• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश सुवेदी
२०७९ मङ्सिर १० शनिबार ०६:५५:००
खेल

विश्वकप २०२२ : फुटबल फिभर

काठमाडौंका रेस्टुरेन्ट र बारहरू अचेल विश्वकपमय भएका छन्

२०७९ मङ्सिर १० शनिबार ०६:५५:००
रमेश सुवेदी

 

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य नवयुग श्रेष्ठको दैनिकी अचेल फेरिएको छ । एकाबिहानै अभ्यास गरेर सुरु हुने उनको दैनिकी मध्यरातसम्म व्यस्त हुन थालेको छ । साँझपख आफैँ विभिन्न घरेलु प्रतियोगिताका लागि त्रिभुवन आर्मी फुटबल क्लबको जर्सी लगाएर मैदान उत्रिने नवयुग अचेल टेलिभिजनको स्क्रिनमा अरूले खेलेको हेर्नमा मस्त हुन्छन् ।


मध्यपूर्वको एउटा सानो देश कतारमा मंसिर चार गतेबाट सुरु भएको विश्वकपले अचेल नवयुग मात्र होइन, सबै खेलाडी, प्रशिक्षक र फुटबलप्रेमीको दैनिकी पनि व्यस्त बनाएको छ । दिनमा चारवटा खेल हुँदा दिउँसोबाट सुरु हुने विश्वकप खेलको शृंखलाले भोलिपल्ट बिहान साढे दुई बजे मात्र विश्राम लिन्छ । यही कारण फुटबलप्रेमीको दैनिक तालिका फेरिएको छ । 


कतारमा जारी फिफा विश्वकपको २२औँ संस्करणबाट नवयुग पर्याप्त मनोरञ्जनसँगै फुटबलका नयाँ कला सिक्न चाहन्छन् । यही कारण उनले सकेसम्म सबै खेल हेरिरहेका छन् । अचेल साँझको समय विश्वकपमय भएको छ,’ कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेका नवयुग भन्छन्, ‘साथीहरूसँग बसेर सधँै खेल हेरिरहेको छु । विश्वस्तरीय खेलाडीहरूको प्रदर्शनबाट केही सिक्ने प्रयास गरिरहेको छु ।’ 

पहिलोपटक मध्यपूर्वी एसियामा भइरहेको विश्वकपको पहिलो चरणका खेल सकिइसकेका छन् । यसक्रममा निस्किएका केही अप्रत्याशित नतिजाका कारण विश्वकपको रोमाञ्चकता थपिएको छ । साथमा विश्वकपलाई पछ्याउने दर्शकको संख्या पनि बढ्न थालेको छ । पहिलो चरणमा एसियाली प्रतिनिधिमध्ये आयोजक कतार र इरानको प्रदर्शन निराशाजनक थियो । विश्वकपको इतिहासमा पहिलोपटक उद्घाटन खेलमै पराजित हुने कतार नै बन्यो । इरान इंग्ल्यान्डसँग ६–२ को नतिजामा पराजित भएपछि एसियाली देशहरूले यसपालि पनि विश्वकपमा ‘ह्विपिङ ब्वाइज’कै छविका साथ बिदा लिने अनुमान गर्न थालियो । 


तर, सोमबार साउदी अरेबियाले दुईपटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध बनाएसँगै कतार विश्वकपमाथि नेपाली समर्थकको चासो पनि ह्वात्तै बढेको छ । अर्जेन्टिना पराजित भएको २४ घन्टा बित्न नपाउँदै चारपटकको विश्व च्याम्पियन जर्मनी एसियाली ‘अन्डरडग’ जापानसँग २–१ ले नै स्तब्ध भयो । यस खेलसँगै खाडी मुलुकमा पहिलोपटक आयोजना भएको विश्वकपले समर्थकको ध्यान झनै बढी तान्न थाल्यो । 


‘मान्छेहरूको ध्यान कतार विश्वकपमा बढ्न थालेको छ । सुरुवाती चरणमा एसियाली मुलुकले पनि आफूहरू कमजोर नभएको प्रमाण दिएपछि घरपरिवारसँगसँगै समूहमा बसेर खेल हेर्नेको संख्या बढेको छ । साथीभाइहरूसँग रमाइलो गर्दै विश्वकप हेर्नेको संख्या बढ्दै जाने क्रम दिनप्रतिदिन भइरहेको छ,’ सुन्धाराको सिटिसी मलमा ‘कफी घर’ रेस्टुरेन्ट सञ्चालन गरिरहेका गोविन्द भट्टराई भन्छन्, ‘हाम्रो मात्र होइन, फुटबल हुने समयमा काठमाडौंका सबै ठाउँका रेस्टुरेन्ट र बारहरू अचेल विश्वकपमय भएका छन् ।’ 


भट्टराईका अनुसार दसैँ र तिहारको बिदा तथा त्यसपछिको चुनावले रेस्टुरेन्ट व्यवसाय सुस्ताएको अवस्थामा विश्वकपले माहोल तताइरहेको छ । ‘दुई ठूला चाडपछि चुनावमा मानिसहरू व्यस्त हुँदा चहलपहल नहोला भन्ने चिन्ता थियो । तर, विश्वकपका कारण फेरि मानिसहरूले जमघट सुरु गरेका छन् । रेस्टुरेन्टमा राति अबेरसम्म पनि फुटबल समर्थकको भिड लाग्छ,’ उनले थपे ।

 

आमनिर्वाचन र फिफा विश्वकप सुरु हुने मिति (मंसिर ४ गते) जुधेको थियो । जसकारण, विश्वकपको माहोल पहिलाजस्तो नतात्ने अनुमान थियो । तर, चुनावसँगै विश्वकपले पनि मंसिरको चिसो मौसमलाई तताइदिएको छ । फुटबलविज्ञ सञ्जीव मिश्रका अनुसार चुनावमा भोट खसालेर विश्वकप कुर्नेको संख्या एकदमै धेरै देखियो । 

 

‘चुनावको नतिजा आउने क्रम जारी छ । चुनाव र विश्वकपमा अप्रत्याशित नतिजा आउने क्रम उस्तै छ । कति आइसकेका छन् । चुनावले गर्दा विश्वकपको माहोल हुँदैन कि भन्ने थियो । तर, त्यस्तो भएन । समयअनुकूल भएर होला, विश्वकप हेर्नेको संख्या पहिलेजस्तै छ,’ नेपाली फुटबलमा विकिपिडियाको परिचय बनाएका मिश्र भन्छन्, ‘चुनावकै कारण कतै विश्वकप हेर्न छुट्ने हो कि भन्ने चिन्ता थियो । तर, समय मिलेकाले त्यस्तो केही भएन । बरु टेलिभिजनको पर्दामा झुम्मिने दुई कारण भए– फुटबल हेर्दै चुनावी अपडेट लिइरहने, डब्बल मजा ।’


मिश्रले फुटबल परिवारकै साथीहरूसँग बसेर विश्वकपका खेल हेरिरहेका छन् । उनले प्राजयसो खेल बबरमहलस्थित ‘खेलाडी डटकम’को कार्यालयमा पुराना साथीहरू दिवाकर घले तथा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुँयाल, वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र सुदर्शन रञ्जितलगायतसँग बसेर हेरिरहेका छन् । उनीहरूको माहोललाई एन्फाका अन्य पदाधिकारी, पूर्वखेलाडी र पत्रकारहरूको साथले थप तताइरहेको छ ।

दरबारमार्गको एक रेस्टुरेन्टमा वल्र्डकप हेर्दै समर्थक । तस्बिर : सतिश पोखरेल


नवयुग ब्राजिलियन फुटबल मन पराउँछन् । आफू स्ट्राइकर भएकाले पाँचपटकको विश्व च्याम्पियन ब्राजिलका स्टार खेलाडी नेमारलाई ‘आइडल’ बनाएका छन् । उनैको खेल पछ्याउने गर्छन् । ब्राजिलको खेल त छाड्ने कुरै भएन । अरूको समेत सकेसम्म नछुटाई हेर्ने गर्छन् । ब्राजिलकै समर्थक हुँदा विश्वकप उसैको पोल्टामा पार्न प्रार्थनासमेत गर्छन् । तर, केही अप्रत्याशित नतिजापछि, नवयुग यसैले विश्वकप जित्छ भन्न सक्ने अवस्थामा छैनन् । ‘सुरुमै अप्रत्याशित नतिजा आएको छ । त्यसैले अहिले यसैले जित्छभन्न सक्ने अवस्था छैन,’ नवयुग भन्छन् । 


राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र स्ट्राइकर सावित्रा भण्डारीलाई पनि ‘विश्वकपको ज्वरो’ले तताइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफमा कार्यरत दुवै चुनावका लागि सुरक्षा ड्युटीमा थिए । तर, पनि फुटबल हेर्न उनीहरूले समय मिलाए । ‘चुनावका वेला ड्युटीमा थियौँ । तर, बेलुकी समय मिलाएर फुटबल हेरियो,’ सँगै फुटबल हेरिरहेका उनीहरू एक स्वरमा भन्छन्, ‘चुनावको ड्युटी छोडेपछि त अहिले आफ्नै अभ्यास सुरु भइसकेको छ । अहिले काम भनेकै आफू अभ्यास गर्ने र विश्वकप हेर्ने मात्र हो ।’


चाबहिलका वासिन्दा अजित धितालको अनुभव यसपालि अलि फरक छ । विगतका विश्वकपमा चोकचोकमा राखिएका ठूला स्क्रिनमा हेरेर विश्वकपको मजा लिइरहेका उनी यसपटक त्यसबाट वञ्चित छन् । नेपालका लागि विश्वकपको प्रसारण अधिकार लिएको ‘मिडिया हब’ले ग्राहक प्याकेज बेचेका कारण त्यस्ता सामूहिक प्रदर्शन निरुत्साहित भएका छन् ।