• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. डिबी कट्टेल
२०७९ माघ २१ शनिबार ०७:३१:००
विज्ञान प्रविधि

प्रयोगशालामा जीवन

अजैविक पदार्थबाट यो धर्तीमा जैविक जीवन कसरी सुरु भयो भन्ने रहस्य, त्यो पनि समयक्रमले पक्कै सुल्झाउनेछ । र, प्रयोगशालामा जीवन निर्माणमा वैज्ञानिकहरूलाई सफलता मिल्नेछ ।

२०७९ माघ २१ शनिबार ०७:३१:००
डा. डिबी कट्टेल

 

पृथ्वीमा जीवन एउटा रहस्य हो । यो कहाँबाट र कसरी आयो ? यसको उत्पत्ति कसरी भयो ? जस्ता प्रश्नका उत्तर अझै पनि रहस्यको गर्भमै छन् । पृथ्वीमा लगभग ३.५ अर्ब वर्ष पहिले जीवनको उत्पत्ति भएको थियो भनेर प्रमाणले पुष्टि गरे पनि प्रारम्भिक पृथ्वीको रासायनिक र भौतिक विशेषताका बारेमा वैज्ञानिक जगत् अझै पनि अज्ञात छ । यसैले प्रारम्भिक जीव कस्ता थिए भनेर बताउनु त्यति सजिलो कुरा होइन । अनुसन्धानकर्ताले अहिले कसरी आत्म–प्रतिकृति गर्ने जीवहरूले आफूलाई विकसित गर्न सक्दछन् भन्ने धारणाको विकास भने गरिसकेका छन् । तर, पृथ्वीमा अजैविक पदार्थबाट (एबायोटिक) जैविक (बायोटिक) जीवन कसरी सुरु भयो भन्ने प्रश्न वैज्ञानिक समुदायबीच भने अहिलेसम्म सुल्झिएको छैन । ठोस निष्कर्षमा पुग्न अध्ययन भने चलिनैरहेको छ । 

 

वैज्ञानिकहरूले एबायोजेनेसिसको सिद्धान्तकै आधारमा प्रयोगशालामा जीवन सिर्जना गर्ने प्रयास पनि गरिरहेका छन् । पृथ्वीको प्रारम्भिक चरण झल्कने विभिन्न प्रयोगात्मक परीक्षण पनि लामो समययताबाट वैज्ञानिकहरूले गर्दै आएका छन् । प्रयोगात्मक रूपमा धेरै उपलब्धि भए पनि वैज्ञानिकले आदिम पृथ्वीसँग सम्बन्धित जीवनको प्रयोगशालामा अझै पूर्णतया विकास गर्न सकेका छैनन् । जीवनसँग सम्बन्धित सरल जैविक यौगिकले कसरी यसलाई पहिलो जीवित संसार उत्पन्न गर्ने प्रतिक्रिया देखाए र उनीहरू जटिल जीवमा कसरी विकसित हुन सके भन्ने प्रश्न त छँदै छन् । तर, प्रारम्भिक पृथ्वीको वातावरणीय अवस्था र वस्तुको चरित्र अजैविकबाट जैविक रसायनशास्त्रमा कसरी रूपान्तरण हुन सक्छ भन्नेबारेमा हाम्रो बुझाइमा भने केही प्रगति भएको छ । 

 

जीवन कसरी सुरु भयो भन्ने सन्दर्भमा धेरै सैद्धान्तिक कुरा छन् । पृथ्वीमा जीवनको उत्पत्ति र विकासबारे व्याख्या गर्दा अनुकूल परिस्थितिलाई विचार गर्न ‘प्रिबायोटिक सुप’ भन्ने एउटा प्रसिद्ध अवधारणा छ । यसैसँग गाँसिएको सबैभन्दा लोकप्रिय मान्यतामध्ये एक चाल्र्स डार्विन आफैँले पनि अगाडि सारेका थिए । डार्विनले आदिमकालमा ‘न्यानो स्यानो पोखरी’ जीवनका लागि सबैभन्दा सम्भावित स्थान हुन सक्थ्यो भन्ने कल्पना गरे । अर्को लोकप्रिय सिद्धान्तअनुसारमध्ये समुद्रका पर्वतमालामा जल तापीय निकास (हाइड्रोथर्मल भेन्ट) जीवनको प्रणेताको विकास गर्ने उपयुक्त स्थान हुनुपर्छ भनेर भनियो । कतिपयले चाहिँ ब्रह्माण्डको अन्य कुनै ठाउँबाट आएका जीवनवाहक क्षुद्र ग्रहको प्रभावका वेला पृथ्वीमा वितरण भएको थियो भन्ने प्रस्ताव राखे । 


इयान ट्याटरसलले एक पुस्तकमा जीवोत्पत्तिबारे सैद्धान्तिक र परिकल्पनाका केही महत्वपूर्ण पाटालाई केलाएका छन् । सन् १९२० को दशकमा वैज्ञानिकले जटिल जैविक अणु जो कार्बनमा आधारित थिए तिनीहरू अक्सिजनमुक्त वातावरणमा रचना भएको हुन सक्छ भनेर व्याख्या गरे । यो सिलसिला आदिम पृथ्वीको समयमा वैकल्पिक रूपमा नवगठित महासागरको ‘तातोपातलो सुप’मा डार्विनले भने जस्तै भएको हुनुपर्छ भन्ने मान्यता उनीहरूको रह्यो । वैज्ञानिक क्रान्तिका प्रवर्तक डार्विनले आफ्नो पुस्तक ‘प्रजातिहरूको उत्पत्ति’मा उद्विकासको गतिलो व्याख्या गरेका छन् । तर, जीवन कसरी, कहाँ र कहिले देखापर्‍यो ? यी मुद्दामा भने उनी आफ्ना पुस्तकमा सम्बोधन गर्न अनिच्छुक थिए भनेर धेरै वैज्ञानिकहरूले टिप्पणी पनि गर्ने गरेका छन् ।


फेब्रुअरी १, सन् १८७१ मा डार्विनले आफ्नो साथी जोसेफ डाल्टन हुकरलाई पठाएको एक पत्र वैज्ञानिक इतिहासमा अत्यन्त प्रचलित छ । यो पत्रमा डार्विनले लेखेका थिए– जीवनको पहिलो उत्पत्तिका लागि चाहिने सबै सर्त अहिले पनि कायम छन्, जुन सर्त यो धरतीमा जहिल्यै–कहिल्यै उपस्थित थियो । जीवनबारे उनी भन्छन्– हामी सबै प्रकारको एमोनिया र फस्फोरिक लवणयुक्त एउटा न्यानो स्यानो पोखरीमा कल्पना गर्न सक्छौँ– जहाँ प्रकाश, ताप, र विद्युत् उपस्थित छ । र, त्यही पोखरीमा एक प्रोटिन यौगिक रासायनिक रूपमै बन्यो र अझै जटिल परिवर्तन हुन तयार भयो । वर्तमानको परिस्थितिमा यो अवस्था खतरनाक हुन सक्छ, तर जीवित प्राणी उत्पत्ति हुनुअघिचाहिँ त्यो स्यानो न्यानो पोखरीमा त्यस्तो केही भएन । 


डार्विनको पत्रले जीवनको उदयका बारेमा उनको विचारलाई मात्र प्रस्तुत गर्दैन धेरै वैज्ञानिक वृत्तमा त्यस समयमा प्रचलित आधारभूत जैविक प्रक्रियाको आणविक प्रकृतिका बारेमा गरिएका विचारमा पनि अन्तर्दृष्टि प्रदान गर्दछ भनेर सन् २००४ मा प्रकाशित ‘इभोलुसन द फस्र्ट फोर बिलियन इयर्स’ नामक पुस्तकको ‘द ओरिजन अफ लाइफ’ शीर्षकको एक खण्डमा वैज्ञानिकद्वय जेफ्री एल बडा र एन्टोनियो लाजकानोले भनेका छन् । यद्यपि, वैज्ञानिक फ्रेडरिक माइसरले सन् १८६९ मा नाभिकीय अम्ल (न्युक्लिक एसिड, जसलाई उनीहरूले न्युक्लियन भने) पत्ता लगाए पनि आनुवंशिक प्रक्रियामा उनीहरूको केन्द्रीय भूमिकाको व्याख्या भने ८० वर्षभन्दा बढी समयसम्म अज्ञात नै रह्यो । यसको विपरीत, मुख्य गुण जैविक प्रक्रियामा प्रोटिनद्वारा खेलेको भूमिकाचाहिँ दृढ रूपमा पहिचान गरिएको थियो । त्यति नै महत्वपूर्ण कुरा डार्विनले आफ्नो पत्रमा लेख्दा लामो समयदेखि जीवनको भौतिक आधारको बुझाइमा भएका ठूला प्रगतिमा अकार्बनिक यौगिकमा भएकोभन्दा मौलिक रूपमा भिन्न मानिन्थ्यो । 

यो एउटा मानक मोडेल हो जुन पृथ्वीको आदिम वायुमण्डलमा अकार्बनिक ग्यासहरूको मिश्रणबाट पहिलोपटक पृथ्वीमा जैविक अणुहरूको उत्पादन भयो । यसका लागि सूर्यको किरण (पराबैजनी) र चट्याङले मुख्य भूमिका खेल्यो । त्यसपछि यी यौगिक आदिम महासागरमा घुल्न पुगे । फलतः उनीहरूमा प्राकृतिक छनोटद्वारा आफ्नै नक्कल बनाउन उत्प्रेरित गर्ने क्षमताको विकास भयो जसले गर्दा नै अन्ततः धरतीमा जीवनको उदय भयो ।
 


वास्तवमा १९औँ शताब्दीको सुरुवातदेखि नै जीवन प्रकृतिको उदय हुने एउटा विशेषता नै हो भन्ने धारणा व्यापक छ । सन् २००८ मा न्यु साइन्टिस्ट पत्रिकामा प्रकाशित ‘उत्पत्ति, उद्विकास र विलुप्तता, पृथ्वीको शास्त्रीय कथा’ नामक वैज्ञानिक लेखमा माइकल जे बेन्टन लेख्छन्– जीवनको उत्पत्तिका सन्दर्भमा पहिलो ‘आधुनिक’ विचारधारा सन् १९२० को दशकमा दुई ख्यातिप्राप्त वैज्ञानिक रुसी बायोकेमिस्ट एलेक्सान्डर आई ओपारिन (१८९४–१९८०) र बेलायती विकासवादी जीवविज्ञानी जेबिएस हल्दान (१८९२–१९६४)द्वारा प्रस्तुत गरिएको थियो । ओपरिन र हल्दान जीवनको उत्पत्तिका लागि तथाकथित जैविक रासायनिक सिद्धान्तको भिन्नतालाई व्याख्या गर्ने सहसंस्थापकका रूपमा वैज्ञानिक समुदायबीच परिचित छन् । 


ओपारिन र हल्दानको सबैभन्दा प्रसिद्ध प्रयोगवादी सिद्धान्तचाहिँ ‘पूर्वजैविक अर्थात् प्रिबायोटिक सुप’ वा ‘प्राइमोर्डियल सुप’ सिद्धान्त हो । यो एउटा मानक मोडेल हो जुन पृथ्वीको आदिम वायुमण्डलमा अकार्बनिक ग्यासको मिश्रणबाट पहिलोपटक पृथ्वीमा जैविक अणुहरूको उत्पादन भयो । यसका लागि सूर्यको किरण 
(पराबैजनी) र चट्याङले मुख्य भूमिका खेल्यो । त्यसपछि यी यौगिक आदिम महासागरमा घुल्न पुगे । फलतः उनीहरूमा प्राकृतिक छनोटद्वारा आफ्नै नक्कल बनाउन उत्प्रेरित गर्ने क्षमताको विकास भयो, जसले गर्दा नै अन्ततः धरतीमा जीवनको उदय भयो । यो एउटा पृथ्वी केन्द्रित मान्यता हो । ओपारिन–हल्दान मोडेलद्वारा गरिएको व्याख्या जीवोत्पत्तिको अध्ययनका लागि प्रणालीगत वैज्ञानिक व्याख्याको सुरुवात थियो । 


वैज्ञानिकत्रय जेम्स ट्रेफिल, हेरोल्ड जे मोरोविट्ज र एरिक स्मिथले सन् २००९ मा अमेरिकन साइन्टिस्ट नामक एक वैज्ञानिक पत्रिकामा प्रकाशित ‘द ओरिजिन अफ लाइफ’ शीर्षकको एउटा लेखमा प्रयोगात्मक अध्ययनका विभिन्न पाटालाई केलाउने प्रयत्न गरेका छन् । अधिकांश विद्वान् पृथ्वीमा जीवनको सुरुवातसम्बन्धी अध्ययनको प्रयोगात्मक अनुसन्धानको आधुनिक युग सन् १९५३ मा युनिभर्सिटी अफ सिकागोको रसायन विभागअन्तर्गत बेसमेन्ट प्रयोगशालामा सुरु भएको थियो भनेर भन्छन् । वैज्ञानिक ह्यारोल्ड युरी, जो रसायनशास्त्रका नोबेल पुरस्कार विजेता पनि हुन्, उनीसँगै स्नातक विद्यार्थी स्टान्ली मिलरले यस ग्रहमा पृथ्वी जन्मेको केही समयपछि नै कस्तो प्रकारको रासायनिक प्रक्रिया हुन सक्थ्यो भनी हेर्न एक नमुना उपकरण बनाएका थिए ।

 
मूलभूत रूपमा भन्ने हो भने सन् १९५० को दशकसम्म ओपारिन–हल्दान मोडेललाई परीक्षण गरिएको थिएन । सन् १९५३ मा तिनै विद्यार्थी स्टान्ली मिलर (१९२०–२००७) ले साधारण जैविक यौगिक उत्पादन गर्न आधारभूत तत्वहरूलाई मिलाई संयोजन गरेर प्रोटिन र न्युक्लिक एसिडको निर्माण ब्लक उत्पादन गर्न ओपारिन–हल्दान मोडेलमा पहिलो दुई चरणको पुनः निर्माण गरेका थिए । तर, उनको प्रयोगको निकै आलोचना पनि भएको थियो । मिलरले प्रयोग गर्ने ग्यासको मिश्रण, जसमा हाइड्रोजन र मिथेनको उच्च प्रतिशत सांद्रता थियो, जुन प्रारम्भिक पृथ्वीको सम्भावित वातावरणभन्दा फरक थियो भनेर आलोचकहरूले भनेका थिए ।


नोबेल विजेता ह्यारोल्ड युरी र उनका विद्यार्थी स्टान्ली मिलरले जैविक अणु, जस्तै एमिनो एसिड इन्जाइमको मध्यस्थताविना अम्लीय घोल, ताप र चट्याङबाट हुने विद्युतीय निष्कासनजस्ता प्राकृतिक वातावरणीय अवस्थाद्वारा अकार्बनिक पदार्थबाट सिर्जना गर्न सकिन्छ भनेर देखाउने प्रयत्न गरेका थिए । उनीहरूको यो प्रयोगले जीवनको सुरुवात र प्रकृतिबारे बुझाइका लागि वैज्ञानिक जगत्मा नयाँ सोचाइ उत्पन्न गर्‍यो । तर, अहिले, मिलर र युरीको आफ्नो उपकरणमा गलत वायुमण्डलीय अवयव थिए भन्ने टिप्पणी गरिन्छ, त्यसैले उनीहरूबाट विकसित यो प्रक्रिया सम्भवतः पृथ्वीमा जीवनको उदयका लागि प्रतिनिधि प्रयोग थिएन भनेर मानिन्छ । यद्यपि, यो प्रयोगले विनाइन्जाइम आदिम रसायनको उत्पादन गर्न सकिने सम्भाव्यतालाई भने पक्कै औँल्याउँछ । 


सिगेनोरी मारुयामा, केन्कुरोकावा एनडी र सिकाजु एबिसुसाकीको जीवनको उत्पत्तिबारे प्रकाशित एक वैज्ञानिक लेखमा भन्छन्– हामीलाई थाहा छ, जीवनका लागि चाहिने आवश्यक सबै मुख्य तत्व पृथ्वीमा पाइन्छन् । तर, ती सबै सजिलै जैविक यौगिक भने बन्दैनन् । सन् १९५० को दशकमा गरिएका प्रारम्भिक परीक्षणले के देखाए भने प्रारम्भिक पृथ्वीको वायुमण्डलको नक्कल गर्ने प्रयोगात्मक अवस्थामा एमिनो एसिड पानीको संक्षेपण हुने प्रक्रियामा (कन्डेन्सेसनमा) बन्न सम्भव थियो । तथापि, यसका लागि शक्तिशाली शक्तिको आवश्यकता थियो । तर, पछि पृथ्वीमा ऊर्जाको विकासले हाइड्रोजन, कार्बन र नाइट्रोजनमा आधारित यौगिक बनाउन सक्ने रासायनिक प्रतिक्रिया उत्पन्न भए, यही कारण अन्ततः जैविक अणु बन्ने अवस्था सिर्जना भयो ।


ओपारिन–हल्दान जैव–रासायनिक नमुनाले फरक मोड लिएको त्यति धेरै समय बितेको छैन । लन्डन विश्वविद्यालयका वैज्ञानिक युआन निस्बेट र स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिक नोर्मन स्लिपले सन् २००१ मा जीवनको उत्पत्तिका लागि फरक मान्यताअगाडि सार्दै जल–तापीय अर्थात् हाइड्रोथर्मल मोडेलको प्रस्ताव गरेका थिए । मोडेलको व्याख्या गर्दै उनीहरूले सबै जीवनको पूर्वज एकप्रकारले उच्च तापीय अर्थात् ‘हाइपरथर्मोफाइल’ थिए भनेका छन् । यसो भन्नुको अर्थ एक साधारण जीव जुन असामान्य तातो अवस्थामा रहन्थ्यो भनेर बुझ्नु नै हो । एमिनो एसिडबाट डिएनएमा भएको पृथकीकरण वास्तवमा सक्रिय ज्वालामुखीसँग सम्बन्धित अत्यन्त तातोपानी प्रणालीमा सम्भव भएको छ भनेर यो मान्यताले बताउँछ । यद्यपि समुद्री सतहमा जीवोत्पत्तिको सन्दर्भमा केही आदिम सुपको बारेमा डार्विनले गरेजस्तो परिकल्पनालाई भने यसले समर्थन गर्दैन ।


पृथ्वीमा पहिलो जीवनका रूप देखिनु एकदम ढिलो र बहुचरण प्रक्रियाको परिणाम हो जुन जैविक यौगिकको अजैविक संश्लेषण र ‘मौलिक सुप’को गठनसँगै सुरु भयो भनेर धेरै विद्वान्ले अनुमान गरेका छन् । तर, पछि उनीहरूका प्रस्ताव फरक धारमा मोडिए । वैज्ञानिक हल्दान पृथ्वीमा विषाणु कोसीका भन्दा पहिले देखापरेको हो जसले नै जीवनको आदिम चरणको प्रतिनिधित्व गर्दछ भनेर तर्क गर्छन् । कोलोइडल र जेलजस्तो प्रणालीको विकास आदिम सुपबाट नै भएको हो जसले एनारोबिक परपोषणकर्ताको रचना गर्छ भन्ने मान्यता ओपारिनको छ । र, तिनै परपोषण कर्ताहरूले वरपरका जैविक यौगिकहरूलाई आफूमा समाहित गर्न मात्र होइन, सोझै वृद्धि र प्रजननका लागि प्रयोग गर्न सक्दछ भनेर उनी भन्छन् । यी विचारमा वैज्ञानिकको असहमति भए पनि ओपारिन–हल्दान परिकल्पना जीवन उत्पत्तिको अध्ययनको प्रयोगात्मक अवधारणाका लागि नवीन रूपरेखा नै हो ।


सन् २०१५ मा प्रकाशित एक पुस्तकमा वैज्ञानिक सिड्नी लिचले लेखेका छन्– उद्विकास हुनुभन्दा पहिले जीवनको चर्चा गर्दा वास्तवमा मेटाबोलिजम र प्रतिकृति उत्पादन प्रणाली (आरएनए) दुई प्रमुख पात्रका रूपमा उभिन्छन् । सँगसँगै जीवन सुरुवातसम्बन्धी धारणाको प्रसंग केलाउँदा यी दुई पात्रलाई अक्सर कुखुरा र अन्डाको अवस्थामा राखिन्छ । अर्थात् कुखुरा र अन्डामा कुन पहिला जन्मियो भन्ने प्रश्न नै हो । यो एउटा पुरानो कथन हो जसको कुनै जवाफ छैन भनेजस्तै नाभिकीय अम्ल र प्रोटिनमा पनि आउँछ । अर्थात् यो धरतीमा नाभिकीय अम्ल र प्रोटिनमा कुन पहिले देखापर्‍यो भन्ने नै हो । प्रचलित मेटाबोलिजम प्रथमको विकासमा एउटा सक्षम सिद्धान्तका रूपमा केन्द्रीय प्रतिमान स्थापना हुने सम्भावनाचाहिँ छ भन्ने तथ्यलाई वैज्ञानिक जेम्स ट्रेफिल, हेरोल्ड जे मोरोविट्ज र एरिक स्मिथ पनि स्विकार्छन् ।


वैज्ञानिकहरू अहिले ससाना अणु प्रणाली संगठनका विविध पक्षहरू पत्ता लगाउन विभिन्न प्रयोगात्मक प्रयासको उत्कट प्रतीक्षामा पनि छन् । गहन अर्थमा, मेटाबोलिजम प्रथम दर्शनसँग सम्बन्धित प्रयोगात्मक कार्यक्रमको भविष्य प्रयोगात्मक परिणामद्वारा निर्देशित उपयुक्त सिद्धान्तको विकाससँग सम्बन्धित छ भन्ने कुरामा उनीहरूको सहमति छ । विज्ञानका प्रचलित सिद्धान्त र प्रयोगको अन्तर्क्रियाले फरक सिद्धान्तको विकाश गर्नेछ जसले जीवन विकासमा नेतृत्व गर्ने भौतिक सिद्धान्तलाई प्रकाश पार्छ भनेर पनि वैज्ञानिक भन्छन् । र, यसले हामीलाई हाम्रो प्रयोगशालामा जीवन पुनः सिर्जना गर्ने क्षमतासमेत प्रदान गर्नेछ भन्ने आशा उनीहरूको छ ।


जीवनको उत्पत्तिको एक प्रशंसनीय परिकल्पना यथार्थमा निर्माण गर्न धेरै प्रश्नहरूको उत्तर दिन आवश्यक पर्दछ भनेर वैज्ञानिक भन्छन् । जीवनको उत्पत्ति अध्ययन गर्ने वैज्ञानिकहरूलाई कुन रसायनको समिश्रणबाट प्रारम्भिक जीव बन्यो र उसले आफूलाई नक्कल गर्न सक्थ्यो भन्ने कुरा अझै थाहा छैन । यदि एक जीवित कोष सरल रसायनबाट प्रयोगशालामा बनाउन सकिए पनि यसले प्रमाणित गर्दैन कि प्रकृतिले अर्बौँ वर्ष पहिले प्रारम्भिक पृथ्वीमा उही मार्ग अपनाएको थियो । तर, जीवनको रासायनिक उत्पत्ति अन्तर्निहित सिद्धान्तलगायत प्रक्रियाका विवरण मात्र वैज्ञानिक अनुसन्धानको अधीनमा छन्, बाँकी त सबै प्राकृतिक घटना नै हुन् । 


वैज्ञानिकहरू भन्छन्– हालको जैवरासायनिक प्रक्रिया जीवोत्पत्तिको समयमा अस्तित्वहीन थियो, तर त्यसवेलाको जैविक रसायनशास्त्र र भौतिक रसायनशास्त्र आजको संस्करणसँग समान थियो भन्ने कुरालाईचाहिँ हामीले बिर्सन मिल्दैन । अहिले प्रयोगात्मक पक्षमा वासिङटन डिसीमा अवस्थित कार्नेजी संस्थाका जर्ज कोडीजस्ता केही खोजकर्ताले जीवनको उत्पत्तिसँग मिल्न सक्ने अनौठो वातावरण निर्माणका लागि जैविक रसायनशास्त्रका आधारभूत नियम पत्ता लगाउने प्रयास गरिरहेका छन् । वैज्ञानिक कोडीको प्रयास भनेकै समुद्रको गहिराइमा हुने तापक्रम र दबाबसँग हुने जैविक अन्तक्र्रिया पत्ता लगाउने हो । 


माइक रसेल, क्यालिफोर्नियाको पासाडेनास्थित जेट प्रोपल्सन ल्याबोरेटरी नासामा कार्यरत वैज्ञानिक जो भूगर्भविद् पनि हुन्, अहिले उनी वातावरणको भूरासायनिक नमुना बनाउन ठूलो कक्षको निर्माण गरिरहेका छन् । त्यस्तै, कोलोराडो विश्वविद्यालयका वैज्ञानिक सेली कोप्लीले कुखुरा र अन्डाको समस्या सुल्झाउन् प्रचलित न्युक्लिक एसिड–प्रोटिन प्रणालीलाई आनुवंशिक कोडिङ प्रणालीतर्फ डोर्‍याउने मध्यवर्ती रसायनशास्त्रको समाधान खोज्दै आएका छन् । वास्तवमा यी प्रयोगहरूले आरएनए विश्व परिदृश्यमा कल्पना गरिएको धेरै मान्यताको पुष्टि गर्ने मात्र नभई ठूलो परिवर्तनलाई समेत बुझाउँछ । अब रह्यो अजैविक पदार्थबाट यो धरतीमा जैविक जीवन कसरी सुरु भयो भन्ने रहस्य, त्यो पनि समयक्रमले पक्कै सुल्झाउनेछ । र, प्रयोगशालामा जीवन–निर्माणमा वैज्ञानिकलाई सफलता मिल्नेछ ।

(कट्टेल बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन् ।)