• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सरला क्षेत्री
२०७९ पौष ३० शनिबार ०६:२५:००
समाज

अब भाग्दिनँ, लड्छु

२०७९ पौष ३० शनिबार ०६:२५:००
सरला क्षेत्री

यो धर्तीमा पाइला टेक्नुअगावै पाठेघरमै संघर्ष गरिरहेका गोडा कति होलान् ? कति होलान् जम्दै–बग्दै निरन्तर हिँडिरहेका गोडा ? यहाँ संघर्षरत सुन्दर गोडामध्ये मेरो गोडाको पनि आफ्नो छुट्टै कथा छ ।जीवन आफैँमा एउटा यात्रा रहेछ । यो यात्रामा भेटिएका/ठोक्किएका ‘स्पर्श’ले आ–आफ्नै कथाहरू बोकेका हुन्छन् । आखिर प्रत्येक मान्छेसँग कहिले नसुनिएका कथाका ‘एपिसोड’ कति छन् होला ? त्यस्तै ‘अनहर्ड एपिसोड’ मसँग पनि छ । अझ भनुँ कहालीलाग्दो स्पर्शका यथार्थ एपिसोडहरू...।


आफ्नो एक चपरी माटो पनि नभएको परिवारमा मेरो जन्म भयो । मेरो बालापन अभाव अनि अपहेलनामा बित्यो । लाग्छ, अभावको महाकाव्य म सरसर्ती लेख्न सक्छु । हाम्रो आर्थिकस्तर एकदमै न्यून थियो । त्यसकारण पनि म धेरैपटक धेरै ठाउँमा चुप बसेकी छु । तर, मसँग भन्नलाई गलत छुवाइ अनि यौन शोषणको थुप्रै ‘नाइटमेयर’ बाँकी छन् । यो पितृसत्तात्मक संरचनामा महिलाहरू चुप बस्नु उनीहरूको गल्ती होइन । यो संरचनामा मुख खोलेपछि महिलाहरूको ‘अर्ध वध’ बारम्बार भइरहन्छ । त्यसैले पनि ‘अनहर्ड एपिसोड’ कतै न कतै सबैसँग हुने गर्छ ।


मेर‍ो जन्म भारतको सुन्दर राज्य सिक्किममा भयो । म हुर्कँदै बढ्दै थिएँ । एक चपरी माटो पनि नभएका कारणले गरिएका विभेद निम्न आर्थिकस्तरका कारण हुने अपहेलना यी सबैसँग साक्षात्कार हुँदै म बढ्दै थिएँ । धेरैपटक धेरै ठाउँमा धेरैजनाले आफूसँग खेल्न नदिएर म दुःखी हुन्थेँ । 

त्यसदिनको घटनापछि म आफू तेज भागेकोबाहेक अरू सम्झना छैन । म भागिरहेँ, उसले लखेटिरह्यो, त्यो क्रम हप्ता, महिना, वर्ष हुँदै बितिरह्यो । उसले मलाई नौ वर्षसम्म लखेटिरह्यो, म भागिरहेँ । 


एक दिन भने केही फरक भयो । विद्यायलको छुट्टीमा बेलुकी घरको काम सकेर म खेल्न मैले नै पढ्ने स्कुल गएँ । त्यो दिन लुकाचोरी खेल्ने निधो भयो । सुरुमा आफूले खोज्नुपर्ने भएन । खुसी थिएँ । अब लुक्नुपर्ने भयो । पहाडी भेग भएको कारण धुपी पैँयुका रूख प्रशस्त थिए । म लुक्न एउटा धुपीको रूखपछाडि गएँ । म लुकिरहेकी थिएँ । त्यहीवेला एउटा केटा (जो हामीसँग खेल्थ्यो ) म लुकिरहेको ठाउँमा आयो । उसले ‘म पनि तिमीसँग लुक्छु है,’ भन्यो । मैले हुन्छ भनेँ । बिस्तारै उसले मलाई मन पराएको राम्री लागेको भन्दै छुन खोज्यो । मैले म भित्र एकतमासको डर लागेको आभास गर्न थालेँ । जब म त्यहाँबाट भाग्न खोजेँ, उसले मेरो हात पक्रेर उसको गुप्तांगमा लग्यो र भन्यो ‘तिमीलाई देख्नासाथ भाइ खुसी भयो ।’ त्यसपछि मलाई आफू तेज भागेको बाहेक अरू सम्झना छैन । म भागिरहेँ, उसले लखेटिरह्यो, त्यो क्रम हप्ता, महिना, वर्ष हुँदै बितिरह्यो । उसले मलाई नौ वर्षसम्म पछ्याइरह्यो, म भागिरहेँ ।


जब मैले फेसबुक खोलेँ ऊ त्यहाँ पनि आएर ‘क्यान वी हेभ अ सेक्स च्याट ?’ भन्थ्यो । यसरी एउटै केटाबाट म धेरै वर्ष शोषणमा परिरहेँ । एक दिन मैले आफैँलाई भनेँ, अब म भाग्दिनँ, लड्छु । त्यसपछि साहस जुटाएर प्रतिवाद गरेँ । त्यसपछि ऊ मेरो जीवनमा आएन । तर, ऊजस्तै अनेक पात्रहरू आइरहे । 


यो ‘एपिसोड’ सेलाउन नपाउँदै अर्को ‘एपिसोड’ सुरु भयो । हामी बसेको ठाउँमा वर्षभरि खेतीपाती गरेर मालिकलाई कुत बुझाउनुपर्ने नियम थियो । खेती गर्नलाई अनि मलकै लागि पनि एउटा थारो गाई अधियामा पालेका थियौँ । एक दिन खीर खानका लागि दूध लिन तल्लो गाउँ जाँदै थिएँ । बाटोमा एकजना केटा (मेरो दाजुको साथी)ले बाटो छेकेर पैसाको प्रलोभन देखाएर सेक्सको प्रस्ताव राख्यो । प्रस्ताव राखिरहँदा फेरि कहालीलाग्दो छुवाइले मलाई गाँज्यो । म बल्लतल्ल उसलाई धकेलेर भाग्न सफल भएँ । घर पुगिसक्दा म टुटिसकेको थिएँ । दुईजनाको गलत छुवाइ दिमागमा आइरह्यो, अनि कमजोर भएर आत्महत्याको बाटो रोजेँ । भित्र कोठामा गएर घाँटीमा टाई कसेँ, तर सास जान गाह्रो भयो । त्यो सकसको वेला दिमागमा बुढाबाबा, मिहिनेती आमा र पूरा गर्न बाँकी आफ्ना सपनाहरूको रिल घुम्न थाल्यो । त्यसपछि म फेरि बाँचेँ ।


सन् २०१९ मा हामी बसाइँ सरेर झापा आयौँ । नागरिकताविहीन भएर बाँचिरहेका थियौँ । मैले एउटा आवासीय विद्यालयमा पढाउन थालेँ । नेपाल आएपछि सामाजिक सञ्जालमा अलि सक्रिय हुन थालेँ । म प्रेमको विषयमा खुलेर लेख्थेँ । तर, धेरैजनाले त्यो लेखाइमार्फत ‘सेक्स अपिल’ गरेको बुझेर धेरै नराम्रा कुरा भन्थे । एकपटक त एउटा प्रेम प्रस्ताव अस्वीकार गर्दा ‘मलाई भ्याएको’ भन्ने हल्लासम्म पिटियो । सुन्दा सामान्य सुनिएला, तर यस्ता कुराले दिने ट्रमा भने कहालीलाग्दो हुने गर्छ । 


यसरी फरक–फरक पात्रबाट फरक–फरक तरिकाले म शोषणमा परिरहेँ । अनि मेरो मानसिक स्वास्थ्य दिनदिनै बिग्रन थाल्यो । यसरी यी सब कुराको ‘ट्रमा’ झेल्न नसकेर मैले साइक्याट्रिक औषधि खानुपर्‍यो । मेरो मानसिक स्वास्थ्य खस्किँदै गयो । मैले ती खराब मानिसका कारण आफूलाई धेरैपटक दुःख दिएको छु, जुन अब म आफूलाई कहिल्यै दिनेछैन । मेरो अनुभवले हरेक महिलाको भोगाइलाई प्रतिनिधित्व गर्छ । म अझै लडिरहेछु, मेरो लडाइँ सकिएको छैन । जीवन जम्दै बग्दै निरन्तर अघि बढ्नु हो । त्यसैले यी सब अनुभवले निखारिँदै अघि बढ्नु छ, मैले मप्रति राखेको धारणा नै मेरो आत्मबल हो ।