने, ‘झोलाको रक्सी खाएर मातेको देखियो । त्यहाँ त जता लढेनी खोलामै पस्ने हो । पसेपछि बाँच्ने संभावना छैन । काठमाडांैबाट ताप्लेजुङ तारिख धाउनुपर्नेजस्तो छ ।’ अजुर्नबाबु माबुहाङमा पनि उत्तिकै चिन्ता थपियो । टोली नेता कासाङ शेर्पाले चार जना बलिया भारी बोक्ने साथीहरूलाई उनीहरू भएतिर पठाए । दुई घन्टापछि उनीहरू बोक्दै सकुसल आएपुगेपछि चिन्ता दूर भयो । 

ताप्लेजुङको मुन्धुम गन्तव्यमा पर्ने साजु पोखरी

हाम्रो १३ जनाको टोलीले नबजेमा गाडी पायो । को.१ज १६४८ नम्बरको गाडीका चालक थिए, सविन कोइराला । उनले दोभानदेखि उकालो केही समय गाडी हाँके । केहीसम्म जस्तो ठाउँमा केही दोकान आए । उनी दोकानमा पसे । पस्नुअगाडि हात जोड्दै हामीलाई भने, ‘सर यदि मदन भण्डारी जीवित भएको भए उनको जन्मथलोमा यस्तो खराब बाटो हुँदैनथे । मैले र तपाईंले दुःख पाउने थिएनौँ ।’ 

 

यति भनेर पसल छिरेका उनी मदिरा थप्न थाले । मदिरा थपेपछि स्टेरिङ समाउन थालेका कोइरालाले भित्तामा ठोकाउन खोज्ने, छेउमा झार्न खोज्ने शैलीले गाडी चलाउन थाले । आफ्नो लयले होइन, प्यासेन्जरको लयले छेउभित्तो थाहा पाउन थाले । केही अगाडिसम्म मदन भण्डारी नभएर बाटो खराब भएको भावुक तर्क गर्ने उनले अहिले हामीलाई नै मदन भन्डारी बनाइदिने जोखिम बढाए । हामीले पैदल हिँड्ने निर्णय गर्‍यौँ । साढे एक घन्टा तेस्रो यात्रा सकेर हामी साँघु पुथ्यौँ । राति दुई बजे भात खाइसकेर हामी भोलि वसन्तपुर जाने गाडी चढेर यात्रा विश्राम लिने कल्पिँदै निदायौँ ।