• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
छविरमण सिलवाल
२०७९ मङ्सिर १७ शनिबार ०८:३१:००
साहित्य

व्यक्तिवादी निबन्धको अब्बल कृति

यहाँ समेटिएका नवीन भाषिक शिल्पले पाठकलाई मजाले तान्न सक्छ

२०७९ मङ्सिर १७ शनिबार ०८:३१:००
छविरमण सिलवाल

 

सरलता, सहजता र पाठकका मन छुने छुट्टै विशिष्टता श्रीओम श्रेष्ठका रचनाहरूमा भेटिन्छन् । मधुपर्क र गोरखापत्रमा विशिष्ट योगदान दिएका रोदनका आधा दर्जनभन्दा बढी निबन्ध सङ्ग्रह प्रकाशित छन् । र, दर्जनौँ पुस्तकमा उनको सम्पादन कला सिञ्चिएका छन् । लघुकथा र अन्तर्वार्ताका पुस्तक पनि प्रकाशित छन् । नेपाली लघुकथा विधालाई संस्थागत रूपमा प्रचारप्रसार गर्ने अभियन्ताका रूपमा आफ्नो परिचय बनाउन सफल रोदनको अर्को विशेषता व्यक्तिवादी निबन्ध लेखन हो । सम्भवतः व्यक्तिवादी निबन्धको सुरुवात रोदनबाटै भएको छ तथा पुस्तकका रूपमा उनको पुस्तकले नै अग्रस्थान लिन्छ । यसैक्रममा पछिल्लो समयमा ‘अभिवन्द्य’ (व्यक्ति निबन्ध सङ्ग्रह) प्रकाशनमा आएको छ । 


जीवन र समाजको पर्याय नै साहित्य हो भन्न चाहने रोदन विनाअध्ययन लेखक बन्नु भनेको इन्धनविनाको गाडी दौडाउनु हो भन्ने ठान्छन् । साहित्य लेखन सजिलो विषय होइन भन्ने लाग्छ उनलाई । यो एउटा साधना हो र छिट्टै चर्चा र प्रचारमा आउने बस्तु नभएकाले निरन्तर साधनामा लागिरहे अवश्य पनि सफलताको शिखर चुम्न सकिनेमा विश्वस्त छन् । साहित्य लेखनसँगै साहित्यको श्रीवृद्धिमा सहयोग पुर्‍याउने धेरै कार्य उनले गरिरहेका छन् । उनी आफैँ पनि ‘सारांश नेपाल’ र ‘लघुकथा समाज’को संयोजक रहेर साहित्य सेवामा समर्पित रहेका छन् ।

रोदन साहित्यमा एक्लै हिँड्न रुचाउँदैनन्, तर जस्तोसुकै भिडमा पनि आफ्नो पहिचान टड्कारो रूपमा देखिने बनाउन सक्ने क्षमता भएका स्रष्टा हुन् । ‘अभिवन्द्य’ उनको पहिचानलाई अझै अग्लो बनाउने विशिष्ट कृतिमा पर्छ ।

 

साहित्यका विविध विधामा कलम चलाएका रोदन नियात्रा, निबन्ध र सम्पादनमा निकै रुचाइएका व्यक्तिमा पर्छन् । हुन त हरेक मान्छेले आफू जस्तो छ, अरूलाई पनि त्यस्तै देख्छ, रोदनले ‘अभिवन्द्य’मा देखेका एकचालीसजना व्यक्तित्व पनि आ–आफ्ना क्षेत्रमा अब्बल व्यक्ति नै हुन् । एउटा व्यक्तिको समग्र चित्रण एउटा निबन्धमा अटाउन सक्नु रोदनको विशेषता नै मान्नु पर्छ । ‘अभिवन्द्य’का निबन्ध पढेपछि हरेक व्यक्तिको समग्र पृष्ठभूमि थाहा पाइन्छ । ‘अभिवन्द्य’का हरेक शब्द नापतौल गरी लेखिएका छन् । कलात्मक र सुन्दर बिम्बमा यथार्थ चित्रणले एकचालीसै निबन्ध सजिएका छन् । 


कर्मले सधँै जीवन्त रहने काम गर्न रुचाउने रोदन लेखनमा आफ्नो छुट्टै पहिचान बनाएका विशिष्ट स्रष्टाका रूपमा चिनिन्छन् । पछिल्लो समयमा प्रकाशित ‘अभिवन्द्य’ले पनि यही पुष्टि गर्छ । रोदन साहित्यमा एक्लै हिँड्न रुचाउँदैनन्, तर जस्तोसुकै भिडमा पनि आफ्नो पहिचान टड्कारो रूपमा देखिने बनाउन सक्ने क्षमता भएका स्रष्टा हुन् । ‘अभिवन्द्य’ उनको पहिचानलाई अझै अग्लो बनाउने विशिष्ट कृतिमा पर्छ ।


युगकवि सिद्धिचरण श्रेष्ठ, डायमनशमशेर राणा, राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य (काले राई) बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, तेजेश्वरबाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्टराई, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, मञ्जुल, शशि भण्डारी, क्याप्टेन जनकबहादुर राणा, मदनदास श्रेष्ठ, डा. बिहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्माेही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, डा. चिन्तामणि योगी, डा. हरिप्रसाद पोखरेल, डा. लक्ष्मणप्रसाद गौतम र रमेश श्रेष्ठ ‘अभिवन्द्य’मा सजिएका नाम हुन् । 


सिद्धिचरणका बारेमा लेखिएका केही हरफ हेरौँ–‘कोरेर कविता बनाउनुभो उज्यालो क्षेत्रलाई । बनेको होइन त्यतिकै युगकवि उहाँ । होइन कुनै पद पहिले तयार पारेको । होइन दिएको राजा र सरकारले पनि । दिएका हुन् जनताले उपाधि स्वस्फूर्त ।’ सिद्धिचरणप्रति हाम्रो श्रद्धा अथाह छ, हामीले यति पढिसकेपछि उहाँप्रति हाम्रो श्रद्धा अझै उँचो हुन्छ । उनी जनताले बनाएका युगकवि हुन् । कतिपय सर्जकका फरक पाटाहरू पाठकलाई थाहै हुँदैन, हो सर्जकका त्यस्ता फरक पाटाहरू पाठकसमक्ष निबन्ध बनेर आएका छन्, ‘अभिवन्द्य’मार्फत । यहाँ समेटिएका एकचालीसवटै सर्जकलाई हामीले पढिसकेपछि उहाँहरूप्रति हाम्रो दृष्टिकोण नै फरक हुन्छ । उहाँहरूको त्यो सत्कर्मका पाटाहरूले हामीलाई प्रेरणा प्रदान गर्छन् । त्यसैले ‘अभिवन्द्य’ एउटा विशिष्ट कृतिको दर्जामा राख्न सकिन्छ । यहाँ समेटिएका नवीन भाषिक शिल्पले पाठकलाई मजाले तान्न सक्छ । र, नवीन विधामा कलम चलाउन चाहने लेखकहरूका लागि ‘अभिवन्द्य’ गुरु हुन सक्छ । 


श्रीओम श्रेष्ठ ‘रोदन’जस्तो लेख्छन्, त्यस्तै भोग्छन्, जस्तो भोग्छन् त्यस्तै लेख्छन् । र, त्यस्तै भोगाइका पात्रहरू चयन गरेर उनीहरूका बारेमा लेख्छन्, त्यो पनि फरक ढंगबाट । त्यसैले त उनी आम लेखकभन्दा पृथक् बन्न सकेका छन्, आम लेखकले देख्न नसकेका सूक्ष्म कुरा उनी देख्छन् । ‘अभिवन्द्य’का एकचालीस स्रष्टालाई पनि उनले फरक ढंगबाट चिनारी गराएका छन् । लेख्नुअघि ऊसँग लामो संगत गर्छन् । जीवनका आरोह–अवरोहलाई सूक्ष्म रूपमा केलाउँछन् र सग्ला दाना छानेर डालोमा सजाउँछन् । अभिवन्द्य पनि त्यही सग्ला व्यक्तिहरूको सग्लो चित्र हो । त्यसैले उनी पुस्तकमा लेख्छन्, ‘अनौठो हुन्छ मानिसको मन । सकिँदैन कसैलाई बिर्सन खोजेर । कसैलाई सम्झेर पनि सम्झिदैन । गर्छ किन भेदभाव नदेखिने मन सम्झनामा पनि । नहुन सक्छ मनको मूल्यांकनमा गल्ती । होइन कुरा बाँचुञ्जेल र मृत्युपछिका मात्र । यसरी नै होला आदर्श र स्वार्थ छुट्टिने पनि । खोज्छन् टिकिरहन म र मेरो भन्नेहरू, रहुन्जेल पद र शक्तिले । हुँदैनन् अस्थायी कहिल्यै हामी र हाम्रो भन्नेहरू । हुन्छन् यस्तै अरूका बन्ने र अरूले सम्झिरहने पनि ।’