भारतको जनता दल युनाइटेडका पूर्वअध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री शरद यादवको बिहीबार निधन भएको छ । गुरुग्रामस्थित फोर्टिज मेमोरियल रिसर्च इन्स्टिच्युटमा उपचारका क्रममा ७५ वर्षीय यादवको बिहीबार पौने ११ बजे निधन भएको थियो । भारतीय राजनीतिमा समाजवादी विचारधाराका प्रखर वक्ता एवं नेता रहेका यादव नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी र नेपाललाई अप्ठेरो परेका वेला नेपालका पक्षमा खरो उभिएका नेता थिए ।
भारत स्वतन्त्र भएको वर्ष सन् १९४७ मा मध्यप्रदेश राज्यमा जन्मेका यादव भारतका शीर्ष समाजवादी नेता जयप्रकाश नारायण, राममनोहर लोहियासँग निकट रही काम गरेका थिए । उनी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकालको विरोधमा आन्दोलनमा थिए, यद्यपि उनी र गान्धीबीच राजनीतिक संवाद निरन्तर हुने गरेको कंग्रेस नेता राहुल गान्धीले पत्रकारहरूलाई बनाएका छन् । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, नेता राहुल गान्धी, विहारका मुख्यमन्त्री नितिश कुमार, उनका सदावहार मित्र सुधीन्द्र भदोरिया, विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलगायतले गहिरो शोक व्यक्त गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले यादवको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले पिछडा वर्गको हितका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी भिपी सिंह र अटल विहारी बाजपेई नेतृत्वको सरकारमा मन्त्री थिए । २००३ मा जेडियू स्थापना गरेका उनी १५ वर्ष अध्यक्ष रहे । सन् २०१८ मा नितिश कुमारसँग अन्तरविरोध बढेपछि पार्टी छाडेर लोकतान्त्रिक जनता दल गठन गरे र पछि त्यसलाई आरजेडीमा मिसाए । नेपालबाट १९९९ मा इन्डियन एयरलाइन्सको जहाज अपहरण हुँदा यादव नागरिक उड्डयनमन्त्री थिए । यादवले दुबई पुगेर अपहरणकारीको पन्जाबाट निस्कन सफल भारतीयहरूलाई दिल्ली लगेका थिए ।
यादव नेपालका पुराना मित्र र शुभचिन्तक थिए, उनको नेपालका सबै शीर्ष नेतासँग नजिकको मित्रवत् सम्बन्ध थियो । नेपालमा २०४६ सालको जनआन्दोलन, २०६२ को जनआन्दोलनमा उनीसहितका नेताले नेपालका पक्षमा ऐक्यबद्धता जनाएका थिए । नेपालमा आन्दोलनका पक्षमा भारतको राजनीतिक तहमा माहोल बनाउन यादव, डिपी त्रिपाठी, सीताराम यचुरी, सुधीन्द्र भदोरिया, केसी त्यागीलगायत नेताले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको बीचमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संयोजन गरेको सर्वदलीय बैठकमा उनले नेपालको पक्षमा बोलेका थिए । उनले नेपाललाई परेको अप्ठेरो तत्कालै फुकाउनुपर्ने धारणा राखेका थिए । प्रचण्ड नेतृत्वको पहिलो सरकार ढलेपछि माओवादी र भारतको संस्थापन पक्षबीच चिस्सिएको सम्बन्ध सुधारको प्रयास यादवले नै गरेका थिए ।
यादव बारम्बार भन्थे– नेपाल–भारत सम्बन्ध जे–जसरी अगाडि जानुपथ्र्यो, त्यो नहुँदा हामी दुःखी छौँ । भारतीय जनता दुःखी छन् । नेपालमा शान्ति, विकास र लोकतन्त्र एकैसाथ चल्नुपर्छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यादवसँग सन् १९७० को दशकदेखि निकट सम्बन्ध रहेको र उनी नेपालका सच्चा समर्थक रहेको बताउँछन् । ‘१९७० को दशकमा म विद्यार्थीका रूपमा दिल्लीमा रहँदादेखि शरद यादवजीसँग सम्बन्ध थियो । उहाँसँग जनयुद्ध र पछिसम्म निरन्तर रूपमा मेरो सम्बन्ध रह्यो । हामीले पञ्चायतविरुद्ध भारतमा आयोजना गरेका हरेक कार्यक्रममा यादवजीले हामीलाई हौसला दिनुभएको, समर्थन गर्नुभएको म सम्झिरहेको छु,’ भट्टराई भन्छन्, ‘जनयुद्ध सकिएपछि शान्ति प्रक्रिया सुरु भएलगत्तै प्रचण्डजी र म दिल्ली भ्रमणमा जाँदा उहाँले हामीलाई भव्य स्वागत मात्र गर्नुभएन, ठूलो जमघट गर्नुभयो, जसको निकै ठूलो चर्चा भएको थियो ।’ संविधान जारी हुनुअघि माओवादी अध्यक्ष (हालका प्रधानमन्त्री)प्रचण्ड दिल्ली भ्रमणमा जाँदा यादवले उनकै घरमा विपक्षी नेताहरूको बैठक राखेका थिए । बैठकमा पूर्वप्रधानमन्त्री भिपी सिंह, आइके गुजराल, एचडी देवेगौँडा र चन्द्रशेखरले शान्ति–प्रक्रियामा आएका माओवादी शीर्ष नेतालाई बधाई एवं शुभकामना दिएका थिए । राज्यसभाका सांसद रहेका समयमा यादवसँग नयाँदिल्लीस्थित उनको निवास तुगलग रोड–७ मा नेपाली नेता, पत्रकार, बुद्धिजीवीको जमघट भइरहन्थ्यो किनभने नेपालीहरूका लागि उनको ढोका खुला थियो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि सम्झन्छन् कि यादवको निधनबाट नेपालले हृदयदेखिकै सच्चा मित्र गुमाएको छ । ‘नेपालमा बहुदलीय लोकतन्त्रका लागि भएका २०४६ र २०६२/६३ को आन्दोलनको समर्थनमा भारतमा उहाँले महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्नुभएको छ,’ निधि सम्झिन्छन् । शान्ति–प्रक्रियामा भर्खरै आएका माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँग निधिकै निवासमा शरद यादवको भेट भएको थियो । ‘प्रचण्डजी र बाबुरामजीसँग शरद यादवजीको भेट मेरो निवासमा भएको थियो,’ निधि सम्झन्छन्, ‘शरदजीले पनि भेट्न चाहनुभएको रहेछ, प्रचण्ड–बाबुरामजीले पनि शरदजीलाई भेट्न चाहनुभएको रहेछ । भेटको संयोग मेरो निवासमा भएको थियो ।’ यादवले भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई जानकारी दिएर प्रचण्ड र बाबुरामसँग भेट गरेको प्रसंग निधिलाई सुनाएका थिए ।
निधि र कांग्रेसका अर्का नेता प्रदीप गिरीले महेन्द्रनारायण निधि प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यादवलाई बोलाएका थिए । त्यसवेला यादव, जेडियुका महामन्त्री केसी त्यागी, समाजवादी नेता सुधीन्द्र भदोरिया, पत्रकार आनन्दस्वरूप बर्मा, प्रोफेसर आनन्दकुमार पनि साथमा आएका थिए । ‘उहाँ शीर्ष तहको समाजवादी नेता हुनुहुन्थ्यो, पहिलो विदेशयात्रा नेपालमा गरेको कुरा उहाँले मलाई भन्नुभएको थियो,’ निधि भन्छन् ।
समाजवादी चिन्तक एवं यादवका निकट मित्र सुधीन्द्र भदोरियाको नजरमा यादव नेपालका सबै पक्षसँग सम्बन्ध राख्न रुचाउँथे । ‘म आफैँ त भगवान् वा प्रकृतिसँग प्रार्थना गरिरहेको छु कि आउँदो जन्म मेरो नेपालमा होस्, शरद यादवजी मभन्दा पनि बढी नेपालका शुभचिन्तक हुनुहुन्थ्यो भन्दा गर्व लाग्छ,’ भदोरिया भन्छन् ।यादवसँग पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) र शेरबहादुर देउवाको पनि निकट सम्बन्ध थियो । ‘शरद यादवजी र मलगायत साथीहरू मिलेर गान्धी शान्ति प्रतिष्ठानमा नेपालका शीर्ष नेता गणेशमानजीका बारेमा कार्यक्रम गरेका थियौँ,’ भदोरिया सम्झिन्छन्, ‘नेपालमा राजाले सत्ता लिएका वेला गिरिजाबाबु, प्रदीप गिरीजीलाई कन्स्टिट्युसन क्लबमा वक्ता बनाएर नेपालको लोकतन्त्रका पक्षमा बृहत् कार्यक्रम पनि उहाँ र म मिलेर गरेका थियौँ ।’
समाजवादी धरोहरहरू जेपी, राममनोहर लोहियाजीको विचार शरद यादवले अघि बढाएको भदोरियाको भनाइ छ । ‘नेपालमा लोकतन्त्रका लागि यादवजीको मिहिनेत र शुभेच्छालाई नेपाली जनताले सम्झिनुपर्छ,’ भदोरिया भन्छन् ।
कांग्रेसका नेता एवं भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायको नजरमा यादव नेपालका अत्यन्तै असल मित्र थिए । ‘समाजवादी धारका नेताहरूको नेपालका कांग्रेस, कम्युनिस्ट सबै विचारधाराका नेतासँग निकट सम्बन्ध थियो । उहाँ सरल हुनुहुन्थ्यो र नेपालप्रति सद्भाव राख्नुहुन्थ्यो । म राजदूतका रूपमा दिल्लीमा रहँदा धेरैपटक भेटेको छु । उहाँ कुनै पनि वेला भेट्न चाहँदा उपलब्ध हुनुहुन्थ्यो र नेपालप्रति हृदयदेखि नै सहानुभूति राख्नुहुन्थ्यो,’ उपाध्याय सम्झना गर्छन्, ‘हामीले असल शुभचिन्तक गुमाएका छौँ, भारतको राजनीतिमा पनि उहाँजस्तो निर्भीक नेताको अभाव रहिरहनेछ ।’
नेपालले संविधान जारी गरेपछि नेपाल–भारत सीमामा नाकाबन्दी थियो । त्यसवेला दिल्लीस्थित उनको निवासमा भेट हुँदा उनले पंक्तिकारसँग सुरुमै भनेका थिए, ‘म नेपालको पुरानो मित्र र शुभचिन्तक हुँ । हाम्रो नेपालसँगको मित्रता सदिऔँ पुरानो हो । नेपालमा पछिल्लो दिनमा विकसित भएका घटनाक्रमप्रति हामी तपाईँहरूजस्तै चिन्तित छौँ । नेपालमा भएका घटनाक्रम राजनीतिक इस्यु हो । यसको समाधान उतैका जनता र नेताले समाधान गर्न सक्छन् ।’ नाकाबन्दी भारतबाट भएको भए पनि त्यसको कारण नेपालभित्रको अन्तरविरोध हो, त्यहाँ नेपालीले नै आपसमा संवाद गरुन् भन्ने उनको धारणा थियो । भारतले सीमा अवरोध हटाउनुपर्ने पनि उनको बलियो मत थियो र उनले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई स्पष्ट रूपमा यो कुरा भनेको सुनाएका थिए । उनी नेपालमा संविधान जारी भइसकेपछि उत्पन्न विवाद नेपालका सबै पार्टी, नेता र जनता मिलेर हल गर्न सुझाव दिन्थे ।
उनले यो पंक्तिकारलाई बताएअनुसार नाकाबन्दीपछि भारतीय विदेश मन्त्रालयका अधिकारी (नेपाल डेस्क प्रमुख अभय ठाकुरसहित) उनीहरूलाई भेट्न गएका थिए । २०७२ मंसिर ११ गते थियो । ‘उनीहरूले मलाई नेपालसँगको सम्बन्ध र नेपालको तराईको समस्याबारे विस्तृतमा ब्रिफिङ गरे । म आफैँ पनि नेपाली नेताहरूसँग सम्पर्कमा छु र सरकारी अधिकारीले पनि समस्याबारे विस्तृतमा ब्रिफिङ गरिसकेपछि मैले अझ विस्तृत जानकारी पाएँ,’ उनले सुनाएका थिए ।‘नेपाल–भारत सम्बन्ध जेजसरी अगाडि जानुपथ्र्यो, त्यो नहुँदा हामी दुःखी छौँ । भारतीय जनता दुःखी छन् । नेपालमा शान्ति, विकास र लोकतन्त्र एकैसाथ चल्नुपर्छ,’ यादव बारम्बार भन्थे, ‘नाकाबन्दीको परिस्थिति जेजसरी उत्पन्न भए पनि यसको समाधान हुनैपर्छ । यसका अन्तिम निर्णयकर्ता नेपालका पार्टीहरू हुन् । त्यो दिशामा नेपालका पार्टीहरू जानेछन् भन्ने विश्वास लिनुबाहेक हामीले अरू गर्न सकिने केही छैन । हामी कहीँ कतै संलग्न हुनुहुँदैन । शुभेच्छामा मात्रै सीमित हुनुपर्छ ।’
नेपालका बिषयलाई लिएर विदेशमन्त्री सुष्मा स्वराजले संयोजन गरेको सर्वदलीय बैठकमा उनी सामेल थिए । ‘त्यो बैठकमा मैले भनेँ कि नेपाल हाम्रो सदिऔँ पुरानो मित्र हो । नेपाल अहिले वास्तवमै चिन्ताजनक अवस्थामा छ । औषधिसमेत रोकिएको विषयमा भारत सरकार चिन्तित हुनुपर्छ र उसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । भारत सरकारले नेपालसँगको सम्बन्ध सहज बनाउन पहल लिनुपर्छ । नेपालमा शान्ति स्थापना होस्, लोकतन्त्र मजबुत होस्, यसमा भारत सरकारको भूमिका सहयोगी हुनुपर्छ । नेपाली जनताले हामीबाट यो अपेक्षा गरेका छन् ।’
उनी भन्थे, ‘मैले स्पष्ट भनेँ कि हाम्रो सदिऔँ पुरानो मित्रदेश नेपाललाई सरकारले अप्ठेरोमा पार्नु हुँदैन । नेपालको अप्ठेरो फुकाउन भारतले मद्दत गर्नुपर्छ । राजनीतिक इस्यु नेपालका जनताले समाधान गर्नेछन्, तर भारतले दुई देशबीचको सम्बन्ध राम्रो बनाउनेमा जोड दिनुपर्छ ।’ यादव नेपालमा नाकाबन्दीका कारण उत्पन्न संकटलाई मानवीय हिसाबले हल गर्न सरकारलाई सुझाब दिइरहेको बारम्बार भनिरहेका थिए । उनले यसो भनेको दुई महिनापछि तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीको निर्णायक प्रयासमा नाकाबन्दी हट्यो । पछिल्लो समयमा उनी भारतको केन्द्रीय राजनीतिबाट किनारामा थिए । उनको नेपालप्रति शुभेच्छा उनी बाँचुन्जेल अटुट रह्यो ।