• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रीलोचन राजोपाध्याय
२०७९ मङ्सिर १० शनिबार ०६:४७:००
खेल

कतार विश्वकपको रोचक कथा

२०७९ मङ्सिर १० शनिबार ०६:४७:००
श्रीलोचन राजोपाध्याय

विश्वकप आयोजना गर्ने कतार तेस्रो एसियाली तथा एकलौटी रूपमा आयोजना गर्ने पहिलो एसियाली मुलुक हो । बिहीबारसम्म समूह चरणमा केही अप्रत्याशित नतिजा निस्किए । एक महिनासम्म चल्ने विश्वकपमा यस्तै कल्पनाविपरीत नतिजा आउने पक्का छ । यसपटकको विश्वकपमा सबैले फरक किसिमको अनुभव गरेका छन् । गर्मीमा नभएर जाडो मौसममा विश्वकप हुनु, एसी जडान रंगशाला बनाइनु र अर्बौँ डलर लगानी भएको विश्वकपलाई धेरैजसोले फरक विश्वकप भनेका छन् । 


समर्थकलाई समेत नियम
कतार मध्यपूर्वी एसियाको मुस्लिम राष्ट्र हो । कुरानमा जे उल्लेख छ, उनीहरू त्यही नै पालना गर्छन् । यो सन्दर्भ जोड्नुको एउटै मात्र कारण हो, कतार विश्वकपको नियम । आयोजक कतारले विश्वकप अवधिभरिका लागि विभिन्न नियम बनाएको छ । यसले कतार विश्वकप नै खल्लो बनाएको आभास हुन्छ । विश्वकप सुरु भएको एक साताभित्र यसको प्रभाव देखिएको छ । युरोपेली, दक्षिण तथा उत्तरी ल्याटिन अमेरिकासँगै अफ्रिकन राष्ट्रका समर्थकहरूले पाइलैपिच्छे नियमको सामना गरिरहेका छन् । दोहामा आफ्नो राष्ट्रलाई समर्थन गर्न मात्र नभएर उनीहरू भरपूर मनोरञ्जन लिने उद्देश्य बोकेर पनि आइरहेका हुन् । 


तर, उनीहरूले सोचेजस्तो वातावरण दोहामा पाएका छैनन् । जहाँ गए पनि कुनै न कुनै नियमले पछ्याएको हुन्छ उनीहरूलाई । र, मिडियामा भन्छन्, ‘उफ टु मच रुल ।’ अर्थात् नियम धेरै भयो । युरोपेली र दक्षिण अमेरिकन समर्थकले फरक अनूभूतिका साथ खेल हेरिरहेका छन् । युरोप र दक्षिण अमेरिकाका समर्थकको चर्चा नै किन भइरहेको छ भन्ने प्रश्न उठ्न सक्छ ? विश्वकप मात्र नभएर अन्य फुटबल प्रतियोगितामा समेत उनीहरूको उपस्थितिले वातावरणमै फरक बनाउँछ । विश्वकपमा युरोप र दक्षिण अमेरिकाबाट धेरै टोली छनोट हुन्छन् । जहाँ विश्वकप आयोजना हुन्छ, त्यही टोलीलाई समर्थन गर्न पुग्छन् । 


उनीहरू परिवार वा साथीहरूसँग विश्वकप हेर्न पुग्छन् । र, त्यहाँ दिल खोलेर मनोरञ्जन लिन्छन् । रंगशालामा बियरको चुस्की लिँदै फुटबल हेर्छन् । हार खप्न नसक्दा विपक्षी टोलीका समर्थकलाई कुट्छन् पनि । यो व्यवहार देखाउनमा इंग्लिस र जर्मन समर्थक माहिर छन् । अझ इंग्लिस समर्थकलाई विश्व फुटबलमा ‘हुल्याहा’ नै भन्छन् । इंग्लिस समर्थकले प्रत्येक विश्वकपमा उत्पात नै मच्चाउँदै आएका छन् । मैदानबाहिरको माहोल तनावग्रस्त बनाउन खप्पीस छन् उनीहरू । तर, कतारमा यस्तो कार्य गर्न कम्तीमा सयपटक सोच्नुपर्छ ।


कतारले स्पष्ट भनेको छ, ‘रंगशालामा वातावरण खलबलाउन र उपद्रो मच्चाउन पाइन्न ।’ सम्भवतः कतारको यसै नियमकै कारण चारपटकको विश्व च्याम्पियन जर्मनी बुधबार एसियन राष्ट्र जापानसँग २–१ ले स्तब्ध हुँदा पनि जर्मन समर्थक खालिफा रंगशालाबाट सामान्य नतिजाझँै सम्झेर फर्किए । यदि यस्तो नतिजाको खेल अन्य महादेशमा भएको भए सुरक्षाकर्मीलाई जर्मन समर्थक नियन्त्रणमा लिन हम्मेहम्मे हुन्थ्यो । इंग्लिस समर्थकपछि रंगशालाभित्र हुलदंगा र उपद्रो व्यवहार गर्नेमा जर्मन समर्थक नै हुन् । 


विगतमा जर्मन समर्थक जापानिज समर्थकमाथि जाइलाग्थे र प्यारापिटका सिट उप्काउँथे । खालिफा रंगशालामा यस्ता केही दृश्य भएनन् । जापानिज दर्शकहरूले खुसी मनाइरहँदा सँगै बसेका जर्मन समर्थक ट्वाल्ल परेर बसे । रिसको ज्वालालाई बाहिर आउन नदिई भलाद्मी दर्शकझैँ रंगशालाबाट बाहिरिए । रंगशालाभित्र वा बाहिर अल्कोहल सेवन गर्न नपाइने गज्जबको नियम कतारले बनाएको छ । विश्वकप उद्घाटनको एक दिनअघि मात्र कतारले खुला रूपमा अल्कोहल बिक्री र सेवन गर्न प्रतिबन्ध लगाएको जानकारी दियो ।

कतारले यसलाई धर्मकै एक अंग भएको बताएको छ । ‘हाम्रो धर्ममा खुला स्थानमा मदिरा र धु्रमपान आदि सेवन गर्न मिल्दैन,’ कतारले भनेको छ, ‘निश्चित स्थानमा मात्र मदिरा सेवन गर्न मिल्छ र लाइसेन्स प्राप्तले मात्र मदिरा बिक्री गर्न पाउँछ ।’ यो निर्णयले समर्थक मात्र नभएर फुटबलकै मुख्य आयोजक फिफासमेत झस्किरहेको छ । विश्वकपमा मदिराकै लागि भनी फिफाले अमेरिकन कम्पनीसँग ७.४ मिलियन पाउन्ड सम्झौता गरेको छ । 


सो कम्पनीलाई मैदानभित्र र बाहिर बियर बेच्ने अधिकार फिफाले दिएको छ । अमेरिकन बियर कम्पनीले करोडौँ डलर आम्दानी गर्ने उद्देश्यका साथ उत्पादन गरिसक्यो । रंगशालाभित्र र बाहिर बियर बेच्न नपाउने भएपछि सम्झौता गरेको फिफा र अमेरिकन कम्पनी द्विविधामा परेका छन् । सम्झौताअनुसार अमेरिकन कम्पनीले मदिरा बिक्री गर्न पाउनुपर्छ । कतारको नियमले उसलाई यो अधिकार दिएको छैन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि विश्वकपमा खुला रूपमा मदिरा बिक्री गर्न पाउनुपर्ने प्रतिक्रिया दिएका छन् । मदिरा खुला हुनुपर्छ भनी फिफा कतारलाई फकाइरहेको छ । तर, कतारले फिफा वा कसैको कुरा सुने पो ।


घुँडासम्म पोसाक
समर्थकहरूले सडक, होटेल, सार्वजनिकस्थल वा रंगशालामा पारदर्शी वा कसिलो लुगा भुलेर पनि लगाउन पाइँदैन । विश्वकपभरि नै कतारी नागरिक र विदेशीले ‘ड्रेसकोड’को पालना गर्नुपर्छ । कतारी महिलाहरूले शरीर छोप्ने लुगा नै लगाउनुपर्छ । कतारले विदेशी पुरुष र महिलालाई समेत ड्रेसकोडको पालना गर्नु भनेको छ । पुरुषको हकमा जंकी किसिमको ‘जिन्स पाइन्ट’ प्रतिबन्ध गरेको छ भने महिलाले रंगशालामा ‘बडी सो’ गर्न पटक्कै मिल्दैन । 


‘बडी शो’को अर्थ अर्धनग्न रूपमा खुसी मनाउनु हो । पछिल्लो नियमले विदेशी महिला समर्थकहरू समस्यामा परेका छन् । उनीहरू ग्ल्यामर्स पाराले फुटबल हेर्छन्, जितमा पारापिटमा उन्माद भएर खुसी मनाउँछन् । उत्तेजित हुँदै ‘बडी सो’ गर्छन् । शुक्रबारबाट दोस्रो चरणको खेल सुरु भइसक्दा महिला दर्शक शान्तपूर्वक म्याच हेरिरहेका देखिन्छन् । यसअघिका विश्वकपहरूमा यस्ता नियम थिएनन् । उनीहरू स्वतन्त्रपूर्वक बडी सो गर्थे । संसारभरिका अन्तर्राष्ट्रिय मिडियाहरूले महिला समर्थकहरूका ग्ल्यामर्स फोटो सुट गर्थे । त्यस्ता फोटो खिच्न नपाउँदा यतिवेला अन्तर्राष्ट्रिय फोटो पत्रकार रिसले चुर देखिन्छन् । 
अहिले धेरैले प्रश्न उठाएका छन्, कतारको ४०–५० डिग्री तापक्रममा विदेशी महिलाले कसरी शरीर नै ढाँक्ने गरी लुगा लगाउन सक्छन् ? कतिपयले यसलाई आयोजकको मूर्खतापूर्ण नियम भनेका छन् । यद्यपि, आयोजकको दाबी पारदर्शी लुगामा मात्र प्रतिबन्ध हो । कतारले यसो भनेपछि इंग्लिस टोलीको खेलाडीका प्रेमिका र श्रीमतीहरूले ‘लगेज’ नै फेरेका छन् । 


कतार आउनुअघि उनीहरूले दर्जनौँ सुटकेसमा गहनादेखि महँगा लुगा प्याक गरेका थिए । मुस्लिम नियमअनुसार त्यस्ता वस्तु प्रयोग गर्न नपाउँदा उनीहरूले रातारात कतार आउन नयाँ सपिङ गरेको बेलायती मिडियाहरूले जनाएका छन् । ‘यो अति हो, हामी विश्वकप हेर्नका लागि जाने हो, त्यहाँ हामी शरीर प्रदर्शन गर्न जाने होइन, फेरि फुटबलमा हुँदैनभएको नियम कहाँबाट आएको हो ?,’ इंग्लिस टोलीका कप्तान ह्यारी केनकी श्रीमतीले ‘द सन’लाई भनिन्, ‘कतारमा मन लागेको लुगा लगाएर हिँड्दा कारबाहीमा परिने डर छ ।’ तर एकाध दर्शकले भने कतारको कडा नियमको विरोध गरेका छन् । उनीहरूले रंगशालामै प्लेकार्ड देखाई भनेका छन्,‘विमेन लाइफ फ्रिडम् ।’


विश्वकप र यौन
विगतमा विश्वकप आयोजकले एक महिनासम्मका लागि यौन व्यवसायकर्मीलाई स्वतन्त्रता दिएको थियो । यौन स्वतन्त्रा दिँदा आर्थिक आम्दानी र असंख्य विदेशी पाहुना पनि आउने लक्ष्य आयोजकले राखेका थिए । ब्राजिल, दक्षिण अमेरिका र रसियाले विश्वकप आयोजना गर्दा यौनकर्मीहरूलाई पूरै छुट दिएको थियो । अझ ब्राजिल र रसियामा सडक र गल्लीमा यौनकर्मीले विश्वकप हेर्न आएका विदेशी दर्शकलाई लोभ्याएका थिए । रसियाले यस व्यवसायबाट मनग्ये पैसा कमायो । तर, कतारमा यस्तो केही पनि हुने वाला छैन । यौनकर्मी र समलिंगीमाथि प्रतिबन्ध लगाएको छ । विश्वकपमा सहभागी आठ राष्ट्रहरूले यसको विरोध गरिरहेका छन् ।
यसप्रकारको गतिविधिमाथि बन्देज गरिएको छ । यो कार्य गर्नु धर्मविपरीत मानिन्छ । यदि कसैले गरेमा सो व्यक्ति फासी वा ठूलो सजायको भागेदारी हुनुपर्छ । यही नियमका कारण कतारमा विदेशी दर्शकले रसिया वा ब्राजिलमा जस्तो अलग आनन्द लिन पाउनेछैनन् ।


फरक मौसममा महँगो आयोजना 
फुटबलका समर्थकलाई यति थाहा छ विन्टरमा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदैन । डिसेम्बर–जनवरीमा विन्टर व्रेक भनी युरोपियन क्लबहरूले प्रिमियर लिग रोक्छन् र खेलाडीहरूलाई आराम दिन्छन् । तर, कस्तो अचम्म ! यसपटक विश्वकप फुटबल नोभेम्बर–डिसेम्बरमै भइरहेको छ । कतार विश्वकप आजसम्मको इतिहासमै एउटा नयाँ उदाहरण बनेको छ । कतार विश्वकपले यस वर्षको फुटबल क्यालेन्डर नै परिवर्तन गरिदियो ।


फिफाले कतार विश्वकप जाडोयाममा हुने घोषणा गर्दा तरंग फैलिएको थियो । त्यति मात्रै होइन, फुटबलप्रति कतारको लगाव र घुसखोरीको चर्चाले पनि विश्व फुटबल तरंगित बनायो । डिसेम्बरमा विश्वकप आयोजना असम्भव मानिएको थियोे । कतारले जुन–जुलाईमा तापक्रम ५० डिग्रीमाथि हुने र यो वेला विश्वकप गर्न नसकिने कारण राख्यो । बरु तापक्रम चिसो हुने मौसम डिसेम्बरमा विश्वकप गर्न तयार रहेको जनायो । आठैवटा रंगशालाका वातावरणलाई जुन–जुलाईजस्तो पारिने कतारको भनाइ थियो । यसका लागि कतारले अर्बौँ रुपैयाँ बगायो । 


अहिले कतारले सबै रंगशालामा ‘एसी’ जडान गरी खेल सञ्चालन गरिरहेको छ । बाहिर ४५ डिग्री भए पनि रंगशालाभित्रको तापक्रम ३० डिग्री तल छ ।खेलाडीहरूले चर्को गर्मीको सामना मैदानमा गर्नुपरेको छैन । साथै, एकै सहरमा विश्वकप भइरहेको यो नै पहिलोपटक हो । विश्वकपमा आयोजक राष्ट्रले कम्तीमा आठभन्दा बढी सहरमा खेल खेलाउनुपर्छ । अचम्म के भने, कतारले दोहा सहरमै विश्वकप गरिरहेको छ ।

एकबाट अर्को रंगशालामा पुग्न एक घन्टा पनि लाग्दैन । विश्वकप इतिहासमा आठैवटा रंगशालाको दूरी एकदम नजिक भएको यो पहिलोपल्ट हो । जनसंख्या र आकारको हिसाबले विश्वकप गर्ने कतार पहिलो राष्ट्र हो ।बजेटको आकारमा पनि यो महँगो विश्वकप हो । अहिलेसम्मको तथ्यांकअनुसार दुई सय २० बिलियन डलर (२८६ खर्ब, ५७ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको छ । कतारले नयाँ मानवनिर्मित आइसल्यान्ड, होटेल, मेट्रो, विश्वस्तरीय होटेलदेखि रंगशाला निर्माणमा खर्च गरेको छ । यसैकारण कतार विश्वकप इतिहासकै महँगो हुन गएको हो । कतारअघि ब्राजिलले १५ बिलियन डलर खर्च गरेको थियो । कतारले विश्वकप आयोजना गर्दै ब्राजिलको रेकर्ड तोड्यो । 


महिला रेफ्री
यसपटकको विश्वकपमा दर्शकले धेरै भिन्नता महसुस गरिरहेका छन् । तीमध्येकै एक हो महिला रेफ्री । विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे । यसपटकको विश्वकपमा छनोट भएका ३६ फिफा रेफ्रीमा तीन महिला पनि छन् । फ्रान्सकी स्टेफनी फ्रापार्ट, जापानकी यामासिता योसिमी र रुवान्डाकी सलिमा मुकानसांगाले खेल सञ्चालन गर्नेछन् । साथै, तीन महिला सहायक रेफ्री पनि विश्वकपका देखिनेछन् । ६९ सहायक रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट समेटिएका छन् ।


फ्रापार्ट फिफा रेफ्रीमध्ये सबैभन्दा लोकप्रिय मानिन्छिन् । २०१९ मा फ्रान्समै भएको युइएफए सुपर कपको फाइनलमा अफिसियल रहेकी उनले २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला फिफा रेफ्री बनेर इतिहास रचेकी थिइन् । उनले विश्वको सर्वश्रेष्ठ महिला रेफ्रीको पुरस्कार जितेकी छिन् । जापानकी ३६ वर्षीया यामासिता योमिसीले सन् २०१९ मा फ्रान्सले आयोजना गरेको महिला विश्वकपमा फिफा रेफ्रीको भूमिकामा थिइन् । ‘महिलाहरूले पुरुषको विश्वकपमा पहिलोपटक खेल सञ्चालन गर्नु अरू व्यक्तिहरूका लागि महिलाको क्षमता बढ्दै गएको छ भन्ने संकेत हो, यो कुरा मैले महसुस गरेको छु,’ यामासिताले भनिन् । रुवान्डाकी सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रीको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।