• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजु स्याङ्तान काठमाडाैं
२०७६ बैशाख २१ शनिबार ०७:५३:००
रिपाेर्ट

नमस्कार जसुदा आमा !

सांसद पार्वती बिसुंकेकी आमा जसुदा सार्कीको संघर्ष कथा

२०७६ बैशाख २१ शनिबार ०७:५३:००
राजु स्याङ्तान काठमाडाैं

सुदा सार्की १६ वर्ष टेकेको एउटा रात नसोचेको घटना घट्यो । रातको १२ बजे एक पुरुष उनको ओछ्यानमा आयो । जसुदाको नारी समाएर तान्न थाल्यो । जसुदा चिच्याइन्, कराइन् । तर, उनलाई सहारा दिन कोही आएनन् । पल्लो कोठामा सुतेका बुबा–आमा छोरीको विपत्मा पनि चुपचाप बसिरहे । आमा छट्पटाइन् । छोरीलाई सहारा दिन उठ्न खोजिन् । तर, सकिनन् । भक्कानो फुट्न लागेको रुवाइ मुख छोपेर रोकिरहिन् जसुदाकी आमाले । बुबाले छोरीको चीत्कार सुनिरहे । केही गरेनन् । अन्ततः त्यो युवकले मध्यरातमा जसुदालाई घिसार्दै लिएर गयो । 

भोलिपल्ट बिहानै गाउँभरि हल्ला चल्यो– ‘टाउके’ले सिंहवीर बयलकोटीकी छोरी आधा रातमा घिसारेर लग्यो । त्यसपछि जसुदा बुहारी भइन् । भाउजू भइन् । सबैभन्दा धेरै ‘टाउकेकी स्वास्नी’ भइन् । लोहोर खोला र छामघाट खोलाबीच दैलेख बजारमा उनको गाउँ । दुई खोलाको बीचमा जसुदाले बिताएका बाल्यकाल अब बिरानो भयो । सुरु भयो, दुःखको नयाँ अध्याय । 
०००
अहिले जसुदा ५७ वर्ष पुगिसकिन् । उनी नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ३ नम्बर गेटनजिकै चिया पसलमा बसी गफिइरहेकी छिन् । उनी वेलावेला मस्त हाँस्छिन् । वेलावेला आफैँले नाघिआएको दुःखको जँघार सम्झिँदै भक्कानिन्छिन् । छेउमा छिन्, छोरी पार्वती । उनी बेलाबेला पत्रिका पढ्छिन् । आमाको अनुहारमा नियाल्छिन् । जसुदाकै संघर्षको परिणाम पार्वती आज सिंहदरबारभित्र छिन् । ‘दलितले पढ्नै हुन्न’ भन्ने जुगमा आफ्नी छोरीलाई पढाएर सिंहदरबारसम्म पु¥याउने जसुदाको संघर्ष चानचुने छैन । कुन दुःखले पार्वतीलाई जसुदाले पढाइन्– यसको कथा लामो छ । छोरीको अनुहार एकपटक नियालिन् अनि सुरु गरिन्, आफ्नो कथा । 
०००
‘मलाई आधारातमा घिसारेर ल्याएपछि तीन दिनसम्म रोइरहेँ । खाना खाइनँ । तँसँग बिहे गर्नुभन्दा झुन्डिएर मर्छु भनेँ ।’ तर, घर–परिवारको इज्जत, समाजको डरको अघि जसुदाको जीवनको कुनै मूल्य थिएन । लोकलाजअघि जसुदाको सपनाको कुनै अर्थ थिएन । घरपरिवारले विवाह गरिदिए । अनि बनिन् ‘टाउकेकी श्रीमती ।’ भन्छिन्, ‘झन्डै दुई वर्षसम्म श्रीमान्सँग बोलिनँ ।’

जसुदाको श्रीमान्को खास नाम थियो– कविराम बिसुंके । तर, आफ्नो श्रीमान्लाई गाउँलेले कहिल्यै कविराम भनेको जसुदाले सुनिनन् । एउटा गरिब मजदुरी गर्ने सार्कीको छोरालाई कसले बोलाउने कविराम भनी ! कविराम गाउँका लागि थिए ‘टाउके’ । अनि जसुदा बनिन् ‘टाउकेकी स्वास्नी’ । जसुदाको बुहार्तन सुरु भयो । ढिकीजाँतो, मेलापात, अर्मपर्म सबै सबै । भन्छिन्, ‘त्यो वेला घडी हुँदैनथ्यो । कहिलेकाहीँ त ११ बजे राति सुतेर १२ बजे नै उठिँदो रहेछ । रातभरि मकै पिस्यो, अनि गाग्री बोकेर पँधेरा गयो ।’ रित्तो गाग्री बोकेर अलग्गै हिँड्थिन् उनी । कथित छुतहरूको आङमा पानीको छिटा नपर्ने गरी पानी थाप्थिन् । भन्छिन्, ‘छिटा परिहाल्यो भने मनपरी गाली गर्थे । कसैकसैले त कुट्थे पनि ।’ 

जसुदाका ससुरा बजारमा जुत्ता सिउने काम गर्थे । कविराम पहरा कपेर ढुंगा निकाल्थे । जसुदाका लागि घरअघिकै दैलेख बजार सधैँ बिरानो भयो । उनी त्यो बजारमा ठाडो शिर लिएर हिँड्न कहिल्यै पाइनन् । ती दिन सम्झिँदै भन्छिन्, ‘ठाडो शिर गरेर हिँड्न नपाइने । त्यसरी हिँड्यो भने दलितको जात भन्दै हकार्थे ।’ नयाँ लुगा लगाएर हिँड्दा गाउँलेले ‘हेर हेर नयाँ लुगा लगाएर ठूलो मान्छे भाकी’ भन्थे । त्यसपछि जसुदा नयाँ लुगा सुत्ने वेला लगाउँथिन् । त्यो कपडा पुरानो भएपछि मात्रै अरूका अघि लगाएर हिँड्थिन् । पुरानो लुगा लगाएको देखेका गाउँलेले भन्थे, ‘डुमको जात, हेर कस्ती फोहोरी भएर हिँडेकी ।’

जसुदाले बजारको दहीदूध कहिल्यै खाइनन् । भन्छिन्, ‘होटेलमा समेत हामीलाई दूधदही खान दिइएन । हामीले खायो भने गाई–भैंसी बहुलाउँछ भन्थे ।’ जसुदा सम्झिन्छिन्, ‘एक घर ठकुरीले १० घर दलितलाई पिर्ने । घरभित्रै आएर कुट्थे अनि आफैँ पुलिस लगाउँथे ।’ पहिलो सन्तानको रूपमा ०४३ सालमा जन्मिइन् पार्वती । छोरी जन्मिएको भन्दै जसुदालाई खानै दिइएन । ‘तीन दिनसम्म केही पनि खाइनँ,’ भन्छिन्, ‘७ दिनपछि श्रीमान्ले फेरि अर्की ल्याउँछु भन्न थाले । सासूससुरा पनि घर छाडेर पहाड गए ।’ त्यसपछि जसुदालाई लागिरह्यो, ‘छोरी नभइदिया भए हुन्थ्यो । जन्मिएर पनि चाँडै मर्दिया भए हुन्थ्यो । यो मरेपछि म पनि मर्थें ।’

एक वर्ष नपुग्दै जसुदाको फेरि गर्भ बस्यो । त्यसपछि छोरा पाइन् । अब कविरामलाई एउटा छोराले पुगेन । पाँच पाण्डव चाहियो । कविराम भन्न थाले, ‘तँैले पाँच भाइ छोरा जन्माइनस् भने अर्को बिहे गर्छु ।’ जसुदाले छोरा जन्माइरहिन् । पाँचै भाइ जन्माइन् । एक भाइ सानैमा बिते । चार छोरा र एउटी छोरी हुर्काउनुपर्ने कष्ट सुरु भयो । 

कविरामले पनि दिनरात मजदुरी गर्न थाले । जसुदाले खेतीपाती गरिन् । छोराहरू ३ कक्षा पढ्ने भइसकेका थिए । ९ वर्ष भइसकेकी पार्वती भने घरमै थिइन् । उनी बारम्बार आमासँग स्कुल जान्छु भनिरहन्थिन् । तर, गाउँमा दलितकी छोरी पढाउने चलन थिएन । ३ सय दलित बस्तीमा कुनै छोरी स्कुल गएका थिएनन् । जसुदालाई बिस्तारै लाग्न थाल्यो– छोरीलाई पढ्न पठाइनँ भने आफूले जस्तै दुःख पाउँछे । 


त्यसपछि उनी पार्वती पढाउने संघर्षमा लागिन् । अर्मपर्मबाट आएको पैसा बचाउन थालिन् । श्रीमान्ले चामल किन्नू भनेर दिएको पैसा अलिअलि जोगाएर राख्न थालिन् । भन्छिन्, ‘श्रीमान्ले तीन किलो चामल किन्ने पैसा दिनुहुन्थ्यो । म अढाइ किलो मात्रै किन्थेँ अनि बाँकी पैसा पछ्यौरीको टुप्पामा गाँठो पारेर लुकाउँथेँ ।’ 
जसुदाले छोरीका लागि केही पैसा जोहो गरिन् ।

बिहानै छोरीलाई स्कुल जान तयार बनाइन् । कविराम कालिकोटतिर ढुंगामा जाली भर्न गएका थिए । दलानमा ससुरा थिए । ससुरा परम्परागत पर्खाल बनेर ढोकामा थिए । त्यो पर्खाल तोड्नु थियो जसुदालाई । तर, ढोकाबाट निस्कने उपाय भएन । आफूभन्दा ‘राम्रो’ बनाउनु थियो छोरीलाई । छोरीको हात समाएर एकतला माथिबाट करेसोबारीमा फाल हान्न ठिक्क परिन् जसुदा । एक मनले सोचिन्, ‘श्रीमान्ले कुट्छन् । घरमा बबन्डर हुनेछ । कुटाइ खानुभन्दा भैगो छोरी पढाउँदिनँ ।’ फेरि अर्को मनले भन्यो, ‘छोरी मजस्तो हुनुहुँदैन । उसले संसार बुझ्नुपर्छ ।’ दोधारमा बसिरहिन् एकछिन । त्यसपछि हिम्मत गरिन् र करेसोबारीमा फाल हालिन् जसुदा । छोरीलाई तल झारिन् । घर पछाडिबाट बारी नै बारी हिँडेर स्कुल पुगिन् । छोरीलाई स्कुल भर्ना गरेर जसुदा बजारको बाटो घर फर्किइन् । त्यसवेला उनको अनुहार डरले रातो भएको सम्झना आलै छ । घर आइपुग्दा ससुरा साह्रै रिसाएका थिए । अब सुरु भयो जसुदा–संघर्षको अर्को अध्याय । 
०००
‘काँ गा थिस् ?’ पिँढीमा बसिरहेका ससुराले रुखो स्वरमा सोधे । जसुदाले घोसेमुन्टो लगाएर भनिन्, ‘नाचेले (पार्वती) पढ्छु भनी । अनि स्कुलमा नाम लेखाएर आकी ।’ ससुरा जंगिए । घरै थर्किने गरी गाली गरे । बुहारीलाई पिटुँलाझैँ गरे । दारा किट्दै भने, ‘ए ! स्कुलमा गएर छोरीको नाम लेखाएर आइस् ! अब कसले चराउँछ बाख्रा ? कसले हेर्छ गाई ? एउटी नातिनीको कन्यादान दिएर मरुँला भन्या थेँ, स्कुल पठाइस्, होइन ? अब तेरी छोरी केटालाई चिठी लेखेर पोइल जान्छे ।’ आमाछोरीले ससुराको कुरा सुनिरहे । सासुराले सक्दो गाली गरे । थाके । अनि जुत्ता सिउने सामान बोकेर बजारतिर हिँडे । 

जसुदाले पटुकामा लुकाएको पैसाले पार्वतीको लागि नयाँ फ्रक किनिदिइन् । नयाँ फ्रक लगाएर पार्वती फुरुंग हुँदै स्कुल जान थालिन् । मिहिनेत गरेर पढिन् । स्कुल गएको केही महिनामै पार्वतीले बुबालाई चिठी लेखिन् । कालिकोटमा ढुंगा फोरिरहेका बुबालाई हुलाकमार्फत् चिठी पठाइन् । त्यो चिठी लेख्न सकेको दिन पार्वतीलाई संसार जितेजस्तै लागेको थियो । खुसीले भुइँमा खुट्टै थिएन । हिँडेर पनि तीन दिनको बाटोमा थिए कविराम । चिठी कविरामको हातमा पुग्यो । निरक्षर कविरामले सँगैका साथीलाई चिठी पढ्न लगाए । त्यसपछि तत्कालै घर आइपुगे कविराम । छोरीलाई स्याबासी दिन होइन । कुट्न, स्कुल छुटाउन र श्रीमती भकुर्न । 

घरमा रँडाको मच्चियो । जसुदालाई कविरामले कुटे । छोरीलाई हकारपकार पारे । कापीकिताब बारीमा फ्याँकिदिए । सिसाकलम भाँचिदिए । कविरामले भने, ‘तेरी छोरी पोइल जान्छे अब ।’ श्रीमान्को शिरमा समेत हेर्न नपाइने समयमा जसुदाले अडान लिँदै भनिन्, ‘छोरी जसरी भए पनि पढाउछु !’ फेरि कुट्न थाले कविरामले । रुँदारुँदै जसुदाले छोरीलाई भनिन्, ‘मरे म मर्छु, तिमी पढ्नू । ठूलो मान्छे बन्नू । मजस्तो मान्छे नबन्नू ।’ 

अब पार्वती राजनीतिमा पनि सक्रिय हुन थालिन् । ‘डुमकी छोरी भएर राजनीति गर्ने ?’ मानिसले फेरि कुरा काट्न थाले । दिनभरि मजदुरी गर्ने कविरामको कानमा फेरि मानिसले भरिदिए कुविचार । 

कुटिरहे कविरामले । अब जसुदाले अन्तिम अस्त्र प्रयोग गरिन् । चर्कोे स्वरमा उनले कविरामलाई भनिन्, ‘मेरी छोरी पढ्न रोक्ने भए मलाई त्याग्नुस् । अर्को बिहे गर्नुस् । म श्रीमान् त्याग्न तयार छु, तर छोरीलाई स्कुल जानबाट रोक्न तयार छैन ।’ त्यसपछि हच्किए कविराम । आफँैसँग बोलेर बर्बराउन थाले । उता ससुरा दलानमा बसी थाप्लोमा हात राखेर खुइय्य गरिरहेका थिए । 

पार्वती प्रत्येक कक्षामा फस्ट हुन थालिन् । कक्षा पाँचको जिल्लास्तरीय परीक्षामा उनी जिल्ला प्रथम भइन् । कक्षा आठको जिल्लास्तरीय परीक्षामा पनि पार्वती जिल्ला प्रथम भइन् । ०५८ को एसएसलीमा पनि जिल्ला प्रथम भइन् । दैलेखको दलित समुदायबाट पहिलोपटक एसएलसी पास गर्ने उनी नै थिइन् । त्यसपछि रेडियोले फुक्यो, ‘कविराम बिसुंकेकी छोरी पार्वती बिसुंके जिल्ला टप भइन् ।’ मजदुरी गरिरहेका कविरामलाई कसैले सुनाइदियो, ‘ए टाउके, तेरी छोरीको नाम रेडियोले फुक्यो त !’ कविराम झस्किए । हर्षले आँसु बगाए । त्यसपछि हस्याङफस्याङ गर्दै बजार झरे । आधा पैसा बाँकी राखेर १२ सय रुपैयाँमा फिलिप्स रेडियो किने । अनि पर्खिरहे, छोरीको नाम । त्यो दिनदेखि कविरामले त्यो रेडियो जीवनभरि बोकिरहे । हरेक पल रोडियोले छोरीको नाम भन्छ कि भन्दै कान थापिरहे । 
०००
अब पार्वतीको सक्रियता बढ्न थाल्यो । एसएलसी पास गर्ने गाउँकै पहिलो दलित किशोरी भएकाले बाल विकास केन्द्रको सहजकर्ताका लागि पार्वतीलाई दाङ बोलाइयो । पितृसत्ता र वर्ण व्यवस्थाको सिकार बनाइएका कविराम कहाँ सुध्रिएका थिए र ! सहर–बजारमा डराइडराई हिँड्ने कविरामले कहाँ दाङ देखेका थिए र ! कहाँ काठमाडौं देखेका थिए र ! 

कविरामले त मात्रै सुनेका थिए, सहरबारे अनेकन् झुटा कहावत– छोरीहरू दाङ पुगेपछि बिग्रन्छन्, बलात्कार गरिदिन्छन् छोरीलाई, छोरी मान्छे सड्ने ठाउँ हो दाङ ! आबुई पठाउनुहुन्न छोरीलाई दाङ ! अहँ कविरामले जानै दिएनन् छोरीलाई । तर, जसुदाले फेरि संघर्ष गरिन् । ससुरा बितिसकेका थिए । जसुदाले कविरामको पिटाइ खाइन् । तर, छोरीलाई रोकिनन् । श्रीमान्को कुटाइ खाँदै छोरीलाई भनिन्, ‘जाऊ छोरी, सहर बुझेर आऊ । दुनियाँ बुझेर आऊ । मैले जस्तै श्रीमान्को कुटाइ खाएर नबस ।’

जसुदाले पुरातन सोचको चौघेराभित्र आफू कुटाइ खाएरै पनि छोरीलाई खुला पक्षीजस्तै उड्न हौसला दिइन् । पार्वती पहिलोपटक दाङ आइन् । सहरका अग्ला–अग्ला घर हेरिन् । नयाँ–नयाँ मान्छेसँग संगत गरिन् । केही साताको तालिम सकेर घर फर्किइन् । त्यसपछि ‘सेभ द चिल्ड्रेन’ले पार्वतीलाई काठमाडौं बोलायो । कविरामको मुटुमा ढ्यांग्रो बज्यो– आमा हो ! अब झन् कहाँ काठमाडौं पठाउने छोरीलाई ! छोरी काठमाडौं जाने भनेपछि थुपै्र रात कविराम निदाएनन् । उनले काठमाडौंबारे सुनेका थिए, ‘काठमाडौंमा गुन्डाहरू हुन्छन् । छोरी मान्छे देख्यो कि बलात्कार गर्छन् अनि मार्छन् । जिजुबाजे नगएको त्यो ठाउँ । अहँ छोरी पठाउनुहुन्न ।’ ्

घरमा बबन्डर सुरु भयो । कविरामको घरमा आधारातसम्म रुने, कराउने, पिट्ने, चिच्याउने भइरह्यो । तर, कविराम हारे ।पार्वती काठमाडौं आइन् । ‘सेभ द  चिल्ड्रेन ’को मनोसामाजिक मनोविमर्शकर्ताको तालिममा सहभागी भइन् । तीनजना प्रतिस्पर्धीमध्ये उनी छनोटमा परिन् । मासिक १२ हजार रुपैयाँमा काम गर्न थालिन् । छुट्टीमा नेपालगन्जबाट १४ बोरा चामल, दाल र तेल गाडीमा लिएर घर पुगिन् । गाउँका सबै छक्क परे । मानिसले कानेखुसी गर्न थाले । धेरैले कविरामको कान फुके, ‘तेरी छोरीले राम्रो काम गरेर ल्याएको चामल होइन । विचार गर् टाउके ।’असारको झमझम पानी परेको रात । कविरामले सबै बोरा पानीमा फालिदिए । हतारहतार दिदीभाइ मिलेर घरभित्र ल्याए । तीन बोरा चामल नष्ट भयो । 
०००
पार्वतीकै गाउँमा सेते दमार्इंको छोराले ठकुरीकी छोरी भगायो । त्यही निहुँमा आधारातमा सेते दमाईंको हत्या भयो । यसपछि गाउँमा पार्वतीको रोल सुरु भयो । न्यायको लडाइँमा पार्वती अघि सरिन् । १ वर्षको संघर्षपछि २१ वर्षका लागि ३ जना जेल गए । १० वर्षका लागि अर्का दुईजना जेल गए । पार्वतीलाई मार्ने धम्कीसमेत आयो । तर, उनी डराइनन् । 

संकल्प नामक संस्थाले पार्वतीलाई मोडल महिलाको रूपमा शान्ति संवाद पुुरस्कार दिने भयो । त्यसवेला पार्वतीको स्नातक तहको परीक्षा चलिरहेको थियो । जसुदा छोरीको पुरस्कार लिन जीवनमै पहिलोपटक हवाईजहाज चढेर काठमाडौं आइन् । पुरस्कार लिन मञ्चमा उक्लिइन् । कसैले सोधे उनलाई, ‘कसरी पढाउनुभयो छोरी ?’ हजारौँ मान्छेको अघिल्तिर उभिएर जसुदाले भनिन्, ‘श्रीमान्ले ५ किलो चामल किन्ने पैसा दिँदा ४ किलो मात्रै किन्थेँ । एक किलो चामल किन्ने पैसा छोरीको पढाइको लागि छुट्याउँथेँ ।’ त्यसपछि हल स्तब्ध भयो । सबै सुकसुकाउँन थाले । 

अब पार्वती राजनीतिमा पनि सक्रिय हुन थालिन् । ‘डुमकी छोरी’ भएर राजनीति गर्ने ? मानिसले फेरि कुरा काट्न थाले । दिनभरि मजदुरी गर्ने कविरामको कानमा फेरि मानिसले भरिदिए कुविचार । फेरि कुट्न थाले जसुदालाई । भन्छिन्, ‘घरमा कलह नभएको दिनै हुँदैनथ्यो । कुटाइ कत्ति खाएँ–खाएँ । तर, छोरीलाई पटक्कै रोकिनँ ।’ छोरीको निहुँमा दिनहुँ कुट्न थालेपछि जसुदाले निर्णय गरिन्, ‘अब घर छाडेर अन्तै जाने ।’ 

त्यसपछि आफ्ना लुगाफाटो र भाँडा पोको पारिन् । छोराछोरी अघि लगाइन् । अनि दैलेख बजारको एउटा कुनामा भाडामा बस्न थालिन् । आमा र चार भाइलाई कोठाभाडामा राखेर पार्वती राजनीतिमा सक्रिय हुन थालिन् । बजारमा बस्दा जसुदालाई गाउँलेले सुनाए, ‘टाउके दिनभरि ढुंगा फोर्छ । भात खाँदैन । दुब्लाएर हाड–छाला मात्रै छ । खालि रेडियो मात्रै सुनिरहन्छ ।’ श्रीमान्को खबर सुनेर जसुदा आँसु झार्थिन् । सोच्थिन्, ‘केही भइहाल्यो भने... !’ उनीहरू सात महिना भाडामा बसे । त्यसपछि पार्वतीले आफन्त जम्मा पारेर कविरामलाई सम्झाइन् । आफन्तले पनि सम्झाए । त्यसपछि कविराम बजार पुगे । जसुदा बस्ने कोठाअघि ठिंग उभिए । अनि भने, ‘गल्ती तेरो पनि थियो । मेरो पनि थियो । जे हुनु भइहाल्यो । हिँड् जाऊँ घर ।’

छोरीलाई स्कुल भर्ना गरेर जसुदा बजारको बाटो घर फर्किइन् । त्यसवेला उनको अनुहार डरले रातो भएको सम्झना अझै आलै छ । घर आइपुग्दा ससुरा साह्रै रिसाएका थिए । अब सुरु भयो, जसुदा–संघर्षको अर्को अध्याय । 


०००
पार्वती स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नारायण नगरपालिका–१ मा वडा सदस्यको प्रत्यासी भइन् । उनलाई सुरुमा जितिन्छ भन्ने विश्वासै थिएन । तर, नसोचेको परिणाम आयो । उनी वडा सदस्य भइन् । अब जसुदाको परिचय बिस्तारै फेरिँदै गयो । बजारमा लुकीलुकी हिँड्नुपर्ने अवस्था कम हुँदै गयो । चुनाव जितेपछि पार्वतीले गाउँमा सहभोज आयोजना गरिन् । गाउँको इतिहासमा पहिलोपटक दलित र गैरदलितले एउटै चुलोमा पाकेको खाना खाए । भोजमा धेरै मानिस आए । पार्वती भन्छिन्, ‘कतिपय बाध्यताले पनि आए ।’ 

जिल्ला समन्वय समितिको उपप्रमुखमा पार्वतीले उम्मेदवारी दिइन् । तर, जितिनन् । दोस्रो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक सभासद्को उम्मेदवार भइन् । निर्वाचनपछि मतगणना सुरु भयो । जसुदा मतदानस्थल पुगिन् । एकजना गैरदलितले जसुदालाई सुनाए, ‘पार्वतीले हार्छे । कहाँ जित्नु पार्वतीले । कस्ताकस्ता मान्छे हारिराछन् । कहीँ नपाएर पार्वतीले जित्छे होला अब !’ जसुदा ती मान्छेको कुरा सुनेर निराश भइन् । छोरीले हार्ने भएपछि भोट गन्ने ठाउँमा बसिरहन मन लागेन । लुरुलुरु घर फर्किइन् । आगँनको डिलमा बसेर आफैँसँग कुरा गरिरहिन्, ‘मेरी छोरी भोकभोकै भोट माग्दै हिँडी । एक पैसा खर्च गर्न सकिनँ । पैसा भए पो खर्च गर्नु !’

बेलुकीतिर हल्ला चल्यो– लौ पार्वतीले ३८ हजार भोट ल्याएर चुनाव जिती ! जसुदा झस्याङ्ग भइन् । हाँस्न खोजिन्, सकिनन् । रुन खोजिन्, सकिनन् । बसिरहेको ठाउँबाट बिस्तारै उठिन् अनि भित्तामा टाँसेको कविरामको फोटो अघि उभिएर बेस्सरी रोइन् । बररर आँसु झार्दै कविरामसँग भनिन्, ‘तपाईंले ढुंगा फोरेर हुर्काएकी छोरीले आज चुनाव जिती । सुन्नुभयो हजुर, हाम्री नाचे अब सांसद भई ।’
०००
अब जसुदा सांसदकी आमा भइन् । पार्वतीको सक्रियता झनै बढ्यो । उनले गाउँका प्रत्येक घरमा शौचालय बनाउन लगाइन् । सरसफाइ अभियान चलाइन् । धुलो उड्ने कच्ची सडकमा दुई करोडको लागतमा कालोपत्रे गराइन् । आफू पढेको स्कुल स्तरोन्नतिका लागि १० लाख उपलब्ध गराइन् । त्यही बजारमा कुनैवेला जसुदा लुकीलुकी हिँड्थिन् । तर्कीतर्की हिँड्थिन् । बाटोमा देख्नेहरू ‘डुम’ भन्दै थुक्थे । अब जसुदालाई समाजले भन्न थाले, ‘नमस्ते भाउजू, नमस्ते आमा !’ तिनै थुक्ने मान्छेले आज ‘नमस्ते’ भन्दा जसुदा छक्क पर्छिन् । भन्छिन्, ‘घृणा गर्ने मान्छेले नमस्कार भन्दा म रोएँ नि !’छोरीसँग काठमाडौं आइन् ।

संसद् भवन गइन् । छोरीले बोलिरहँदा पछाडि बसेर सुनिरहिन् । आँसु झारिरहिन् । ‘त्यसवेला छोरीलाई बोकेर एक तलामाथिबाट फाल नहानेको भए !’ वेलावेला जसुदा झस्किरहिन् । जसुदाले जीवनकथा सुनाइरहँदा उनी पटक–पटक रोइन् । कहिले भावुक भनिन् । कहिले हाँसिन् । उनले भोगेका दुःखको फेहरिस्त सुनिसक्दा २ घन्टा बितिसकेको थियो । सार्वजनिक लेखा समितिको सदस्यसमेत रहेकी पार्वती छेउमै बसेर पत्रिका पल्टाइरहेकी थिइन् । पार्वतीले सुनाइन्, ‘आमा मेरा लागि संसार हो । प्राण हो । जीवन हो ।’
०००
जसुदाको गाउँ फेरियो । पार्वती पढ्ने स्कुलको छाना फेरियो । जसुदालाई गर्ने सम्मान थोरै भए पनि फेरियो । इज्जत छ, गाउँमा । छोराछोरीको राम्रो पढाइ छ । ओत लाग्ने घर छ । घर पुग्न छोरीले बनाएको चिल्लो सडक छ । तर, साथमा छैनन्– पहरा कप्ने ती ‘टाउके’ ।कहिल्यै सहर नदेखेको तर सहरबारे अनेक किस्सा बोकेर बाँचेको ‘त्यो टाउके’ आज उनीसँग छैनन् । रेडियोमा छोरीको नाम कुरिरहने पितृसत्ताको उत्पादन त्यो रक्स्याहा बाउ आज पार्वतीसँग छैनन् । मात्र छ, घरको खाँबामा झुन्डिरहेको कविरामले किनेको थोत्रो रेडियो । मात्र छ, त्यो रेडियोमाथि कविरामको धमिलो तस्बिर । अनि त्यो तस्बिरमा झुन्डिरहेको सयपत्री माला ।