• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
ज्ञानु अधिकारी
२०७९ पौष २३ शनिबार ०८:०१:००
साहित्य

‘मरुभूमिको हिमपात’मा युगीन चेतना

२०७९ पौष २३ शनिबार ०८:०१:००
ज्ञानु अधिकारी

कवि सोझो गाउँलेको ‘मरुभूमिमा हिमपात’ पछिल्लो समय प्रकाशित कवितासंग्रह हो । विविध विषयमाथिको युगीन यथार्थ प्रतिबिम्बन भएको प्रस्तुत कृति समकालीन नेपाली कवितामा आफ्नो पृथक् अस्तित्व स्थापित गर्न सफल भएको छ । कवितामा केही यस्ता पक्ष छन् जसले कवितालाई फरक र मौलिक बनाएका छन् । संवेदना र विचारलाई कलात्मक रूपमा प्रस्तुत गर्न सक्नु र समाजका विविध विषमतालाई निर्भीक रूपमा उजागर गर्नु गाउँलेका कविताका विशेषता हुन् । 


करिब चार दर्जन कविता समेटिएको यस कृतिमा ‘देश’, ‘परिवेश’, ‘जीवन’ र ‘प्रेम’ गरी कवितालाई चार खण्डमा विभाजन गरिएको छ । हरेक खण्डका कवितामा गहिरो संवेदना छ । आत्मैदेखि पुकारिएको आवाज छ । स्थानीय परिवेशको सुगन्ध छ । अनि, आँसु पिएर बाँचेकाहरूको छटपटी छ । यी कविताहरूमा कवि द्रष्टा भएर बोलेका छैनन्, भोक्ता भएर पोखिएका छन् । कविता पढ्दा यस्तो लाग्छ– पढिरहुँ, अझै पढिरहुँ, कवितामा यस्तो आकर्षण पाउनु प्रायः दुर्लभ नै हुन्छ ।


देश शीर्षकको पहिलो खण्डभित्र रहेका आठवटा कवितामा देशलाई मूर्त र अमूर्त दुवै रूपमा चित्रण गरिएको छ । देशलाई आदर्शीकरण गरी बिम्बहरूले सिँगारिएको यस खण्डका कवितामा कतै देशको परिभाषामाथि प्रश्न उठाइएको छ भने कतै विश्वका अन्य देशका सापेक्षमा आफ्नो देशलाई चिनाइएको छ । नेपाल र नेपालीको पहिचान भन्नु नै यहाँका मौलिक संस्कृति हुन् भन्ने भाव बोकेका यी कवितामा संस्कृतिको अन्तर्मिश्रण र बहुसंस्कृतिको चित्रण गरिएको छ । देशलाई कविले आफ्नै अनुभूति र स्थानीय बिम्बद्वारा चित्रित गरेका छन् । ‘कर्नालीवासीका चिसा आँसु बगाउने–सर्पिलो नीलो कर्नाली–यार्साको ओखती र स्याउको स्वाद सम्झँदै–पाखीको सप्को हालेर–मुग्लान जान दक्खिन ओर्लिन्छ’ (२८) जस्ता कलात्मक र सुन्दर पदावलीको प्रयोग गरेका छन् । कविले आफू छु भन्ने अनुभूति गरिरहँदा त्यससँगै यसअघि पनि कोही थिए, जसले यी सब विरासत हामीलाई दिएर गए भन्ने आशय व्यक्त गरेका छन् र त्यो आशय कवितामा इतिहास चेतनाको रूपमा आएको छ । यसरी देशसँगै जोडिएर इतिहास चेतना, संस्कृति चेतना अभिव्यञ्जित हुनु नै यस खण्डमा समेटिएका कविताको सुन्दर पक्ष हो । 


रिवेश यस कविताकृतिको दोस्रो खण्ड हो । यस खण्डमा समेटिएका १४ वटा कविता स्थानीय परिवेश, भाषा, संस्कृति र तत्जन्य संवेदनाको सुन्दर र कलात्मक प्रस्तुति रहेको छ भने तेस्रो खण्ड जीवन शीर्षकमा १५ वटा जीवन र समाजसँग सम्बद्ध कविता समावेश गरिएको छ । यसैगरी, प्रेम शीर्षकको अन्तिम खण्डका १० वटा कवितामा प्रेमका विविध आयाम र यसले निर्माण गरेका विषयसँग सम्बद्ध कविता समेटिएका छन् । यसरी समग्रमा कविले आफूले देखेको र भोगेको समय र अनुभूतिलाई नै कविताका माध्यमबाट अभिव्यक्त गरेका छन् । कवितामा कविले आफूले भोगेको समय र आफू उभिएको परिवेशलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेका छन् । यसैक्रममा उनले सामाजिक विकृति र विसंगतिमाथि प्रहार मात्र गरेका छैनन् आजका मान्छेको आडम्बर र संवेदनाहीनतामाथि समेत व्यंग्य गरेका छन् । कवितामा ढोँगी प्रवृत्तिमाथि प्रश्न गर्दै भनिएको छ :


ए मूर्तिको पूजा गर्ने भक्तजनहरू !
छिनु चलाउँदा ठेला उठेका हातहरूको मलमपट्टी गर्नुपर्दैन ?
ए मन्दिरको महिमा गाउने पुजारीहरू !
मान्छेको मनलाई मन्दिर बनाउनुपर्दैन ? 
पृ.४३


प्रस्तुत संग्रहका कवितामा विविध विषय र भावको प्रस्तुति पाइन्छ । नेपालका विकट र दुर्गम गाउँहरूका दुःख, गरिबी र अभावको चित्रणदेखि राजनीतिक बेथितिले पारेका नकारात्मक प्रभाव, गृहयुद्धको नरसंहारपछि आशंकाको धुवाँ पन्छाउँदै हेरिएको नयाँ बिहानी, सहरी जीवनको यान्त्रिकता र संवेदनाहीनताप्रति असन्तुष्टि, विचार र विश्वासमा देखिएको संकटजस्ता विषयमा यस संग्रहका अधिकांश कविता लेखिएका छन् । खासगरी, ‘सहर कागजको फूल रहेछ’ र ‘मान्छे स्वयं मेसिन भइगएछ’ भन्ने कविताबाट कविलाई सहरप्रति वितृष्णा छ भन्ने बुझिन्छ । ‘बेइमान सहरमा सोझो गाउँले’ शीर्षकको कवितामा उनले आफ्नो गाउँले जीवनप्रति गर्वबोध गर्दै प्लास्टिकको मुटु बोकेका सहरवासीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्दिरजस्तो मन, हिमनदीजस्तो हृदय र पहाडजत्रै छाती लिएर हिँडेको थिएँ भन्दै सहरमा सुकिलो मन भएको मान्छे पाउन नसकिएका भाव उनका कवितामा व्यक्त भएका छन् ।


प्रस्तुत संग्रहका अधिकांश कवितामा मानवीय संवेदनाको उत्कर्षता पाइन्छ । त्यसैले यी कविता पाठकलाई संवेदित बनाउन सफल छन् । ‘डोको बुन्ने दाइ’ शीर्षकको कविता श्रमलाई सम्मान गर्दै मान्छेका कमीकमजोरी र खराब प्रवृत्तिमाथि व्यंग्य गरेर लेखिएको शक्तिशाली कविता हो । यसैगरी, आजका युवापुस्तामा छाएको निराशा र असन्तुष्टिलाई पनि यस कृतिका केही कवितामा विषय बनाइएको छ । खासगरी कामको खोजीमा वैदेशिक रोजगारीका लागि खाडीमुलुक भासिएका युवाहरूको पीडायुक्त भोगाइ कवितामा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । एकसरो जीवन बाँच्नकै लागि जीवनका ऊर्जाशील समय बिरानो देशमा व्यतीत गरिरहेका युवाका आवाजलाई ‘आँसुले भिजेको मरुभूमि’ शीर्षकको कवितामा यसप्रकार व्यक्त गरिएको छ :


आमाको मायाजस्तो घाम उतै छ
बाबाको छायाँजस्तो जून उतै छ
प्रेयसीकोे स्पर्शजस्तो हावा र 
बहिनीले बनाएको सर्बतजस्तो पानी उतै छ
सम्झनाको तरेलीमा अल्झिएको
एक मुठी सास छ मसँग यहाँ ।
पृ.३९


कवितामा नारीजीवनका यथार्थ, जटिलताका साथै ग्रामीण भेगका विपन्न नारीहरूले भोगिरहेका पीडा र संघर्षलाई पनि कविताको विषयवस्तु बनाइएको छ । समाजमा हेपिएर, डराएर र पलपल मरेर बाँच्नुपर्ने विवशता बोकेका नारीहरूको जीवनसंघर्षका कथा पनि कवितामा आएका छन् । ‘काफल बेच्ने केटी’ यस्तै प्रकारको कविता हो । आफ्नो जीवनसँग, एक्लो जवानीसँग र गरिबीसँग लडिरहेकी एउटी केटी फेरि आफ्नै समाजका सिकारीहरूसँग कसरी डराएर हिँड्नुपर्छ भन्ने कुरालाई ‘काफल बेच्ने केटी’ कविताका माध्यमबाट यसरी व्यक्त गरिएको छ :


अँध्यारो ढलिनसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरी लेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवनजस्तो घनघोर जङ्गलभित्र
वन्यजन्तुसँग डर लाग्दैन उसलाई 
बरु सिकारीसँग डराउँछे ।
पृ. ३५ 


प्रस्तुत संग्रहका केही कवितामा मानवीय जीवनका विविध आयामलाई सुन्दर ढंगमा प्रस्तुत गरिएको छ । ‘हार स्विकार्दैन जिन्दगी’, ‘जुनीभरिको कमाइ’, ‘जीवन र ईश्वर’ यस्तै प्रकारका कविता हुन् । जसरी हिमालले कहिल्यै शिर नझुकाएजस्तै, चराहरूले उड्न नडराएजस्तै र पूmलहरू मुस्कुराउन नछोडेजस्तै मान्छेले पनि हार स्वीकार गर्न सक्दैन भन्ने आशावादी र जीवनवादी भाव केही कवितामा आएका छन् । यस्तै केही कवितामा प्रणयप्रेमका सन्दर्भ पनि आएका छन् । आत्मिक प्रेम र भौतिक प्रेमका विविध सन्दर्भलाई कवितामा प्रतीकात्मक रूपमा व्यक्त गरिएका छन् । प्रेमका स्वरूपहरू फरक देखिए पनि, यसलाई विभिन्न किसिमबाट अथ्र्याए पनि वास्तवमा प्रेम आत्मिक हुने भएकाले यो  शाश्वत र अविनाशी हुन्छ भन्ने भाव कवितामा व्यक्त भएका छन् । 


समग्रमा यस संग्रहका कवितामा कविले गाउँदेखि सहरसम्मको, किनारादेखि केन्द्रसम्मको, चरम गरिबीदेखि चरम विलासीसम्मको र प्रजातन्त्रदेखि गणतन्त्रसम्मका विविध यात्रा र यथार्थलाई कविताको अन्तर्वस्तु बनाएका छन् । देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम र मानवतावादी भावनाले कवितालाई सरस बनाएका छन् भने विविध बिम्ब, प्रतीक, मिथक र समसामयिक सन्दर्भहरूले कविताको भाव गम्भीर बन्न पुगेको छ । साथै, अग्रजप्रतिको आस्था, लोकतन्त्रमा विश्वास, मानवीय मूल्यको संरक्षण तथा श्रमको सम्मान कवितामा मुख्य भाव बनेर आएका छन् । यसर्थ, प्रस्तुत कृति आजको समय, समाज र युवाको आवाज बोकेको अनि कला र विचारको सन्तुलित प्रयोग गरिएको सुन्दर कविता कृति हो ।