• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश थामी
२०७९ माघ २१ शनिबार ०७:५१:००
समाज

थाङ्मी भाषा र किराँत सिरिजं‍गा लिपि

थामी भाषाको अहिलेसम्म आफ्नै लिपि फेला परेको छैन, विज्ञहरूले थामीको लिपि थियो भने पनि अहिलेसम्म यसको ठोस प्रमाण भेटिएको छैन

२०७९ माघ २१ शनिबार ०७:५१:००
रमेश थामी

 

थामी जाति अति–सीमान्तकृत समुदायअन्तर्गत पर्छ । यो जातिको उद्गम थलो दोलखा जिल्लाको सुस्पा क्षमावतीमा पर्ने राङ्‍राङथाली हो । उनीहरूले बोल्ने भाषालाई ‘थाङ्मी खाम वा थाङ्मी वाखे’ भनिन्छ । थामी भाषालाई नेपालको संविधान (२०७२)ले राष्ट्रभाषाको रूपमा उल्लेख गरेको छ । यो भाषा भोट बर्मेली भाषा परिवारअन्तर्गत पर्छ । 


थामी भाषालाई ‘टिबेट–बर्मन ल्याङ्ग्वजेज् एण्ड क्लासिफिकेसन’ पुस्तकमा डेबिड ब्राड् (१९९७) ले भोट बर्मेली परिवारको पश्चिमी शाखाअन्तर्गत, पश्चिम, हिमाली उपशाखाको पूर्वीय शाखाभित्र बराम–थामी समूहमा राखेका छन् भने ‘द इन्डिजिनिएस् ल्याङ्ग्वजेज् अफ नेपालः सिच्युएसन, पोलिसी प्लानिङ एण्ड कोर्अडिनेसन’ पुस्तकमा योगेन्द्र प्रसाद यादव र प्रदिपलाल बज्राचार्य (२००६ः१९) ले भोट बर्मेली भाषाअन्तर्गत बोडिक, बोडिस, टि.जि.टिएच.अन्तर्गत तामाङ भाषाको मुनि राखी वर्गीकरण गरेका छन् । थामी भाषा कुन समूहमा पर्छ भनेर ठ्याक्कै किटान भने भइसकेको छैन । तर ‘थामी फोनोलोजीः एज स्पोकन इन नर्दन पार्ट अफ दोलखा डिस्ट्रिक’पुस्तकमा रमेश थामी (२०२१) ले भाषाको व्याकरणीय पक्ष र ऐतिहासिक पक्षलाई नियाल्दा थामी भाषा किराँती भाषा समूहभित्र पर्ने प्रस्ट्याएका छन् । यसबारे थप अध्ययन अनुसन्धान हुन आवश्यक छ ।


भाषासँग सम्बन्धित अर्को महत्वपूर्ण र अत्यावश्यक विषय भनेको लिपि हो । किनकि लिपिमा उक्त भाषाका ध्वनिलाई प्रतिनिधित्व गर्न सक्ने लेख्यचिह्न हुने गर्छन् । त्यसले गर्दा थामी भाषाको ध्वनिलाई देवनागरी लिपिले समेट्न सकेन भनेर विगत लामो समयदेखि बहस चलिरहेको छ । किनकि थामी भाषा, भाषा परिवारको दृष्टिले र व्याकरणिक दृष्टिकोणले खस भाषाभन्दा पृथक् छ । साथै थामी भाषामा खस भाषाको भन्दा छुट्टै विशेषता भएका तीनवटा ध्वनि छन् । देवनागरी लिपिमा भएका थुप्रै लेख्यचिह्नहरू थामी भाषाको वर्णसँग मेल खाँदैनन् । त्यसले गर्दा थामी भाषाको आफ्नै लिपि हुनुपर्छ भन्ने मान्यता सम्पूर्ण थामी भाषाप्रेमीहरूको हो । थामी भाषाको आफ्नै लिपि हुनुपर्छ र थामी भाषालाई लेख्नमा सहज बनाउनुपर्छ भन्ने मान्यताका साथ १३ वर्षपहिले लिपिको खाका कोरेको थिएँ । त्यो खाका अझै सुरक्षित छ । 

थामीको लिपि

थामी भाषाको अहिलेसम्म आफ्नै लिपि फेला परेको छैन । बौद्धिकहरूले थामीको लिपि थियो भने पनि अहिलेसम्म यसको ठोस प्रमाण भेटिएको छैन । तर, थामी भाषामा शास्त्रलाई ‘दोमाङ’, साना–साना पुस्तिकाहरूलाई ‘प्रास्ना’ आदि भनिएको पाइएको छ । यी शब्दहरू शेर्पा भाषासँग मेल खाने देखिएकाले यस विषयमा गहिरो अध्ययन जरुरी छ । कतिपयले हनुमानढोका सङ्ग्रहालयमा थामीका केही दस्ताबेज र तस्बिर छन् भने पनि अहिलेसम्म बाहिर ल्याउन नसक्दा रहस्यको गर्भमै छ । साथै थामी राजाहरूले छालाको सतिसाल नामको पैसा चलाएको कुरा पनि चल्ने गर्छ ।

 

पैसालाई ‘आकुस्या’ भन्‍ने गरेको कुरा अहिले पनि यथावत् नै छ । त्यो पैसामा अक्षर र नक्सा कुँदिएको थियो कि थिएन ? त्यो पैसा कस्तो आकारको थियो ? गोलाकार थियो कि चारपाटे वा तीनकुने थियो ? मोटाइ कस्तो थियो ? यो विषयमा अहिलेसम्म कसैले ठोकुवा गरेर बताउन सकेको छैन । थामीहरूले पैसालाई ‘पेपेले’ र ‘ढ्या’ भन्‍ने गरेको पाइएको छ । ‘पेपेले’ को अर्थ ‘चेप्टो पातलो’ र ‘ढ्या’ को अर्थ ‘गोलाकार’ भन्ने हुन्छ । तसर्थ यी विषयलाई हेर्दा थामी भाषाको अहिलेसम्म कुनै लेख्यचिह्न वा लिपि नभएको बुझिन्छ । 

किराँत सिरिजंगा लिपि

लिपिको नाम ‘किराँत सिरिजङ्गा’ भनिए पनि यो लिपि नेपालको सम्पूर्ण भोट बर्मेली भाषा परिवारअन्तर्गतका भाषालाई र भारोपेली भाषा परिवारका भाषाका ध्वनिलाई समेत लेख्न सकिने गरी विकास गरिएको हो । सम्पूर्ण किराँती भाषाहरूलाई समेट्ने गरी निर्माण गरिएकाले यसको नामकरण ‘किराँत सिरिजङ्गा’ राखिएको हो । यसमा अहिले ३६ वटाभन्दा बढी किराँती भाषाहरूका ४८ वटा व्यञ्जन र १२ वटा स्वर वर्णहरूलाई समेटिएको छ । सिरिजङ्गा लिपिको आफ्नै छुट्टै पहिचान छ, इतिहास छ ।

कतिपय विद्वान्हरूले नवौँ शताब्दीतिर यो लिपिको विकास भएको भनेका छन् । यसलाई लामो समयदेखि लिम्बूहरूले प्रयोगमा ल्याइरहेका थिए भने केही राई संस्थाहरूले आधिकारिक रूपमा प्रयोग गरिरहेका थिए । तसर्थ यो लिपिले एउटा गौरवपूर्ण विरासत बोकेको हुँदा यस लिपिको विकास गर्नु, परिमार्जन गर्नु, प्रयोग गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । लिपि निर्माण गर्नु मात्र ठूलो कुरा होइन । त्यसका लागि ऐतिहासिक र भाषा वैज्ञानिक आधार पनि चाहिन्छ । यस लिपिको ऐतिहासिक आधार सिरिजङ्गा लिपि हो भने भाषा वैज्ञानिक आधार ‘इन्टरनेसनल फोनेटिक अल्फावेट’ अनुसार सम्पूर्ण किराँती भाषाहरूका ध्वनिहरूलाई समेट्नु हो । 


लामो समयदेखि नेपालमा मातृभाषाहरूको लिपिको बहस चल्दै छ । किराँत राई यायोक्खा २०७८ असार २५–२६ गते ‘किराँती भाषाहरूको साझा वर्णमाला निर्माण तथा लिपिसम्बन्धी कार्यशाला गोष्ठी’ गरेर सबै किराँतीहरूको साझा लिपि बनाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यो । नयाँ लिपि निर्माण गर्न जटिल हुने भएकाले सिरिजङ्गा लिपिलाई नै समायोजन गरी सम्पूर्ण किराँती भाषाहरूको लिपिमा विकास गर्ने निर्णय भयो । यसका लागि एक संयोजक समिति बन्यो र उक्त समितिको संयोजक डा. तारामणि राई हुन् । उक्त समितिमा अन्य आठजना सदस्यहरू छन् । अन्ततः उक्त कार्यदलले गहन अनुसन्धान गरेर सम्पूर्ण किराँती भाषाहरूमा ४८ वटा व्यञ्जन र १२ वटा स्वर वर्ण रहेको प्रमाणित गर्‍यो । जसमा थामी भाषाको मौलिक रूपमा रहेको दुईवटा व्यञ्जन वर्णहरूलाई पनि उक्त कार्यपत्रमा समावेश गरी यायोक्खालाई हस्तान्तरण गर्‍यो । २०७८ साल माघ १ गतेका दिन यसको विमोचन भयो । उक्त विमोचन कार्यक्रममा नेपाल थामी समाजका अध्यक्ष शुकवीर थामी पनि सहभागी थिए । 


थामी भाषाको लिपि थिएन, यो दुःखको कुरा हो, तर थामी भाषाको लिपि किराँत सिरिजङ्‍गा लिपि हुनु एक गर्वको कुरा पनि हो । किनकि थामीहरूले हामी किराँती वंशका हौँ, हामी किराँती हौँ, हाम्रो पुर्खा थम्बु थिए, तिनी लिम्बु र खम्बुका भाइ थिए भन्छौँ, त्यस विषयलाई यो लिपिले थप मजबुत बनाउँछ । यसो भन्दै गर्दा हाम्रो लिपि कसरी किराँत सिरिजङ्‍गा लिपिमा जोडिन पुग्यो भन्ने सवाल उठ्न सक्छ । जब म त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा अध्ययन गरिरहेको थिएँ, तब हाम्रो बीचमा लिपिसम्बन्धी बहस चल्ने गथ्र्याे । लिपि निर्माण र कार्यान्वयनको पक्ष जटिल हुन्छ ।

 

हामी सबैको भाषाको ध्वनिलाई समेट्न सक्ने साझा लिपि भए अति उत्तम हुने थियो भन्ने लाग्थ्यो । त्यसै सिलसिलामा डा. तारामणि राईले सिरिजङ्गा लिपिलाई नै चार किराँत संस्थाले साझा लिपिको रूपमा विकास गर्न खोज्दै छ भनेर खुसीको खबर सुनाएका थिए । म पनि खुसी भएँ । मेरो विचारमा पनि यो सबैभन्दा उत्तम उपाय हो । तसर्थ हामीलाई हाम्रो जातिगत लिपि नै हुनुपर्छ भन्ने भन्दा पनि हाम्रो भाषाका ध्वनिहरूलाई समेट्न सक्ने लेख्यचिह्न छ कि छैन भन्ने कुरा प्रमुख रहन्छ । किनकि देवनागरी लिपिमै पनि यस्ता सयौँ प्रश्न उठिरहेका छन् । त्यसो हुनाले एउटा विरासत बोकेको लिपिमा हाम्रो भाषाको ध्वनि अटाउनु, शून्य लागतमा गौरवशाली लिपि प्राप्त गर्नु, हाम्रा लागि अहोभाग्य हो । जेठा र माइला दाइहरूले कान्छा भाइलाई देखाएको प्रेम हो । 

(लेखक त्रिभुवन विश्वविद्यालयका भाषाविज्ञानका विद्यार्थी हुन् ।)