• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चिरञ्जीवी घिमिरे
२०७९ माघ ७ शनिबार ०७:२६:००
पर्यावरण

जंगलमा रंगोत्सव

२०७९ माघ ७ शनिबार ०७:२६:००
चिरञ्जीवी घिमिरे

जंगलका झार तथा पतिंगर सफा गरी गोलाकार ‘खलो’ तयार पारिएको छ । लिपपोत गरेर चिटिक्क पारिएको खलोलाई वरिपरि घेरेको छ, भकारीले । माथिल्लोपट्टि दर्शक बस्ने बाँसे ‘प्याराफिट’ छ । यो दृश्य देख्दा लाग्छ– ५० को दशकमा लिम्बू समुदायले बारीका गरामा बिहेका लागि ‘डेरा’ बनाइरहेका छन् । तर, मध्य जंगलमा कुनै बिहेको तयारी भइरहेको छैन । बरू नाट्य उत्सवको तयारी पो हुँदै छ । चुलाचुली रंगमञ्चले इलामको चुलाचुली– ३ स्थित शिववरक मिलन पोखरीको जंगलमा नाट्य उत्सवको तयारी गरिरहेको छ । चुरेक्षेत्रको यो जंगलमा माघ १० र ११ गते दोस्रो ‘चुलाचुली पाठशाला नाट्य उत्सव’को चाँजो मिलाउँदै छन्, स्थानीय रंगकर्मीहरू । 


सहरका ठूला भवन र थिएटरमा नाट्य उत्सव भएको देखिन्छ र सुनिन्छ । तर, यो देहातमा गतिलो थिएटर छैन । चुलाचुली रंगमञ्चले जंगलमा नाट्य उत्सव गर्नु रहर र बाध्यता दुवै हो । एक दशकभन्दा लामो समयदेखि चुरेक्षेत्रको ग्रामीण क्षेत्रमा नाट्यकर्ममा क्रियाशील थिएटरका लागि बाध्यता यस अर्थमा हो कि– उनीहरूसँग कार्यक्रम गर्ने गतिलो हल छैन । रहरचाहिँ– रंगमञ्चलाई प्रकृतिसँग जोड्न चाहन्छ, चुलाचुली रंगमञ्च । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजीमा छौँ । नाटक यसरी पनि गर्न सकिन्छ भन्ने स्थापित गर्नुछ,’ चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपो भन्छन्– ‘बाध्यता पनि छ ! ग्रामीण क्षेत्रको रंगमञ्चमा संघर्ष गरेको दशक नाघ्यो । तर, एउटा भवन जोड्न सकेनौँ ।’ 


चुलाचुली रंगमञ्चले सांस्कृतिक–भाषिकलाई प्राथमिकता दिँदै आएको छ । उसले मञ्चन गरेका नाटकमध्ये ‘माङ्गेन’, ‘देवाङ्शी राजा’, ‘सिमिक्वा’लगायत नाटक चर्चित नाटक मानिन्छन् । संस्कृतिलाई प्रकृतिसँग जोड्न पनि जंगलमा नाटक गरिएको उनी सुनाउँछन् । ‘संस्कृतिलाई प्रकृतिसँग जोड्ने हाम्रो अभियान हो,’ आङ्थुपो भन्छन्,‘यसरी जंगलमै नाट्य उत्सव गर्ने पहिलो हामी नै हौँला !’ ठूला सहर र ठूला भवनमा मात्र कला उत्सव हुन्छन् भन्ने भ्रम चिर्न पनि जंगलमा नाट्य उत्सव गरिएको उनी बताउँछन् । ‘ठूला भवनमा र ठूला सहरमा मात्र होइन । हामी गाउँमा पनि रंगकर्म र कलाकर्ममा सक्रिय छौँ भन्ने स्थापित गर्नुछ,’ उनी भन्छन्, ‘यसपटक हामी जंगलको प्रकृतिसँग रमाउँछौँ । कृत्रिम ध्वनि हुँदैन । हामी सांस्कृतिक बाजा बजाउँछौँ । माइकको प्रयोग गर्दैनौँ । जंगलमा चराको आवाजसँगै
उत्सव मनाउँछौँ ।’


अहिले तीनै तहको सरकारले कंक्रिट निर्माण गर्नुलाई विकास मान्छ । पर्यटकका लागि ठूला भ्यु टावर, मूर्ति निर्माण गर्नुपर्ने अधिकांश जनप्रतिनिधिहरूको बुझाइ छ । त्यो बुझाइलाई गलत साबित गर्न रंगमञ्च यहाँ कार्यक्रम गरेको उनी बताउँछन् । ‘विकास कंक्रिट मात्र होइन । कला, साहित्य पनि हो । कंक्रिट बनाएर मात्र पर्यटक आउँदैनन् । कला र साहित्यले पनि पर्यटक बढाउँछ भन्ने स्थापित गर्नुछ,’ आङ्थुपो भन्छन् । 


०७६ मा नाट्य उत्सवको पहिलो संस्करण गरेको चुलाचुली रंगमञ्चले कोरोनाका कारण तीन वर्षसम्म अर्को संस्करण गर्न सकेन । यसपटक पूर्व–पश्चिम राजमार्गस्थित दमक बजारदेखि करिब आठ किलोमिटर उत्तरमा रहेको चुरेको यो जंगलमा नाट्य उत्सव हुँदै छ । किराँत समुदायको समाधीस्थल रहेको शिववरक मिलन पोखरीको यो जंगलको बाटो भएर कार्यक्रमस्थलसम्म पुगिन्छ । ‘नेपाली रंगमञ्चमा कसरी नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले यो काम गरेका हौँ,’ आङ्थुपो भन्छन्,‘हामी सुरुवातदेखि नै माथि चढेका हौँ । पहिलो नाटक पनि ०६५ सालमा तत्कालीन नयाँ बाटो नयाँ पाइला नाट्य समूहबाट पहाडी क्षेत्र माङ्सेबुङमा गरेका थियौँ ।’

सहरले हेर्ने नजरमा गाउँमा नाटक खासै हुँदैन । त्यही नजर परिवर्तन गरी चुलाचुली रंगमञ्च निरन्तर अघि बढिरहेको आङ्थुपो बताउँछन् । ०७० मा चुलाचुली रंगमञ्चको नामले दर्ता भएको यो अभियान ०६२–०६३ को आन्दोलनपछि ‘नयाँ बाटो, नयाँ पाइला’ नाममा क्रियाशील थियो । यहाँबाट उत्पादन भएका केही कलाकार अहिले पनि नेपाली रंगमञ्चमा स्थापित छन् । चुलाचुली थिएटरकै उत्पादन मनाहाङ लावती र अनिल सुब्बाहरू काठमाडौंका स्थापित हुँदै छन् । 


के हुन्छ नाट्य उत्सवमा ?
नाट्य उत्सवमा झापा, मोरङ, पाँचथर र चुलाचुलीका पाँच सामुदायिक र संस्थागत विद्यालयका दश नाटकले सहभागिता जनाउँदै छन् । चुलाचुली रंगमञ्च आफैँ पनि नाटक तयार गर्दै छ । यसपटक नयाँ कलाकारलाई चिनाउने उद्देश्य राखिएको छ । तसर्थ, नाटक नयाँ कलाकार मात्रै छन् । त्यसमध्ये पनि महिला कलाकारको बाहुल्य छ । ‘यो नाट्य उत्सवका लागि तयार पार्दै गरेको नाटकमा महिला कलाकारको सहभागिता देखेर म खुसी र भावुक छु । एक दशक मैले एक्लै यो रंगमञ्चमा महिला कलाकारको रूपमा काम गरेँ । अहिले धेरै बहिनीहरू कलाकार बन्न आएका छन्,’ चुलाचुली रंगमञ्चकी कलाकार रमिता राई भन्छिन्,‘समाजलाई नाटक बुझाउनु छ । नाटक गर्दा छोरी बिग्रिए भन्ने भाष्य बदल्नु छ । मैले एक दशकअघि घरबाट भागेर नाटक गरेँ । आज बहिनीहरू आएको देखेर धेरै खुसी छु ।’


नाट्य उत्सवमा दुई सामुदायिक विद्यालय र तीन निजी विद्यायलयका विद्यार्थीले नाटक मञ्चन गर्नेछन् । ‘यहाँ २० वटा विद्यालय छन् । सुरुमा दशवटाले नाटक ल्याउँछौँ भन्थे ! पछि अरूले क्यान्सिल गरे । पाँचवटाले मात्र नाटक मञ्चनका लागि ल्याउने भए,’ अध्यक्ष आङ्थुपो भन्छन्,‘हाम्रा विद्यालय अहिले पनि किताबका पाठ्यक्रमभन्दा बाहिर भएका छैनन् । कलालाई पनि सिकाइ र पढाइ ठान्ने शिक्षक नै देखिएनन् ।’ विद्यालयहरूले गायन र नृत्यलाई मात्र कला ठान्ने गरेको अध्यक्ष आङ्थुपो बताउँछन् । ‘यहाँ नृत्य र गायन हुने हो भने सबै विद्यालयले सहभागिता जनाउने थिए,’ उनी भन्छन्,‘तर, नाटक र चित्रकलालाई कला नै मान्दैनन् ।’ 

चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपो भन्छन्,‘ग्रामीण क्षेत्रका कलाकर्मी मुस्किलले बाँचेका छौँ । कला साधना हो । कलाले पनि समाज रूपान्तरण गर्छ । यही उद्देश्यले हामीले रंगमञ्च सुरु गर्‍यौँ । हामीसँग कलाको शिल्प छ, पैसा छैन ।’


उत्सवमा नाटक मञ्चनसँगै, चित्रकला पनि हुनेछ । नाटकको कार्यशाला र चित्रकलाको पनि कार्यशाला हुनेछ । यी कार्याशाला पनि दुई दिनमा जंगलमै हुनेछ । जंगलमा हुने नाट्य उत्सवमा पनि शुल्क तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ र अन्य सहभागीलाई एक सय रुपैयाँ शुल्क तोकिएको छ । ‘थोरै भए पनि प्रवेश शुल्क लिइएन भने अपनत्व हुँदैन । अनुशासन हुँदैन । तसर्थ, प्रवेश शुल्क लिने निर्णय गरेका छौँ,’ उनले भने । नाट्य उत्सवमा करिब तीन हजार स्थानीय अभिभावक र विद्यार्थीले अवलोकन गर्ने आयोजकको आनुमान छ । ‘हामीले यहीँको समाज परिवर्तन गर्नुछ । यहाँका मान्छेलाई नाटक बुझाउनुछ । तसर्थ, अधिकांश यही ठाउँका दर्शकलाई ल्याउने हाम्रो योजना हो,’ अध्यक्ष आङ्थुपो भन्छन् । गाउँमा नाटक हेर्ने संस्कृति नहुँदै चुलाचुली रंगमञ्चले जबर्जस्त गाउँमा नाटक मञ्चन गरिरह्यो । अहिले रंगकर्मीलाई हेर्ने नजर त परिवर्तन भएको छ । तर, अझै नाटक हेर्ने संस्कारको विकास भइनसकेको अध्यक्ष आङ्थुपो बताउँछन् ।

 

‘नृत्य र गायन भएको भए यहाँ मान्छे धेरै आउने थिए । तर, नाटक भएकाले अपेक्षाकृत आउँछन् कि आउँदैनन् भन्ने शंका छ,’ उनले भने,‘नाटकको माध्यमबाट चेतना र समाज परिवर्तनमा धेरै काम गर्‍यौँ । तर, अझै समाज परिवर्तन भइसकेको छैन । रंगकर्मीलाई काम नभएर नाटक गरिरहेको सम्झने अझै पनि छन् ।’ 
कला उत्सवमा ६ लाख १२ हजार खर्चको अनुमान गरिएको अध्यक्ष आङ्थुपो बताउँछन् । ‘ग्रामीण क्षेत्रका कलाकर्मी मुस्किलले बाँचेका छौँ । कला साधना हो । कलाले पनि समाज रूपान्तरण गर्छ । यही उद्देश्यले हामीले रंगमञ्च सुरु गर्‍यौँ । हामीसँग कलाको शिल्प छ, पैसा छैन,’ उनी भन्छन्,‘सहयोगी मनलाई सहयोग मागेका छौँ । यसपटकचाहिँ गाउँपालिका र वडा कार्यालयले पनि सहयोग गर्ने आश्वासन पाएका छौँ ।’


डेढ दशकदेखि रंगकर्ममा संघर्ष 
चुलाचुली विकासमा पछौटे छ । बरु सडक र पुल बल्ल बन्न थाल्दै छन् । तर, कलाक्षेत्रको विकास भने डेढ दशकअघि नै भएको हो । ०६५ सालमा चुलाचुलीका युवा मिलेर ‘नयाँ बाटो, नयाँ पाइला’ नामक नाट्य समूह स्थापित गरे । नाट्य समूहले भाषिक–सांस्कृतिक नाटक मञ्चन गर्‍यो । चुलाचुली क्षेत्रमा बाक्लो जनजातिको बसोवास छ । त्यसमा पनि लिम्बू समुदायको बाहुल्य छ । यही समुदायको परम्परा, भाषा र संस्कृतिलाई टपक्कै टिपेर नाटक तयार पर्दै आयो । ०७० मा चुलाचुली रंगमञ्चको नाममा दर्ता भएर क्रियाशील छ । यो रंगमञ्चले राजधानी र राजधानीबाहिरका विभिन्न नाट्य उत्सवमा नाटक मञ्चन गरेर आफ्नो पहिचान स्थापित गरिसकेको छ । तर, डेढ दशकदेखि संघर्ष गर्दा पनि चुलाचुलीमा आफू स्थापित हुनसकेको छैन, चुलाचुली रंगमञ्च ।


पूर्वमा स्थापित भइसकेको छ, चुलाचुली रंगमञ्च । गाउँको रंगमञ्च, चुलाचुली रंगमञ्चले संस्कृति विधामा बढी नाटक गर्छ । तर, एउटा थिएटर हलसमेत बनाउन सकेको छैन यो रंगमञ्चले । रिहर्सल गर्ने स्थलसमेत छैन । कलाकारको बलबुताले मात्र चलेको छ । स्थानीय सरकार स्थापना भएको पाँच वर्ष नाघ्यो । तर, स्थानीय सरकारले पनि अपेक्षाकृत सहयोग गरेन । अहिले रंगमञ्च चुलाचुली– ३ स्थित वनले छाडेको भत्किएको सानो भवनबाट आफ्ना गतिविधि गरिरहेको छ । नाटकसँगै गाउँमा पठन संस्कृतिको विकास गरिरहेको छ । अभावबीच ‘गाउँमा पुस्तकालय’ अभियान गरिरहेको छ । ‘आफ्नो भवन छैन । यो वनको भवनमा जसोतसो रिहर्सल गरिरहेका छौँ । मञ्चन गर्न अर्काकै भवन खोज्नुपर्छ,’ अध्यक्ष आङ्थुपो समस्या सुनाउँछन््,‘यसबीचमा धेरै परिवर्तन भए । तर, कलाक्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएन । स्थानीय, प्रदेश र संघीय सरकार कतैबाट पनि सहयोग आएन ।’