• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नम्रता डिसी
२०७९ मङ्सिर १० शनिबार ०७:२७:००
यात्रा

घान्द्रुकबाट माछापुच्छ्रेको पुच्छर हेर्दा...

२०७९ मङ्सिर १० शनिबार ०७:२७:००
नम्रता डिसी

 

हामी शैक्षिक भ्रमणको दोस्रो दिनमा थियौँ । त्यस दिनको हाम्रो गन्तव्य थियो, कास्कीको घान्द्रुक । बिहानै लमजुङको मनोरम काउलेपानीस्थित होमस्टेको बिदाइपछि हामी गन्तव्यतर्फ लम्कियौँ । काउलेपानीदेखि बेँसीसहरसम्मको कच्ची सडकले अघिल्लै दिन हाम्रो सातो लिइसकेको थियो । फर्किंदा डर केही कम भएको अनुभव भयो । लमजुङको बेँसीसहर हुँदै तनहुँको डुम्रे पुगेपछि हामी पृथ्वी राजमार्ग हुँदै अघि बढ्यौँ । बाटामा दमौली पुगेर खाना खायौँ । भोकले होला, खाना निकै स्वादिलो लाग्यो । डुम्रे कटेदेखि नै मनमोहक हिमालहरूले हामीलाई जिस्काइरहेका थिए । यिनले दिनैभर हाम्रो साथ छाडेनन् । बाटामा भेटिने नदी, गाउँघर, वनपाखा, डाँडाकाँडा सबै निकै मनोरम देखिइरहेका थिए । 

 

खाना खाएर अघि बढेपछि धेरै साथीहरू बसमै निदाए । सायद सबैलाई भात लागेको थियो कि ? दमौलीबाट अघि बढेको केही समयपछि हामी पोखरा बजार पुग्यौँ । हाम्रो गन्तव्य निकै टाढा भएकाले हामी त्यहाँ रोकिएनौँ, खुरुखुरु अघि बढिरह्यौँ । पोखराबाट माछापुच्छ्रे र आसपासका अन्य हिमाल निकै खुलेका देखिन्थे । हामी हेम्जा, फेदी हुँदै अघि बढ्यौँ । केही बेरको घुमाउरो, उकालो कटेपछि हामी नेपालकै ‘चेरापुन्जी’ भनेर चिनिने लुम्ले पुग्यौँ । यहाँ निकै चिसो हावा चलिरहेको थियो । सायद यही हावाका कारण गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ भन्दै गीत गाएको हुनुपर्छ । लुम्लेको हावाले हाम्रो पनि मुटु छोइरहेको थियो । यहाँबाट माछापुच्छ्रे झनै नजिक र प्रस्ट देखिन्थ्यो । 

 

हामी लुम्लेबाट घुमाउरो बाटो हुँदै ओरालो झर्‍यौँ । केहीबेरमा मोदी खोला पुगेपछि हामीले पोखरा–बागलुङ राजमार्ग छाड्यौँ । राजमार्गबाट दायाँतिर मोदी खोलाको किनारैकिनार हुँदै हामी उत्तरतिर लाग्यौँ । यहाँको घुमाउरो कच्ची सडकले हामी सबैको सातो लियो । साथीहरू पनि निकै डराइरहेका थिए । डराउनेको सूचीमा सायद हाम्रा प्रिन्सिपल सरको नाम निकै अगाडि थियो । उहाँ त बसको झ्यालतिरको सिटमा बस्न नसकेर बीचतिर सरिरहनुभएको थियो । हुन पनि साँघुरो कच्ची सडक, त्यसमाथि पनि घुम्ती नै घुम्ती, अनि भिर । तल कता हो कता सुसाइरहेको खोला । यो सब देख्दा कसको पो सातो गएको थिएन होला र ? तैपनि, हामी अगाडि बढिरह्यौँ । बीचबीचमा डरलाग्दो भिर आइपुग्दा हामीले प्रिन्सिपल सरलाई बोलाएर जिस्काउन भने छाडेनौँ । 

 

केही समयको डरलाग्दो सडकको यात्रापछि हामी सबै बसबाट ओर्लियौँ । अब त बस्ने होटेल आइपुग्यो होला भनेर मक्ख पर्‍यौँ हामी । तर, हाम्रो खुसी एकैछिनमा बिलायो । यहाँबाट हामीले झोला बोकेर डेढ–दुई घन्टाको उकालो बाटो पैदल हिँड्नुपर्ने रहेछ । यो सुनेपछि हाम्रो सातो गयो । उसै त हिँड्न अल्छी हामी, त्यसमाथि पनि झोला बोकेर उकालो हिँड्नुपर्ने कुरा सुन्दा सबैका खुट्टा लुला भएर लगलग काँप्न थाले । तैपनि, नहिँडी त सुखै थिएन । हामी नचाही–नचाही पनि अघि बढ्यौँ । नजिकै देखिएको माछापुच्छ्रेको पुच्छर निकै आकर्षक थियो । माछापुच्छ्रे नाम कसरी रह्यो भन्ने कुरा हामीले यहाँ पुगेपछि अनुभव गर्‍यौँ । माछापुच्छ्रेको शिर ठ्याक्कै माछाको पुच्छरजस्तै देखिँदो रहेछ । हिमालले हामीलाई उकालो चढ्न हौस्याइरहेको थियो । उकालामा कुराकानी गर्दै, एक–अर्कालाई जिस्काउँदै फोटाहरू खिच्दै हिँड्दा थकानको महसुस भएन । हामीले पत्तै नपाई उकालो पार गर्‍यौँ । केहीबेरमा होटेल पुगेर विश्राम गर्‍यौँ । साँझ पर्नै लागिसकेको भए पनि पारिपट्टि माछापुच्छ्रे, अन्नपूर्ण आदि हिमालले हामीलाई सुन्दर गाउँ घान्द्रुकमा स्वागत गरिरहेका थिए । यति नजिकबाट हिमाल हेर्न पाउँदा हामी सबै दङ्ग परिरहेका थियौँ । गुरुहरूले हामीलाई होटेलको कोठा दिनुभयो । हामीले कोठामा पुगेर आआफ्ना झोला बिसायौँ । लुगा फेर्‍यौँ । हातमुख धोयौँ र फ्रेस भयौँ । केहीबेर साथीहरूसित आजको यात्राबारे कुराकानी गर्‍यौँ । कुराकानी गर्दैगर्दा डरलाग्दो सडक यात्राको त्रास र उकालो हिँड्दाको थकान उहिल्यै छुमन्तर भइसकेको थियो । 

 

केहीबेरमा गुरुहरूले हामीलाई खाना खान बोलाउनुभयो । सबैले एकसाथ खाना खायौँ । खाना निकै स्वादिलो थियो । टन्न खाना खाएर कोठामा पुगेपछि साथीहरूसित रमाइला गफ गर्दै, एक–अर्कालाई जिस्काउँदै गर्दा कतिखेर निदाइएछ, पत्तै भएन ।

 

भोलिपल्ट बिहान गुरुहरूले ढोका ढकढकाएपछि मात्र मुस्किलले आँखा खुले । यसो पर्दा हटाएर झ्याल खोलेको त आँखैअगाडि माछापुच्छ्रेले हामीलाई ‘कति सुत्छौ अल्छीहरू’ भनेर गिज्याइरहेको रहेछ । माछापुच्छ्रे देख्दा निद्रा त कता भाग्यो कता ! हतारहतार नित्यकर्म सिध्याएर बाहिर छतमा निस्किएर फोटाहरू खिचिए । लोभलाग्दो हिमाल हेर्दा हामीले बिहानी चिसो र हिजोको थकान दुवै भुल्यौँ । त्यतिखेर देखिएको हिमालको त्यो स्वच्छता र सुन्दरताको बयान गर्न उपयुक्त शब्द नै छैन मसित । 

 

बिहानी खाजापछि हामी घान्द्रुक गाउँको घुमघामतिर लाग्यौँ । अलि पर गुरुङ जातिको संस्कृति झल्काउने सङ्ग्रहालय रहेछ । त्यहाँ गुरुङ जातिको परम्परागत लुगा लगाएर फोटो खिच्ने सुविधा पनि रहेछ । हामीले पनि गुरुङ पहिरन र गरगहना लगाएर फोटो खिच्यौँ । सङ्ग्रहालयमा राखिएका सामग्रीको अवलोकन गर्‍यौँ । केहीबेर यताउता घुमेर केही तस्बिर खिच्यौँ । जता–जता पुगे पनि हामीलाई हिमालले पछ्याउन छाडेको थिएन । हामीले हिमाललाई अघाउँजी हेर्‍यौँ । केहीबेर गाउँ घुमेर हामी होटल फर्कियौँ । खाना खाएर झोला मिलायौँ । अनि घान्द्रुकलाई बाईबाई गरेर अर्को गन्तव्य पोखरा पुग्न हतारिँदै ओरालो झर्‍यौँ । 

 

समग्रमा घान्द्रुक यात्रा रोमाञ्चक रह्यो । कच्ची सडकले सातो लिएको भए पनि गाउँ पुगिसकेपछिको आनन्द अवर्णनीय छ । नजिकै देखिने माछापुच्छ्रे, अन्नपूर्ण, धवालागिरिलगायत अनेकौँ हिमचुलीको सुन्दरता बिर्सनै सकिन्न । फुर्सदले दुई रातजति बस्ने समय मिलाएर जाने हो भने घान्द्रुक असाध्यै मनोरम गन्तव्य बन्न सक्छ ।