• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रुचि श्रेष्ठ
२०७९ माघ २१ शनिबार ०९:०२:००
साहित्य

अस्तव्यस्त

२०७९ माघ २१ शनिबार ०९:०२:००
रुचि श्रेष्ठ

मैले छड्के भिरेको ब्यागमा ऊ विशेष ध्यान दिएर हेर्दै थियो । उसको नजरलाई पछ्याउँदै मैले भनेँ, ‘यो उहिल्यै मैले सेकेन्ड–ह्यान्ड स्टोरमा भेट्टाएको ।’ 


‘आफूजस्तै ब्याग भेट्टाइछ्यौ त ।’


अलिकति फुरुंग पर्दै मैले भनेँ,‘मजस्तै हिस्सी परेको ? पाकु–पाकु भनेको हो ?’


‘अम्म...। अनि तिमीजस्तै एन्टिक...।’


‘भन्न के खोजेको ?’ म अलिकति रिसाएँजस्तो गरेर निधार खुम्च्याएँ ।


‘एन्टिक, एक्जोटिक एन्ड एक्स्क्लुसिभ भनेको नि ।’


‘त्यसो भए त ठीकै छ,’ मेरो खुम्चिएको निधार तन्कियो । 


‘के–के अट्छ तिम्रो त्यो ब्यागमा ?’


‘फोन, पैसा, साँचो ।’


‘क्यामेरा नि ?’


‘हिजो–आज कसले बोक्छ र क्यामेरा ? त्यसमा पनि क्यामेराको लेन्सबाट म कहाँनी नै देख्दिनँ अचेल । किन होला ?...साँच्चै किन होला ? तिमीले माक्र्स धेरै पढेका छौँ । भन त, मलाई क्यामेरा बोकेर हिँड्न जोश नआउनुलाई माक्र्सवादले कसरी व्याख्या गर्छ होला ?’


‘माक्र्सको सिद्धान्तअनुसार, जुन कामबाट तिमी अर्थोपार्जन गर्न सक्दैनौ, त्यो कामप्रति तिमीलाई कुनै उत्साह हुँदैन ।’


केहीबेर हामी दुवै चुपचाप हिँडिरह्यौ । मौन भंग गर्दै मैले नै भने,‘त्यो आंशिक सत्य हो । पूर्ण सत्य होइन । बिहे, इन्गेजमेन्ट, बेबीसावरजस्ता ‘इभेन्ट’ आयोजना गर्न चाहनेका लागि पार्टी प्यालेसदेखि तारे होटेलसम्म डेट पाउन मुस्किल हुन थालेको छ सहरमा । फोटो सेसन नगरेसम्म कसैको इभेन्ट साकार हुँदैन । कसरी क्यामेराले अर्थोपार्जन गर्न सक्दैन भन्न सक्छौँ ?’


‘तर, ती फोटो सेसनमा तिम्रो लेन्सले कथा भेट्दैन नि फेरि ।’


‘कस्ता रमाइला कथा भेटिन्छन् त्यहाँ । तिमीलाई थाहै छैन । सासू र बुहारी दुवैले एकआपसमा वाइनको ग्लास चियर्स गरिरहेका हुन्छन् । जेठानीले देउरानीको साडी मिलाइदिइरहेकी हुन्छिन् । खासै भेटघाट नहुने काका–भतिजा निकै गहन भान हुने राष्ट्रिय विषयमा गफिरहेका हुन्छन् । लेन्सबाट कथा चियाउन सक्नु पनि पर्‍यो नि ।’


‘तिमीले किन नसकेको त ?’


‘के तिमीभित्रको मार्क्सले  मलाई अब घरेलु इभेन्ट फोटोग्राफर बन भन्न खोजेको हो ? पहिलो कुरा, यी मेरा कल्पनाका कथा हुन् । त्यस्ता इभेन्टमा सबैलाई प्रोपर, प्रजेन्टेबल र सोफिस्टिकेटेड फ्रेमिङ मात्र चाहिएको हुन्छ । दोस्रो, त्यस्ता इभेन्टमा मैले कथा खोज्न थालेँ भने क्लाइन्टले मलाई खोज्न छाड्नेछन् ।’


सडकको यो किनाराबाट त्यो किनारामा जान बाटो काट्दा उसले मेरो हात समायो । मलाई बिस्तारै तान्दै उसले सोध्यो, ‘तिमी किन यति जटिल छ्यौ ? आफ्नो तर्कलाई आफैँ काट्छयौ, आफैँ गुजुल्टो पछार्‍यौ, अनि फेरि त्यो गुजुल्टो आफैँ फुकाउँछ्यौ ।’


कफी पसलको सिसाको ढोका ढाडले धकेल्दै ऊतिर फर्केर मैले किञ्चित आँखीभाैँ उचालेर मुसुक्क हाँस्दै सोधेँ, ‘तिमी छैनौ जटिल ?’


एउटा कर्नर टेबलको कर्नरपट्टिको कुर्सी तानेर म बसेँ । यहाँबाट कफी पसल ३६० डिग्रीमा देखिन्थ्यो र सडक ९० डिग्रीमा । ऊ मेन्यु पल्टाउँदै वेट्रेससँग कुरा गर्न थाल्यो । 


‘यो मेन्युमा लेखेकोजति खानेकुरा सबै पाइन्छ यहाँ ?’

‘पाइन्छ सर’ अलिकति अकमकिँदै वेट्रेसले भनिन् । 


‘कफीसँग खान मिल्ने लाइट र छिट्टो हुने के छ त ?’

‘सर, हामीसँग बेकरी आइटम छन् ।’


‘बेकरी आइटममा तपाईंको फेभरेट कुन हो ?’


 केही अकमकिँदै उनले भनिन्, ‘सर, बनाना केक छ । ब्ल्याक–फरेस्ट छ...।’


उनको विवरणिकालाई बीचैमा काट्दै मैले भनेँ,‘दुईटा बिन्स कफी, एउटा ब्राउनी र एउटा एप्पल पाई तताएर ल्याइदिनू है ।’


‘हस् म्याम, थ्यान्क यु’ उनले तनावबाट मुक्तिको केही लामो सास तानिन् र खुसी हुँदै मेन्यु बोकेर गइन् ।


‘तिमी वेट्रेससँग जेलस भाको हो ? किन यति छिटो भगाइदिएकी ?’


‘कति दुःख दिइराखेको बिचरीलाई ?


उसले काम गर्न थालेको एक महिना पनि भएको छैन ।’


‘तिमीलाई कसरी थाहा भयो ? ऊ तिम्रै कलेजको विद्यार्थी हो र ?’


‘थाहा भइहाल्छ नि नयाँनयाँ इन्टर्न ।’


‘सोध्दैनसोधी तिमीले ब्राउनी र एप्पल पाई कसरी अर्डर गर्‍यौ ?’ 


‘भित्र छिर्दाखेरि नै मैले कुलरमा हेरिसकेकी थिएँ’ मुसुक्क हाँस्दै मैले भनेँ,‘म जटिल देखिने मात्रै हो । काम त सरल नै गर्छु नि ।’


‘तिम्रो यो सत्य त मैले आंशिक बुझेँ । क्यामेरा बोक्न मन नलाग्नुको पूर्णसत्य के हो त ?’


‘पूर्णसत्य त मलाई पनि थाहा छैन । मेरो अहिलेको सत्य त्यो भद्रगोल मेला लागेको छ नि, सडकको पेटीमा, त्यही हो । त्यो तारको गुजुल्टो हेर न । सहर यसरी नै गुजुल्टो परेको छ । उबड–खाबड छन् सडकका पेटी । त्यही पेटीमा लंग मिलाएर रोपिएका यी किच्रिक्क परेका बोट हेर त । चारैतिर कंक्रिट–सिमेन्टले प्लास्टर गरिदिएको छ । न पानी सोस्ने माटो छ, न जरा फैलाउने जमिन छ ।

 

बाँसको खाँबो गाडेर छाडेको जस्तो यी बोट कहिले हुर्किन सक्छन् ? बिचरो बोट झुक्किएर हुर्किए पनि रोप्नेले नै यसको हाँगो र टुप्पो काटिदिन्छ । यसको हाँगो फैलियो भने एकातिर बिजुलीको तारमा अल्झिन्छ, अर्कोतिर घरकै झ्यालसम्म पुग्ने डर हुन्छ । सहरभरि यी कचल्ट्याएर राखिएका बोटहरूलाई तारबार लगाई ‘सुरक्षित’ राख्नुको कुनै अर्थ छ त ? मलाई त अचेल आफू पनि तारबारले घेरेर सुरक्षित राखिएको बोट पो हुँ कि जस्तो लाग्न थालेको छ । हेर न, कति विरोधाभासपूर्ण देखिन्छन् ती बोटहरूको अवस्था र अवस्थिति । मानिसहरूलाई मैले कुन कथा देखाउने, उनीहरूले हेर्न चाहेको कथा देखाउने कि मैले आफूले देखेको कथा देखाउने ? भन त, के लाग्छ तिमीलाई ? के यो डिप्रेसनको लक्षण हो ?’


काँटाले टिपेको एप्पल पाईको स्कुपसँगै कफीको सिप लिँदै उसले भन्यो, ‘तिमीले आफूलाई वातावरण र परिस्थितिमा घोलेर राखेकी छौ । आन्तरिक शान्तिका लागि कहिलेकाहीँ आफूलाई वरिपरिको वातावरणदेखि अलिकति पर राख्नु जरुरी हुन्छ । विशेष गरी सहरिया जीवनशैलीमा ।’


ब्राउनीको बाइट लिँदै मैले भनेँ ‘वाउ । तिम्रो व्यक्तित्वको साइको–काउन्सुलर पात्र बल्ल खुल्न थाल्यो । तिम्रो प्रोफेसनमा त क्लाइन्टसँग त्यस्तो दूरी सधैँ कायम राख्नुपर्छ । होइन र ?’


‘एकदमै । नभए त मैले नै अर्को काउन्सुलरसँग रेगुलर अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ ।’


‘यो कसरी सम्भव छ यार ? आफ्नो खुसी र सफलताको कथा सुनाउन पक्कै पनि कोही आउँदैन तिमी कहाँ । दिनमा चार–पाँचजनाको व्यथा त सुन्छाँै होला । त्यतिका इन्फरमेसनलाई, तिम्रै भाषामा भन्नुपर्दा, कसरी म्यानेज, एडजस्ट गर्छौ ?’


‘डाक्टर, पुलिस र वकिलले कसरी गर्छन् ?’


‘यार, डाक्टर, पुलिस र वकिलको भन्दा मलाई तिम्रो काम अप्ठ्यारो लाग्छ । उनीहरू आफ्नो बौद्धिक क्षमता र पदको प्रयोगले समस्या समाधान गर्छन् । तिमीले त क्लाइन्ट आफैँलाई समाधान खोज्न मद्दत गर्नुपर्छ । त्यही होइन ?’


‘गर्नुपर्ने त त्यही हो । तर, मेरा क्लाइन्ट मबाटै समाधान खोज्छन् ।’


‘तिमीलाई थाहा हुँदैन त समाधान ?’


‘समाधान खोज्न पहिले समस्या ठम्याउनुपर्‍यो नि । हरेक व्यक्तिको समस्याको चुरो ऊ आफैँले भन्दा राम्ररी कसैले बुझ्न सक्दैन । मैले त सहज गराइदिने मात्रै हो ।’


‘जब सेक्युरिटीको हिसाबले साइकोलोजिकल काउन्सलरको काम गजबको हुँदोरहेछ । न कहिल्यै मानिसको समस्या सिद्धिन्छ, न त्यसको चुरो पत्ता लगाउने प्रक्रिया,’ मैले मुसुमुसु हाँस्दै भनेँ ।


उसले कफीको बिल तिरेर सिसाको गेट तान्यो । मलाई गेटबाहिर निस्किने इसारा गर्दै उसले भन्यो, ‘एक्स्क्युज मी म्याडम प्रोफेसर, अहिलेको, त्यसमाथि पनि सहरको जीवनशैली, हेर त, कति तनावपूर्ण छ । पेनकिलर र स्लिपिङ पिल्सलाई जीवनशैली बनाउनुभन्दा त समस्याको चुरो पत्ता लगाउनु बेटर अप्सन होइन ?’ ‘मेरो कोसिस पनि त त्यही हो नि । समस्याको चुरो पत्ता लगाउने । तर, व्यक्तिको समस्याको चुरो यहाँ समस्याग्रस्त व्यक्तिमा मात्र सीमित छैन । तिम्रो समस्यामा तिमीले पिउनेपानी र तरकारीमा हाल्ने नुनको गुणस्तरदेखि तिम्रो बैंक ब्यालेन्स कसरी मेन्टेन भइरहेको छ भन्नेसम्मको कुराले रोल खेलिरहेको हुन्छ ।’


उसले आँखीभौँ तन्काउँदै भन्यो, ‘तिमीले पनि माक्र्सको भाषा बोल्न थालेको ?’


‘मैले मलाई मार्क्स मन पर्दैन कहिले भनेको छु र ? साँच्चै, त्यो सांग्रिला बैंकको बैंकर पनि तिम्रो क्लाइन्ट हो ?’


‘किन सोधेको ?’


‘अघिल्लो साता पाटनको कफी सपमा भेट्दा कस्तो जेन्टलम्यान स्टाइलमा डिस्टेन्स मेन्टेन गरेर तिमीलाई ग्रिट गरेर गएको थियो नि । सम्झिन्छौ ?’ उसले ‘हो’ ‘होइन’ केही भनेन । 


‘उसकी श्रीमती जब ट्रान्सफर लिएर दुबई गएकी छ रे, हो ?’


‘तिमीले कहिलेदेखि गसिपमा चासो लिन थाल्यौ ?’


‘तिमीलाई साइकोथेरापीको डिस्ट्र्याक्सन स्ट्र्याटेजी थाहा छैन ? गसिप डिस्ट्र्याक्सन स्ट्र्याटेजीको प्रभावकारी मेकानिजम हो नि । यसले त पेनकिलरको काम गर्छ ।’


‘हा हा हा’ ऊ दंग परेर हाँस्यो ।


‘तिमी नरिसाउने भए एउटा कुरा सोधौँ ?’


‘किन औपचारिक भइराखेको ? कुरो सोध्नलाई पनि ‘सोधौँ ?’ भनेर सोधिरहनुपर्छ ?’


‘के थाहा, कुन वेला तिम्रो गियर चेन्ज भएर काउन्सुलरमा लागिसक्छ, तिमी उत्तर दिँदैनौ । अनि प्रश्न पनि मेरो, जवाफ पनि मेरै हुन्छ । गसिप गर्ने मान्छे नपाएर क्लाइन्ट तिमीकहाँ आउने पनि गर्छन् ?’ 


   उसले हाँसो पचाउँदै जवाफ दियो, ‘मैले कतिपल्ट भनिसकेँ तिमीलाई, मेरो पेसाको मजाक नउडाऊ भनेर ।’


‘भनिहाले नि, उसको गियर चेन्ज भइहाल्यो ।’


उसले घडी हेर्दै भन्यो, ‘भन त, डिनरका लागि तिमीलाई केको भोक लागेको छ ?’


‘मलाई त घरमा पकाएको खाना खाने भोक लागेको छ ।’


‘एक सबैभन्दा कम, दश सबैभन्दा बेसी । कति नम्बरमा छ तिम्रो भोक ?’


‘तीन–चार होला ।’


‘ओ के देन, लेट्स गो टु माई प्लेस ।’ 


उसको निर्णयमा मैले प्रतिवाद गरिनँ ।