• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बसन्त चौधरी
२०७९ पौष ३० शनिबार ०७:३७:००
सम्झना

जी. शाहको सुन्दर काव्यमाला दुई मुटु यौटा बाटो

२०७९ पौष ३० शनिबार ०७:३७:००
बसन्त चौधरी

एउटा पुरानो उक्ति छ– ‘स्वदेशे पूज्यते राजा; विद्वान् सर्वत्र पूज्यते’ । यस संस्कृत पंक्तिले राजा र विद्वान्बीचको भेद मात्र अथ्र्याएको छ । यदि राजा स्वयं विद्वान् भयो भने नि ! जनकजस्तो भयो भने नि ! यसबारे कतै उल्लेख गरेको भेटिँदैन । यस कुराको व्याख्या हामीले नै गर्नुपर्छ । अर्थात् विद्वान् राजा भयो भने ब्रह्माण्डले पुज्छ । 


ज्ञानेन्द्रवीरविक्रम शाहदेवलाई हामी राजाका रूपमा चिन्छौँ र उहाँलाई यही आधारमा सम्मान गर्छौं । तर, उहाँ कवि–गीतकारका रूपमा पनि उत्तिकै सम्मानित हुनुहुन्छ । रेडियोमा बज्ने. उहाँका गीतहरूले पनि यसबारे थोरै संकेत गरेकै थिए । यसै वर्ष प्रकाशित उहाँको कविता र गीत मिश्रित संग्रह ‘दुई मुटु यौटा बाटो’ले भने यस कुरालाई प्रमाणित नै गरेको छ । उहाँले यस सँगालोबारे प्रकट गर्नुभएको विचारले यस संग्रहका कविता र गीतलाई बुझ्न थप सहयोग गर्छन् । उहाँले ‘यो सँगालोबारे मेरो भन्नु’मा यो कुरा प्रकट गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ– ‘दुई मुटु यौटा बाटो’भित्र मेरा पछिल्ला जीवनक्रममा मैले देखेभोगेका विषय वास्तविकताको पृष्ठभूमिका भावनामा रचिएका कविताहरूको सँगालो हो ।’ यस मानेमा यस संग्रहका कविता या गीत यथार्थको धरातलमा कथिएका सिर्जना हुन्, फगत् कल्पना होइनन् । र ‘प्रकृतिप्रतिको मेरो मोहभावले पनि सायद मेरो मनलाई छचल्कायो ।’ उहाँको पछिल्लो यस भनाइले यसमा संग्रहित काव्य कल्पनाको उडान पनि हुन सक्छन् । किनभने प्रकृतिसँग एकाकार भएपछि कविको हृदयबाट प्रस्फुटित हुने सिर्जनामा कल्पना पनि मिसिएको हुन सक्छ । एउटा कविले देखेको दृश्यमाथि वर्णन गरेको भाव अर्को कविले त्यही दृश्यमा गरेको भावभन्दा फरक हुन सक्छ । यो तपसिलको कुरा हो । तर कवि जी. शाहद्वारा ‘दुई मुटु यौटा बाटो’मा रचिएका कविताले कविको सिर्जन क्षमताको उदाहरण दिएका छन् ।  


‘दुई मुटु यौटा बाटो’मा मुख्यतः चार थरीका कविता समाविष्ट छन्– देशभक्ति, प्रेम–प्रणय, प्रकृति र जीवनदर्शन । उहाँको देशभक्तिपूर्ण कविताहरू उहाँजस्तै स्पष्ट भाव र देशप्रेमले ओतप्रोत देखिन्छन् । देशप्रेम गहिरो छ कविभित्र । यस सम्बन्धमा उहाँका कविता आफैँ बोल्छन्, समालोचक या समीक्षक बोलिरहनै पर्दैन । जस्तो :


नजरले मात्र देशलाई हेर्न आपत्ति छैन रे
नेपाली हेराइ, नेपाली सोचाइ भइदिए पुग्छ रे

 

अर्थात् देशलाई माया गर्नेको मायामा खाँटी देशभक्ति हुनुपर्छ । मनभित्रै माया हुनुपर्छ । नेपाली हुनुको अर्थ यहाँ जन्मिनु मात्रमा सीमित हुनुहुँदैन । साँचो नेपालीले त देशलाई बारम्बार सम्झिनुपर्छ, नेपाली गौरव हृदयमा राखेर बाँच्न सक्नुपर्छ र मनमा बाँधेर राख्नुपर्छ, ढुकढकीलाई जस्तै । 


अर्को एउटा कविता छ, जुन कवितामा देशभक्ति मगमगाएको छ–
नेपाली हौ त नेपालीलाई सम्झने गर है
चन्द्र र सूर्य नेपालमा फैलेको हेर है
मनमा राख, मुटुमा साँच, हृदयमा बाँध है
नेपाली हौ त नेपालको गर्वमा बाँच है

 

कविले आफ्नो प्राक्कथनमा भनेजस्तो ‘देखे–भोगेका विषय वास्तविकता’ र ‘प्रकृतिप्रतिको मोहभाव’ त छन् नै । ‘केही’ कवितामा सन्देशात्मक दर्शन छ भने ‘सम्झनुपर्ने साँझ’ अतीतमोह (नोस्टाल्जिया)को प्रतीक हो । यीमध्ये ‘छेस्को’ कविता जति छोटो छ, यसको अर्थ त्यति नै विराट् छ अनि अभिव्यक्ति क्षमता, शिल्प र प्रस्तुति एकदमै नवीन, हृदयस्पर्शी र व्यापक छ । जस्तो–


झरेको आँसु कसैले उठाउने होइन
लेखेको भाग्य कसैले मेटाउने होइन
मुटुको धड्कन कसैले मिल्काउने होइन
बिझेको छेस्को कसैले लुकाउने होइन

 

कविता जति छोटा छन्, अर्थ त्यति नै व्यापक छ । थोरै शब्दमा विस्तारित भाव र अभिव्यञ्जना प्रकट गर्नुले जी. शाहको काव्यिक विशेषतालाई दर्साउँछ । कविता संग्रहको आद्योपान्त अध्ययन गर्दा कविको देशप्रतिको भक्तिभाव उत्सर्गमा पुगेको देखिन्छ । हुन त देशभक्ति, दर्शन या प्रेम स्वयंमा अनुभूति गर्ने कुरा हो र यसलाई अभिव्यक्त गर्ने कविको आफ्नै शैली हुन्छ । र, कवि जी. शाहको अभिव्यक्तिमा यो नौलोपन र मौलिक भाव अनुभव गर्न सकिन्छ । 

‘दुई मुटु यौटा बाटो’मा मुख्यतः चार थरीका कविताहरू समाविष्ट छन्– देशभक्ति, प्रेम–प्रणय, प्रकृति र जीवनदर्शन । उहाँको देशभक्तिपूर्ण कविताहरू उहाँजस्तै स्पष्ट भाव र देशप्रेमले ओतप्रोत देखिन्छन् । देशप्रेम गहिरो छ कविभित्र ।


कतिपय कवितामा अभिव्यक्ति प्रबलता, कलात्मक प्रभाव र शैलीगत सौन्दर्य साथसाथै शब्दावलीको प्रयोगमा पनि पृथक्ता र नवीनता पाइन्छ । ‘जमाउ’ (जमाऊ) कवितामा कविले यस्तै शब्द–प्रयोग गरेका छन् । कविताको अन्तिम सर्गमा ‘रुझि (रुझी) शब्दको उम्दा प्रयोग भएको छ । यसमा ‘रुझाइ’लाई रुझीमा प्रयोग गरिएको छ । ‘वर्षाको रुझि पानामा रँगाउँछु’ आफैँमा सुन्दर कवितापंक्ति हो । 


यस्तै ‘मजा’ कवितामा हराएर पाएको मजा, रोएर हाँसेको मजा, हारेर जितेको मजा र नबोलेर बोल्नुको मजाले कविताको प्रस्तुति, शैलीगत विशिष्टता र काव्यचिन्तनको असीम गहिराइको परिचय दिन्छ । प्रेम–प्रणयका कविताहरूमा पनि कविको प्रस्ट अभिव्यक्ति भेटिन्छ र मिठासपूर्ण पनि लाग्छ । ‘नाम’, ‘गल्ली’, ‘जस्तो’, ‘कहिलेकाहीँ’, ‘उपहार’, ‘के छ र ?’, ‘भ्याएन’, ‘पहिले’, ‘तिमीमा नै’, ‘हेर’, ‘गर्छु’, ‘अल्झेँ’, ‘जसो’, ‘जुनी’, ‘मायाले’, ‘भनेर’, ‘उसै–यसै’लगायत अधिकांश कविता प्रेम–प्रयणका भावमा बुनिएका उत्कृष्ट कविता हुन् । प्रेमको चरमोत्कर्षमा पुगेको कुनै पनि प्रेमी या पे्रमिका साँचो अर्थमा सन्त हुन्छ, त्यागी हुन्छ र समर्पित हुन्छ । यसै भावमा पोखिँदै कवि जी. शाह ‘राजी’ कवितामा भन्नुहुन्छ–


धन पनि त्याग्न राजी छु म
तन पनि त्याग्न राजी छु म
तर तिमीलाई त्याग्न मान्दिनँ
र सबैलाई भन्दिन राजी छु म’

 

अनि फेरि यही प्रणयको सीमान्तमा उभिएर प्रेमी कवि भन्नुहुन्छ–
कति–कति गाना तिम्रो
गाउँदागाउँदै आउनू
उता–उति कालो केश
फुकाउँदै पाल्नू’

 

जीवनका ७६ वर्षका उकालीहरूमा पाइला टेक्दा सिर्जनाका वागमा ७५ वटा पुष्प फुलाउनुभएको छ कवि जी. शाहले । उहाँले भनेजस्तै जीवनका भोगाइ, देखाइ र अनुभवहरूलाई ७६ वटा पुष्पथुँगामा उनेर एउटा सुन्दर काव्यमाला ‘दुई मुटु यौटा बाटो’ पाठकसामु राख्नुभएको छ । र, मालाका हरेक फूल सुवासित छन्, सुन्दर छन् र स्वीकार्य छन् । यति सुन्दर कृतिका लागि कवि जी. शाहप्रति हार्दिक आभार !