• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजीव श्रेष्ठ
२०७९ माघ १४ शनिबार ०९:३३:००
साहित्य

केही शब्द : शब्दशिविरमाथि

२०७९ माघ १४ शनिबार ०९:३३:००
राजीव श्रेष्ठ

 

शब्दहरूको छनोट, लयात्मक लेखन शैली, एकै वाक्यांशले धेरै कुरा अभिव्यक्त गर्न सक्ने क्षमता र समसामयिक विषयवस्तुमाथि लेखिएका निबन्धहरूको संग्रह ‘शब्दशिविर’ नेपाली पाठकका निमित्त संग्रहणीय पुस्तकको रूपमा अघि आएको छ ।

 

मुकुन्दराज शर्माद्वारा लेखिएको निबन्धसंग्रह ‘शब्दशिविर’ करिब दुई महिनाको अन्तरालमा आद्योपान्त पढी भ्याइयो । जम्माजम्मी २३ वटा लघु निबन्धहरू दुईवटा ‘क्षणिकी’ गरी २५ वटा गद्य संकथनहरू यस संग्रहमा समाहित छन् । पेसाले शिक्षक मुकुन्दराज शर्माका शैक्षिक लेखहरू धेरै अघिदेखि पढ्दै आएको थिएँ, तर उहाँमा गद्य लेखनका पनि आफ्नै मौलिक लेखनशील्प अन्तरकुन्तरमा भरथेग गरी संकुचित भई बसेकारहेछन् भन्ने तथ्यको उजागर यही पुस्तकको विमोचनबाट भयो । महामारी कोभिडले सबैलाई त्रासदीपूर्ण वातावरणमा घरको चार भित्ताभित्र सीमित भई बस्न बाध्य बनाएको समयमा उहाँले सिर्जनाका लागि प्रयोग गर्नुभएछ जुन आफैँमा उदाहरणीय कुरा हो ।

 

वास्तवमा शब्दहरूको संग्रह गरी निबन्धात्मक शैलीमा त्यसको माला उनेर ‘शिविर’ खडा गर्नु त्यो पनि कोभिडकालमा चानचुने कुरा थिएन । यद्यपि, संकिलत केही निबन्धहरू भने धेरै अगाडि नै लेखिएका छन् जस्तै– ‘बा, म र मेरो काठमाडौं’ २०५० मै सिर्जित रचना हुन् । जेहोस्, भूमिका लेखकमध्ये एक कवि डा. विप्लव ढकालका शब्द सापट लिएर भन्ने हो भने विचार नै एउटा अक्षय पुँजी हो र यसलाई अविश्राप्त यात्रीले निदाउन दिँदैनन् । यस अर्थमा मुकुन्दराज शर्मा अनवरत रूपमा बीचबीचमा पेसागत व्यस्तताका बाबजुद पनि आफ्नो सृष्टिलाई निरन्तर राख्ने सर्जकका रूपमा अघि आएका छन् । 

 

‘शब्दशिविर’ कै सेरोफेरोको कुरामा केन्द्रित हुने हो भने यस संग्रहभित्र समाविष्ट २३ वटा निबन्धहरू पढ्दा पाठकलाई पट्यार लाग्ने ठाउँ कतै भेटिँदैन । यसका लेखकका ससाना घटना–परिघटनालाई पनि कथनात्मक शैलीमा शब्दहरूको पुञ्जलाई खेलाइखेलाइ लयात्मक र सूक्ष्म व्यंग्यात्मक तवरमा प्रस्तुत गर्ने शैली भरपुर रहेको महसुस हुन्छ । प्रायजसो निबन्धहरू आख्यानजस्तो प्रतीत हुन्छ, जसलाई लेखक स्वयंले टेलिभिजन अन्तर्वार्तामा स्विकारेका छन् । पहिलो निबन्ध ‘गुन्द्रुक भिसा’ जुन अत्यधिक चर्चाको विषय बन्यो, दुई दुना दुई, सपना, लाहुरेको रेलिमाई, डाक्टर छोरालाई बाबुको पत्र, कन्फेसन, मम्मी, म स्कुल जान्नँजस्ता चर्चित रचनाहरू पूर्ण रूपमा आख्यानात्मक प्रतीत हुन्छन् । ‘ए बूढी, भोक लाग्यो’ शीर्षकको निबन्धचाहिँ कताकता एउटा लघुकथाजस्तो भान हुन्छ । लेखकका निबन्धहरू सबैजसो आममान्छेका दिनचर्या, विविध क्रियाकलाप, संवेग र सचेत मनस्थितिको आसपासमा परावर्तित छन्, तर केही रचनाले भने गहिरो सन्देश र दर्शन बोकेको पनि पाइन्छ । ‘कन्फेसन’ शीर्षकको निबन्धमा लेखकले वाचेका प्रश्न– ‘छोरी बिहेपश्चात् पराइ घर जाने विश्वभरिकै सामाजिक परिपाटी हो । पराइ घरमा जाँदै छोरी नै पराइ कसरी हुन सक्छे ?’ ले कुनै पनि स्तरका पाठकका अन्तस्करणलाई झस्काइदिन्छ । यस संग्रहभित्र रहेको एउटा निबन्ध ‘अनि तपाईं को ?’ भने यस समीक्षकलाई ‘प्रबन्ध’ हो कि जस्तो लागेको छ । किनकि यस निबन्धले प्रत्येक ऋतुहरूको वस्तुपरक व्याख्या गर्दै अन्तमा प्रकृतिसित मानिसका अन्योन्याश्रित सम्बन्धलाई गाँस्दै हरेक मान्छेभित्र निहित व्यर्थको अभिमानलाई परको पेरुंगोमा थाँती राखेर एकपटक प्रश्न सोध्न बाध्य बनाउँछ– ‘आखिर म को हुँ ?’ अन्य लघुनिबन्धले समसामयिक राजनीति, लेखकका आफ्नै भोगाइ, विभिन्न व्यक्तिसँगका अन्तरंग सम्बन्ध एवं परिस्थितिसँगको जुधाइलाई सरल भाषामा अंकुरण गरेका छन् । 

 

यति सबै नालीबेली केलाइसकेपछि पुस्तकको पुछारमा संकलित दुई ‘क्षणिकी’ तत्क्षण लेखिएका एउटा घटनाक्रमको दृष्टान्त वा वृत्तान्तका बारेमा चर्चा नगर्ने हो भने पुस्तकको समीक्षा अधुरो रहन जान्छ । लेखक स्वयंले शब्द रञ्जना गर्नुभएको क्षणिकीले भने बडो आनन्दको स्वाद दिलाउँछ । आजका आधुनिक पाठकलाई जसका निमित्त लघुनिबन्ध पढ्ने फुर्सदसम्म हुँदैन । दुवै क्षणिकी त्यसमाथि पछिल्लो ‘विश्रान्ति’ले हरेक पाठकलाई भावुक बनाइदिन्छ । ‘विश्रान्ति’बाट एउटा वाक्यांश यहाँ उद्धृत गर्न चाहन्छु– ‘आफैँले बनाएको आँगनमा केहीबेर बाँचुन्जेलको थकाइ त मार्न देऊ ।’

 

कामना न्युज पब्लिकेसनद्वारा प्रकाशित यो पुस्तकका रचनाहरू २१२ पेजभित्र अटाएका छन् – भूमिका र प्राक्कथनका साथ । पुस्तकको आकार, लेआउट सजावट आदिमा औँला ठड्याउने ठाउँ छैन । समयको मागअनुरूप थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्न सक्ने निबन्धहरू छन् । कुनै नयाँ लेखकले आफ्नै निजी शिल्पकारिता स्थापित गर्ने परम्परा कायम भएको तथ्य स्विकार्न सकिन्छ । तथापि, कतिपय निबन्ध पढुन्जेल मजा दिलाउने खालका भए पनि पाठकका लागि पछिसम्म दिशानिर्देश गर्ने खालका नैतिक सन्देश दिने रचना भने कम नै पो छन् कि ? बरु उहाँका क्षणिकीहरू बडो सारगर्भित लाग्दछन् र यसै विधामा लेखक बढी घोत्लिने हो भने उहाँका आगामी संग्रहहरू अलि बढी गहकिला हुने सम्भावना प्रबल देखिन्छ । तर पनि शब्दहरूको छनोट, लयात्मक लेखन शैली, एकै वाक्यांशले धेरै कुरा अभिव्यक्त गर्न सक्ने क्षमता र समसामयिक विषयवस्तुमाथि लेखिएका निबन्धहरूको संग्रह ‘शब्दशिविर’ नेपाली पाठकका निमित्त संग्रहणीय पुस्तकको रूपमा आएको छ ।