• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रवि मिश्र
२०७९ मङ्सिर १७ शनिबार ०७:५९:००
सम्झना

कित्तिया सम्मेलन

२०७९ मङ्सिर १७ शनिबार ०७:५९:००
रवि मिश्र

‘मलाई यो पहिल्यै आशंका थियो । यो मामुली कुरा हो । यसलाई उछाल्नु आवश्यक थिएन ।’


कित्तियाप्रसादले भने–


‘यी मिडियाका उत्पादन हुन् । होहल्ला, स्यालहुइयाँपनका उपज हुन् । घरि हावामै हुरुरु पलाउँछ । घरि हावामै बिलाउँछ । काम छैन । बुद्धि छैन ।’
टाउकाबाट टोपी झिके । अनुहारको पसिना पुछे । हावामा फटकारे । दुई हातले टोपी सम्याएर टोपीको मुख फारे । सुर्किन झोलामा सप्रेको तर्बुजा घुसारेझैँ सकिनसकी टोपीमा टाउको घुसारे । मुख बाँध्न खोजे । मिलेन । फेरि झल्यास्स भए । यो त टोपी पो हो त । किन मिलोस् त ? मिले नि किन बाँध्नु ? त्यो पर्दैन !


मुख त खोल्दा नै राम्रो । सुर्किन झोलाभित्रको तर्बुजाको पो बुद्धि हुन्न र मुख बाँधेर राख्नु​पर्छ त । टोपीमुनिको टाउकोको बुद्धि हुने हुँदा मुख खोलेकै ठिक । मुख खोल्दा पो ज्ञान, विज्ञान, आध्यात्म, साहित्य, संगीत, कला, दर्शन प्रस्फुटित हुन्छ र संसार लाभान्वित हुन्छ । मुख बन्द भएसि त बुद्धि टाउकोभित्रै रङ्मगिन्छ । निकास नपाएर भकानिन्छ । निकास नपाएर विस्फोट हुँदा पिएचडी निस्किने सम्भावना हुन्छ ।


आफ्नो बुद्धि र ज्ञानको प्रतापले एकपटक सिएफएल बल्बझैँ चम्कनुभो । दशरथ नन्दन राम लछुमनले धनुष तन्काएझैँ आफ्ना दुई आँखी भुइँ तनक्क तन्काउँदै टोपीभित्र खाँद्नुभो र फेरि फत्फताउनुभो–


‘तिललाई पहाड बनाउँछन् । मामुली पहाडलाई अझ उकासेर हिमालै बनाउँछन् । हिमाललाई उकासेर सगरमाथा बनाउँछन् । त्यहीँ बादल हाल्छन् । हिउँ र बादलले लपक्क छोप्छन् । त्यहीँ टुप्पामा चितुवा राख्छन् । कुनै तरिका हो यो ? फेरि तिनकै वाहवाही तिनकै प्रशंसा । जाने कहाँ हो थाहा छैन । गर्ने के हो थाहा छैन । हिमाल–हिमाल चितुवा चराउन हिँड्या छ । वाहियात् !’


कित्तियाप्रसादले फोन झिके । महिनौँ नथिचेको एउटा नम्बर डायल गरे । कल बटम् थिचे–


‘हेलो कित्तियाकमलजी !’
‘भन्नुस् कित्तियाप्रसादजी ।’
‘सन्चै हुनुन्छ नि ?’
‘अँ हनहनी सन्चै छु ।’


‘ग्याप लामै भएछ । कुरा पनि कति मिठो सुनिन थालेछ तपाईंको । आफैँले गरेजस्तो ।’


‘कुरा तपाईंका उस्तै चिप्ला । सुन्दै ग्यास्ट्रिक होलाजस्तो । झुसिले डकार छुटाउलाजस्तो । कित्तियाबहादुरसँग वाकमा हिँड्न थालेसि बल्ल ग्यास्ट्रिक बिसेक–बिसेक भाथ्यो । फेरि थप्नु भो ।’


‘कुरा ठ्याक्कै मैजस्तो गर्नुभो । को तपाईं, को म, छुट्याउनै पो गाह्रो भो । हाम्रो मन फेरि मिल्ला–मिल्ला जस्तो भो । अब हामी सँगै जाऔँ ।’


‘कहाँ जाने सँगै ? कासी ?’


‘हेर न त्याँ ! हैन तपाईं मसँग कुरा गर्दै हुनुहुन्छ कि कर्नर किकका लागि अभिनय ? हाम्रो कासी जाने उमेर कहाँ भएको छ ?’


‘मेरो त भएको छैन । तपाईंको चै भएको हो । तीन वर्षअघि नै कासी गैदिएको भए यो बिजोगै नहुने ।’


‘उमेर त तपाईंको भएको हो । तर, तपाईं नि कासी नजानोस् । हामी सँगै जाऊँ– बालुवाटार ।’


‘किन जाने तपाईंसँग बालुवाटार ?’


‘कित्तियागिरी गर्न ।’


‘ओ कित्तियाप्रसादजी । गर्नु छैन तपाईंसँग कित्तियागिरी । म कित्तियाबहादुरसँग गठबन्धनमा छु । कित्तियाकुमार, कित्तियानाथ, कित्तियाराम सबै छन् । टोली ठूलै छ । हामी गर्छौं कित्तियागिरी !’


‘टोली ठूलो भएर के गर्नुहुन्छ ? आकार चैं टोलैजत्रो भएसि ? टोल हैन देश, सोच्नुहोस् । देश !’


‘सोचियो देश । बरु शेष हुनुस् । अरूलाई शेष बनाउनुभो । आफैँ शेष हुनुभो ।’


‘कसरी हुन्छ शेष, सातको औकात थियो । प्रत्यक्षमै १७ ल्याउनुभो ।’


‘अनि आफ्नो नि आफ्नो ?’


‘अब आफ्नो अर्को छाडौँ । बसौँ । कुरा गरौँ ।’


‘म एक्लै आउँदिनँ । गठबन्धन छोडिन्न ।’


०००
‘वेलकम टु कित्तियाकिस्तान !’
कित्तियाप्रसादले भने –
‘के खानुहुन्छ ? चिया कि कफी ?’
‘केही नखाने ।’
कित्तियाबहादुरले भने–
‘प्रधानमन्त्री खाइराछु । यही खाइरहने ।’
‘अब छोड्नुहोस् । एउटै कुरा खाइराख्नुहुन्न । तितो हुन्छ ।’

 

कित्तियाप्रसादले भने, ‘कित्तियाले चितुवा उकालेको ठाउँमा रेल कुदाको मान्छे हुँ । त्यहीँको हिमनदीमा पानीजहाज हिँडाको मान्छे हुँ । रेलले घन्टी बजाएको ठाउँमा मामुली घन्टी बजाउँदै आफैँलाई भगवान् सम्झिँदै छ, एउटा केटो !’


‘मैले नखाए कसले खान्छ ?’
उल्याउँदै कित्तियाबहादुरले भने–
‘तपाईंले पचाउन सक्नुहुन्न ।’
‘त्यो अलि बढी डोजको भएर हो । म त पचाउन सक्थेँ । उहाँहरूलाई यो खान्की देखेरै पखाला चल्यो । खानै दिनुभएन ।’


‘सक्यो पचाउन !’
कित्तियाकुमारले भने–
‘वडा अध्यक्ष पचाउने सामर्थ नभालाई दुईतिहाइ प्रधानमन्त्री के पच्थ्यो ।’


‘चुप लाग्नोस् !’
कित्तियाप्रसादले भने–
‘अस्ति उम्रेको छेस्कोले पाचनप्रणालीको कुरा गर्ने ?’


‘अब गठबन्धनले पचाउँछ ।’
कित्तियाकमलले भने–
‘कित्तियाबहादुर र म पालैपालो पचाउँछौँ ।’


‘पचायो पालैपालो !’
कित्तियानाथले ओठ लेप्र्याउँदै भने–
‘यिनका द्रव्यपिचासहरूले मलाई सांसद त खान दिएनन् । तपाईंलाई प्रधानमन्त्री देलान् नि ! यिनी आफैँको त के हो !’


‘कसले भन्यो मेरो नि के हो भनेर ?’
कित्तियाबहादुरले झोक्किँदै भने–
‘बट्ता बोल्ने ?’ 
‘मैले भनेँ ! यी ऐले ।’


कित्तियाप्रसादले उल्याउँदै भने–


‘तपाईंको त्यो सेलिब्रेटी केटो आफैँ कित्तियागिरी गरुँला झैँ गर्दै हिँडेको छ । उसले खायो अब । तपाईंको दिन गयो ।’


‘तपाईंको गयो दिन ! मेरो कसरी गयो ?’


कित्तियाबहादुर झोक्किए–


‘लोकतन्त्रमा बन्छु भन्न त पाइहाल्यो नि ! तर त्यो केटो ज्योतिष हो र ? त्यसले भन्दैमा हुने ? ज्योतिषले मै हुन्छु भनेको छ । सातकै कोटा अझै पुग्या छैन । केटोले कोट सिलाएर हुन्छ ?’


‘उहाँपछि यता हुन्छ । उस्तै परे अघि नै ।’ 


कित्तियाकमलले भने –


‘केटाकेटीहरू लोकतन्त्रका सुन्दर फूल हुन्, फुलिरहन्छन् । उहाँ उहाँको लोकतन्त्र ब्याजमा लगाउनुहुन्छ । खानुहुन्छ । हामी हाम्रो गणतन्त्र ब्याजमा लगाउँछौँ । खाइरहन्छौँ ।’


‘केरे केरे !’
कित्तियाप्रसादले भने–
‘लोकतन्त्र, गणतन्त्र ल्याउने म । ब्याज खाने चैं तपाईंहरू ?’


‘केरे केरे ? तपाईंले ल्याएको रे ?’


कित्तियाकुमारले भने –


‘पख्नोस् है । एकैछिन हाँस्छु । जो बयलगाडा भन्दै हिँड्या थिए, उसैले गणतन्त्र ल्याएको ?’


‘हो त ! मैले त ल्याएको हो नि ।’


कित्तियाप्रसादले भने–


‘मैले बयलगाडामा चडाएर गुटुङटुङ चलाउँदै ल्याएँ । तपाईंहरूको तालमा पैदल आएको भए थानकोटको उकालो चढ्दै हुन्थ्यो अहिले ।’

कित्तियाकमलले भने, ‘केटाकेटीहरू लोकतन्त्रका सुन्दर फूल हुन्, फुलिरहन्छन् । उहाँ उहाँको लोकतन्त्र ब्याजमा लगाउनुहुन्छ । खानुहुन्छ । हामी हाम्रो गणतन्त्र ब्याजमा लगाउँछौँ । खाइरहन्छाैँ ।’


‘हैन कस्तो मान्छे हो तपाईं ?’


कित्तियाकमलले भने –


‘नाकको डाँडी भाँचिने गरी लोपार्नुजस्तो । झुटको नि हद हुन्छ नि !’


‘भौतिक आक्रमणमा नउत्रिनुस् है !’


कित्तियाप्रसादले भने–


‘शान्तिप्रक्रियामा आएको यत्रो हुँदा नि धङधङी हटेको छैन ?’


‘अँ साँच्ची ! नाकको डाँडी भन्नासाथ याद आयो !’


केही सम्झेझैँ गरी कित्तियानाथले भने–


‘त्यो कित्तियाछाने भन्नेलाई कसले ल्यायो ? यिनै द्रव्यपिचासहरूको काम त हैन ?’


‘ए ! त्यो मामुली केटो हो !’


कित्तियाप्रसादले भने–


‘कुनचाहिँले उचाल्देको छ । आफैँ कित्तियागिरी गरुँला झैँ ठूलो कुरा गर्दै छ ।’


‘जोसुकै आऊन् । जल्लेसुकै ठूला कुरा गरून् ।’


कित्तियाबहादुरले भने–


‘मलाई चुनाव जिते भैहाल्यो नि ।’


‘अँ ! चुनाव जितेर हुन्छ ?’


कित्तियानाथले भने –


‘बहुमत पुग्न परेन ? सरकार बन्न परेन ?’


‘किन जित्न प¥यो चुनाव ?’


कित्तियाबहादुरले ढुक्कसाथ भने–


‘मलाई प्रधानमन्त्री बने भैहाल्यो नि । प्रधानमन्त्री बनेसि सरकार त बनिहाल्यो नि !’


‘बुद्धि हेर न बुद्धि !’


कित्तियाप्रसादले भने–


‘हामीसँग एक्लै लडेको भए देख्थे । अहिले प्रधानमन्त्री भन्दै बस्या छन् । कति सिट आउँथ्यो थाहा छ ?’


‘जति आए नि के त ?’


कित्तियाबहादुरले भने –


‘सिट आए संसद्ले बनाउँथ्यो । नआए जोतिषले बनाउँछ ।


‘यो सप्पै तपाईंको मति बिग्रेर हो !’


कित्तियाकमलतिर हेर्दै कित्तियाप्रसादले भने–


‘अहिले स्वाद पर्‍या छ नि होइन !’


‘स्वाद हैन, बास्ना पर्‍या छ ।’


कित्तियाकमलले भने–


‘लोकतन्त्रका सुन्दर फूल हुन् ती फुलिरहन्छन् ।’


‘त्यही एउटा डाइलग जान्या छ । त्यही भन्या छ, भन्या छ ।’


कित्तियाप्रसादले भने –


‘केटाकेटी आए, राजनीति खेलाए, गणतन्त्रको सत्यानाश भनेको थाहा छ कि छैन ?’


‘ए हो ? सत्यानाशै पो ?’


कित्तियाकमलले भने –


‘झन् उत्तम । गणतन्त्र खतरामा छ भन्दै अर्को चुनावमा जाने । बहुमत ल्याउने । सरकार चलाउने ।’


‘के भन्नुहुन्छ ?’


कित्तियाबहादुरले भने । 


‘लोकतन्त्र खतरामा छ भनेर गठबन्धन बनाएर जाने हो आगामी चुनावमा पनि । मेरो सात पुगेसि त तपाईंको त हो नि ढलिमली ।’


‘के भन्नु ?’


कित्तियाप्रसादले भने –


‘म नौजवानको बुढापाकासँग कुरै नमिल्ने । केटकेटीहरू मनै नपर्ने ।’


‘यी बचेराहरू मलाई पनि कहाँ मन पर्ने हो र ?’


कित्तियानाथले भने–


‘त्यस्तै बचेराहरूले जिते । मैले हारेँ । पेट भत्भती पोल्छ । के गर्नु द्रव्यपिचासहरूले धोका दिए ।’


‘फूलै भने नि मन खुसी त कहाँ छ र ?’


कित्तियाकमलले भने –


‘तिनकै साइजमा चाउरिँदा । घोचेको छ नि च्वासच्वासी ।’


‘ए बाबा ! मलाई नि त कहाँ मन पर्छ त ।’


कित्तियाबहादुरले भने–


‘ज्यादै बढ्ता बोल्छन् केट्केटीहरू, तित्रोजसरी च्यारच्यारच्यार ! एउटोले त डडेल्धुरासम्म खेद्यो, पिचकारी लिएर । अरूको त के कुरा गर्नु आफ्नै ठेट्नाहरू उछिन्न खोज्छन् ।’ 


‘अब कित्तियाप्रसादसँग कित्तियागिरीमा कम्पिटिसन गर्न खोजिराछन् ।’


कित्तियाप्रसादले भने–


‘कित्तियाले चितुवा उकालेको ठाउँमा रेल कुदाको मान्छे हुँ । त्यहीँको हिमनदीमा पानीजहाज हिँडाको मान्छे हुँ । रेलले घन्टी बजाएको ठाउँमा मामुली घन्टी बजाउँदै आफैँलाई भगवान् सम्झिँदै छ एउटा केटो !’


‘तपाईंले त रेल र पानीजहाज मात्र त कुदाको हो ।’


कित्तियाकमलले भने–


‘मैले त नयाँ नेपाल एक्स्प्रेसै कुदाको हो । स्विट्जरल्यान्ड पुग्नै के लाग्याथ्यो, प्रतिक्रियावादीले लेयर उडाइदिए । फोटोसप क्र्यास भो !’


‘मैलेजति कित्तियागिरी त कसले जान्या छ र ?’


कित्तियाबहादुरले गर्वसाथ भने –


‘तपाईंहरूको दुईतिहाइ आउँदा नि संसद्लाई फोटोसप गरेर आफैँ प्रधानमन्त्री बनेँ ।’


‘तपाईंहरू त कित्तियागिरीमा चैँ उस्तादै हुनुन्छ ।’


कित्तियाप्रसादले भने –


‘तर मजतिको हैन ।’


‘नापियो !’


कित्तियाकुमारले भने–


‘तपाईंको कित्तियापनको जुग सकियो । विनाढेउवाके, विनादेउवाके कित्तियापन काम लाग्दैन अब ।’


‘छेस्कोको कुरा हेर न !’


कित्तियाप्रसादले भने–


‘यस्तो छेस्को गठबन्धनलाई फुच्चे कित्तियाले नै खाइदिन्छ । त्यो कित्तियेन्द्र भन्ने केटोले डोजर बोकेर हिँडेर मेरो रेलको लिकै भत्काइदेलाजस्तो भैसक्यो । मसँगै उछिनाउछिन गर्छ कहिलेकाहीँ । म क्लब जानुभन्दा अघि ऊ पब गैसकेथ्यो । अर्को कित्तियाछाने केटो त फोटोसपको किरै रैछ । मभन्दा बढी सपना बिछ्याइसकेको छ । मलाई त हम्मेहम्मे परिसक्या छ । छेस्को गठबन्धन !’


एकाएक शून्यता छायो । निकैबेरपछि कित्तियाबहादुर बोले– ‘भोक–भोक पो लागेर आयो । के खाने हो ?’


कित्तियाप्रसादले भने– ‘खै तपाईंहरू त के खानुहुन्छ । म त प्रधानमन्त्री खान्छु । सरकार बनाउँछु ।’


कित्तियाबहादुर झोक्किए, ‘चुप लाग्नोस् ! त्यो मेरो हो !’