• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १७ शनिबार १०:५६:००
खेल

कमजोर छैनन् एसियाली टिम

कतार विश्वकपमा एसियन राष्ट्रको धमाकेदार प्रदर्शन, ८४ वर्षपछि पहिलोपटक तीन एसियाली मुलुक नकआउट चरणमा

२०७९ मङ्सिर १७ शनिबार १०:५६:००

 

खेल विश्लेषकहरूले भन्ने गरेका थिए, ‘विश्वकपमा एसियन राष्ट्रहरूको प्रदर्शन कमजोर नै रहन्छ । एकभन्दा बढी राष्ट्र नकआउट चरणमा समेत पुग्न सक्दैनन् ।’ तर, शुक्रबार रातिको नतिजा बाहिर आउँदा धुरन्धर फुटबलविज्ञका भविष्यवाणी गलत साबित भएका छन् । एसियाली राष्ट्रहरूले २२औँ कतार विश्वकप फुटबल प्रतियोगितामा धमाका नै मच्चाएका छन् । जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले निकालेको नतिजाले सबैलाई आश्चर्यचकित पारेको छ । जापान, अस्ट्रेलिया र दक्षिण कोरिया प्रिक्वार्टरफाइनलमा पुगिसकेका छन् । यी तीनवटै राष्ट्र कठिन समूहमा दरिलो प्रदर्शन गरी अगाडि बढेका हुन् । 


पहिलोपटक मध्यपूर्वी एसियामा सञ्चालन भइरहेको विश्वकपमा एसियन राष्ट्रहरूले विश्वलाई नै स्तब्ध पार्ने नतिजा निकाल्दा फुटबलकै सर्वोच्च निकाय फिफामा आसीन पदाधिकारीहरूको नाडीको रक्तचाप ह्वात्तै बढेको छ । ब्लडप्रेसर हाई नहोस् पनि कसरी । फिफा र फुटबलविज्ञहरूका ‘ध्रुवसत्य’ बोली कतारमा असत्य साबित भएको छ । फिफाले एसियन राष्ट्रलक्षित हुँदै बारम्बार भनिरहन्छ, ‘विश्वकपमा कमजोर प्रदर्शन गर्ने एसियन राष्ट्रहरूको कोटा थप गर्न सकिँदैन, यस्तो टोली छनोट हुँदा विश्वकपकै सौन्दर्यता नै हराउँछ ।’ ‘शक्तिशाली टोलीले मौका पाउँदा कमजोर टोलीविरूद्ध गोलको वर्षा नै गर्छन्, विश्वकप भनेपछि पक्ष र विपक्षी टोलीका स्तर एकै हुनुपर्छ ।’


हुन पनि विश्वकपको इतिहास पल्टाउँदा यस्तै देखिन्छ । २२औँ विश्वकपसम्म एसियाली मुलुक केवल आठपटक प्रिक्वार्टरफाइनलमा पुगेका छन् । दुईपटक क्वार्टरफाइनल र एकपटक सेमिफाइनल एसियन राष्ट्र पुगेको इतिहास छ । फिफाको कंग्रेस बैठकमा एसियन राष्ट्रहरूको कोटा विश्वकपमा परिमार्जित गर्नुपर्ने माग नराखिने होइन । तर, फिफाको उही ‘कपिपेस्ट’ स्टेट्मेन्ट दोहोरिन्छ । कागजमा लेखेर वा बोलीले स्तर मापन गर्न नसकिने थाहा पाउँदापाउँदै फिफाका पदाधिकारी विश्वकपको कोटा सम्बन्धमा एकैधारमा बग्ने गर्छन् । तर, कतार विश्वकपले अब फिफाका ती पदाधिकारीको समेत होस उडेको होला ? उनीहरूले आफ्नो परम्परागत सोचाइलाई परिवर्तन गर्नुपर्छ । 


विश्वकप इतिहासमा एसियाले सन् १९३८ देखि सहभागिता जनाएको हो । इन्डोनेसिया पहिलो एसियन राष्ट्रका रूपमा विश्वकप खेल्ने टोली हो । ८४ वर्षपछि पहिलोपटक तीन एसियाली मुलुक नकआउट चरणमा पुगेका छन् । अब एसियन राष्ट्र पनि कमजोर छैनन्, उनीहरू पनि फुटबलको महाकुम्भको मेलामा धमाका गर्न सक्छन् । र, विश्व विजेता भनौँ वा फुटलबकै पावरहाउस भनिने राष्ट्रहरूमाथिको जित भाग्यले नभएर मैदानभित्र खेलेर हराउन सक्छन् भन्ने सन्देश कतार विश्वकपले दिएको छ । अझ यो विश्वकपमा दुई खेल कसैले भुल्न सक्दैनन् । जापानले पूर्वविजेताहरू स्पेन र जर्मनीमाथि कसैले कल्पना नगरेको नतिजा निकाल्न सफल भयो । 


अष्ट्रेलिया  : एकैछिन इरान र कतारको प्रदर्शनलाई बिर्सिने प्रयास गरौँ । र, अरू एसियन राष्ट्रको विश्लेषण गरौँ । अस्ट्रेलियाले चालू विश्वकपमा एसियन राष्ट्रहरूको सुरुमा नाक राख्ने काम गर्दै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गर्‍यो । १६ वर्षपछि अस्ट्रेलियाले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित राख्दा अरू एसियन टोली पुग्न नसकिने फेरि एकपटक फुटबलविज्ञहरूले भविष्यवाणी गरेका थिए । जापानको खेल हेर्न बाँकी थियो । समूह ‘डी’मा अस्ट्रेलियाले युरोपकै शक्तिशाली राष्ट्र डेनमार्कलाई अन्तिम खेलमा १–० ले हराउँदै उपविजेताका रूपमा नकआउट चरणमा स्थान पक्का गर्‍यो । अस्ट्रेलिया नै विश्वकपमा शक्तिशाली एसियन टोली बन्यो । फिफाले अस्ट्रेलियालाई एसियन राष्ट्रकै मान्यता दिँदै सन् २०१० बाट विश्वकप छनोटमा सहभागी गराएको थियो । एक फरक अस्ट्रेलिया महादेश भए पनि अन्ततः उसले कतारमा एसियन राष्ट्रबाट नकआउट चरणमा पुग्ने पहिलो नाम लेखायो ।

 

साउदी अरेबिया  : साउदी अरेबियाले कहिले पनि सोचेकै थिएन होला, कुनै दिन दुईपटक विश्वकप विजेता अर्जेन्टिनामाथि २–१ ले जित निकाल्छ भनी । वर्तमान समयकै उत्कृष्ट खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको र उपाधिको प्रमुख दाबेदारमध्ये एक टोली अर्जेन्टिना हो । यस्तो बलियो टोलीलाई स्तब्ध नतिजा उपहार दिने सपना न साउदी अरेबियाका समर्थक न कि खेलाडीले नै देखेका थिए होला ? अर्जेन्टिनाविरूद्ध साउदी अरेबियाले निकै राम्रो खेल प्रदर्शन ग¥यो । सम्भवतः साउदी फुटबल इतिहासमै उत्कृष्ट खेलमध्ये एक थियो त्यो खेल । त्यो खेललाई साउदी खेलकुदले कहिल्यै बिर्सनेछैन । अझ विश्व फुटबलले यो खेलको नतिजा भुल्नेछैन । कल्पना नै नगरेको नतिजा निकाल्दै साउदी अरेबियाले मेसीका करोडौँ समर्थकलाई स्तब्ध पारे । सनसनीपूर्ण २–१ को नतिजा निकालेपछि साउदी अरेबियाका राजाले भोलिपल्ट नै सार्वजनिक बिदा दिए । अर्जेन्टिनामाथि अप्रत्याशित जितपछि साउदी अरेबियाको राजपरिवार सबैभन्दा धेरै खुसी थियो । तत्कालै विजयोत्सव मनाउन साउदी अरेबियामा एकदिन बिदा दिइयो ।

चालू विश्वकपमा अर्जेन्टिनासँगको खेललाई साउदी खेलकुदले कहिल्यै बिर्सनेछैन । अझ विश्व फुटबलले त्यो खेलको नतिजा भुल्नेछैन । कल्पना नै नगरेको नतिजा निकाल्दै साउदी अरेबियाले मेसीका करोडौँ समर्थकलाई स्तब्ध पार्‍यो । २–१ को सनसनीपूर्ण सनसनीपूर्ण नतिजा निकालेपछि साउदी अरेबियाका राजाले भोलिपल्ट नै सार्वजनिक बिदा दिए ।


अर्जेन्टिनामाथिको जितपछि साउदी अरेबियाका खेलाडीहरू यति घमन्डी भए कि मैदानभित्र विपक्षीलाई हराउन कस्तो रणनीति बनाउनुपर्छ, प्रतिद्वन्द्वी कस्ता छन्, त्यसको हेक्का नै उनीहरूले राख्न छाडे । केवल अर्जेन्टिनाको जित नै सर्वोपरी सम्झेर पोल्यान्ड र मेक्सिकोसँग उनीहरू भिडेनन् । पोल्यान्ड र मेक्सिकोविरुद्धको खेलमा त्यही ‘ओभरकन्फिडेन्स’ले साउदी अरेबिया पराजित भयो । यी दुवै खेलमा फिनिसिङभन्दा पनि पावरगेम उनीहरूले खेलेका थिए । फुटबलमा सफलता चुम्न फिनिसिङ मुख्य पाटो हुन्छ । प्रहार गरेको सबै गोल हुन्छन् भन्ने छैन । यसै भ्रमका साथ साउदी अरेबिया पनि पहिलो चरणबाटै घर फर्कियो । 


जापान : समूह ‘ई’ एसियन पावरहाउस जापान जर्मनीलाई टक्कर दिन सक्ने टोली हो । एसियन राष्ट्रमा दक्षिण कोरियापछि विश्वकपमा धेरै अनुभव बटुलेको जापान हो । सन् २००२ देखि निरन्तर विश्वकपमा स्थान बनाएको जापानले सुरुमा जर्मनीमाथि निकालेको अप्रत्याशित नतिजाले विश्व नै चकित बन्यो । यसपालि जापान विश्वकपकै ‘डेथ अफ ग्रुप’ अर्थात् मुत्युको समूहमा थियो । यहाँबाट जापान र कोस्टारिका बाहिरिने भविष्यवाणी थियो । समूह ‘ई’मा जापान र कोस्टारिकालाई कमजोर टोली मान्नुको एउटै कारण थियो । यसै समूहमा थिए, जर्मनी र स्पेन । 

 

अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरूले जर्मनी र स्पेनजस्तो विश्वकै शक्तिशाली फुटबल राष्ट्रहरूको उपस्थितमा जापान र कोस्टारिका एकछिन पनि टिक्न सक्दैनन् भनेका थिए । भनेको र लेखेको जस्तो कहाँ हुन्छ र । फुटबल मैदान हो । जहाँ ९० मिनेटभित्र कथाको अन्त्य सुखद वा दुःखदमध्ये जे पनि हुन सक्छ । नसोेचेको र अनुमान लगाएकै नतिजा आउँछ । जापानले तीनवटै खेलमा सोच्दै नसोचेको नजिता निकाल्यो । पहिलो खेलमा जापानले जर्मनीलाई २–१ ले हरायो । सम्भवतः यही हार नै जर्मनी लगातार दोस्रोपटक विश्वकपबाट बाहिरिनुको प्रमुख कारण बन्यो । अर्को खेलमा उल्टै जापान कोस्टारिकासँग स्तब्ध भयो । तर, दुई पूर्वविश्व च्याम्पियन राष्ट्र भएको समूहकै विजेता बनेर शुक्रबार जापानले नकआउट चरणमा स्थान पक्का गर्‍यो । 

 


कतारको विश्वस्तरीय रंगशाला भित्र जापानिज खेलाडीहरूले २७० मिनेट गरेको मिहिनेत अब वर्षासम्म सम्झिरहनेछ । अस्ट्रेलियाले एसियाको इज्जत जोगाएको छ भन्ने समर्थकहरू पनि जापानको ऐतिहासिक प्रदर्शनमा गर्व गर्नेछन् । स्पेनमाथि २–१ कै अर्को सनसनीपूर्ण जित निकाल्नुअघिसम्म पनि जापानको प्रिक्वार्टरफाइनल स्थान अनिश्चित थियो । जापानले स्पेनलाई हराउँदा मात्र अर्को चरणमा पुग्ने थियो । उत्कृष्ट फर्ममा रहेको र कोस्टारिकाको पोस्टमा सात गोलको वर्षा गरेको स्पेनलाई हराउनु फलामको चिउरा चपाउनुजस्तै थियो । 


यसैकारण अस्ट्रेलियन समर्थकहरूले एसियाकै अन्य राष्ट्रहरूको खिल्ली उडाए । तर, जापानले प्रमाणित गर्‍यो कि मैदानभित्र जे पनि हुन सक्छ । प्रदर्शनका आधारमा चालू विश्वकपमा जापान एसियाली राष्ट्रकै शान बनेको छ । जापान त्यत्तिकै अर्को चरणमा पुगेको होइन, उसले पहिलो खेल नै चारपटकको विश्व विजेता जर्मनीसँग खेलेको थियो । विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको जर्मनी यसपटक सशक्त रूपमा आउने विश्वास थियो । जर्मनीको खेल हेर्दा यस्तै देखियो पनि । 

 


जर्मनीले जापानलाई कमजोर ठानेको थियो । जापानले विश्व फुटबललाई अचम्म पार्ने स्कोर सार्वजनिक ग¥यो । खेल सकिँदा जर्मनी जापानसँग २–१ ले पराजित भइसकेको थियो । जापानले विश्वकपमा पहिलोपटक जर्मनीलाई हरायो । रसिया विश्वकपमा जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यतिवेला जर्मनी बाहिरिँदा सबैभन्दा धेरै इंग्लिस समर्थक खुसी छन् । सामाजिक सञ्जालमा जर्मनीलाई हास्यास्पद रूपमा प्रतिक्रिया दिइरहेका छन्, इंग्लिस समर्थक । 

 

‘फुटबल एउटा सामान्य खेल हो, त्यहाँ २२ जना खेलाडी एक बलको पछाडि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छन्, खेलको अन्त्यमा सधैँ जर्मनीको जित हुन्छ,’ समूह ईमा जर्मनी तेस्रो भएपछि इंग्ल्यान्डका पूर्वस्ट्राइकर गेरी लंकरले लेखे,‘वास्तवमा जर्मनीको इतिहास यही नै थियो, अब जर्मनी त्यो जर्मनी होइन, जुन हामीले देखेका थियौँ, उनीहरू विश्वकपमा कमजोर हुँदैछन् ।’ गेरीले जापानलाई धन्यवाद दिएका छन् । 


यसैगरी, खालिफा इन्टरनेसनल रंगशालाबाट तत्कालै बिबिसीका पत्रकार क्रिस वेभेनले लेखेका छन्,‘जापानलाई कमब्याक किङ’ भन्नुपर्छ । जापानले विश्वकपमा समग्र एसियाकै सान राखेको क्रिसको बुझाइ छ । ‘जापानले फुटबलको पाठ सिकायो, जस्तो बलियो प्रतिद्वन्द्वी अगाडि हुँदा पनि डराउनुहुन्न, टिम भावनामा खेल्दा नतिजा राम्रो आउँछ,’ उनले लेखका छन् । 

 

दक्षिण कोरिया : समूह एचमा अर्को अनुभवी एसियन राष्ट्र दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा युरोकप बिजेता पोर्चुगललाई २–१ ले स्तब्ध पार्‍यो । यो जितसँगै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गर्न सफल भयो । यसअघि दुईपटकको विजेता उरुग्वेसँग अंक खोस्न सफल भएको थियो । कोरियाका खेलाडीहरूसँग युरोपेली फुटबलको अनुभव छ । विभिन्न युरोपियन लिगमा आबद्ध खेलाडीहरूले अफ्रिकन राष्ट्र घानाविरूद्ध गोल फर्काए पनि हतारिए । घानाले कोरियाको गल्तीमा जित निकाल्यो ।

 

इरान :  छैटौँपटक विश्वकप खेलिरहेको इरानको भेट पहिलो चरणमै उपाधि दाबेदार इंग्ल्यान्डसँग भयो । उत्कृष्ट फर्ममा रहेको इंग्ल्यान्डले इरानमाथि ६–२ को सानदार नतिजा निकाल्यो । इरानको लज्जास्पद हारसँगै विश्वकपमा एसियन राष्ट्रको उपस्थिति फिका हुने प्रारम्भिक अनुमान भयो । इरानले दोस्रो खेलमा युरोपकै बलियो वेल्सलाई २–० ले स्तब्ध पार्‍यो । गेराथ वेल सम्मिलित वेल्स इरानसँग स्तब्ध हुन्छ भन्ने कसैले सोचेकै थिएनन् । निर्णायक खेलमा अमेरिकासँग पराजित हुँदा इरान पहिलो चरणमै सीमित भयो । 


कतार  : चालू विश्वकपमा कतारले खराब इतिहास बनायो । आयोजकसमेत रहेको कतारले विश्वकपकै खराब इतिहास लेख्यो । आयोजकका रूपमा एक खेल पनि नजित्ने र एक अंक पनि नबटुली विश्वकपबाट बाहिरिने कतार विश्वकपकै पहिलो आयोजक बन्यो । विश्वकपमा २२० बिलियन डलर खर्चेको कतारको टोलीमा ११ गैरकतारी खेलाडी थिए ।

 

अफ्रिकन मूलका खेलाडी भए पनि कतारले कुनै पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । विश्वकप इतिहासमा सन् २०१० को संस्करणमा दक्षिण अफ्रिका पहिलोपटक आयोजक राष्ट्रले दोस्रो चरणमा नपुग्ने रेकर्ड राखेको थियो । अफ्रिकाले कम्तीमा आयोजकका रूपमा एक खेल जितेको थियो । तर, कतारले दक्षिण अफ्रिकाको रेकर्डसमेत छुन सकेन । 

 

विश्वकपको प्रारम्भिक चरण सकिँदासम्म एसियन राष्ट्रहरूले अपेक्षित र अनपेक्षित नतिजा निकाले । विशेष गरी, जापानको प्रदर्शन अब्बल मान्नुपर्छ । अबका चरणमा जस्तो नतिजा आए पनि अष्ट्रेलिया , दक्षिण कोरिया, इरान, साउदी अरेबिया र जापानले निकालेको सनसनीपूर्ण नतिजा नै मुख्य स्मरणयोग्य रहनेछ । यस नतिजाकै आधारमा फिफाले अब एसियन राष्ट्रहरूलाई गर्ने व्यवहारमा पुनर्विचार गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।