• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विनेश राई ‘मिन्जाई’
२०७९ माघ २१ शनिबार ०९:२९:००
साहित्य

चिठी

२०७९ माघ २१ शनिबार ०९:२९:००
विनेश राई ‘मिन्जाई’

कतै बिर्सिएँ कि भनेर हौली
उतै सुदूरबाट घरीघरी पठाउँछ्यौ बाँडुली !
र सपनामा 
तिमी आफैँ कसरी हो कसोरी आइपुग्छ्यौ 
मेरो मध्यरातको मस्त निद्रा भत्काउँछ्यौ 

 

यी टाढाका सपनाभन्दा त प्रिया !
कुनै दिन तिम्रै आँखाबाट 
देखेका सपना पो विशेष लाग्थे
र त ती दिनहरू खास्साका थिए, 
तर एउटै कुरा थाहा भएन दुवैलाई 
तिमी पृथ्वीको कुन अक्षीय यात्री थियौ ?
या थिएँ मै !
त्यसैले हामी कहिल्यै नभेट्ने ध्रुवहरू भयौँ 

 

ठीकै छ अब तिमी जता हौ
यो झरना, खोला र पाखापर्वतहरूलाई 
साक्षी राखेर
यहाँ, 
यी बाँडुली सपनाहरूको अर्थ यसरी लगाएको छु
कि–
तिमी आजीवन यसै गरी
आफ्ना सम्झना नवीकरण गरिरहनेछ्यौ ।

हाल दक्षिण कोरिया