फलामको टोप लगाएका
एक हुल लुटेरा हाम्रो गाउँमा आए,
मध्याह्नको समय थियो,
चकमन्न थियो चारैतिर,
गुहार लगाउनुको कुनै अर्थ थिएन
गाउँलेहरू बिहानको खाना खाएर
उग्राउँदै थिए पिँढीमा ।
लुटेराको त्यो हुलका तिखा आँखा
सबभन्दा पहिले मेरो अन्जुलीमा गाडिए ।
मैले वर्षौं लगाएर जम्मा गरेका
आँसुका तप–तप थोपाहरू
हठात् तातो बालुवामा पोखिए ।
र, मेरा आँखा ढुंगाले बनेका
एकजोडी स–साना गुच्चामा परिणत भए ।
चारैतिर अशोभित, शुष्क र खस्रो बालुवा
त्यसमाथि उभिएका हामी मानिस,
मानिस त मानिस नै हो,
ढुंगामा बदलिन पनि कत्ति बेर नलाग्ने ।
रुखो र खस्रो पदचापबाट थाहा पाएँ मैले
लुटेराको हुल फर्कियो,
आफूलाई वर्णशंकर भनेकोमा रिसले मुर्मुरिँदै ।
मेरो के दोष थियो र त्यसमा,
उनीहरू जो थिए ती वर्णशंकर नै त थिए,
भ्रम र सत्य
क्षुधा र प्यास ।
दृष्टिमा ध्वाँसो पोतिएको थियो मेरो
कानका जाली तातेका थिए,
तातो बालुवामाथि पसारिएको मेरो ज्यान
हिउँको चिसोमा कठ्यांग्रिएको लासजस्तो थियो ।
मेरा वरिपरि जे–जे घटना भए
ती बलात्कार नै त थिए
दृष्टिसँग अन्धकारको बलात्कार ।
एउटा तृणजस्तो मानिस
हिक्कहिक्क गर्दै
आफ्नो आँखा खोजिरहेको थियो ।
मेरा आँसु, मेरा अन्जुली,
ती निष्प्रभ भएका छन्
मसँग अब एकथोपा आँसु पनि छैन
मसँग सुन्ने कान पनि छैन
र, सहरमा कोलाहल पनि छैन ।
०००
११२०, गुण कोलोनी
ब्लक बी, सिनामंगल,
काठमाडौं–९